MENU

पर्यटन

635x90

पर्यटनका लागि उपत्यका वरिपरिका सात गन्तव्य

अशोक दुलाल बुधवार, आश्विन २५, २०७४

राजधानी वरपर घुम्ने छोटा गन्तव्यहरू धेरै छन् । बिदाको सदुपयोग गरेर केही छोटा गन्तव्यमा पदयात्रा गरेर रमाइलो गर्न सकिन्छ । पर्यटकीय पूर्वाधारका रूपमा आजकल जताततै स–साना होटल, रिसोर्ट, होमस्टे खुलेका छन् । अहिले निश्चित गन्तव्यसम्म पुग्न पहिलेजस्तो बाटोको समस्या छैन । यहाँ घुमाइका ७ गन्तव्यस्थल दिइएको छ ।

१. धुलिखेल–नमोबुद्ध

धुलिखेलबाट पुरानो नेवार बस्ती, हजारसिंढी पार गरेर शान्ति वन हुँदै नमोबुद्ध पदयात्रा गर्न सकिन्छ । यसको लागि भरपर्दो मोटरबाटोको पनि सुविधा छ । यहाँबाट गौरीशंकर, मकालु, चोयु, लाक्पा दोर्जे, लाङटाङलगायत हिमशृंखला स्पष्ट देखिन्छन् । यहाँ प्राचीन बस्ती, परम्परागत तिमाल गाउँको अवलोकनसमेत गर्न सकिन्छ ।डाँडामा पौराणिक कथाअनुसार बुद्धले बाघलाई शरीर काटेर खुवाउँदै गरेका मूर्ति यत्रतत्र भेटिन्छ । नमोबुद्ध लभडाँडामा टाँगिएका ध्वजाहरूले पाखा नै रंगीन देखिन्छ । पहाडको टुप्पोमा बुद्ध स्तुपा लस्करै बनाइएका छन् । यहाँ बसेर बिहानै शंखुपाटी चौर, मकैटार एक्लेखेत हुँदै बल्थली घुम्न सकिन्छ ।

२. दक्षिणकाली–चन्द्रागिरि

5_8

चन्द्रागिरि पदयात्रा दक्षिणकाली नजिकै सतिखेलबाट गर्नु उपयुक्त हुन्छ । जहाँबाट हात्तीवन रिसोर्ट हुँदै चन्द्रागिरितर्फ यात्रा अघि बढाउन सकिन्छ । चन्द्रागिरि हाइकिङ ट्रेलमा ढुंगा छापिएको बाटो छ । उकालो बाटोको सल्लाघारीमा चल्ने सिरेटोले ज्यानै शीतल बनाउँछ । एक घण्टाको ठाडो उकालोको यात्रापछि चम्पादेवी मन्दिर पुगिन्छ । मन्दिरको दर्शनसँगै तेर्सो बाटोको यात्रा पनि सकिन्छ । त्यसपछि उकालो बाटोको यात्रा शुरु गर्नुपर्छ । जंगलै जंगलको तेर्सो–उकालो यात्रा केही कष्टकर हुन सक्छ । चन्द्रागिरिबाट माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जेलाक्पालगायत धेरै हिमशृंखला छर्लंगै देख्न सकिन्छ । यात्राका क्रममा भोक प्यास मेट्न प्रशस्त होटल, क्याफे भेटिन्छन् । लगभग एक घण्टाको उकालोपछि बल्ल २५ सय मिटर अग्लो चन्द्रागिरि पुगिन्छ । जहाँ भालेश्वर मन्दिर छ । फर्किंदा केबुलकार प्रयोग गरेर आनन्द लिन सकिन्छ ।

३. चित्लांग–मार्खु

2_7

थानकोटबाट १६ किमि कच्ची बाटो उकालो–उरालो गर्दै पार गरेपछि मात्र चित्लांग पुग्न सकिन्छ । मकवानपुर जिल्लामा पर्ने योे रमणीय सानो उपत्यकामा विशेषगरी बाख्राका दूधबाट बनेका चिज र ट्राउट माछाको स्वाद चाख्न पाइन्छ । साथै होमस्टेमा गरिने मिठो मुस्कानसहितको आतिथ्यले हरकोहीलाई दोहा¥याएर त्यहाँ पुग्न लालायित पार्ने गर्छ । त्यस्तै कुलेखानी विद्युत् गृह भएको इन्द्र सरोवरको मनमोहक दृश्ले पनि त्यहाँ पुग्नेको मन लोभ्याउँछ । जहाँ तालमा ढुंगा सयर गर्न सकिन्छ । यहाँ पनि प्रशस्त होमस्टे रिसोर्ट र होटल छन् । जहाँ यात्रालाई विश्राम दिन सकिन्छ ।

४. चाँगु–नगरकोट

6_10

भक्तपुर चाँगुनारायण मन्दिर परिसरबाट तेलकोट हुँदै डाँडाकाँडा चहार्दै नगरकोट चुचुरो पुग्दा चिसो सिरेटोले आनन्दित बनाउँछ । पसिना पुछ्दै हिमशृंखला हेर्दा स्वर्गीय आनन्द प्राप्त हुन्छ । नगरकोटमा अत्याधुनिक होटल रिसोर्ट त छँदैछ । स्थानीय स्तरमा खुलेका लज र होमस्टेले पनि उत्कृष्ट सेवा दिन्छन्, जुन तुलनात्मक रूपमा ज्यादै सस्ता छन् । नगरकोटमा भ्युटावरबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न पाइन्छ । काठमाडौंबाट २० किलोमिटर दूरीमा रहेको नगरकोट गर्मीमा पनि शीतल महसुस गर्न सकिन्छ । चाडबाडमा होटल बन्द हुन सक्छ । यात्रामा निस्कँदा रुटको होटल बुक गरेर मात्र जानु मनासिब हुन्छ ।

५. गोदावरी–फुल्चोकी

3_9

२८ सय मिटरको अग्लो फूल्चोकीबाट हिमालका चुचुरादेखि तराईका समथर सुन्दर फाँट देखिन्छ । गोदावरीकुण्डबाट छोटो बाटो चापाखर्क हुँदै फूल्चोकी पुग्न सकिन्छ । नौधाराबाट वैकल्पिक बाटो मोटरबाटो पनि छ । फूल्चोकीको टुप्पोबाट कचौरा आकारको काठमाडौं छर्लंगै देखिन्छ । शहरका हरिया फाँट, पहाडमा कपासझैं बादलका रुवा छरिएको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ जंगल सफारीको क्रममा विभिन्न चरा अवलोकन गर्न पनि पाइन्छ । शिखरमा फूल्चोकी माईको दर्शनपछि फेदीमा गोदावरी कुण्ड, लाम कुण्ड ,गौरी कुण्ड, नौधारा, पञ्चदेवल र सिद्धेश्वर महादेवको मन्दिरमा दर्शन गर्न सकिन्छ ।

६. लेले–दलचोकी

4 lele–dalchoki_3068(caption_dalchoki)

लगनखेलबाट लेले सरस्वती कुण्डसम्म सार्वजनिक बसमा यात्रा गर्न सकिन्छ । त्यहाँबाट पैदलयात्रा शुरु हुन्छ । नल्लु डाँडाको उकालो–आरोलो र बीचबीचमा खोल्सा तर्दै पाथिभरा देवीको मन्दिर पुग्न सकिन्छ । पाथिभराबाट आधा घण्टामै २८९० मिटरको उचाइमा रहेको दलचोकी पुगिन्छ । तुँवालो र बादल नलाग्ने विशेषतः शरद ऋतुमा यहाँ पुग्नु बेस हुन्छ । किनकि, मौसम सफा हुँदा यहाँबाट काठमाडौं आसपासका दर्जन बढी हिमालको दृष्य देख्न सकिन्छ ।

७. पनौती–बल्थली

1_11

काठमाडौंको कोटेश्वरबाट बल्थलीको यात्रा तय गर्न सकिन्छ । बल्थलीको हाइकिङ पनौतीबाट शुरु हुन्छ । लस्करै देखिने टायलले छाएका घरहरू, तरेली परेका खेत, कलकल बग्ने खोल्सा, कुलो, पुल पुलेसा अत्यन्तै मनमोहक लाग्छन् । डाँडाबाट टार, खेत, गाँउ र धुलिखेल शहरको लोभलाग्दो दृश्य देखिन्छन् ।

 

प्रतिकृया दिनुहोस