MENU

टूडे निगरानी

635x90

जोखिमपूर्ण हुलाकी सडक

यादव आचार्य, बर्दिया आइतवार, आश्विन २९, २०७४

‘नेपालगन्जबाट मोटरसाइकलमा घर फर्कदै थिएँ । बबई बहुमुखी क्याम्पसनजिक पुग्दा १० मिटरको दूरीमा पछिल्तिरबाट बस आइरहेको थियो । एक्कासि पानी जमेको खाडलमा चिप्लिएर पछारिँए । बसले ब्रेक लगायो । बस चिप्लिँदै म लडेको छेउँमै आइपुग्यो । भाग्यले बाँचे,’ मधुवन नगरपालिका सानोश्रीबजारका प्रेम बुढाले हुलाकी सडकमा मोटरसाइकल यात्राको अनुभव सुनाए, ‘सडक समयमै निर्माण नभए ठूलो मानवीय क्षतिको खतरा छ ।’ दक्षिणमा भारतीय सीमा मूर्तिहादेखि सदरमुकाम गुलरिया हुँदै उत्तरमा पूर्व–पश्चिम राजमार्गमा पर्ने भुरीगाउँ जोड्ने हुलाकी सडक तत्कालीन यातायातमन्त्री रमेश लेखकले शिलान्यास गरेका थिए । ३६ किलोमिटर हुलाकी सडकखण्ड सम्झौताको ६ महिना बितिसक्दा निर्माण कछुवा गतिमा छ । सडक किनारमा थुपारिएको माटो वर्षाले हिलाम्मे भएको छ । सडकमा ठूल्ठूला खाल्डा छन् । जहाँ ट्रकजस्ता ठूला सवारी नै फस्छन् । निर्माण व्यवसायीको ढिलाइले हुलाकी सडक धराप बनेको छ ।

सडक ठाउँ–ठाउँमा बाढीका कारण पनि भत्किएको छ । स्थानीय वर्षायाममा हिलो र हिउँदमा धुलोको सास्ती बेहोर्न बाध्य छन् । जताततै खाल्डाखुल्डी छन् । मधुवन नगपालिका शिशिर ट्रेडर्सका सञ्चालक कृष्ण सिग्देल गुनासो गर्छन्, ‘खाल्डाखुल्डी छन् । पानी पर्दा सडकको बेहाल हुन्छ । यात्रा सकसपूर्ण र कठीन हुने गर्छ ।’ भन्छन्, ‘चाडै सडक बनाउनुपर्‍यो ।’गुलरिया–राजापुर सडकखण्डको अवस्था पनि उस्तै छ । ‘सामान्य पानी पर्दा पनि मोटरसाइकल चिप्लेर लड्ने गरेका छन्,’ उनी आक्रोश पोख्दै भन्छन्, ‘सडकको यस्तो अवस्था हुँदा पनि ठेकेदार, कम्पनी र सरोकारवाला निकाय मौन छन् । गुलरिया नगरपालिका ६ को भारतीय सीमावर्ती बजार जोड्ने भन्साररोड बिग्रिएको पनि वर्षौं भयो । स्थानीय ऐतमाद अली शैयद सडक नबन्दा विद्यालय जाने बालबालिका बढी मारमा पर्ने गरेका छन् । सदरमुकाम गुलरियादेखि खैरापुरसम्म बाटो पिच भए पनि निर्माणका नाममा भएको पुरानो पिच पनि भत्काइएको छ ।

बर्दिया कृष्णसार यातायात व्यवसायी संघ गुलरियाका राजु घिमिर हुलाकी सडकखण्डको खैरापुर, लालीबजार, ८ नम्बर, माचड, ढोडरी, बगनाहालगायत स्थानमा सडक अत्यधिक बिग्रिएको बताउँछन् ।तीन वर्षअघि हुलाकी सडक निर्माणको जिम्मा लिएको भारतीय जेभीआर कम्पनी कामै नगरी फरार भएको थियो । त्यसपछि सरकारले सडक निर्माणको लागि टेन्डर आव्हान गर्दै ठेकेदारसँग माघ महिनामा सम्झौता गरेको थियो । भुरीगाउँ–गुलरिया–मूर्तिहा ३६ किलोमिटर सडक शर्मा राजेन्द्र जेभी र पप्पु कन्ट्रक्सन र माचड–राजापुरअन्र्तगतको २१ किलोमिटर सडक आशिष/कुमार श्रेष्ठ जेभीले निर्माणको जिम्मा लिएका छन् ।

काम छिटो सम्पन्न गर्न तीन वटा निर्माण कम्पनीसँग (‘भुरीगाउँ–बेलुवा’, ‘गुलरिया–मूर्तिहा’ र ‘माचड–राजापुर’) सम्झौता गरिएको माचड–राजमार्ग नेपालगन्जका योजना प्रमुख सौरभ बज्राचार्यले बताए । ८५ करोड रुपैयाँको लागतमा तीन वर्षभित्र सात मिटर चौडाइको कालोपत्रे सडक निर्माण गर्ने लक्ष्य छ । अहिलेसम्म १० प्रतिशत मात्र काम भएको छ । उनले काम सुस्त गतिमा भइरहेको स्वीकार गर्दै भने, ‘छिटो सडक निर्माणका लागि तीन कम्पनीसँग सम्झौता गरेका हौँ । ०७६ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।’

 

प्रतिकृया दिनुहोस