MENU

टूडे निगरानी

635x90

मर्मत र संरक्षणको अभावमा लामाे झोलुंगे पुल जोखिममा

बिष्णुप्रसाद देवकोटा, महेन्द्रनगर सोमवार, भाद्र १९, २०७४

महाकाली नदीमा बनाइएको दक्षिण एसियाकै दोस्रो लामो झोलुंगे पुल (एक हजार चार सय ५२ मिटर) मा बिछ्याइएका पाताहरू टुटेका र चारैतिरका फलामे डोरीहरू चुँडिएका छन् । कतिपय स्थानका नटबोल्ट हराएको र जाली च्यातिएको छ ।११ भदौको बिहान संवाददाता पुलमा पुग्दा पैदलयात्रु हिँड्दा पनि पुल निकै हल्लिएको थियो । ओहोरदोहोर गर्नेहरू डराइरहेका थिए । पैदल र साइकल यात्री आवश्यकताभन्दा बढी भार बढ्दै गएकाले पुल कमजोर बन्दै गएको गुनासो गर्दै थिए । पुलमै भेटिएका महाकाली नगरपालिका ४ का पदमराज भट्टले भने, ‘पुल निकै कमजोर भएको छ ।

कुन दिन भाँचिन्छ भन्ने पिरलो छ ।’ महाकाली नदीपारिका साविक दोधारा–चाँदनी गाविस (अहिले महाकाली नगरपालिका) का स्थानीय १३ वर्ष अघिसम्म सदरमुकाम आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्थे । कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको १३ र महाकाली नगरपालिका ४ मा पर्ने महाकाली नदीमा २०६१ सालमा नौ करोड ४२ लाख रुपैयाँ बराबरको लागतमा झोलुंगे पुल निर्माण भएपछि सर्वसाधारणले राहत महसुस गरे । तर, सरकारी उदासीनताका कारण निर्माणको एक दशकमै मर्मतसम्भारको अभावमा अहिले पुल जीर्ण बनेको छ ।

‘यो पुलको संरक्षण र सम्बद्र्धन हुन सकेन,’ ७० वर्षीय पट्टे सार्कीले भने, ‘लापरवाहीले पुल नै जोखिममा छ ।’ दोधारा चाँदनीलाई सदरमुकामसँग जोड्न पुल निर्माण गरिएको हो । अहिले दैनिक करिब तीन हजार यात्रुले पुल ओहोरदोहोर गर्छन् । पुल बनेपछि जिल्लाका ४०–५० हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित छन्, तर सर्वसाधारणभन्दा पनि भारतीय बजारबाट अवैध कारोबार गर्ने व्यापारीले बढी लाभ उठाएको देखिन्छ । यो क्षेत्रसँग सीमावर्ती भारतको उत्तराखण्ड राज्यमा पर्ने उद्यमसिंह नगर जिल्लाको खटिमा बजार छ । 

nigrani_karnali-suspension-

भन्सार कार्र्यालय नहुँदा व्यापारीले मोटरसाइकलमा यही पुल हुँदै मल, चिनीलगायत सामान अवैध ओसार्ने गरेका छन् । पुल वारि र पारि प्रहरी कार्यालय छ, तर अवैध कार्य रोक्न प्रहरीले कुनै भूमिका निर्वाह नगरेको स्थानीयको आरोप छ । पुलबाट ५० किलोभन्दा बढी तौलको सामान ओसारपसार गर्न नपाइने नियम छ । तर, बिहान घाम नझुल्किँदै र साँझ परेपछि पुलले भारै थेग्न नसक्ने गरी अवैध मलखाद, चिनी र अन्य सामान बोकेका ३०–४० वटा मोटरसाइकल एकैपटक पुलमा गुड्ने गर्छन् । एउटै मोटरसाइकलको भार एक क्विन्टलभन्दा बढी हुन्छ ।

तर, सरकारी निकाय मौन छ । पुल जोखिमा पर्ने अर्को कारण महाकाली नदीबाट अवैध ढुंगागिट्टी र वालुवा उत्खनन् गरेर पनि हो । महाकाली किनारमा बस्तीभन्दा दुई सय मिटर र झोलुंगे पुलभन्दा पाँच सय मिटर टाढाबाट नदीजन्य पदार्थ उठाउनुपर्ने सूचना बोर्ड राखिएको छ । तर, नदीमा भने मापदण्डविपरीत झोलुंगे पुलबाट एक सय मिटरको दूरीमै अत्यधिक उत्खनन् भइरहेको छ । पुलकै छेउछाउबाट निकालिएको नदीजन्य वस्तुका कारण पुलका कतिपय पिलरहरूको जगसमेत देखिन थालेका छन् ।

 

समन्वय समितिलाई पुल मर्मतको कुनै अधिकार छैन। मर्मतका लागि कुनै अधिकार प्रत्योजन पनि भएको छैन। पुल निर्माण भएदेखि महाशाखाले नै मर्मत गर्दै आएको छ।  सन्तोष भण्डारी  सब–इन्जिनियर, जिल्ला समन्वय समिति

सरकारी निकायले जोखिममा पर्दै गएको पुलको मर्मत र रेखदेखमा ध्यान नदिने हो भने केही वर्षमै पुल भाँचिन सक्ने खतरा छ । पुल बनेपछि स्थानीय जति खुशी थिए, त्यति नै सम्बन्धित निकायले पुल मर्मतमा ध्यान नदिँदा दुःखी छन् । पुल मर्मतका लागि भन्दै जिल्ला समन्वय समितिले बर्सेनि कर पनि उठाउँदै आएको छ । तर, पुल पूर्ण रूपमा मर्मत हुन सकेको छैन । समन्वय समिति झोलुंगे पुल शाखाका सब–इन्जिनियर सन्तोष भण्डारी पुलको नियमित र बृहत मर्मतको जिम्मा झोलुंगे पुल महाशाखाको भएको भन्दै जिम्मेवारीबाट पन्छिन्छन् । ‘मर्मतका लागि कुनै अधिकार प्रत्योजन भएको छैन,’ उनले भने ‘पुल निर्माण भएदेखि नै महाशाखाले मर्मत गर्दै आएको छ ।’

उनी पनि पुल मर्मत हुन नसकेको स्वीकार्छन् । पुलको रेखदेख गर्ने जिम्मेवारी पाएको समितिले वारिपारि दुई स्थानमा कर्मचारी पनि खटाएको छ । पुल जीर्ण भएकोप्रति कर्मचारीले जिल्ला समन्वय समितिलाई पनि ध्यानाकर्षण गराएको तर महाशाखाले बेवास्ता गरेको दाबी गर्छन् । सब–इन्जिनियर भण्डारी भन्छन्, ‘महाशाखाले आफैं टेन्डर आह्वान गरेर बर्सेनि कनिका छरेझैं १०/१२ लाखको मर्मतको काम गर्छ । उक्त रकम बृहत मर्मतका लागि पर्याप्त हुँदैन ।’

nigrani_karnali-suspension-bridge1

महेन्द्रनगर बजारदेखि साढे १० किलोमिटरको दूरीमा रहेको पुल हेर्न आउने पर्यटकहरूका लागि उपयुक्त पिकनिक स्पोर्ट तथा बाटोघाटो र होटलको सुविधासमेत हुन सकेको छैन । तर, डेढ किलोमिटर लामो दोधारा–चाँदनी झोलुंगे पुल संरक्षणका लागि पहल गर्न स्थानीय तथा पुल हेर्न आउने पर्यटकहरूले सरोकारवाला पक्षसँग आग्रह गर्दै आए पनि सम्बन्धित निकायले त्यसतर्फ चासो दिएको छैन । अवस्थित पुलको अवलोकन गर्न दिनहुँ आन्तरिक र बाह्य पर्यटकसमेत आउने गरे पनि संरक्षण र मर्मतको अभावमा पुलको जोखिम बढेको हो ।

झोलुंगे पुल पुग्न पाँच किमि वर शुक्लाफाँटा वन्यजन्तु आरक्ष र नेपालकै पहिलो राना थारू होमस्टे रहेका कारणसमेत यहाँ पर्यटक आकर्षित भएका हुन् । होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष परमानन्द भण्डारी भन्छन्, ‘प्रदेश ७ को पहिचान झल्काउने दक्षिण एसियाकै दोस्रो लामो झोलुंगे पुलको मर्मत र संरक्षणमा सरकारी निकाय र स्थानीयको ध्यान जान जरुरी छ ।’

 

प्रतिकृया दिनुहोस