MENU

टूडे निगरानी

635x90

भेटिएनन् २० वर्षे गाडी

राजु स्याङ्तान मंगलवार, आषाढ ६, २०७४

१९ फागुन ०७१ को मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्र राजधानीका २० वर्षे पुराना गाडी हटाउने निर्णय गर्‍यो । सरकारको निर्देशन पालना गर्न यातायात व्यवस्था विभागले मेसो नै पाएन । निर्णय कार्यान्वयन गर्न दुई वर्ष लगायो । १७ फागुन ०७३ देखि आयोगले यस्ता गाडी विस्थापित गर्न कडिकडाउ गरिरहेको छ । २० वर्षे पुराना गाडी विस्थापित गर्दा कम्तीमा साढे दुई हजार पुराना गाडी विस्थापित हुने आकलन गरिएको थियो । तर, रोचक तथ्य के छ भने २० वर्षे पुराना गाडी चल्न नदिने सरकारले घोषणा गरेको तीन महिनामा जम्मा ७ वटा मात्रै कारवाहीमा परेका छन् ।

ट्राफिक प्रहरीका अनुसार पक्राउ परेका सवारी साधनहरूमा तीन टेम्पो, एक ट्याक्सी, एक बस, एक ट्रक र एक मिनी ट्रक रहेका छन् । राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको उक्त सवारी साधनहरूलाई यातायात व्यवस्था विभागमा कारवाहीका लागि पठाइएको ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी मिङ्मार लामा बताउँछन् । ‘२० वर्षे पुराना गाडी सडकमा गुडेकै छैनन् । कति राजधानी बाहिर गइसके । भएका पनि घरमै थन्किएका हुन सक्छन्,’ लामा भन्छन्, ‘पहिलो पटक चलाएको भेटिएमा पाँच हजार रुपैयाँ जरिवाना हुन्छ । दोस्रो पटक भेटिए दोब्बर जरिवाना अर्को हुन्छ । तेस्रो पटक पनि भटिए गाडी नै जफत हुन्छ र कुच्याइन्छ ।’

२०४६ सालयता देशैभरि सवा नौ लाख गाडी भित्रिए । त्यसपछि ०५३ सालसम्म मात्र साढे ८८ हजार सवारी साधनहरू दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांकमा उल्लेख छ । अन्नपूर्ण टुडेको जिज्ञासामा सरोकारवाला यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले विस्थापित गर्ने गाडीको यकिन संख्या बताउन सकेनन् । सडकमा पुराना गाडी न्यून देखिए पनि कस्ता गाडी २० वर्षे पुराना हुन् भन्नेबारे उनीहरू अन्योलमा नै रहेको पाइयो । नम्बर प्लेटको लट संख्या र रंगरोगन पुरानो देखेपछि मात्रै ट्राफिक प्रहरीले ब्लुबुक हेर्ने गरेको छ ।

mingmare२० वर्षे पुराना गाडी सडकमा गुडेकै छैनन्। कति राजधानी बाहिर गइसके। भएका पनि घरमै थन्किएका हुन सक्छन्।मिङ्मार लामा प्रमुख, ट्राफिक प्रहरी महाशाखा

जब कि पुराना गाडी रंगरोगन गरी नयाँजस्तै बनाइ गुडिरहेको हुनसक्ने एक ट्राफिक प्रहरी अधिकृत बताउँछन् । सवारी साधनहरूको फरक–फरक लट हुने भएका कारण २० वर्षे पुराना गाडी भनेर पहिचान गर्न गाह्रो भएको ट्राफिक प्रहरीको जिकिर छ । यस्ता गाडी सडकमा नगुडेर घर वा ग्यारेजमै थन्किएर बसेको ट्राफिकको अनुमान छ । डीआईजी लामा भन्छन्, ‘सबै घर–घरमै छन् । घरबाटै तानेर ल्याइ कारबाही गर्ने त कुरा आएन नि ’ गाडी नभेटिए पनि सम्बद्ध निकायको निगरानी भने जारी छ ।

व्यवसायीको अवरोध

पुराना गाडी हटाउने सरकारको निर्णयसँगै यातायात व्यवसायी र तिनका संस्थाले विभिन्न माग ते¥स्याएर विरोध शुरु गरेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष डोलनाथ खनाल सरकारले उचित सहुलियत नदिए आन्दोलन गर्ने चेतावनी दिन्छन् । ‘पहिला उचित सहुलियत चाहियो । त्यतिकै हटाऊ भन्दैमा हटाउँन सकिँदैन,’ उनले भने ‘२० वर्षे पुराना गाडीहरू हामीसँगभन्दा धेरै सरकारी कार्यालय र निजी मातहत छन् । पहिला त्यो हटाउनुप¥यो ।’नेपालमा प्रत्येक वर्ष हुने सवारी दुर्घटनामा उनी पुराना गाडीलाई मात्रै दोष दिँदैनन् ।

सडक पनि त्यत्ति नै जिम्मेवार ठान्छन् । ‘दुर्घटना पुरानो सवारीसाधन भएर मात्रै भएको होइन । सडकको स्तरोन्नति नहुँदा भएको हो,’ उनले दाबी गरे । उनी व्यवसायीको माग सरकारले पूरा गर्नेमा विश्वासमा छन् । माग पूरा नभएर गाडी हटाउने निर्णय मान्य नहुने उनले चेतावनी दिए । व्यवसायीले विरोध गरे पनि सरकारको योजना सफल हुने विभागका निर्देशक फुयाँल बताउँछन् । भन्छन्, ‘यातायात व्यवसायीहरूको माग पूरा गर्ने अवस्था छैन । सरकारको योजना अघि बढ्छ ।’

कति छन् पुराना गाडी ?

हाल उपत्यकामा ११ लाख सवारीसाधन रहेको अनुमान गरिएको छ । यातायात व्यवस्था विभागका अनुसार ०४६ देखि दर्ता भएका सवारीसाधनको संख्या ८८ हजार नौ सय ५७ देखिन्छ । तीमध्ये कतिपय प्रयोगमा छैनन् । यो संख्यालाई पूर्णतः नियन्त्रण गर्न सके पनि व्यवस्थापन सहज हुनेमा शंका गर्ने ठाउँहरू प्रशस्त देखिन्छ । किनकि, आर्थिक वर्ष ०७३/७४ मा मात्रै ९४ हजार सात सय २१ वटा सवारी साधानहरू यातायात व्यवस्था विभागमा दर्ता भएका छन् । नयाँ गाडीको प्रवेश बढ्नु र २० वर्ष पुराना गाडी तीन महिनाको अवधिमा सात वटा मात्रै विस्थापन गर्न सक्नुले सडकमा पुराना गाडी अझै पनि गुडिरेको अनुमान गर्न सकिन्छ ।

oldvan

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुधार गर्न पुराना गाडी मात्रै हटाएर नहुने विज्ञहरू बताउँछन् । प्रत्येक वर्ष ठूलो संख्यामा भित्रिने सवारी साधानको चाप र निमार्णाधीन सडक नै ट्राफिक अस्तव्यवस्तताको कारण रहेको बताइन्छ । पुराना सवारी साधनले प्रदूषण निम्त्याएर मानव स्वास्थ्यमा हानि पु¥याइरहेको र सवारी दुर्घटना बढाउने कारक भएको विज्ञको दाबी छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१५ मा गरेको अनुसन्धानले पनि मानव मृत्युमध्ये सवारी दुर्घटनालाई चौथो कारण भएको देखाएको छ । दुर्घटनामा पुराना गाडी बढी पर्ने गरेका छन् । राजधानीमा रहेको एक हजार पाँच सय ९४ किलोमिटर सडकमा दैनिक ६ लाखभन्दा धेरै सवारीसाधन गुड्ने अनुमान गरिएको छ । सडकको स्तरउन्नति नहुनु र दैनिक सवारी साधन थपिने भएका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको डीआईजी लामा बताउँछन् ।

अर्को वर्ष देशभर लागु

यातायात व्यवस्था विभागले पनि २० वर्ष पुरानो सवारीसाधन राजधानीबाट विस्थापित गर्ने सरकारको योजना सफल भएको दाबी गर्दै आगामी वर्ष देशैभरि यस्ता गाडी विस्थापित गर्ने लक्ष्य लिएको छ । विभागका निर्देशक चन्द्रप्रसाद फुयाँल आगामी वैशाखसम्म देशभरिबाटै २० वर्षे पुराना सवारी साधन हटाउने सरकारको निर्णय पनि पूरा हुनेमा विश्वस्त देखिन्छन् । जसबाट प्रत्येक वर्ष हुने सवारी दुर्घटना न्यूनीकरण हुने पनि उनी बताउँछन् । भन्छन्, ‘विभागले नियमित अनुगमन गरिरहेको छ । निर्वाचनका कारण अनुगमन अलि सुस्त भएको हो ।’ उनी पनि सवारीधनीले गाडी घरमै थन्काएको जिकिर गर्छन् । विगतमा विक्रम टेम्पो जसरी एकसाथ राजधानीबाहिर सञ्चालन गर्न दिने सरकारको योजना भने नरहेको उनले प्रस्ट पारे । उनले भने, ‘सरकारले दुर्गम क्षेत्रमा हुने दुर्घटना पनि न्यूनीकरण गराउन खोजेको छ ।’

 

 

 

प्रतिकृया दिनुहोस