MENU

टूडे निगरानी

635x90

विद्युतीय फोहर व्यवस्थापनमा जोखिमै जोखिम

शंकरप्रसाद खनाल आइतवार, श्रावण १, २०७४

नेपालमा बर्सेनि विभिन्न मोडल र विशेषताका मोबाइल सेट भित्रिन्छन् । जनसंख्याभन्दा बढी मोबाइल सेट छ, नेपालीका हातमा । मोबाइलको सामान्यतया दुई वर्षको मात्र आयु हुन्छ । त्यस्तै, कम्प्युटरको आठ वर्ष र ल्यापटपको चार वर्ष आयु हुन्छ । तपार्इं मोबाइल, टेलिभिजन, कम्प्युटर, ल्यापटप वा अन्य घरायसी विद्युतीय उपकरण बिग्रियो मर्मत गरेर चलाउनुहुन्छ वा घरमै थुपारेर राख्नुहुन्छ ? ख्याल गर्नुस्, विद्युतीय फोहोरको रूपमा सामान्य ठानेर थन्काइका यस्ता सामानले तपार्इं हामीलाई नै ठूलो जोखिममा पार्न सक्छन् ।

काठमाडौं उपत्यकामा मात्र १७ हजार सात सय ३० दशमलव ४४ मेट्रिक टन विद्युतीय फोहर रहेको वतावरण विभागको तथ्यांकमा छ । दुई तिहाइभन्दा बढी विद्युतीय फोहरको हिस्सा अर्थात् १५ हजार आठ सय ५७ मेट्रिक टन त उपत्यकाका घरमा प्रयोग नै नभएको अवस्थामा छ । अनुसन्धानकर्ता इलेक्ट्रोनिक इन्जिनियर वसन्त पौडेल भन्छन्, ‘यो कम्प्युटर, मोबाइल, टेलिभिजन, वासिङ मेसिन र रेफ्रिजेरेटरमा मात्र आधारित अध्ययन हो । सबै विद्युतीय उपकरणलाई समेट्दा फोहोरको मात्रा अझै धेरै हुन्छ ।’

अध्ययनको क्रममा रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरण कार्यालयको स्टोरमा ३० वटा सीआरटी मनिटर, ८० वटा एलईडी र एलसीडी मनिटरलगायत एक सय ६७ वटा विद्युतीय उपकरण थन्काइएको पाइएको थियो ।युरोपियन युनियनको अध्ययनले एक व्यक्तिले वर्षमा औसत १४ देखि २० किलोग्राम विद्युतीय फोहर उत्पादन गर्छ । यो हरेक वर्ष साढे तीन प्रतिशतका दरले बढ्दो क्रममा छ । यो दर शहरी क्षेत्रमा तेब्बर बढी हुन्छ ।

तथ्यांककै अभाव

नेपालमा विद्युतीय सामग्री कति भित्रिन्छ भन्ने यकिन तथ्यांकको अभाव छ । मोबाइल, टीभी तथा कम्प्युटर अवैध बाटो भएर समेत भित्रिने गरेको छ त्यसकारण सबैको रेकर्ड सरकारी निकाय (भन्सार विभाग) मा भेटिँदैन । विद्युतीय फोहोरको क्षेत्रमा क्रियाशील संस्था जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक रामचरित्र साह व्यवस्थापनभन्दा कति परिमाणमा त्यस्ता सामग्री भित्रिएको पहिचान गर्नु नै सबैभन्दा ठूलो चुनौती ठान्छन् ।

उनी भन्छन्, ‘कति आएको छ भन्ने नै थाहा छैन भने फोहोरकै रूपमा कति छ, कसरी थाहा हुन्छ ।’ ‘बिग्रेका उपकरणहरू पनि शतप्रतिशत मर्मत हुँदैनन्, ३० देखि ४० प्रतिशत पुनः प्रयोग हुन्छ । त्यसमध्ये पनि कतिका सामानहरू अर्कोमा प्रयोग पनि हुन्छन् ।’ उनी बताउँछन् । यही अभाव पूर्ति गर्न वातावरण विभागले काठमाडौं उपत्यकाको विद्युतीय फोहरको अवस्थाबारे अध्ययन गरेको छ । विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेल तथ्याङ्क संकलन गरिसकेपछि विद्युतीय फोहर पुनः प्रयोग वा विसर्जनका लागि कस्तो प्रविधि आवश्यक छ भन्ने विषयमा सम्भाव्यता अध्ययन हुने बताउँछन् । ‘हामी यूरोप अमेरिकाजस्तो सबै किसिमको प्रविधि प्रयोग गर्न त सक्दैनौ ।

नेपाल सुहाउँदो प्रविधिबारे अब काम गर्नुपर्छ ।’बिग्रिएका विद्युतीय उपकरणमध्ये आधाभन्दा बढी मर्मत हुन नसक्ने खालको रहेको विभागको अध्ययनले बताउँछ । घर, मर्मत केन्द्र र कवाडी पसलमा सबैभन्दा बढी विद्युतीय फोहर अन्यको तुलनामा मोबाइल नै रहेको छ ।विकसित मुलुकहरूमा राज्य र निजी क्षेत्रको साझेदारीमा यस्तो फोहोरको उचित व्यवस्थापन भइरहेको छ । युरोपेली मुलुकहरूमा बिग्रिएका विद्युतीय उपकरण उत्पादकले फिर्ता लिने गर्छन् । विषालु वस्तुहरूलाई विद्युतीय सामाग्रीहरूबाट निर्मूल गर्ने नेतृत्व पनि उनैले लिएका छन् ।

जापान, दक्षिण कोरिया, ताइवानले पनि बिग्रिएका सामान फिर्ता लिने कार्यक्रमको थालनी गरिसकेका छन् । नेपालकको सन्दर्भमा भने यस्ता सामग्रीको व्यवस्थानमा कसैको ध्यान जान सकेको देखिँदैन । केही सामान घर–घरमा पुगेका कवाडीवालाले किनेर लैजान्छन् भने केही अन्य फोहोरकै थुप्रोमा पोको पारेर मिल्काइन्छ । घर तथा कार्यालयबाट अन्य फोहरसँगै मिसिएर विद्युतीय फोहर डम्पिङ हुने गरेकाले विद्युतीय फोहरको मात्रा अझै बढी देखिन्छ । नेपाल राष्ट्रिय कवाड व्यापार व्यवसायी संघका अनुसार कवाडीका रूपमा पुगेको फोहोरमध्ये ९० प्रतिशत विद्युतीय फोहर भारत निकासी भइरहेको छ ।

जोखिम नै जोखिम

विद्युतीय फोहोरलाई अरू फोहोरभन्दा छुट्टै व्यवस्थापन गर्नुपर्छ । यस्तो फोहरबाट निस्कने पारो, शिशा, आर्सेनिकलगायत रसायन मानव स्वास्थ्यका हिसाबले अत्यन्त घातक हुने गछर्न । यसको विकिरणले हेर्ने, सुन्ने र स्मरण शक्तिमा ह्रास आउनेदेखि क्यान्सरसमेत हुन सक्छ ।जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्रले सन् २०११ मा काठमाडौं, पोखरा, नेपालगञ्ज र विराटनगरमा एक अध्ययन गरेको थियो । सो अध्ययनले विद्युतीय फोहोरले पार्ने हानिबारे सर्वसाधारणमा जानकारी नभएको पाइएको बताएको थियोे ।

हुन पनि, विद्युतीय फोहोरबाट मानव स्वास्थ्यदेखि हरेक क्षेत्रमा पर्ने प्रभावबारे धेरैलाई जानकारी छैन । विद्युतीय फोहोरमध्ये थर्मोमिटर, सीएफएल चिम, ट्युबलाइटका साथै बिजुलीको स्विच, बच्चाले लगाउने जुत्ताको पिँधमा बल्ने एलईडी मनिटरमा ‘पारो’ पाइन्छ । पारो कतिसम्म हानिकारक हुन्छ भने, एक थोपा पारो आठ हेक्टर क्षेत्रफल पोखरीको पानीमा मिसिन पुग्दा त्यहाँ रहेका कुनै पनि माछा खान योग्य हुँदैनन् ।विद्युत् खपतका नाममा पछिल्ला केही वर्षयता सीफएल चिमको प्रयोग ह्वात्तै बढेको पाइन्छ ।

एउटा घरमा कम्तीमा तीनदेखि चार वटासम्म त्यस्ता चिम प्रयोग भइरहेका छन् । लोडसेडिङका बेला प्रयोग हुने एसिडवाला ब्याट्री पनि हानिकारक नै हुने गर्छ । त्यस्तै, मोबाइल, टीभीलगायत विद्युतीय उपकरणमा अग्निनिरोधक रसायन राखिएको हुन्छ । त्यस्ता सामग्रीको पुनः प्रयोग गर्दा रसायन नष्ट हुँदैन । पुनःउत्पादित सामग्रीले स्वास्थ्यमा हानि पु¥याउँछ । जनस्वास्थ्य तथा वातावरण प्रबद्र्धन केन्द्रले राजधानीमा विभिन्न पसलमा रहेका प्लास्टिकजन्य खेलौनामा गरेको अनुसन्धानबाट खतराजन्य रसायन पाइएको थियो । संयुक्त राष्ट्रसंघको दीर्घायु प्रदूषणसम्बन्धी महासन्धिले यस्ता सामग्रीमाथि विश्वभर नै प्रतिबन्ध लगाएको छ ।

जोखिममा कवाडी

बिग्रिएका विद्युतीय सामग्रीहरू अन्य फोहरसँगै फालिएको वा कवाडीवालाकहाँ पुग्ने गर्छ । यसरी ल्याइएका फोहोरको अस्वस्थ्य तरिकाबाट त्यसभित्र रहेको प्लाष्टिक, तामा आदि निकालिन्छ । यस प्रक्रियामा संलग्न मानिसहरू विद्युतीय फोहोरमा हुने हानिकारक रसायन र धातुको सम्पर्कमा आउने हुनाले उनीहरू गम्भीर खालका स्वास्थ्य समस्याको शिकार हुने गर्छन् ।

उनीहरू बिजुलीको तार डढाएर तामा निकाल्छन् । प्लास्टिक जलाउँदा निस्कने डाइओक्सिन र क्युरान ग्यासले क्यान्सर गराउँछ । एकपटक निस्केपछि वर्षौंसम्म रहिरहन्छ । यसको असर टाढासम्म फैलिन्छ । जुन दीर्घायु प्रदूषक बनेर रहिरहन्छ । सीआरटी ट्युब र मोबाइलमा रेडियसन हुन्छ । मोबाइलको सेन्सरहरूमा यसको प्रयोग हुन्छ । यी रसायन मानव स्वास्थ्यका लागि उत्तिकै हानिकारक हुने गर्छन् ।

कम्प्युटर, मोबाइल टीभी, ल्यापटपमा सुन हुन्छ। बहुमूल्य धातु पाइने विद्युतीय फोहोरलाई विदेश पठाउँदा ठूलो धनराशिसमेत बिदेसिने गरेको छ।विष्णु थकाली महिला वातावरण संरक्षण समिति (बेप्को)

विद्युतीय फोहर पानी, हावा र माटोमा मिल्दा सबैलाई प्रदूषित बनाउँछ । माटोमा भए उर्वराशक्ति नष्ट पार्छ । जैविक विविधताको नास गराउँछ । विद्युतीय फोहोरमा पाइने दीर्घायी प्रदूषक (पप्स), गह्रौं धातु र विषाक्त पदार्थहरू जस्तैः लिड (सिसा), मर्करी (पारो, क्याडमियम र बेरेलियम आदिलाई सुरक्षित तरिकाले संकलन, भण्डारण तथा प्रशोधन गर्नुपर्छ । यसो गर्न सकिएमा मात्र जनस्वास्थ्यमा र वातावरणमा पर्ने नकारात्मक असरहरूलाई न्यूनीकरण गर्न सकिन्छ ।

फोहोर नेपालमाः मोहर विदेशमा

विद्युतीय फोहरमा विभिन्न धातु पाइन्छन् । यस्ता धातु आम्दानीका स्रोत हुन् । यस्तो फोहोरबाट मोहरसमेत निकाल्न सकिन्छ । भारत, चीनलगायत तेस्रो मुलुकबाट विद्युतीय उपकरण नेपालमा भित्रिने गर्छ । विद्युतीय फोहोर भने भारत, पाकिस्तान र बंगलादेशसम्म पुग्ने कारण यही मोहर हो । विद्युतीय फोहोरको आधा हिस्सा अर्थात् ५० प्रतिशत फलाम र स्टिल हुन्छ । प्लास्टिक २१ र अन्य धातु १३ प्रतिशत हुन्छ । सुन, चाँदीलगायत बहुमूल्य धातु पनि विद्युतीय फोहरमा पाइन्छ ।

कवाडीवालाले मोहर (सुन, चाँदी) भारत, पाकिस्तान र बंगलादेश पठाउँछन् । फोहोर भने नगरमा फाल्छन् । टीभी, कम्प्युटर, ल्यापटप र मोबाइलमा सुनको प्रयोग हुने गरेको ललितपुर महिला वातावरण संरक्षण समिति (बेप्को) को अध्ययनमा भेटिएको थियो । संस्थाकी अध्यक्ष विष्णु थकाली भन्छिन्, ‘कम्प्युटर, मोबाइल टीभी, ल्यापटपमा सुन हुन्छ । बहुमूल्य धातु पाइने विद्युतीय फोहोरलाई विदेश पठाउँदा ठूलो धनराशिसमेत बिदेसिने गरेको छ ।’विद्युतीय फोहर प्रशोधन गर्नेले नेपालमै चाँदी भने निकालिरहेका छन् ।

बेप्कोको अध्ययनका क्रममा कवाडी रेफ्रिजेरेटरको कम्प्रेसर (ग्यास राख्ने भाँडो) फुटाउँदा दुई घण्टासम्म श्रमिक बेहोश हुने गरेको थकालीले अनुगमनका क्रममा भेटेकी थिइन् । त्यतिबेला कम्प्रेसरमा सीएफटी ग्यास प्रयोग हुन्थ्यो, जुन ग्यास मानव स्वास्थ्यका हिसाबले तत्कालै असर पार्ने थियो ।बेहोस हुनुलाई कवाडी सञ्चालकले सामान्य मान्छन्, तर ती स्वास्थ्यका हिसाबले उच्च जोखिममा रहेको पत्तो पाएका छैनन् । थकालीले भनिन्, ‘मानव स्वास्थ्यमा खेलवाड हुँदा पनि सरोकारवाला मौन छ ।’

विश्वमा विद्युतीय फोहोरको व्यापार तथा ओसारपसार ‘वासेल’ महासन्धिअन्तर्गत नियन्त्रण भइरहेको छ । यो महासन्धिले प्रदूषण, विद्युतीय फोहरहरू अझै पनि विकसित देशहरूबाट अविकसित, विकासोन्मुख (एसिया, अफ्रिकाका) देशहरूमा पठाइरहेको छ, जुन बन्द गर्नुपर्छ । नेपाल महासन्धिको पक्षधर राष्ट्र भए पनि विद्युतीय फोहर नियन्त्रण महासन्धिअनुरूप भइरहेको छैन् ।

कानुनकै अभाव

नेपालमा विद्युतीय फोहोर उचित व्यवस्थापनसम्बन्धी नीति र कानुनको अभाव छ । कानुनको अभावमा विद्युतीय फोहोरको कारोबार गैरकानुनी रूपमा भइरहेको छ । यसको छुट्टै ढंगले संकलन, प्रशोधन र पुनःप्रयोग गर्नुपर्ने हुन्छ । वातावरण संरक्षण ऐन, २०५३ ले सफा र स्वस्थ वातावरणका कुरामा जोड दिएको छ, तर यसले विद्युतीय फोहरलाई सम्बोधन गर्न सकेको छैन । त्यसैले, खतराजन्य फोहोर व्यवस्थापन गर्न छुट्टै ऐन, कानुन र निर्देशिकाको खाँचो छ ।वातावरण मन्त्रालयले ब्याट्रीलाई व्यवस्थापन गर्नका लागि तीन चार बर्षदेखि निर्देशिका बनाउने तयारी गरेको थियो, त्यो अझै पूरा भएको छैन । नेपाल दूरसञ्चार प्राधिकरणले विद्युतीय फोहोर व्यवस्थापन कार्यविधि बनाएर छलफल शुरु गरेको छ ।

प्रयोगमा नआउने मोबाइल, कम्प्युटर, टेलिभिजन, ब्याट्रीलगायत फोहोरले जोखिम बढ्न थालेको भन्दै प्राधिकरणले सार्वजनिक सूचना जारी गरी व्यवस्थापनको लागि सुझाव माग्दै भनेको थियो, ‘इलेक्ट्रोनिक फोहरले माटो, पानी तथा हावासमेत प्रदूषित भई मानव स्वास्थ्य तथा वातावरणीय प्रदूषणको जोखिम निम्त्याउँछ ।’

विद्युतीय फोहरले वातावरण र जनस्वास्थ्यमा पार्ने असरलाई दृष्टिगत गरी वातावरण संरक्षण ऐनअन्तर्गत रहने गरी कार्यविधिको मस्यौदा तयार गरेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन् । ‘जनस्वास्थ्यमा पार्ने प्रभाव न्यूनीकरण गर्न हामीले चासो दिएका हौँ,’ उनले भने, ‘विद्युतीय फोहर कसले कसरी कहाँ पठाइरहेको छ भन्ने कुराको अन्योलता छ । यसलाई व्यवस्थित गर्नु आवश्यक छ ।’

प्राधिकरणले काम शुरु गरेको भए पनि तत्कालै कार्यविधि आउने सम्भावना छैन । किनकि, प्राधिकरण नियमावली जारी गर्ने निकाय नै होइन । यो त, सूचना तथा सञ्चार मन्त्रालयमातहतको निकाय हो । त्यसैले, यो मस्यौदा पनि शुरुमा सञ्चार मन्त्रालय पठाएर त्यहाँबाट वातावरण मन्त्रालयमा पठाउनुपर्छ । त्यसपछि मन्त्रिपरिषद्बाट पारित भएपछि मात्र नियमावली जारी हुन्छ ।

नियमित प्रक्रियामा जाँदा पनि तत्काल नियमावली आउने छाँट छैन । मन्त्रालय र प्राधिकरणका प्रवक्ता दुवै यो कुरा स्वीकार्छन् । वातावरण र जनसंख्या मन्त्रालय वातावरण ऐन, २०५३ संशोधनको प्रक्रियामा छ । यही संशोधनमा विद्युतीय फोहरलाई सम्बोधन गर्न सक्छ । मन्त्रालयका प्रवक्ता लक्ष्मीकुमारी बस्नेत कानुन संशोधन गर्दा विद्युतीय फोहरलाई सम्बोधन गर्न सक्ने सम्भावना देखिँदैन । भन्छिन्, ‘विभागले तथ्यांक लिने काम गरेको छ, अब व्यवस्थापनको कार्यक्रम बन्छ ।’

नेपालको संविधान, २०७२ ले प्रदूषणमुक्त र सफा वातावरणको ग्यारेन्टी गरेको छ । तर, विद्युतीय फोहरबाट मुुक्त हुने ग्यारेन्टी गर्ने स्पष्ट कानुनी व्यवस्था नहुँदा सर्वसाधारण जानेर वा नजानेर जोखिम मोलिरहेका छन् । त्यसैले खतराजन्य विद्युतीय फोहरको आयात, निर्यात, सुरक्षित संकलन, भण्डारण, प्रशोधन तथा विसर्जनको उचित व्यवस्थापन गर्न बाध्यात्मक व्यवस्था गर्न आवश्यक छ ।

 

 

प्रतिकृया दिनुहोस