MENU

टूडे निगरानी

dishhomeapp

भुकम्पले ढलेका सम्पदा अझैं उठेनन्

धीरजकुमार देवकोटा सोमवार, श्रावण २३, २०७४

१२ वैशाख २०७२ को विनाशकारी भूकम्पले ध्वस्त भएका अधिकांश ऐतिहासिक भौतिक संरचना दुई वर्ष बितिसक्दा पनि पुनर्निर्माण हुन सकेका छैनन् । ढलेका, ध्वस्त भएका भौतिक संरचना दुई वर्षमा कति बने ? कति बन्ने अवस्थामा छन् ? पुनर्निर्माणको अवस्था कसरी अघि बढिरहेको छ ? यसबारे अहिले समग्र निकाय, सर्वसाधारणले चासो व्यक्त गर्न थालेका छन् । राजधानीलगायत विभिन्न ठाउँमा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणको जिम्मा पाएको पुरातत्व विभागले अधिकांश पुरातात्विक सम्पदामा निर्माणमा हात हाले पनि भनेजति सम्पदाको पुननिर्माण गर्न सकेको छैन ।

काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, दोलखा, रामेछाप आदि जिल्लामा पुनर्निर्माण कार्य शुरु भइसकेको बताउँछन्, विभागका प्रवक्ता रामबहादुर कुँवर । विभागले पूरै ध्वस्त भएका सम्पदाहरूको पुनर्निर्माणलाई पहिलो प्राथमिकता दिएको छ । विश्व समुदायमा नेपाललाई चिनाउने यस्ता पुरातात्विक सम्पदाहरूको पुनर्निर्माण लक्ष्यअनुरूप नै भएको विभागको ठम्याई छ । प्रवक्ता कुँवर भन्छन्, ‘ढिलो भन्न मिल्दैन, त्यति ठूलो भूकम्पका कारण हामी सबैमा एक वर्षसम्म कुनै चेतना नै आएन ।

भूकम्पको सन्त्रास वर्षदिनसम्म पनि फैलिरह्यो । त्यसैले त्यो वर्ष काम गर्ने कुनै योजना नै बनाउन सकिएन,’ उनी थप्छन्, ‘सांस्कृतिक सम्पदाहरूको पुनर्निर्माण रातारात तथा एक महिना नै बन्ने हुँदैन, यसले लिने गति भनेको खासमा यस्तै हुन्छ । यसलाई ढिलो भएको भन्न मिल्दैन, कामहरू भइरहेका छन् ।’ तर, विभागले क्षति भएका संरचनाको डकुमेन्टेसन तथा त्यसलाई प्रोपर ठाउँमा राख्ने कुरालगायत कामहरू गर्दै आएको थियो । कला, वास्तुकला तथा परम्परागत वस्तुको प्रयोग ज्यादा प्रयोग गरी बनाउनुपर्ने हुँदा अहिलेको रफ्तारलाई विभागले सामान्य नै मानेको छ ।

repair

काठमाडौंलाई मुख्य रूपमा चिनाउने रानीपोखरी र धरहराको पुनर्निर्माणमा आएको सुस्तताको विषय बेला–बेलामा विवादमा आउने गरेको छ । जसको कारण यसको पुनर्निर्माण नै नहुने हो कि भन्नेमा सबैको चासो बढ्दै गएको देखिन्छ । शुरुमा ग्रान्ड डिजाइन तयार पारेर नेपाल टेलिकमलाई जिम्मा दिइएको थियो । पछि टेलिकमले करिब ६ अर्ब रूपैयाँको लगानीमा धरहरा पुनर्निर्माण गर्ने प्रस्ताव राख्यो । सरकारले तयार पारेको डिजाइनमा नभई आफ्नै नयाँ डिजाइनमा धरहरा बनाउने प्रस्ताव गरेपछि स्थानीयवासी तथा केही संस्थाले यसको विरोध पनि गरेका थिए ।

आंशिक रूपमा क्षति भएकालाई निरन्तर संरक्षण गर्दै जाने र अन्यलाई मर्मत गर्दै जाने विभागको योजना रहको छ । ‘पुरातात्विक, सांस्कृतिकलगायत संरचना निर्माण गर्ने प्रमुख दायित्व विभागकै हो । जसले गर्दा फलानो संरचना गर्ने फलानो नगर्ने भन्ने हुँदैन समान रूपले यसलाई लिइएको छ ।’ कुँवरले प्रस्ट पारे । आममानिसको आँखामा विभागले काम नगरेको र सुस्तता छाएको देखिनु स्वभाविकै भएको भनेप्रवक्ता कुँवर स्वीकार्छन् । आंशिक तथा पूर्ण गरेर जम्मा ३०–३५ वटा संरचना पूर्ण रूपले बनिसकेको उनले बताए ।

गोरखा जिल्लामा सबैभन्दा बढी पुनर्निमाणको काम सम्पन्न भएको समेत उनले जानकारी दिए । अधिकांश पुराना निर्माण सामग्रीको प्रयोगबाट यस्ता संरचनालाई आकार दिनुपर्ने हुन्छ । जसले उक्त संरचनाको ऐतिहासिक र पुरातात्विक पक्षलाई कायम राख्न सकोस् । त्यसकारण पुनर्निर्माण मा विशेष ख्याल गर्नुपर्ने उनी बताउँछन् । भक्तपुर, सिन्धुपाल्चोक, कीर्तिपुर, चाँगुनारायणलगायत ठाउँहरूमा दु्रत गतिमा काम भएको समेत उनले बताए । सम्पदा निर्माणको कार्यविधि अहिलेसम्म तयार भएको छैन, जसका कारण पुनर्निर्माणमा चाँडै सकिने साना र सजिला संरचना समेत बन्न सकेका छैनन् । डिजाइन भइसकेका धरोहरको पनि पुनर्निर्माण कार्यमा पनि सुस्तता आएको छ ।

भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि राजधानीलगायत सम्पदाहरूको पुनर्निर्माणको गति सुस्त छ।

 स्वयम्भूको अनन्तपुरको काम आधामात्र सकिएको छ, प्रतापपुर र शान्तिपुरको काम पनि आधामात्र सम्पन्न भएको छ । टासी गुम्बाको काम भने सम्पन्न भइसकेको छ । १२ औं शताब्दीमा निर्माण भएको काठमाडौंको हनुमानढोकाको काष्ठमण्डम पूरै ध्वस्त भएको थियो । जुन अहिलेसम्म बन्न सकेको छैन । स–साना सम्पदाबाहेक अन्यको आशलाग्दो पुनर्निर्माण हुन सकेको छैन । कागेश्वर, राधाकृष्ण मन्दिरजस्ता साना सम्पदाको काम मात्र भएको छ । नौतले, गद्दी बैठकको काम भर्खर आएर शुरु हुन लागेको छ । तलेजुको छाना छाउने काम मात्र भएको छ ।

सबैभन्दा बढी काम भएको भक्तपुर दरबार स्क्वायरमा चाहिँ केही काम भएका छन् । नारायण, शिव, केदारनाथ मन्दिरको निर्माण कार्यले भने केही गति लिएको छ । बद्रीनाथको मूलगेट सम्पन्न नै भइसकेको छ । प्रायः ठूला सम्पदा शुरु भएको तीन वर्षभित्र निर्माण सक्ने विभागको लक्ष्य छ । साना सम्पदाको हकमा भने समय निर्धारण नगरिएको केही बन्दै गएका र समयसमयमा पुनर्निर्माण हुँदैजाने र मझौलाखाले पनि सोहीअनुुसार बनाउँदै जाने विभागले जनाएको छ ।

महानगरको तयारी

काठमाडौं महानगरले भर्खरै नगरसभा सम्पन्न गरेको छ । सभाबाट क्षतिग्रस्त संरचनाको दु्रत गतिमा निर्माण गर्न बजेट विनियोजन भएको महानगरका सूचना अधिकारी वसन्त आचार्य बताउँछन् । भन्छन्, ‘केही दिनभित्रै विनियोजन ऐन आएपछि पुरातात्विक संरचनाको पुर्निर्माणमा तीव्रता आउनेछ । काठमाडौंमा अत्यधिक क्षति भएका वसन्तपुर हनुमानढोकालगायत ठाउँलाई मुख्यतः पहिलो प्राथमिकता राखेर काम हुनेछ ।’

punarniman2_1

पुनर्निर्माणमा विवाद देखिएको रानीपोखरी र धरहराको सम्बन्धमा पनि विनियोजन ऐन बनिसकेपछि मात्र टुंगो लाग्ने उनले बताए । ‘कुन मोडलमा बन्ने विषयमा नै मुख्य विवाद र लागतमा पनि धेरै विवाद रहेको कारण यसको पुनर्निर्माणमा सुस्तता आएको हो,’ उनी भन्छन् । महानगरपालिकाले भर्खरै पूर्णता पाएको छ, अब हामी द्रुततर गतिमा यसको कार्यान्वयनको चरणमा जानेछौं,’ उनले भने । महानगरले जातीय संग्रहालय बनाउने तयारीसमेत गरेको उनले जानकारी दिए ।

महानगरले सरोकारवाला निकायसँग सहकार्य गर्ने/नगर्ने विषयमा ठोस योजना नभएको बताए । आचार्य भन्छन्, ‘पुरातत्व विभाग र गुठीसँग हाम्रो सहकार्य हुन पनि सक्छ अथवा पुनर्निर्माणको कार्य एकल पनि हुन सक्छ ।’ राजधानीलगायत संरचनाको पुनर्निर्माणको कार्य पछिल्लो समयमा जुन रफ्तारमा अगाडि बढ्नुपर्ने हो, सोही गतिमै अघि बढेको बताउँछन्, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता यमलाल भुसाल पनि । उनको भनाइ पनि पुरातत्व विभागका प्रवक्ता कुँवरसँग मेल खान्छ । भन्छन्, ‘यो ढिलोभन्दा पनि पुनर्निर्माणको गति नै यहीँ हो ।’ उनी पुराना राणाकालीन दरबारलगायत ठूला खालका संरचनामा बन्न समय लाग्ने बताउँछन् ।

उनी थप्छन्, ‘अब मनसुनलगत्तै हामी पर्यटन मन्त्रालयका साथै पुरातत्वको विभावको नेतृत्वमा यससम्बन्धी कार्यमा अगाडि बढ्नेछौँ । अहिले अलिकति देखिएको सुस्तता चाँडै नै अन्त्य हुनेछ ।’ उनले उपत्यकामा भूकम्पले भत्केका ६२ वटा संरचना बनिसकेको र एक सय वटा बन्ने क्रममा रहेको समेत जानकारी दिए । राणाकालीन दरबारहरू केशरमहल र हरिहरभवन भने भारतीय सरकारको सहयोगमा निर्माण हुने उनले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस