MENU

टूडे निगरानी

635x90

जनकपुरमा सडकको सास्ती

मनिका झा, जनकपुरधाम मंगलवार, श्रावण १०, २०७४

जनकपुर–जलेश्वर सडकखण्डमा दिनहुँ दुई सय ५० गाडी चल्थे । जनकपुरबाट महोत्तरी सदरमुकाम जलेश्वर हुँदै सीमावर्ती भिठ्ठामोडसम्मको १९ किलोमिटर यात्रा आधा घण्टामै यात्रा हुन्थ्यो । तर, ४४ वर्षअघि निर्माण गरिएको दुई लेनको कालोपत्रे (पिच) भत्काएर चार लेनमा निर्माणाधीन सडकमा माटो पुरियो, ग्राभेल हालिएन । अहिले सो सडकमा वर्षायामसँगै फाट्टफुट्ट चल्ने सवारी साधनको यात्रा समय तेब्बरदेखि चौबर बढेको छ । धनुषा–महोत्तरीको विकासको मेरुदण्ड मानिने सडकखण्डमा अहिले सुक्खा हुँदा धुलाम्मे र वर्षामा हिलाम्य भइरहेको छ । सडकले खुशीभन्दा स्थानीयलाई सास्ती दिएको छ । कतिसम्म भने सडकको दूरावस्थाकै कारण दुई सातादेखि यातायात सेवा प्रभावित छ ।

‘हिलाम्य सडकमा सवारी आवागमन नै बन्द गर्नु परेको हो,’ जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी भन्छन्, ‘निर्माण व्यवसायी र सम्बन्धित कार्यालयको लापरबाहीका कारण जनकपुरमा वर्षायाममा नाकाबन्दीसरह भएको छ ।’तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सडकमा एक वर्ष बितिसक्दा पनि एक तिहाइ भन्दा कम मात्र काम सम्पन्न भएको छैन । सीमावर्ती भारतीय बजार भिठ्ठामोड हुँदै पेट्रोलियम पदार्थको ढुवानी यही बाटो आउँथ्यो । जनकपुरधाममा दैनिक उपभोग्य वस्तु आयात गर्ने प्रमुख बाटो पनि यही हो ।

जनकपुरधामको रामजानकी मन्दिर आउने पर्यटकको गन्तव्य पनि यहीँबाटै हुन्थ्यो । यातायात नियमित नहुँदा सबै क्षेत्रमा प्रभाव परेको छ । हुलाकी सडकअन्तर्गत पर्ने सडकको निर्माण कार्य भारतीय ठेकेदारले अलपत्र पारेपछि स्वदेशी लगानीमा काम थालियो । २०७३ भदौमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले सडक शिलान्यास गरेका थिए । मन्त्री लेखकले शिलन्यासकै बेला विशेष प्राथकितामा राखेर चाँडै निर्माण कार्य सम्पन्न गर्ने आश्वासन दिएका थिए । तर, सडक निर्माणको ठेक्का पाएका प्रतिभा–वाईपी जेभी र आशिष–पप्पु रोशन जेभीले तीन महिना ढिलो काम शुरु गरे । त्यो, पनि अति नै सुस्त गतिमा ।

हिलाम्य सडकमा जोखिम मोलेर कुनै बस चालकले यातायात चलाए पनि अति अत्यावश्यक काममा मात्र यात्रीले सवारी प्रयोग गर्छन् ।

निर्माण ढिलाइबारे ६ फागुनमा स्थानीय नागरिक समाजका अगुवाहरूले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण गराए । दाहालले मन्त्री लेखकतिर समस्या सारिदिए । मन्त्रीले सडकको स्थलगत अनुगमन गर्ने आश्वासन दिएकै बेला सरकार फेरियो । प्रधानमन्त्री र मन्त्री फेरिए । सडकको समस्या बुझ्ने कोही भएनन् । सुस्त गतिको निर्माणले वर्षायामसँगै सर्वसाधारणलाई कष्टमाथि कष्ट थपियो । एक त आवश्यकताअनुसार सवारी साधन नै चलेनन् । हिलाम्मे सडकमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

समयमै सडक मर्मतसम्भार नहुँदा यस क्षेत्रको विकासमै बाधा पुगेको ठान्छन्, पिपरा गाउँका मोहन मिश्र । दुई लेनको कालोपत्रे सडक बन्दा भारतीय पर्यटकले नेपालको सडक कति राम्रो भन्दै प्रशंसा गर्ने गर्थे । तर, अहिले त स्वदेशी त्यसमा पनि स्थानीय नै छिःछि र दुरदुर गरिरहेका छन् । सडकछेउमा व्यवसाय गर्नेले सुक्खा मौसममा अत्याधिक धुलोको समस्या झेलेका छन् । सडकको दुरावस्थाको प्रभाव व्यापारमा पनि नराम्ररी परेको छ । परकौली चोकमा होटल सञ्चालन गर्दै आएका राजु साह भन्छन्, ‘धुलोले सबै सामान फोहोर हुन्छ । ग्राहक पनि निकै कम आउँछन् ।’

१८ दशमलव ५६ किलोमिटरको यो सडकखण्डलाई दुई प्याकेजमा निर्माण गर्ने योजना रहेको छ । जिरोमाइलदेखि नौ किलोमिटर सडकको पहिलो प्याकेजको ठेक्का प्रतिभा वाईपी जेभीले ४३ करोड ५४ लाख ७२ हजार रुपैैयाँमा र दोस्रो प्याकेजको ठेक्का पप्पुरोशन जेभीले नौ किमिका लागि ४९ करोड ८९ लाख २० हजारमा निर्माण सम्पन्न गर्ने सम्झौता गरेका छन् ।शुरुमा सडक निर्माणका लागि आवश्यक माटो निजी खेतको प्रयोग गरेपछि विवाद भयो । विवाद मुद्दाकै तहसम्म पुग्यो ।

वर्षामा चिप्लिने माटोको साटो ग्राभेल गर्नुपथ्र्यो। सर्वसाधारणको पीडा बुझ्दै व्यवसायीहरूले कम्तीमा वान–वे सवारी सञ्चालन गर्न सक्ने खालको व्यवस्था गर्नुपथ्र्यो। दिलिपकुमार चापागार्इं प्रमुख जिल्ला अधिकारी,

केही दिन अदालतको निषेधाज्ञाले काम रोकियो । निर्माण व्यवसायीले अवैध रूपमा खनेको माटोको मुआब्जा तिरेपछि निर्माण कार्य सुचारु भयो । सडकमा आवश्यक पर्ने पर्याप्त उपकरण, जनशक्ति र सामग्रीको प्रयोग नहुँदा काम सुस्त गतिमा अघि बढ्यो । तर, लक्ष्यअनुरूप काम भएन । स्थानीयमा निर्धारित समयमै काम सकिनेमा आशंका बढेको छ ।

जटही सडक पनि उस्तै

त्यसो त, धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा पर्ने अर्को ६ लेनको जनकपुर–जटही सडकखण्डको अवस्था पनि उस्तै छ । यो सडक हुँदै भारतीय सीमावर्ती बजार उपगाउँ पुगिन्छ । यही बाटो भारतको दरभंगा र पटना जान प्रयोग गरिन्छ । यो सडकमा पनि दिनहुँ ५१/५२ वटा गाडी चल्थे । सडकखण्डको यातायात पनि पानी परेपछि ठप्प भएको छ । जिल्लाका हुलाकी सडक, शहीदपथ, जनकपुर–पर्साही सडकलगायत अन्य ग्रामीण सडकको पनि हिलाम्य भएर यातायात नै ठप्प छ । हिलाम्य सडकमा जोखिम मोलेर कुनै बस चालकले यातायात चलाए पनि अत्यावश्यक काममा मात्र यात्रीले सवारी प्रयोग गर्छन् । पटक–पटक यातायात बन्द गर्दा यातायात सेवामा कार्यरत करिब एक हजार कर्मचारीको जागिर संकटमा परेको छ ।

 धनुषा धनुषाका मुख्य सडक स्तरोन्नतिका नाममा ठेकेदार कम्पनी समयमै काम सम्पन्न नगर्दा स्थानीय हिलो र धुलोको कष्ट भोगिरहेका छन् ।

त्यसो त, जीर्ण सडकले दुर्घटना पनि बढाएको छ । अघिल्ला वर्षहरूको तुलनामा यो वर्ष सवारी दुर्घटनामा मृत्यु हुनेको संख्यासमेत बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार आब ०७१/७२ मा ९० वटा दुर्घटनामा ५२ जनाको मृत्यु भएको थियो । आव ०७२/७३ मा ७१ दुर्घटनामा ४७ जनाको मृत्यु भयो । तर, आव ०७३/७४ मा ८४ दुर्घटनामा ७२ जनाले ज्यान गुमाइसकेका छन् । ट्राफिक प्रहरी प्रमुख हरिनन्दन चौधरी अधिकांश दुर्घटना जीर्ण सडक र तीव्र गतिकै कारण भएको दाबी गर्छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागार्इं निर्माणाधीन सडकका कारण मुख्य सडकहरूमै सवारी आवागमन ठप्प भएपछि आर्थिक, व्यवसायिक र सर्वसाधारणको निजी कार्यहरू प्रभावित भएको स्वीकार्छन् । चापागाईंको सुझाव छ, ‘वर्षामा कम्तीमा चिप्लिने माटोको साटो ग्राभेल गर्नुपथ्र्यो । सर्वसाधारण जनताको पीडा बुझ्दै निर्माण व्यवसायीहरूले वर्षायाममा कम्तीमा वान–वे सवारी सञ्चालन गर्न सक्ने खालको व्यवस्था गर्नुपथ्र्यो ।’

 

 

 

प्रतिकृया दिनुहोस