MENU

टूडे निगरानी

635x90

पैदलयात्रीलाई कानुनी सास्ती

  शंकरप्रसाद खनाल सोमवार, जेठ २९, २०७४

१६ जेठको बिहानै उपत्यकामा ट्राफिक प्रहरीको उपस्थिति अनौठो थियो । सधैं सवारी साधनलाई सिठ्ठी फुक्ने र चिट काटने उनीहरू धमाधम पैदल यात्रुलाई नियन्त्रणमा लिँदै कारवाही गरिरहेका थिए । विकल्प दिइएको थियो, जरिवाना तिर्ने कि ट्राफिक कार्यालयमा पुगेर कक्षा लिने । एक सातामा सात हजार सात सय ४५ जनालाई कक्षा लिइसकिएको छ । र, नौ हजार दुई सय ४१ जनाले जनही दुई सय रुपैयाँ जरिवाना तिरेका छन । गत साता सामाजिक सञ्जालहरूमा व्यापक बहसको विषय बन्यो, ट्राफिक प्रहरीले पूर्वाधारबिना कारवाहीमा देखाएको जोश ।

खासमा, जथाभावी बाटो काटने र त्यसका कारण हुने दुर्घटना निम्त्याउने प्रवृत्तिविरुद्ध जुर्मुराएको हो, ट्राफिक प्रहरी । ट्राफिक प्रहरी महाशाखाका अनुसार बर्सेनि सडक दुर्घटनाका कारण ज्यान गुमाउने पैदल यात्रुको संख्या औसत ४१ प्रतिशत छ । जथाभावी बाटो काटने र सडकपेटी प्रयोग नगर्नेलगायत कारणबाट पैदल यात्रुले दुर्घटनामा ज्यान गुमाउनुपरिरहेको छ ।

अनुशासन सिकाउने प्रयास

राजधानी मात्र होइन, मुलुकभरिकै मुख्य ट्राफिक समस्या हो, सडक अनुशासन पालना नहुनु । यो लामो समयदेखि बहसमा रहेको विषय पनि हो । २१ जेठ मध्याहन अन्नपूर्ण टुडे प्रतिनिधिले निगरानीका क्रममा सडक अनुशासन उल्लंघन गर्ने प्रयास गर्‍यो । बागबजारको मुखैमा रहेको आकाशे पुल मुनिबाट टुडे प्रतिनिधि सामान्य यात्रुजस्तै सीधै रत्नपार्कतिर हानिन खोज्यो ।

paidal2

त्यहाँ तैनाथ ट्राफिक प्रहरीले सिठ्ठी फुकेर फर्किन निर्देशन दिए । अटेर गर्दै पुलमुनि पुगेपछि त्यहाँ तैनाथ चार ट्राफिक र दुई म्यादी प्रहरीले पक्राउ गर्ने शैलीमा घेरा हाले । र, आकाशे पुलमाथि राखिएको होडिङ बोर्ड हेर्न लगाए, जसमा लेखिएको थियो, ‘होसियार ! १६ जेठबाट जथाभावी बाटो काटनेलाई दुई सय रुपैयाँ जरिवाना हुन्छ’ ।

कानुन बनेको २५ वर्षसम्म कार्यान्वयनमा आएन, पैदल यात्रुको सुरक्षाको विषय। यातायात व्यवस्था विभागले अधिकार प्रत्यायोजन गरेपछि १६ जेठदेखि ट्राफिक प्रहरी दुर्घटनाबाट हुने मृत्युदर घटाउन कस्सिएको छ।

समाचार संकलनका लागि त्यसो गरिएको बताएपछि भने उनीहरूले छाडिदिए । ट्राफिकको पञ्जाबाट उम्किएपछि एक घण्टाभन्दा बढी त्यस क्षेत्रमा पैदल यात्रुको आवागमन अवलोकन गरियो । त्यही भीडमा भेटिइन, भक्तपुर सूर्यविनायककी संगीता लामा । सामुन्नेको आकाशे पुल छाडेर उनी सडकबाटै रत्नपार्कतिर लम्किएकी थिइन । ट्राफिकको फन्दामा परेपछि भन्दै थिइन, ‘दुई सय बढी भयो । अलि मिलाउनुस न सर ।’ अन्तिममा जरिवाना तिरेर उनी गन्तव्यतिर लागिन ।

उत्तरतिर करिब ५० मिटरमा त्रिचन्द्र कलेज अघिल्तिर एउटा र दक्षिणमा त्यत्तिकै दूरीमा विद्युत प्राधिकरणअगाडि अर्को जेब्रा क्रसिङ छ । पैदल यात्रुकै सुविधालाई मध्यनजर गर्दै चौतर्फी जोडिने गरी बडेमाको आकाशेपुल खडा छ । यात्रु भने न त जेब्रा क्रससम्म पुग्छन, न आकाशेपुल नै प्रयोग गर्छन । प्रहरीको आँखा छलेर जोखिमपूर्ण यात्रा गर्न रमाउँछन । अझ, भोटाहिटीमा त भूमिगत मार्ग (सब वे) नै छ । यात्रु भने दायाँ–बायाँ हेर्दै सडक वारपार गर्नतिरै लाग्छन । निगरानीका क्रममा पनि त्यस्ता धेरै यात्रु भेटिए, जो तोकिएको स्थानबाट नभई अनाधिकृत ढंगले बाटो काटिरहेका थिए ।

ट्राफिक प्रहरी उनीहरूलाई रोक लगाउने, आधा बाटोबाट फर्काउने र अटेर गर्नेलाई दुई सय रुपैयाँ जरिवाना लिएर छाडने गरिरहेका थिए । केहीलाई दरबारमार्गस्थित ट्राफिक कार्यालयमा आधा घण्टाको सचेतना कक्षामा पठाइरहेका थिए । रत्नपार्क क्षेत्रमा तैनाथ प्रहरी सहायक निरीक्षक श्यामकुमार चौधरी यात्रीलाई प्रश्न गर्दै थिए, ‘फाइन तिरेर जाने कि ट्राफिक नियम सिकेर ?’

रत्नपार्कमै ट्राफिकलाई जरिवाना तिर्दै गरेका भेटिए, भक्तपुरकै विमल लामा । उनी भन्दै थिए, ‘दुई सय त गयो तर नियम पनि सिकियो ।’ सोही ठाउँमा हतारमा देखिएका उदयपुर गाईघाटका जोशु राना भने आफूलाई नियम थाहा नभएकाले छाडिदिन अनुनय गरिरहेका थिए । अन्तिममा आधा घण्टाको कक्षाभन्दा जरिवाना तिरेर उम्किनै सहज माने, उनले पनि । कारवाही शुरु भएको साता दिन बित्दै गर्दा जथाभावी बाटो काटने क्रममा कमी आएको महाशाखाको दाबी छ । महाशाखा प्रमुख डीआईजी मिङमार लामा भन्छन, ‘जथाभावी बाटो काटने प्रवृत्तिको अन्त्य नै हाम्रो उद्देश्य हो ।’

छैन पूर्वाधार

उपत्यकाभरि करिब तीन सय ठाउँमा मात्र जेब्रा क्रसिङका चिहन छन, जुन उपत्यकाको जनघनत्वका हिसाबले अपर्याप्त हो । जेब्रा क्रसिङमा जडान गरिएका ३६ वटा ट्राफिक संकेत चिहन (बत्ती) बिग्रिएका छन । अधिकांश जेब्रा क्रसिङ मेलम्ची खानेपानी आयोजनाका लागि सडक खनिएका कारण मेटिएका छन । पैदल यात्रु हिँडने फुटपाथ खुद्रे व्यापारीको कब्जामा छन । भएका जेब्रा क्रसिङ पनि मधुरो या नदेखिने अवस्थामा छन । कान्तिपथका दुई वटा जेब्रा क्रसिङलाई हेरौँ । न त पर्यटकीय क्षेत्र ठमेल प्रवेश गर्ने जेब्रा क्रसिङ देखिन्छ, न केशरमहल अगाडिको नै । ट्राफिक प्रहरी सडक अनुशासन कायम गराउन कस्सिए पनि पूर्वाधार अभाव खडकिएको छ । सडक व्यापार हटाउने काम महानगरको हो ।

death

जेब्रा क्रसिङ निर्माण र मर्मत तथा ट्राफिक बत्ती व्यवस्थापन गर्ने काम सडक विभागको हो । खासमा, यातायात व्यवस्थापनसँग सम्बन्धित सबै कामको दायित्व यातायात व्यवस्था विभागकै हो । र, कारवाही गर्नेलगायत १४ वटा अधिकार विभागले ट्राफिकलाई प्रत्यायोजन गरेको छ । तर, निगरानीका क्रममा यी चारै निकायबीच चुस्त समन्वय अभाव झल्किन्थ्यो । तत्काल आवश्यक पूर्वाधारका लागि करिब चार करोड आवश्यक छ । सडक विभागका प्रवक्ता दयाकान्त झा बजेटकै अभाव औंल्याउँछन । भन्छन, ‘हामीसँग २० लाख रुपैयाँ मात्र छ ।

डिभिजन सडक कार्यालयहरूलाई मर्मत गर्न निर्देशन दिएका छौँ ।’पूर्वाधार निर्माणबिना नै काम गरेको आरोप खेपिरहेका डीआईजी लामा भन्छन, ‘हामीले पैदल यात्रुलाई सचेत गराउने काम जेब्रा क्रसिङ, आकाशेपुल, सब–वे भएका ठाउँमै गरिरहेका छौँ ।’ काठमाडौंका पाको, वीर अस्पताल, भोटाहिटी, ठमेल, सोह्रखुट्टे, कमलपोखरी, पदमोदयमोड, थापाथलीचोक, कालिमाटी, कलंकी, नागढुंगा, स्वयम्भु, नयाँबसपार्क, महाराजगन्ज, सुकेधारा, बौद्ध, गौशाला, कोटेश्वर र बुढानीलकण्ठमा पैदल यात्रीलाई बढी कडाइ गरिएको छ ।

ललितपुरका जावलाखेल र पुल्चोक तथा भक्तपुरका सूर्यविनायक, सल्लाघारी र ठिमीलगायत स्थानमा ट्राफिकको कडाइ छ । यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईको आग्रह छ, ‘यसलाई सास्ती होइन, सडक सुरक्षाको हिसाबले बुझौँ ।’सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ मा मानिस हिँडने पेटी भएको सडकमा सोही पेटीबाट हिँडनुपर्ने र नभएको सडकमा किनारा च्यापेर हिँडनुपर्ने व्यवस्था छ । दफा १३७ मा पैदल यात्रुले बाटो काटनु पर्दा जेब्रा क्रसिङ, सब–वे, आकाशेपुलजस्ता निर्धारित ठाउँबाट मात्र बाटो काटनुपर्ने उल्लेख छ । कानुनविपरीत काम गर्नेलाई दुई सयदेखि एक हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने प्रावधान छ । कानुन बनेको २५ वर्षपछि यो प्रावधान कार्यान्वयनमा ल्याउन ध्यान गयो ।

 

प्रतिकृया दिनुहोस