MENU

टूडे निगरानी

635x90

पुननिर्माण नभएपछि सम्पदा टेकोको भरमा

ईश्वरकाजी खाइजू, भक्‍तपुर बुधवार, श्रावण १८, २०७४

काष्ठकलाको नमुना शहर भक्तपुर दरबार क्षेत्रमा प्रवेश गर्ने मुख्य सडकछेउमै पर्यटकलाई लोभ्याउने सम्पदाले भरिपूर्ण निजी घरमा टेको लगाइएको छ । दरबार क्षेत्रभित्रको मुख्य आकर्षणमध्येको एक गोल्डेन गेटको छेउकै सिंहध्वाका दरबार (राष्ट्रिय कला संग्राहलय रहेका दुईतले सेतो भवन र तीनतले रातो भवन) टेकोले सिँगारिएको छ । दरबार क्षेत्रकै तवः सत्तल पनि टेकोकै भरमा छ ।

टौमढीस्थित पाँचतले मन्दिर परिसरकै निजी घरमा पनि फलामे टेको छ । १२ वैशाखको महाभूकम्पपछि दरबार स्क्वायर क्षेत्रका सम्पदा र आसपासका निजी भवन टेकोको भरमा छन् । ‘टेको धराप’ बनेका छन् । ललितपुरको मंगलबजारबाट भक्तपुर दरबार क्षेत्र घुम्न पुगेका सुरेन्द्रमान महर्जनलाई गल्लीगल्लीभित्र अझै टेको लगाएका घरहरू देखेर आङ नै सिरिङ हुन्छ ।

‘दरबार क्षेत्र जस्तो खुला ठाउँमै टेको भएको सम्पदानजिक जान पनि डर लाग्छ,’ भक्तपुर दरबार क्षेत्र परिसरमा भेटिएका उनी भन्छन्, ‘भक्तपुरका गल्लीभित्र छिर्ने त कुरै आउँदैन । टेको लगाएका घर भएका गल्लीभित्र छिर्दा फेरि भूकम्प आयो भने कहाँ भाग्ने ? कसरी ज्यान जोगाउने सोच्दै पूरै शरीरमा काँडा उम्रेर आउँछ ।’

sampada1

टेको लगाएका भवनमा बस्न, पसल सञ्चालन गर्न र त्यसको आपपास हिँडडुल गर्न स्थानीय अभ्यस्त छन् । ‘टेको लगाएको घर भएर हिँडडुल गर्ने हाम्रो त बानी नै भइसक्यो,’ भनपा ३ नासमनाका राजेश सुवाल भन्छन्, ‘हिँड्दै गर्दा भूकम्प आइहाल्यो भने कतातिर भाग्दा सुरक्षित हुन्छ भन्ने कुरा दिमागमै सेट भइसक्यो ।’ तर, भक्तपुर बाहिरबाट आउने सर्वसाधारण भने टेको लगाएका घर तथा सम्पदादेखि टाढै रहँदै आएका छन् । उनीहरू भूकम्प गएको साढे दुई वर्ष हुँदा पनि भक्तपुरमा गल्लीभित्र छिर्न डर लाग्ने बताउँछन् ।

तर, आन्तरिक र बाह्य पर्यटकहरू भने खतरा महसुस गर्छन् । भवनमा टेकोकै कारण पर्यटकहरूले सम्पदाको अवलोकन सुरक्षित र रमाइलो तरिकाले गर्न नपाएको गुनासो गर्छन् । ‘टेको लगाएका घर देखेर डर त लाग्छ नि,’ भक्तपुर नगरको टौमढीमा भेटिएका एक चिनियाँ पर्यटक दम्पत्तिले भने, ‘जताततै टेको लगाएका घर र सम्पदा देखेर पर्यटकहरूले आफूलाई सुरक्षित महसुस गर्दैनन् ।’ यस्तो अवस्थामा पनि अघिल्लो वर्षको तुलनामा ९० प्रतिशत पर्यटक बढेका छन् । भक्तपुर नगरपालिकाका पर्यटन अधिकृत गौतमप्रसाद लासिवाका अनुसार आर्थिक वर्ष ०७२/७३ मा ९५ हजार ५६ जना पर्यटकले दरबार क्षेत्र अवलोकन गरेका थिए ।

दरबार स्क्वायर क्षेत्रका सम्पदा र आसपासका निजी भवन टेकोको भरमा छन्।

आव ०७३/७४ मा भने एक लाख ८१ हजार तीन सय ५० जना पर्यटक भित्रिए, जुन ८६ हजार दुई सय ९४ अर्थात् ९० दशमलव ७८ प्रतिशतले वृद्धि हो । चीनसहित सार्क मुलुकका पर्यटकहरू अघिल्लो आवको तुलनामा १ सय १७ दशमलव ६५ प्रतिशतले वृद्धि भएको नगरपालिकाको तथ्यांक छ ।

पुनर्निर्माणका समस्या

टेकोमा अडिएको सिंहध्वाका दरबारको पुनर्निर्माण शुरु भइसक्यो । पश्चिमी भाग पुरातत्व विभाग र पूर्वी भागको भक्तपुर नगरपालिकाले बनाइदिने भएको थियो, तर पुनर्निर्माण मल्लकालीन शैलीमा गर्ने कि राणाकालीन भन्ने निक्र्योल नहुँदा टेकोमै सीमित रहन गयो । पुरातत्व विभागअन्तर्गत स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख इन्जिनियर मोहनकृष्ण श्रेष्ठले भने, ‘यही रफ्तारमा काम भए पाँचवर्षभित्र भक्तपुरका प्राय सम्पदा भूकम्पअघिकै अवस्थामा पुग्नेछन् ।’

sampada2

तर, सम्पदा पुनर्निर्माण तथा जीर्णोद्वारको लागि दक्ष कालीगढ, काठ र निर्माण सामग्रीको अभाव पनि बाधक बनेको छ । बजारमा चल्तीको पारिश्रमिकभन्दा सरकारी ज्याला अति कम हुँदा दक्ष कालीगढ तथा डकर्मीहरू पाउन पनि उत्तिकै समस्या छ । ‘बजारमा एक हजार दुई सय रुपैयाँ ज्याला पाउने डकर्मीलाई सरकारीदरमा आठ सय ३५ भन्दा बढी दिन मिल्दैन । अनि सम्पदा संरक्षण गर्न डकर्मी र मजदुर कहाँबाट पाउनू ?’ कार्यालयले चालु आवमा एक दर्जन सम्पदा पुनर्निर्माणका लागि चार करोड ३० लाख रुपैयाँ बजेटको अख्तियार पाइसकेको छ ।

तर, काठ नपाउँदा पनि सम्पदा पुनर्निर्माण र जीर्णोद्वारमा ढिलाइ भइरहेको छ । भक्तपुर नपा ३ नासमनास्थित बत्सला मन्दिर पनि टेकोमै अडिएको छ । मन्दिरको पुनर्निर्माण गर्न भक्तपुर नगरपालिकाले चालु आवमा बजेट व्यवस्था गरेको छ । नगरपालिका सम्पदा शाखाका प्रमुख आर्किटेक्ट इन्जिनियर रामगोविन्द श्रेष्ठ भूकम्पले क्षतिग्रस्त सम्पदा पुनर्निर्माण तथा जीर्णोद्वारलाई प्राथमिकता दिँदै आएको बताउँछन् ।

टेकोमै घर–पसल

टौमढी, भक्तपुर दरबार क्षेत्र, इच्छु गल्ली, दत्तात्रयलगायत पर्यटकीय क्षेत्रका टेको लगाएकै घरमा धेरै पसल चल्दै आएका छन् । टेकोले धानेका घरमै सर्वसाधारण बास बसिरहेका छन् । त्यसमध्येका एक हुन्, भक्तपुर नपा ३ का दीपेशराज शर्मा । ०४५ सालको भूकम्पबाट क्षति नभएको उनको चारतले घर भूकम्पपछि तीन तलामा झर्‍यो । त्यही घरमा टेको लगाएर काम चलाएका छन् । उनले भूकम्पले क्षति पुर्‍याएको घर भत्काएर पुनर्निर्माण गर्न पहल नगरेका भने होइनन् ।

टेको लगाएको घर भत्काउन नै दुई लाख रुपैयाँ लाग्ने देखिएपछि उनी हच्किए । त्यसपछि भने उनीलगायत अधिकांश भूकम्पपीडितले टेको लगाएको घरमै गुजारा गर्न थाले । ‘घर बचाउन राखेको टेको किन्न नै ६० हजार लाग्यो,’ दीपेशले गुनासो गरे, ‘सरकारले दिएको पचास हजारमा आफ्नै १० हजार बढी खर्च भयो । अब घर पुनर्निर्माण कसरी गर्ने ?’

 



 

प्रतिकृया दिनुहोस