MENU

टूडे निगरानी

635x90

ठेकेदारको लापरवाहीकै कारण नबन्दै भत्कियाे कीर्तिपुर सडक

धीरजकुमार देवकोटा सोमवार, भाद्र ५, २०७४

बल्खुबाट कुमारी क्लब हुँदै कीर्तिपुर बजार छिर्न दुइटा बाटो प्रयोग गर्न सकिन्छ । एउटा टीयू गेटबाट, अर्को ल्याबरोटोरी स्कुल भएर । कीर्तिपुरवासीले करिब दुई वर्ष टीयू गेटको साँगुरो बाटो प्रयोग गरे । कारण, सडक फराकिलो बनाएर नयाँ कालोपत्रे गर्न ल्याबरोटोरी स्कुल भएर जाने बाटो बन्द गरिएको थियो । असारको दोस्रो साता कीर्तिपुर जोड्ने सडकले पूर्णता पायो र गाडी पनि गुडे । तर, नौ करोडको लागतमा निर्माण सम्पन्न भएको करिब डेढ किलो मिटर दूरीको सडक डेढ महिनामै भासिएर थङथिलो भएको छ ।

यो सडक वर्षाै‌ पहिलेदेखि मर्मत नभएकोझैं देखिन्छ । कीर्तिपुर, टाउनप्लानिङमा बस्दै आएका महालेखा परीक्षकको कार्यालय, ललितपुरका अधिकृत प्रसाद थारू भन्छन्, ‘सडक फराकिलो भएर मात्रै के गर्नु । यसको अवस्था दुई वर्षअघि मर्मत गरिएको भन्दा पनि खत्तम छ ।’ अधिकृत थारू टीयू गेटकै बाटो प्रयोग गर्छन् । ‘ल्याबरोटोरी स्कुल भएर जाने बाटो सुनसान छ, थोरै गतिमा मोटरसाइकल चलाउँदा पनि खाल्डोमा पछारिने हो कि भन्ने डर छ ।’ उनी भन्छन् । सामान्य यात्रुबाहक सवारी मात्र गुडे पनि सडकको अवस्था जीर्ण बनेको छ । सडकका बीच भागबाट चिरा पर्दै गिट्टी, ढुंगा यत्रतत्र छरिदै कालोपत्रे उक्किएको छ । समतल सडक भुक्क फुलेर हरिबिजोग भएको छ ।

ठेकेदारको लापरबाही

कीर्तिपुर, नयाँबजारका स्टेसनरी व्यवसायी कृष्णकुमार कार्कीका अनुसार सरकारी कर्मचारी र ठेकेदारको लापरवाहीका कारण सडक महिना दिनमै जीर्ण भएको हो । उनी भन्छन्, ‘केही समयमै बन्ने सडक दुई वर्ष लगाएर बनाए, तर पैसा मात्र नास भयो ।’ उनी प्रश्न गर्छन्, ‘राजधानीजस्तो ठाउँमा त यसरी भ्रष्टाचार हुन्छ भने अन्यत्र कस्तो होला विकासको अवस्था ? कार्की मात्र नभई अहिले आम कीर्तिपुरवासी तथा त्यस सडक भएर यात्रा गर्ने जोकोहीको नजरमा भर्खरै बनेको उक्त सडक किन यति चाँडै बिग्रियो भयो भन्ने व्यापक चासोको विषय बनेको छ ।

balkhu2

स्थानीय तुलसी रिजाल पनि अनावश्यक कारण देखाई ढिलाको बहानामा ठेकेदारले पैसा खाएर सडकको अवस्था यस्तो भएको बताउँछन् । भन्छन्, ‘यसमा सरकारी कर्मचारीको पनि मिलेमतो छ, होइन भने यतिका समय लगाएर बनाइएको सडक टिकेन ?’ कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन भने आफू भर्खरै मात्र निर्वाचित भएर आएकोले सडकबारे खासै जानकारी नभएको भन्दै आलटालपूर्ण अभिव्यक्ति दिन्छन् ।

यसको जिम्मेवारीको विषयमा नगरपालिकाले नैतिक दायित्व मात्र लिन सक्ने बताउँदै उनले भने, ‘म आउँदा सडकको काम लगभग सकिइसकेको थियो, बरु यस विषयमा सडक विभागलाई धेरै थाहा हुन्छ ।’ निर्माण सम्पन्न भएको केही दिनभित्रै सडक भत्कियो भनेर आम सर्वसाधारण व्यापक गुनासो लिएर आउने गरेको कुरा भने मेयर महर्जनले सकारे । भन्छन्, ‘यस विषयमा हामीले ठेकेदार, सडक विभागका इन्जिनियरसँग पनि कुरा गर्‍यौँ, उनीहरूले प्राविधिक कारणले यस्तो भएको बताएका छन् ।’ काम सम्पन्न भइसकेपछि सडक विभागले गरेको चेकजाँचबाट सडकको अवस्था ठीक देखाइएको थियो ।

बग्रेल्ती छरिएका कालोपत्रेका गिट्टी, भासिँदै गएको सडक हेर्दा अब केही महिनाभित्रै यसको अवस्था नाजुक देखिने पक्का छ।

महर्जनका अनुसार नौ मिटरसम्मको चौडाइ रहेको सडकको निर्माण गर्ने जिम्मा स्थानीय निकायलाई भएको र त्योभन्दा बढी भए सडक विभागबाट बन्छ । अहिले बनेको सडक १३ सय मिटरको छ । उनले भने, ‘जतिसुकै मिटरको भए पनि स्थानीय निकायले बनाउन पाउनुपर्छ, अनि मात्र गुणस्तरीय हुन्छ ।’ कर्मचारीतन्त्र धेरै भ्रष्ट भएको र कमिसनको लोभले सानाभन्दा साना निर्माणका काम पनि आफ्नै मातहतमा हुनुपर्ने उनीहरूले जिकिर गर्दै आएका छन् । त्यसैको परिणामस्वरूप यो सडकको दुरावस्था भएको उनले बताए ।

कमजोर धरातल

उता, सडक विभागका इन्जिनियर अरुणकुमार कर्ण भने सडकमुनि रहेको पानीको सतह बढेको कारण सडक केही दिनमै जीर्ण भएको बताउँछन् । भन्छन्, ‘यसको मुख्य कारण सडकमुनि रहेको दलदल र पानीको सतह माथि आएर भएको हो, प्रारम्भिक अनुमानले यही कुरा देखाएको छ । कमजोर माटोको संरचना भएकोले सडकमाथि गुड्ने सवारीको चाप थेग्न नसकी सडक भत्कियो । २०५८ सालमा कालोपत्रे गरिएको उक्त सडक यही असारमा पुनः कालोपत्रे गरिएको थियो ।

यसभन्दा अघि पनि यहाँ कालोपत्रे भएको र त्यसबेला यस्तो समस्या नआएको तर एक्कासि किन यस्तो समस्या देखियो भन्ने प्रश्नमा इन्जिनियर कर्ण भन्छन्, ‘अन्य ठाउँको आयोजनाझैं यसमा पनि सडकको धरातल र यसले थेग्न सक्ने भार क्षमता मूल्यांकन नगरी काम शुरु गरियो, फलस्वरूप यस्तो दुर्दशा हुन पुग्यो ।’ उनी थप्छन्, ‘१२ वैशाख ०७२ को भूकम्पको कारण यस क्षेत्रको जुनसुकै ठाउँमा पानीको सतह कि त त एकदमै माथि, कि निकै तल गएको छ, यसले सडक मात्र नभई अन्य विकास निर्माणमा पनि समस्या देखिएको छ ।’

balkhu1

उनका अनुसार नेपालमा सडक निर्माणमा वातावरणीय प्रभावदेखि अन्य सम्पूर्ण अवस्थाको निरीक्षण र मूल्यांकन हुने गरे पनि भौगर्भिक अवस्थाको जानकारी लिने र यसबारे खासै अध्ययन हुने गरेको छैन । जसले यस्तो समस्या यदाकदा देखिने गरेको छ । यो समस्या लिएर सडक विभागले एउटा विज्ञ टोली गठन गरेको छ, जसले प्रारम्भिक काम थालेको छ । कर्ण भन्छन्, यसको सम्पूर्ण विवरण आएपछि सडकको पुनर्संरचनामा हामी चाँडै लाग्नेछौँ ।
सडक विभागका उपमहानिर्देशक, योजना तथा डिजाइन महाशाखाका प्रमुख दयाकान्त झा भने अहिलेसम्मको अवस्था हेर्दा ठेकेदारको लापरवाहीजस्तो देखिए पनि रिपोर्ट नआएसम्म केही भन्न सकिने अवस्था नरहेको बताउँछन् । भन्छन्, ‘अहिले हामी सर्वेक्षणको क्रममा छौँ, पूर्ण जानकारी नआई केही भन्न सकिने अवस्था छैन । सायद जमिनमुनिको पानीकै कारण यस्तो भएको हुन सक्छ ।’

पानीमुनिको ओभानो

सडक निर्माणको ठेक्का पाएको कविन्द्र निर्माण सेवाका प्रमुख ठेकेदार कविन्द्र महर्जन पनि भूकम्पपछि पानीको सतह निकै माथि आएकाले समस्या आएको बताउँछन् । भन्छन्, ‘यसरी पानी माथि आयो होला भन्ने हामीलाई थाहा नै भएन ।’ जबकि निर्माण सम्पन्न भइसकेर हस्तान्तरण नगर्दै सडकको दुवै किनाराबाट कालोपत्रे उक्किँदै थियो । यस विषयमा जिज्ञासा राख्दा उनले त्यही बेला ठूलो पानी परेर यस्तो भएको भन्ने हास्यास्पद तर्क गरे । भन्छन्, ‘यो सबै सडकमुनिको कमजोर माटोको संरचनाले गर्दा भएको हो, फेरि त्यही बेला आकाशबाट पनि बेस्सरी पानी पर्‍यो र जमिनमुनिको पानीको तह पनि माथि उठेर आयो । यसले सडक कमजोर भयो ।’ उनका अनुसार आगामी दिनमा यस्ताखाले समस्या नहोस् भन्नका लागि सडकको भारवाहन क्षमतादेखि माटो परीक्षण अनि धरातलको अवस्थाको जानकारी लिनुपर्ने पाठ सिकाएको छ ।

ठेकेदार महर्जनका अनुसार अब सडक मर्मतको उपाय फिल्टर मेटेरियल (ग्राभेल, कंकड, गिट्टी) विधि प्रयोग हो । यसले यसले पानीको सतह माथि आउन नदिई सडक र माटोलाई कडा बनाउँछ । उनी भन्छन्, ‘अहिले मनसुनको समय भएकाले सम्भव छैन तर दशैंअगाडिसम्म हामी यसको अवस्था सुधार्नेछौँ ।’ बिग्रेको सडक सुधार्ने जिम्मा ठेकेदारकै हो । तर, सडकको गुणस्तर हेर्ने सडक विभागका इन्जिनियरदेखि स्थानीय जनप्रतिनिधिसमेत ठेकदारलाई उन्मुक्ति दिने मनस्थितिमा देखिन्छन् ।

 

प्रतिकृया दिनुहोस