MENU

टूडे निगरानी

635x90

काठमाडौंका सडक धरापै धराप

धीरजकुमार देवकोटा आइतवार, आषाढ २५, २०७४

‘काठमाडौंको चाबहिल–जोरपाटी सडकखण्डको दूरी पौने चार किलोमिटर मात्र हो । गाडी चढ्दा बढीमा २० मिनट र हिँडेर पौने एक घण्टामा यात्रा सकिन्छ । तर, अहिले ‘हिँडेर चाबहिल जाँदा तीन घण्टा लाग्छ,’ जोरपाटी चोकमा भेटिएका धनुषाका अनिल महतो भन्दै थिए, ‘गाडी नचढी सुखै छैन । गाडीमै पनि कम्तीमा एक घण्टा लाग्छ ।’मेलम्ची खानेपानी आयोजनाका कारण यो सडकखण्डको पूरै भाग ‘धराप’ बनेको छ । गनिसाध्य नभएका खाल्डा र हेरिनसक्नु धुलोले सर्वसाधारणलाई सास्ती बनेको छ । वर्षा हुँदा सडकका खाल्डोमा घुँडामाथिसम्म पानी जम्छ, हिलो उस्तै ।

पैदल यात्री र सवारी साधन चढ्ने सबै प्रताडित छन् । ‘वटुवाले जति कष्ट कसैले बेहोर्नुपर्दैन,’ चुच्चेपाटीमा डेरागरी बस्ने रीता थापा (४२) आक्रोश पोख्छिन्, ‘खन्ने र खोतल्ने काम सकिएपछि त बाटो पुर्नु नि । सम्याइदिनु पनि । किन ध्यान नदिएका होलान् ?’ बिहान उठेदेखि बेलुकासम्म दिनहुँ यही सडकमा ओहोरदोहोर गर्ने हरेकले यस्तै हैरानी बेहोरिरहेका छन् । मेलम्चीले खनेको चार/पाँच महिनादेखि सडकमा बिजोग छ । वर्षा शुरु हुनुअघि स्थानीयले धुलोको सास्ती भोगे । अहिले हिलो र पानी ।

‘सडकमा गुड्ने गाडीले उछिट्याएको हिलो र धुलोले आसपासका पसल, घर अनि यात्रुलाई समेत असर पुर्‍याउने गरेको छ,’ १२ वर्षदेखि चाबहिल चुच्चेपाटीमा मोबाइल पसल सञ्चालन गरी बसेका रोमन कार्की भन्छन्, ‘एक बाल्टी पानी बिहानै पसलमा ल्याएर राख्ने गरेका छौँ , गाडीले उछिट्याएका हिलो र धुलो घण्टा–घण्टामा पुछिरहनुपर्छ ।’ सडकको दूरावस्थाका कारण व्यापारमासमेत प्रभावित भइरहेको छ ।

hilo3

कार्पेट पसलका अमृत योन्जन भन्छन्, ‘मेरो पसलअगाडि त धान रोप्न नै मिल्ने खाल्डो र हिलो छ । रोडपारिका मान्छे पारि नै वारिका मान्छे वारिबाटै जान्छन् । कसरी व्यापार राम्रो होला र ?’‘हल्का पानी पर्दा पनि हिलोका कारण हिँड्न मिल्दैन । पानी जमेर वारपार गर्न सकिन्न । घाम लाग्दा धुलो उडेर वरिपरि केही देखिन्न,’ जोरपाटीको मिठाइ पसलकी सञ्चालक गीताकुमारीले गुनासो गरिन् ।

मर्मत छैन, जुहारी

मेलम्ची खानेपानी आयोजनाका पाइप बिछ्याउन काठमाडौंका धेरै सडक खनिएका छन् । भर्खर निर्माणसम्पन्न गरी कालोपत्रे गरेकादेखि गल्लीगल्लीका सडक आयोजनाले भत्काएको छ । तिनै सडक वर्षायाममा सर्वसाधारणका लागि दुर्घटना निम्त्याउने धराप बनेका छन् । अझ कतिपय स्थानमा त विद्युत् नहुँदा रातिको समयमा खाल्डोमा परेर दुर्घटना नै हुने गरेको छ । तर, अख्तियारी पाएका सरकारी निकाय बिग्रे÷भत्केका सडक मर्मत गर्नुको साटो एकअर्कालाई दोष थुपारेर पानीमुनिको ओभानो बन्न खोजिरहेका छन् ।

मेलम्ची खानेपानी आयोजनाले बाटो खनेको छ, तर मर्मततिर ध्यान दिएको छैन । उसको ध्यान राजधानीमा पानी पु¥याउनमै छ । आयोजना कार्यान्वयन निर्देशनालयका प्रोजेक्ट डाइरेक्टर तिरेशकुमार खत्री आयोजनाको काम युद्धस्तरमा भएको दाबी गर्छन् ।‘दशैंअघिसम्म मेलम्चीको पानी काठमाडौं ल्याउने योजना हो । सडक विभागले बाटो विस्तारका लागि भनेर कोरेको नक्साअनुसार काम गर्न सकेको छैन । जसका कारण पाइप लाइनको काम पनि हुन सकेको छैन,’ उनले प्रस्ट पार्दै भने । सर्वसाधारणको समस्याभन्दा आयोजनालाई पानी कसरी ल्याउने भन्ने चिन्ता छ ।

हिलाम्य र धुलाम्य काठमाडौंका सडक पैदल यात्रीलाई गन्तव्यमा पुग्न लडाइँ जित्नुसरह बनेको छ।

‘सडकको अवस्थाले पनि हामीलाई काम गर्न गाह्रो भइरहेको छ । जथाभावी बनाइएका घर र निजी घर निर्माणका कारण पनि समस्या आएको हो,’ उनी जिम्मेवारीबाट पन्छिए । आयोजनाले कतिपय ठाउँमा अस्थायी पिच पनि गरेको दाबी गरेको छ । त्यो क्षणिक मात्र भयो । यो प्रयासले धुलो रोक्न र सुधार भएन । त्यसपछि आयोजनाले अस्थायी पिच गर्ने काम रोकेको उनले बताए । सडक चौडा गर्ने क्रममा भत्काइएका ढलका कारण पनि सडक कुरूप देखिएको छ । उनी भन्छन्, ‘केही काम निर्माण व्यवसायीलाई सुम्पिएको थियो ।

उनीहरूले गैरजिम्मेवारी देखाएका कारण पनि सडक निर्माणले पूर्णता नपाएको हो ।’सडक बनाउने जिम्मेवारी पाएको डिभिजन सडक कार्यालय मीनभवनका प्रमुख मुकुन्दराज अधिकारी सडकमा समस्या आउनु र सर्वसाधारणले दुःख कष्ट पाउनुको दोष मेलम्ची खानेपानी आयोजनामाथि थुर्पाछन् । अन्नपूर्ण टुडेको जिज्ञासामा उनले भने, ‘यो हामीलाई सोध्ने प्रश्न नै होइन ।

hilo2

आयोजनाले खनेको बाटो उसैले सम्याउन सक्दैन भने यसमा हाम्रो के दोष ? जबसम्म पाइप बिछ्याउने काम सकेर आयोजनाले सडक पहिलाको स्वरूपमा फर्काउन सक्दैन तबसम्म यसमा हाम्रो कुनै जिम्मेवारी रहँदैन ।’ दैनिकजसो बैठक बस्ने गरेको र सधैं एउटै कुरा हुने भए पनि आयोजनाले कामलाई जिम्मेवार ढंगले नलिएको अधिकारी आरोप लगाउँछन् ।

उता मेलम्ची खानेपानी आयोजना कार्यान्वयन एकाइ सडकको अवस्थामा आफ्नो कुनै जिम्मेवारी नभएको र आयोजनाले सुम्पिएको काम समयमै गर्ने भनिरहेको छ । यी दुई निकायका जुहारीका कारण सडकको अवस्था दिन÷प्रतिदिन नाजुक बन्दै गएको छ ।राजधानीकै धेरै ठाउँका सडकहरू वर्षायाममा आहाल बन्ने गरेका छन । गौशाला–चाबहिल सडकखण्डकै कुरा गर्ने हो भने, धेरै ठाउँमा खाडलै खाडल छन् । जहाँ वर्षा हुँदा ताल नै बन्छ । राजधानीको प्रमुख पर्यटकीय केन्द्र ठमेलको सडकमा रोपाइँ गरेर ‘असार १५’ मनाएको कुरा सामाजिक सञ्जालमा व्यंग्य बनाएर उडाइयो ।

बारम्बार सडकको अवस्था सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएपछि स्थानीयले विरोधस्वरूप धान रोपाइँसम्म गरे । उक्त क्षेत्रको व्यापारमा आएको कमी र सम्बन्धित निकायले वास्ता नगर्दा स्थानीय आक्रोशित बनेका थिए ।हिलाम्य र धुलाम्य काठमाडौंका सडक पैदल यात्रीलाई गन्तव्यमा पुग्न लडाइँ जित्नुसरह बनेको छ । भत्केका सडकका खाल्डाखुल्डीलाई स्थानीय धरापको संज्ञा दिइरहेका छन् । उनीहरू भन्छन्, ‘सरोकारवाला समस्या समाधानमा जिम्मेवार बन ।’

 

प्रतिकृया दिनुहोस