MENU

टूडे निगरानी

635x90

गड्डाचौकीमा लुटिन्छन् दशैंमा फर्किनेहरु

विष्णुप्रसाद देवकोटा, महेन्द्रनगर शुक्रवार, आश्विन ६, २०७४

भारतको देहरादुनबाट काम गरेर दशैंमा घर फर्किरहेका काठमाडांै आरुबारीका श्याम घर्तानी कन्चनपुरको गड्डाचौकीमा पाँच ठाउँमा चेकिङमा परे । उनले भारतीय प्रहरी र भन्सार कर्मचारीलाई मात्रै पैसा बुझाएनन् । भीमदत्त नगरपालिकामा ४९ नम्बरको उनी चढेको टाँगा सञ्चालकले गड्डाचौकी भन्सार नजिकै पुग्दा एकैछिन रोक्यो र बसेका सबैसँग १० देखि २० भारु माग्यो । त्यो रकम सीमामा बसेका सशस्त्र प्रहरीका जवान र भन्सारका कर्मचारीका लागि भनियो । ‘बनवासादेखि महेन्द्रनगर पुग्नै पाँच सयभन्दा बढी खर्च भयो,’ घर्तानीले भने, ‘पारी त पैसा बुझाउनुपथ्र्यो नै, आफ्नै देशका सुरक्षाकर्मीले समेत छोडेनन् ।’

‘दुःख गरेर कमाएर ल्याएको पैसा ठाउँ–ठाउँमा बुझाउनुपर्छ,’ पन्जाबबाट फर्केका प्यूठानका जनक सुनार गुनासो गर्छन्, ‘टाँगावाला नै मिलेको हुन्छ, चेकजाँच गर्‍यो भने समय लाग्छ, पैसा देऊ भन्छ ।’ प्यूठानकै धर्मराज केसी पनि जबर्जस्ती चेकजाँच गर्ने बहानामा रकम असुली गर्नुलाई दुर्भाग्य ठान्छन् । श्याम, जनक र धर्मराज मात्र होइन, गड्डाचौकी नाकाबाट दशैंमा घर फर्कने अधिकांश नेपालीलाई बनवासादेखि महेन्द्रनगरसम्म पुग्न भने निकै कठीन भइरहेको छ । सीमामा अहिले दिनहुँ सयौंको संख्यामा घर फर्किनेको लर्को छ । आधा घण्टाको बाटोमा ठाउँ–ठाउँमा हुने चेकिङ र रकम असुलीले उनीहरूलाई हैरान बनाउने गरेको छ ।

सोमबार बिहानै अन्नपूर्ण टुडे प्रतिनिधि नाकामा पुग्दा पनि त्यस्तै दृश्य देखियो । सीमामा पुर्‍याउने टाँगावालाले प्रहरीसँग सहमति गरेको भन्दै बढी भाडा माग्दै थिए भने मजदुरले सामान चेकजाँच गर्नुपर्ने बहानामा प्रहरीलाई पैसा दिनुपर्ने बाध्यता थियो । भारतको हरियाणाबाट दशैं मनाउन घर फर्किएका अछामका राजु भण्डारीले बनवासादेखि महेन्द्रनगर पुग्न एक हजार ६ सय रकम बुझाएको बताए । भन्छन्, ‘दशैं तिहार मनाउन दुई–चार हजार कमाएर ल्याएका हुन्छौँ । बाटोमा रकम बुझाउँदै सकिन्छ ।’ दिल्ली आग्रापुरमबाट काम गरेर घर फर्किएकी कैलालीकी जलुदेवी कडायतले समेत बनवासादेखि महेन्द्रनगर पुग्दा भाडाबाहेक तीन सय बढी रकम तिर्नुपर्‍याे।

उनको सामान खोल्ने बहानामा भारतीय कस्टमका कर्मचारीले रकम असुलेको पीडा सुनाइन् । कैलालीकै मसुरिया नपा ९ की विमला रावलले भनिन्, ‘पैसा नदिए चेकजाँचको बहानामा ५/६ ठाउँमा भारी खोल्न लगाउँछन् । त्यो मिलाउनै झण्झट हुन्छ ।’ सामान र केटाकेटीसहित आउनुपर्दा झण्झट हुने भएकाले समेत जबर्जस्ती रकम बुझाउनुपरेको उनले बताइन् ।घर फर्किनेहरूले सीमामा रकम तिरे पनि उनीहरूले नेपाल पुगेर भने कतै उजुरी दिने गरेका छैनन् । प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले हरेक पटक बस्ने सीमा बैठकमा सीमामा नेपालीहरूमाथि हुने गरेको ज्यादती रोक्ने विषयमा छलफल भए पनि कार्यान्वयन नभएको स्वीकार्छन् । उनले भने, ‘यसबारे अब फेरि एकपटक भन्सार र प्रहरीसँगको छलफलपछि भारतीय पक्षसँग कुराकानी गर्छौँ’ । भारतीय कस्टम स्टेसन बनवासाका प्रमुख एके सिन्हासमेत कस्टमका कर्मचारीले दुःख दिएको गुनासो आए कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्छन् ।इलाका प्रहरी कार्यालय गड्डाचौकीका इन्चार्ज सई रघुनाथ भण्डारी नाकाका कसैले रकम मागेको गुनासो आए कारबाही हुने बताउँछन् ।

उनले टाँगाले बढी रकम असुलेको पाइए फिर्ता गराउने गरिएको बताए । त्यस्तै मजदुरहरूले महेन्द्रनगर पुग्दा पनि त्यतिकै सास्ती खेप्नुपरिरहेको छ । बाजुराका काशी साउँदले टाँगाबाट ओर्लेर सामान निकालेका मात्र के थिए, होटलका कर्मचारीहरूले आफूतिर आउन सामान लुछालुछ पारे । महेन्द्रनगर बसपार्कमा एकातिर होटलका कर्मचारी र अर्कातिर बसका कर्मचारीहरूको तानातानले निकै कष्ट दिएको छ । ग्राहक होटलसम्म पु¥याएवापत कमिसन खाने बिचौलियाका कारण बसपार्कमा झर्ने अधिकांश मजदुर ठगिने गरेका छन् ।वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक टक्कर स्वाँरले भने, ‘जसले यात्रुहरूलाई अनावश्यक दुःख दिने काम गर्छ, उनीहरूलाई कारबाही गरिनेछ ।’ 

प्रतिकृया दिनुहोस