MENU

टूडे निगरानी

635x90

डम्पिङ साइट बन्‍दै राजमार्ग

भगिरथ अवस्थी, बैतडी आइतवार, आश्विन १, २०७४

दशरथचन्द राजमार्गको गोठालापानीबाट बैतडी सदरमुकाम गढी पुग्न मुस्किले पाँच सय मिटरको दूरी छ । नगरपालिका ४ को गोठलापानीस्थित दशरथचन्द राजमार्गको सडक किनारमै डम्पिङ साइट छ । नगरपालिकाले पाँच वर्षदेखि यसै ठाउँमा हरेक दिन फोहोर फालिरहेको छ । डम्पिङ साइट हुँदै सदरमुकामको यात्रा तय गर्नुपर्छ । सडकछेउमा थुपारिएको फोहोरका कारण आवतजावत गर्ने मानिसलाई नाक थुनेर हिड्नुपर्ने बाध्यता छ ।राजमार्ग किनारको फोहोरले नगरकै सौन्दर्यता बिगारेको स्थानीयको गुनासो छ । सूर्नया ६ शंकरपुरका लवदेव अवस्थी भन्छन्, ‘यो फोहोरले सदरमुकामको परिचय नै बिगारेको छ । हामी कति व्यवस्थित छौँ भन्ने कुरा सडकछेउमा थुप्रेको फोहोरले बताउँछ ।’

स्वच्छ हावाका लागि मर्निङ वाकमा निस्किनेहरू फोहोरको सास्ती भोगिरहेका छन् । उनीहरूको बिहानी नगरपालिकालाई गाली गर्दै बित्छ । बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्ट भन्छन्, ‘सडकछेउमा थुपारिएको फोहोरका कारण दुर्गन्ध फैलिएको छ । मानव स्वास्थ्यमाथि नै खेलवाड गर्ने काम भएको छ ।’ उनी फोहोर व्यवस्थापनमा ध्यान दिन नसकेको भन्दै नगरपालिकासँग आक्रोश पोख्छन् ।फोहोरको थुप्रोबाट करिब दुई सय मिटरमा रहेको जगन्नाथ बहुमुखी क्याम्पस सबैभन्दा प्रभावित छ । सडकछेउमा थुपारिएको फोहोरले जिल्लाको साख नै गिरेको बताउँछन्, ‘क्याम्पस प्रमुख पृथ्वीराज अवस्थी । ‘सदरमुकाम पुग्नै लाग्दा पहिले फोहोर देखिन्छ, यसले जिल्लाकै साख गिरेको छ । जिल्लाको सबैभन्दा पुरानो नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्नु दुःखको कुरो हो ।’

बैतडीमा २०५४ सालमा दशरथचन्द नगरपालिका स्थापना भयो । नगर स्थापनाको एक दशकमा पनि डम्पिङ साइट बन्न सकेन । पाँच वर्षदेखि नगरपालिकाले सडकछेउलाई नै डम्पिङ साइट बनाएको छ । नगरको सधैं रेडिमेड जवाफ हुन्छ, ‘फोहोर व्यवस्थापनका लागि उपर्युक्त स्थान पाउन सकिएन ।’शुरु–शुरुमा नगरपालिकाले स्थानीय कनिगढ खोलामा फोहोर फाल्थ्यो । स्थानीयको विरोधपछि सडकछेउमा फोहोर फाल्न थालियो । राजमार्गको छेउमा थुपारिएको फोहोर हटाउन नगरलाई स्थानीयले पटक–पटक आग्रह पनि नगरेका होइनन् । तर, नगरपालिकाले ठाउँ अभावमा फोहोर व्यवस्थापन गर्न सकेको छैन । डम्पिङ साइड नहुँदा फोहोर व्यवस्थापन गर्न नसकिएको नगरपालिकाले पनि स्वीकारेको छ । डम्पिङ साइडका लागि जग्गा खोजी भइरहेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्द बताउँछन् । ‘नगरपालिकासँग आफ्नो जमिन छैन । गत आर्थिक वर्षमा स्थानीय बासिन्दाबाट जमिन खरिदका लागि तीन पटक सूचना प्रकाशित गर्दासमेत जग्गा बिक्रीका लागि कसैले आवदेन गरेनन्,’ चन्दले प्रस्ट पारे, ‘उपर्युक्त स्थान नपाउँदा सडकछेउमा फोहोर थुपार्न बाध्य भएका हौँ ।’

१४ असारको स्थानीय तहको निर्वाचनमा नगरपालिकामा कांग्रेस, एमाले, माओवादी केन्द्रलगायत प्रमुख दलका उम्मेदवारले डम्पिङ साइटलाई नै मुख्य चुनावी नारा बनाए । प्रमुखमा कांग्रेसले बाजी मा¥यो । नगरमा जनप्रतिनिधि आएको दुई महिना बितिसक्दा पनि फोहोरको समस्या ज्यूँका त्यूँ छ । नगरप्रमुख नरेन्द्रसिंह थापा पनि जग्गा अभावमा फोहोर व्यवस्थापन नभएको जिकिर गर्छन् । भन्छन्, ‘फोहोर व्यवस्थापनका लागि नगरपालिकाले प्रयास गरिरहेको छ । यसको व्यवस्थापन छिट्टै गर्छौँ । हामीले डम्पिङ साइटका लागि जग्गा खोज्ने कामलाई तीव्रता दिएका छौँ,’ उनले भने । ‘राज्य पुनर्संरचनापछि नगरक्षेत्र विस्तार भए पनि डम्पिङ साइट निर्माणका लागि जग्गा पाउन सकिएको छैन ।’ हालसालै नगरपालिकाबाट सरुवा भएका कार्यकारी अधिकृत अर्जुन शर्माले हार खाँदै भने । उनी थप्छन्, ‘मैले नगरपालिकामा रहँदा नगर क्षेत्रको फोहोर व्यवस्थापनका लागि थुप्र्रै पहल गरे तर सम्भव भएन ।’

हालै सम्पन्न नगरसभाबाट ‘स्वच्छ र समृद्ध नगर’को नारा अनुमोदन गरियो । तर, सडकछेउमा थुपारिएको फोहोरले यो नारालाई गिज्याइरहेको छ । ‘वातावरणीय जोखिमका कारण उपुर्यक्त ठाउँमा मात्र फोहोर व्यवस्थापन गर्नुपर्छ, जुन ठाउँको अहिले अभाव देखिएको छ ।’ सामाजिक विकास शाखा प्रमुख चन्द बताउँछन् । जननिर्वाचित पदाधिकारीले नागरिकको प्रत्यक्ष सरोकारका विषयमा ध्यान दिनुपर्ने पाटन नगरपालिका खोड्पेका हरिस विष्ट बताउँछन् । भन्छन्, ‘सडकछेउको फोहोरले हाम्रो जिल्ला भित्रिने मानिसलाई समेत अप्ठ्यारोमा पारेको छ । यसको तुरुन्त व्यवस्थापन हुनुपर्छ ।’राजमार्गछेउका फोहोरले स्वास्थ्यमा समेत समस्या ल्याउने स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन् । ‘नगरपालिकाले सबै प्रकारका फोहोर एकै ठाउँमा सडकछेउमा थुपारेको छ । जसका कारण विभिन्न स्वास्थ्य समस्या आउन सक्छ ।’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. गुणराज अवस्थी भन्छन्, ‘वर्षात्को समयमा फोहोर बगेर पानीका मुहानसम्म जान्छ, यसले झाडापखाला, हैजा, आउँ, टाइफाइड जस्ता रोग निम्तिन सक्छ । त्यसैले फोहोर व्यवस्थापन जतिसक्दो चाँडो गर्नुपर्ने भइसकेको छ ।’

 

प्रतिकृया दिनुहोस