MENU

टूडे निगरानी

635x90

प्रदूषणले लुम्‍बिनीकाे पुरातत्व संकटमा

लक्ष्मण पोखरेल, बुटवल बुधवार, आश्विन २५, २०७४

नेपालमा सबैभन्दा बढी धुलाम्य क्षेत्र कहाँ हो ? हाजिरीजवाफमा यस्तो प्रश्न सोधियो भने धेरैको उत्तर काठमाडौं हुन सक्छ । तर, उच्च प्रदूषण मानिएको काठमाडौंभन्दा पनि लुम्बिनीमा मसिनो धुलोको कण धेरै भेटिएको छ । गत माघमा लुम्बिनीको वातावरणमा सबैभन्दा बढी धुलोका कणहरू हावामा भेटिएको प्रतिवेदन सार्वजनिक भएको थियो । लुम्बिनीमा प्रदूषण बढ्दै गएपछि वातावरणविद्हरू पनि चिन्तित छन् । लुम्बिनीको प्रदूषण विषयमा एक वैज्ञानिकको टोलीले लुम्बिनी क्षेत्रमा खेतमा जलाउने गहुँको नउरले प्रदूषण बढाएको प्रतिवेदन सार्वजनिक गर्‍यो ।

जर्मनमा क्रियाशील नेपाली वैज्ञानिक डा. महेश्वर रूपाखेतीसहितका एक दर्जन वैज्ञानिकको टोलीले कृषि उपजमा गरिने आगजनी, खेतीमा छरिने विषादी र जोताइमा प्रयोग हुने ट्रयाक्टरले प्रदूषणको मात्रा थपिएको दाबी गरेको छ । दुई वर्षअघिको अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘सामान्य देखिने प्रदूषणले लुम्बिनीको पुरातत्वमा ठूलो संकट निम्तिनेछ ।’सरकारलाई चेतावनीसहित वैज्ञानिकले सुझाव दिएको यो पहिलो पटक भने होइन ।

सन् २०१३ मा युनोस्कोको एक टोलीले अशोकस्तम्भसहितका पुरातात्विक वस्तुहरूको अध्ययन गरेको थियो । त्यसमा धुलोको कण टाँसिएर जिप्सन, डोलोमाइट, म्याग्नेसाइट नामक केमिकल भेटिएका थिए । जसले स्तम्भ खियाउँदै लगेको भेटिएको थियो । बुद्धजन्मस्थल लुम्बिनी रहेको एक मात्रै प्रमाण अशोकस्तम्भ खिइँदै गएको चिन्ता पुरातत्वविद्हरूले गरेका छन् । समयमै चनाखो बन्न नसके अबको केही वर्षभित्रै लुम्बिनीले ठूलो क्षति बेहोर्ने पुरातत्वविद्हरू बताउँछन् । सन् २०१३ मै अशोकस्तम्भमा क्षति भइरहेको छ भन्ने रिपोर्ट सरकारलाई बुझाइएको छ, पुरातत्वविद् वसन्त बिडारी भन्छन्, ‘पुरातात्विक वस्तु बचाइराख्न समयमै प्रदूषण नियन्त्रणको पहल हुनुपर्छ ।’

वैज्ञानिक डा. रूपाखेतीले लुम्बिनी क्षेत्रमा रहेका उद्योगहरू प्रदूषणको मुख्य कारक रहेको बताउँछन् । उद्योगसँगै कृषि उपजमा बढ्दै गएको आधुनिकीकरणले पनि प्रदूषण थपेको उनको दाबी छ । खेतीमा प्रयोग गरिने रासायनिक तत्व र ट्रयाक्टरहरूको प्रयोगले चार प्रकारका रासायनिक तत्वहरू हावामा मिसिने गरेको जनाएको छ । विशेषगरी सुक्खा तथा वर्षायाममा प्रदूषणको मात्रा उच्च हुने गरेको छ ।लुम्बिनीको प्रदूषणमा कोरिडोरमा रहेका उद्योगहरू कारक मानिएका छन् । एक दशकअघिसम्म लगानी गर्न प्रोत्साहन गरिएका उद्योगले नै लुम्बिनीमा प्रदूषण बढाएको हो । ‘सिमेन्ट र इँटाभट्टाबाट निस्किने धुलोले नै बढी प्रदूषण गरेको देखिन्छ,’ वातावरणविद् रामचरित्र शाह भन्छन्, ‘उद्योगको स्थानान्तरणले मात्रै लुम्बिनीको प्रदूषण रोक्न सकिन्छ ।’सरकारले लुम्बिनी क्षेत्रमा नयाँ उद्योग खोल्न रोक लगाएको छ ।

पहिले नै खुलेका सिमेन्ट उद्योगलाई धुलो नियन्त्रण गर्ने यन्त्र जडान गर्न आग्रह गरिए पनि काम भएको छैन । सिमेन्ट उद्योगहरूले उत्पादन बढाउँदै लगेका छन् । भारतबाट भित्रिने ठूला मालबाहक यातायातका साधनहरू लुम्बिनी नकिकैबाट गुड्ने भएकाले पनि यस क्षेत्रमा प्रदूषण बढ्दै गएको हो ।लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्य प्रदूषण बढ्नु गम्भीर विषय भएको बताउँछन् । उनका अनुसार प्रदूषण बढाउने उद्योग हटाउन सरकारले नै पहल गर्नुपर्छ । विकास कोषले प्रदूषणको प्रभाव र नियन्त्रणका लागि पटक–पटक जानकारी गराएको उनको भनाइ छ । लुम्बिनीको प्रदूषणको विषयमा युनेस्को र आईयूसीएनले निरन्तर अध्ययन गर्दै आएका छन् । दुई वर्षअघि भारतीय वैज्ञानिकले समेत अध्ययन गर्दै प्रदूषण उच्च भएको बताएको थियो ।

लुम्बिनीको प्रदूषणले पुरातात्विक क्षेत्रमा मात्रै नभई स्थानीय बासिन्दा र कृषि उब्जनीमा समेत असर गरेको युनेस्कोको अध्ययनमा उल्लेख छ । सिमेन्ट उद्योग नजिकैका क्षेत्रमा वनस्पति मर्ने क्रम बढेको छ । हाल लुम्बिनीको वायुमा धुलोको मात्रा जाँच्न यन्त्र जडान गरिएका छन् । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा ११ गुणा बढी धुलो भएको देखाएको छ । जुन धुलो माक्स लगाउँदा पनि नछेकिने वातावरणविद्हरू बताउँछन् ।लुम्बिनी हुँदै चल्ने गाडीहरू २० वर्षभन्दा पुराना छन् । विकास कोष क्षेत्रभित्र अटो रिक्साको व्यवस्थापन गरिए पनि बाहिरी रुटमा पुराना जिप र बस चल्न रोकिएको छैन । यसले पनि वायु प्रदूषण बढाएको छ ।

 

 

प्रतिकृया दिनुहोस