MENU

टूडे निगरानी

635x90

मुहार फेर्दै वागमती

शंकरप्रसाद खनाल सोमवार, जेठ २२, २०७४

‘तीन वर्षयता निरन्तर सफाइमा संलग्न स्थानीय समुदायले रोपेका र हुर्काएका बिरुवा वागमती संरक्षणका नाममा राति उखेलेको समाचारले मलाई मर्माहत बनाएको छ । बिरुवा आफूखुशी रोपिएका पनि होइनन् । वागमती सभ्यता एकीकृत विकास समितिकै स्वीकृतिमा वन मन्त्रालयको प्राविधिक सहयोगमा रोपिएका हुन् । अहिले हुर्किसकेका बिरुवा उखेलेर फेरि नयाँ हुर्काउन ३/४ वर्ष लाग्छ र खर्च पनि ।

समुदायको सहयोग जुटेन भने रोपिएका बिरुवा कसले संरक्षण गरिदिन्छ ?’७ माघ ०७३ मा चीनका लागि नेपाली राजदूत तथा वागमती सफाइका मुख्य अभियन्ता लीलामणि पौडेलले मुख्यसचिव सोमलाल सुवेदीलाई फेसबुकमार्फत् बेइजिङबाट गरेको अनुरोध हो, यो । तत्कालीन मुख्यसचिव पौडेलले एक वर्षअघि नै गुह्येश्वरी क्षेत्रमा नुहाएर पानी संग्लिएको सन्देश दिएका थिए । तर, थापाथलीदेखि जोरपाटीसम्म अन्नपूर्ण टुडेको स्थलगत अवलोकनमा वागमतीको पानी कतै पनि संग्लो देखिएन । अभियन्ता डा.राजु अधिकारीको भाषामा ‘मृत नदी’मा प्रवाह भने देखिएको छ । गुह्येश्वरी क्षेत्रको पानीमा माछा पनि पाइन थालेको उनको दाबी छ ।

परिवर्तनको यात्रा

सफाइको २११औं सातासम्ममा नदीको पानी बग्ने मात्र भएको छैन, किनारमा हरियाली छाएको छ । अभियानका क्रममा करिब दुई दर्जन स्थानमा वाटिका निर्माण भइसकेको छ, केही बन्ने चरणमा छन् । गुह्येश्वरीदेखि सिनामंगल पुलसम्म विशेष वाटिका बन्दैछ । अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समिति अध्यक्ष किशोर शाक्य भन्छन्, ‘गोकर्णदेखि सिनामंगलसम्म दुवै किनारमा हरियाली बनाइँदैछ, जसमा बालवाटिकासहित आकर्षक पार्क बन्नेछन् । किनारमा चमेना गृहको पनि व्यवस्था हुनेछ ।’

gamgati3

सिनामंगलमा सशस्त्र प्रहरीले निर्माण गरेको वाटिका ।

विगतमा नाकमुख छोपेर हि“ड्नुपथ्र्यो, वागमती किनारमा । त्यही स्थान अहिले मन बहलाउने थलो बन्ने क्रममा छ । सोहीमध्येको एक हो, सिनामंगल पुलनजिकै सशस्त्र प्रहरीले बनाएको वागमती वाटिका । १४ जेठको साँझतिर अन्नपूर्ण टुडे टिम उक्त क्षेत्रमा पुग्दा करिब एक सयको हाराहारीमा बालबालिका र युवायुवती वाटिकामा रमाइरहेका थिए । विनासकारी भूकम्पका बेलामा भीमसेनगोलाका बासिन्दाको लागि यही थलो आश्रयस्थल बनेको थियो । २०४८ सालदेखि काठमाडौं ९ विजयचोकमा बस्दै आएका पाँचथर नागीका वीरेन्द्र सुब्बा वाटिकाको चौतारोमा भेटिए । ‘वागमती किनार धेरै परिवर्तन भएको छ । फोहर फाल्ने क्रम रोकिएको छ,’ उनले अनुभव बताए, ‘नदी किनारमा लोभलाग्दो हरियाली छ ।’

काठमाडौं ८ पञ्चकुमारीकी सरस्वती नेपाललाई पनि वागमतीको मुहार फेरिन थालेको अनुभूति भएको छ । उनी भन्छिन्, ‘अहिले दुर्गन्धको सास्ती पूरै हटेको छ ।’ गुह्येश्वरी रुद्रेश्वर समाजले खगेश्वर वाटिका बनाएको छ । गोकर्णदेखि चोभारसम्म यस्ता वाटिका धेरै ठाउँमा देख्न सकिन्छ । शंखमुल क्षेत्रको वागमती वारिपारि पनि आकर्षक वाटिका निर्माण गरिएका छन् । वागमतीमा निरन्तर पानीको बहाबका लागि एसियाली विकास बैंक (एडीबी)ले सहयोग गरेको छ । वागमती सिरान शिवपुरी क्षेत्रमा सधैं पानीको बहाब कायम राख्न ठूला ‘रिजर्भ ड्याम’ बनाएर वर्षाको पानी संकलन गरी हिउँदमा प्रयोग गर्ने लक्ष्य छ । आठ लाख ५० हजार घनमिटर पानी संकलन गरेर सुक्खायाममा चार सय लिटर प्रतिसेकेन्ड नदीमा छाडिने शाक्य बताउँछन् ।

bagmati

ललितपुरस्थित वागमती किनारमा निर्मित शंखपार्क ।

एडीबीको सहयोगमा वागमती र बिष्णुमति नदीका साथै धोबीखोला, मनोहरा र हनुमन्ते खोलाका दुवै किनारमा ढल निर्माणाधीन छ । किनारमा डोजरसहित धमाधम ढलको काम भइरहेको छ । गोकर्णदेखि मनोहरा दोभानसम्म ढलमुक्त भइसकेको र आगामी दुई वर्षमा प्रयोगमा आइसक्ने शाक्य बताउ“छन् । शहरबाट निस्कने ढल करिडोरमार्फत् बगाउने योजना छ । त्यसलाई प्रशोधन गरेर फेरि नदीमा बगाइने छ ।


वागमतीमा पानीको प्रवाह देख्न थालिएको छ। किनारामा बगैँचा र ढल निर्माण एकसाथ अगाडि बढाइको छ।

हाल गुह्येश्वरीमा मात्र प्रशोधन केन्द्र सञ्चालनमा छ । गोकर्ण–गुह्येश्वरी चार किलोमिटर, तिलगंगा–सिनामंगल साढे तीन किमि, मीनभवन–मनोहरा करिब चार किमि कालोपत्र सडक निर्माण भइसकेको छ । विगतमा फोहोरको डंगुरजस्तो लाग्ने वागमती किनार अहिले वैकल्पिक मार्ग बनेको छ । आसपासको क्षेत्रमा व्यापार पनि चम्किँदैछ । गुह्येश्वरीमा क्याफे सञ्चालन गरिरहेका मीनकुमार लामा वागमतीको दुर्गन्ध हटेपछि व्यापार फस्टाउँदो अवस्थामा रहेको बताउँछन् । उनको क्याफेको छेवैमा सरकारले विशाल पार्क बनाउँदैछ । यस्तै अवस्था करिडोर आसपासका क्षेत्रमा देखिन थालेको छ ।

विगतको बीभत्स रूप 

शुरुवाती चरणमा अभियानको सानो उद्देश्य थियो, कमसे कम वागमती छेउमा जान सकियोस् । यसलाई स्पर्श गर्न सकियोस् । गायत्री परिवारका अभियन्ता डा. अधिकारी भन्छन्, ‘अभियान थाल्नुको मुख्य उद्देश्य त वागमतीको धार्मिक पवित्रता जोगाउने नै थियो । वागमतीको पानीका छिटा मात्र पर्दा पनि पवित्र हुने र भगवान शिवको पाउ शिवपुरीबाट बहने यो नदी मिसिएपछि मात्र गंगा पवित्र हुने जनश्रुति छ ।’ लायन्स क्लबकी पूर्वगभर्नर सुष्मा शर्माको अनुभवमा सफाइ अभियानका शुरुवाती चरणमा नदीको फोहोर र दुर्गन्धका कारण थुक्दा थुक्दै मुख सुक्थ्यो । ‘अहिले नदी किनारमा जान सक्छौँ, उभिन सक्छौँ । किनारको हरियालीमा आँखाले पनि विश्राम पाउँछन्,’ उनी भन्छिन् ।

bagmati2

५ जेठ ०७० मा करिब एक दर्जन सरकारी र सामाजिक संस्थाको पहलमा वागमती सफाइ अभियान शुरु भयो । ‘त्यतिबेला नदीमा पानी देखि“दैनथ्यो । अथाह फोहरको थुप्रो र लेदो थियो । धार्मिक आस्थाको केन्द्र पशुपति र गुह्येश्वरी क्षेत्रमै पनि फोहोर थियो,’ डा. अधिकारीले शुरुका दिन स्मरण गरे, ‘आधा किलोमिटर परसम्म नदीको गन्ध आउँथ्यो । सरसफाइका लागि सर्भे गर्न गएका अभियन्ताले वान्ता नै गरेका थिए ।’ २११औं सातासम्म पुग्दा वागमती सफाइ महाअभियान निरन्तर जारी छ । दशैं, तिहारलगायत ठूला चाडपर्व वा बन्द, हड्ताल र नाकाबन्दीले पनि यसलाई प्रभाव पार्न सकेनन् । बरु, अभियानको प्रभाव विदेशसम्म देखिन थालेको छ ।

वागमतीको पानीका छिटा मात्र पर्दा पनि पवित्र हुने र भगवान शिवको पाउ शिवपुरीबाट बहने वागमती मिसिएपछि मात्र गंगा पवित्र हुन्छ। अभियानको उद्देश्य वागमतीको धार्मिक पवित्रता जोगाउने हो। डा. राजु अधिकारी अभियन्ता, वागमती सफाइ महाअभियान

यसको अर्को पाटो पनि छ, एक पटक अभियानमा सहभागी भएको व्यक्तिले फोहोर फाल्दैन । डा. अधिकारी भन्छन्, ‘संस्कार नै परिवर्तन भएको छ । नदीमा पोको फाल्ने क्रम रोकिएको छ ।’ वागमतीको सिको गर्दै बिष्णुमति, धोबीखोला, नक्खुखोला र हनुमन्ते खोलामा, अहिले पोखरा, लहान, दाङ, जनकपुर, बिर्तामोड, सिरहा, सर्लाही, नेपालगन्ज, धनगढीलगायत दुई दर्जनभन्दा बढी नदी र खोलामा सफाइ अभियान शुरु भएको छ । भारतको सिलीगुडीनजिकको महानन्दा नदीमा पनि यसैको सिको गरिएको छ ।

गंगा नदीमा पनि यही अवधारणालाई आत्मसात गर्ने तयारी भइरहेको गायत्री परिवारको दाबी छ । चार वर्षको अवधिमा सरकार र राष्ट्रप्रमुख मात्र होइन, सामाजिक जीवनका सबैजसो व्यक्तित्व सहभागी भइसकेका छन् । महाअभियानको एक सय र दुई सय सातालाई सुन्दरीजलदेखि चोभारसम्मको करिब २८ किमिमा मानव साङ्लो र पदयात्रा गर्दै विशेष ढंगले मनाइयो । अभियन्ता नारायण पन्थी वागमती अभियानका क्रममा जनताले राष्ट्रको सेवा गर्ने मौका पाएको जिकिर गर्छन् । भन्छन्, ‘यो अभियान अहम् त्याग्ने मान्छे सफाइमा एकजुट हुन्छ भन्ने सन्देश हो ।’

bahgmati1

वागमती किनारमा ढल निर्माण गरिँदै ।

अभियन्ता गोविन्द काफ्ले र हेमराज कार्की भने प्रशासनिक, सुरक्षा निकाय र सर्वसाधारणको स्वयंसेवी र राष्ट्रिय एकताको महाअभियान ठान्छन् । ‘प्लास्टिक सफाइ मात्र होइन, मनको सफाइ पनि हो,’ उनीहरूको भनाइ छ । शनिबार एक दिन भए पनि देशका लागि दुई घण्टा समय दिने संस्कार विकास भइरहेको अभियन्ता चक्रबहादुर चन्द ठान्छन् । भन्छन्, ‘राष्ट्रका नाममा केही गर्नुपर्छ भन्ने भावनाको काम हो यो ।’यो अभियानमा एक हजार पाँच सयभन्दा बढी संस्था र व्यक्तिगत सहभागिता गरी सात लाख ४१ हजार जना सफाइमा संलग्न भइसकेका छन् । स्वयंसेवी रूपमा यति धेरै व्यक्ति सहभागी भएको सम्भवतः मुलुकको यो नै सबैभन्दा ठूलो अभियान हो ।

नेपाल टेलिकमले हरेक साता काठमाडाैँवासीलाई महाअभियानमा सहभागी हुन आह्वान गर्दै एसएमएस पठाउँछ । केयुकेएलले अभियानका क्रममा पिउने पानीको व्यवस्था गरिरहेको छ । काठमाडौं र ललितपुर महानगरले नदी सफाइका क्रममा निस्केको फोहोर व्यवस्थापन गरेर सहयोग पु¥याइरहेका छन् । अहिलेसम्म नदीबाट झण्डै साढे आठ हजार मेट्रिक टन ठोस फोहोर संकलन भएको छ । अभियन्ताहरू अधिकांशको भनाइ छ, ‘अब देश सफाइ अभियानमा लागौँ ।’



 

 

 




प्रतिकृया दिनुहोस