MENU

टूडे निगरानी

635x90

असभ्य पैदलयात्री : जेब्राक्रसिङको प्रयोग नै गर्दैनन्

किरण दहाल आइतवार, जेठ १४, २०७४

खुलामञ्च र टुँडिखेलको बीचमा रहेको सानो गल्ली हुँदै पैदल यात्रुहरू बागबजार/भृकुटीमण्डपतिर लम्किरहेका छन् । सडक पार गर्न केही मान्छे आकाशेपुल चढ्छन् भने केहीलाई अल्छी लाग्छ र तलबाटै बाटो पार गर्न खोज्छन् । जथाभावी बाटो काट्दै गरेका जवान एक जोडीलाई स्कुले बालकले अनुरोध गरे, ‘पुलबाट जानुस् न दाइ । आकाशेपुलबाट बाटो काटिदिनुस् न !’ यो दृश्य ४ जेठको दिउँसो १ बजेतिर पुरानो बसपार्कछेउको हो ।

स्कुले पोशाकमाथि ‘ट्राफिक नियम पालना गरौँ’ लेखिएको फित्ते ब्याच लगाएर केही विद्यार्थी सर्वसाधारणलाई सचेत गराउँदै थिए । घामले रातो भएको अनुहारमा पसिना पुछ्दै उनीहरू जेब्राक्रसिङ र आकाशेपुलको प्रयोग गरिदिन आग्रह गर्थे । रिसाउँदैनथे तर जिद्धी गर्थे । शितल ताप्ने ठाउँ छैन, यात्रुहरू छरिएर यताउताबाट बाटो काट्न खोज्छन् । तातो घाममा सभ्य भनेर चिनिएका मान्छेहरूले ती साना स्कुले नानीहरूलाई सजाए दिएझँँ लाग्थ्यो । विद्यार्थीहरूको यस्तो क्रियाकलाप देखेर बाटो पार गर्न खोज्ने केहीले आफ्नो गल्ती भएको महशुस गरे भने धेरैका लागि यो असह्य भयो । कोही कोही त कुरै नसुनी बीच सडकबाटै हिँडे ।

यसरी हिँड्नेहरू रिसाउँदै भन्थे, ‘खुरखुरु पढ्नु छैन, यहाँ आएर बडो नियम सिकाउने ।’धुम्बाराहीस्थित प्रोलिफिक उच्चमाविले सर्वसाधारणलाई सचेत गराउन भन्दै जेठ पहिलो साता काठमाडौंको मुख्य चोकहरूमा विद्यार्थीहरू राखेर सबैलाई जेब्राक्रसिङ र आकाशेपुलको प्रयोग गर्न आग्रह गर्‍यो । न्युरोड, पुरानो बसपार्क, भद्रकाली, माइतीघरजस्ता क्षेत्रमा विद्यार्थीहरू देख्न सकिन्थ्यो । ट्राफिक प्रहरीले उनीहरूलाई सहायता दिएकै थियो । सडक पेटीमा उभिएर मान्छेहरूलाई आकाशेपुलतिर जान आग्रह गरिरहेका सक्षम दंगाल भन्छन्, ‘यति ठूल्ठूला मान्छेलाई पनि हामीले नियम सिकाउनु पर्ने । आकाशेपुलको प्रयोग गर्दा सुरक्षित भइन्छ भन्ने पनि थाहा रहेनछ ।’

paidal.yatri.jpg1

जथाभावी बाटो काट्न खोज्नेहरू अधिकांश भर्‍याङ चढ्न नसक्ने बूढाबूढी र कलेज पढ्दै गरेका विद्यार्थी रहेको दंगाल बताउँछन् । नसक्नेहरूलाई उनी र उनका टोली सदस्यले आफैंले डोर्‍याएर बाटो कटाइदिन्छन् । बूढाबूढीहरूलाई आफूहरूले आकाशेपुल चढ्न जबर्जस्ती नगरेको तर सक्नेहरूलाई आग्रह गरेको उनी बताउ“छन् । ‘कलेज पढ्ने दाइदिदीहरूले नै नबुझेको देख्दा अचम्म लाग्छ,’ उनी भन्छन्, ‘बरु हामीलाई एक पटकभन्दा नियम पालना गर्छौँ तर उहाँहरू उल्टै गाली गर्नुहुन्छ ।’ प्रोलिफिक स्कुलका विद्यार्थी मात्र होइन, पछिल्लो समय ‘जेब्राक्रसिङबाट मात्रै बाटो पार गरौँ’ भन्ने अभियान बोकेर काठमाडौंका मुख्य चोकमा जम्मा हुनेहरू बढेका छन् ।

असभ्यताको पराकाष्ठा

हरेक दिन राजनीतिक नेतृत्वलाई देश बर्बाद पारेको आरोप लगाइरहँदा हामी आफैँ भने कति जिम्मेवार छौँ भन्ने कुरा दंगालको माथिको भनाइबाटै प्रस्ट हुन्छ । जथाभावी बाटो काट्ने मात्र होइन, पानपरागको खोलदेखि चुरोटको ठुटासम्म जथाभावी फाल्ने, पानीका बोतल र जुस, चाउचाउका खोलहरू उचित स्थानमा नफाल्दा शहरको सौन्दर्यतामा नराम्रो असर परिरहेको छ । विशेषतः काठमाडौंमा यो समस्या उच्च छ  ।एउटा शहरलाई सुन्दर बनाउन सबैको भूमिका उत्तिकै हुन्छ । तर, स–साना कुरामा यहाँका बासिन्दा सचेत नहुँदा यसको प्रभाव काठमाडौँको चोकहरूमा देखिन्छ ।

जहीँतहीँबाट बाटो काट्नेहरूको भीड लाग्छ । यात्रुहरूले सजग भएर जेब्राक्रसिङ वा आकाशेपुलबाट बाटो पार गर्दा आफूहरूलाई गाडी चलाउन पनि सहज हुने चालक गणेश खतिवडा बताउँछन् । तोकिएको एउटा सीमित ठाउँबाट मात्र नभएर छरिएर बाटो काट्दा दुर्घटना हुन सक्ने र गाडी रोकिरहनुपर्दा समयको बर्बादी पनि हुने उनको भनाइ छ । ‘कहिलेकाहीँ अर्काे गाडीसँग प्रतिस्पर्धा भइराखेको हुन्छ । यात्रुहरू जथाभावी बाटो काटे दुर्घटना हुन्छ,’ उनी भन्छन्, ‘भर्खर गाउँबाट आएकाहरूको कुरा छाडिदिउँ, वर्षौँदेखि यहाँ बस्दै आएकाहरूले बुझ्नु पर्दैन र ?’ शहरका पढेलेखेका मान्छेले नै कुरा नबुझेको उनको आरोप छ । सर्वसाधारण मात्र होइन, गाडी चालकहरूको पनि दोष रहेको उनी स्वीकार्छन् । भन्छन्, ‘जेब्राक्रसिङ नभएको ठाउँमा ड्राइभरले पनि ध्यान दिनु पर्छ । अन्धाधुन्द गाडी चलाएर हुँदैन ।’


१ वैशाखदेखि काठमाडौं महानगरमा हर्न निषेध गरिएसँगै जथाभाबी बाटो काट्नेहरूलाई पनि ट्राफिक प्रहरीले कारवाही गर्न थाल्यो । केही मान्छे कारवाहीमा परेको समाचारसमेत आयो । तर, यो लामो समयसम्म टिकेन । पुनः जेब्राक्रसिङलाई बेवास्ता गर्नेहरू बढे । न्युरोडस्थित जनसेवा प्रहरीका इन्चार्ज विदुर थापा सर्वसाधारणमा चेतना अभिवृद्धिको प्रयास भइरहेको बताउँछन् । ‘जथाभावी बाटो पार गर्ने प्रवृत्ति छिट्टै अन्त्य हुन्छ,’ उनी भन्छन्, ‘पहिलेभन्दा अहिले अलि कम पनि भएको छ । न्युरोडमा मात्रै पाँच ठाउँमा जेब्राक्रसिङ बनाएर यसलाई झन् व्यवस्थित गर्न लागि परेका छौँ ।’ जथाभावी बाटो काटेमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर तीन घण्टासम्म थुन्न सक्ने नीति लिएको छ ।

paidal3

ट्राफिक प्रहरीले आगामी १६ जेठबाट उपत्यकामा जेब्राक्रस र आकाशेपुल भएका स्थानमा ती स्थानको प्रयोग नगरी जथाभावी बाटो काट्नेलाई नियन्त्रणमा लिएर बन्द कोठामा तीन घण्टा प्रशिक्षण दिएर मात्रै छाड्ने गरिएको छ । ट्राफिक प्रहरी महाशाखाका प्रमुख डीआईजी मिङ्मार लामा भन्छन्, ‘हामी पहिला जनचेतना फैलाउ“छौँ, त्यसपछि बेवास्ता गरे कारवाही गर्न बाध्य हुनेछाँ।’

बढ्दो दुर्घटना

काठमाडौंमा हरेक दिनजसो कुनै–कुनै सडकमा दुर्घटना हुने गरेको छ । यसका लागि सवारी चालकको लापरवाही र पैदल यात्रुको असावधानी दुवै कारक मानिन्छन् । डीआईजी लामाका अनुसार उपत्यकामा ४० प्रतिशत दुर्घटना जथाभावी बाटो काट्दा हुने गरेको छ । सडकको बीचबाट बाटो काट्ने सर्वसाधारण सचेत नहुने हो भने सरकारले काठमाडौंमा पाइलैपिच्छे ‘दुर्घटनाग्रस्त क्षेत्र’ भनेर ‘पम्प्लेट’ टाँस्नुपर्ने दिन नआउला भन्न सकिन्न । काठमाडौं उपत्यकामा आर्थिक वर्ष ०७१/७२ मा चार हजार नौ सय ९९ सवारी दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ । यी दुर्घटनामा एक सय ३३ जनाको मृत्यु भएको थियो भने दुई सय २३ जना गम्भीर घाइते भएका थिए । यस्तै, तीन हजार ६ सय ४३ जना सामान्य घाइते भएका थिए । आव ०७२/७३ मा पनि सवारी दुर्घटनाको दर लगभग चार हजार पुग्यो ।

सडक दुर्घटना कम गराउन ट्राफिक प्रहरीले जथाभावी बाटो काट्नेहरूलाई बेला–बेलामा कारवाही गर्ने गरेको छ । यति मात्र होइन, ‘सडकपेटीमा हिडौँ, पेटी नभएको ठाउँमा सडकको दायाँ किनाराबाट हिडाँ,’ ‘जथाभावी गरे सडक पार, बनिन्छ दुर्घटनाको शिकार’ जस्ता नारा लेखेर मुख्य चोकहरूमा समेत टाँसिएको छ । आव ०७३/७४ को वैशाख महिनासम्ममा चार हजार चार सय ९४ वटा सडक दुर्घटना भइसकेका छन् । त्यसमा एक ३० जनाको मृत्यु भयो । दुर्घटनामा परेर तीन हजार दुई सय १६ जना सामान्य घाइते भएका थिए भने एक सय ६२ जना गम्भीर । यसरी पछिल्लो तीन वर्षलाई हेर्दा हरेक वर्ष चार हजारभन्दा बढी सडक दुर्घटना भइरहेको छ । हरेक वर्ष लगभग डेढ सय जनाको दरले दुर्घटनाबाट मृत्यु भइरहेको छ । यति सानो शहरका लागि यो डरलाग्दो तथ्यांक हो ।

नियम किन टिक्दैन ?

ठाउँ–ठाउँमा जेब्राक्रसिङ र आकाशेपुलको अभाव छ । भए पनि असुहाउँदो र लामो दूरीमा छ । कतिपय ठाउँमा त जेब्राक्रसिङको इनामेलसमेत मेटिएको छ । यसले गर्दा पनि जथाभावी बाटो पार गर्नेहरू बढेको अनुमान लगाउन सकिन्छ । सधैँभरि सडक छेउमा उभिएर पैदलयात्रीलाई नियम सिकाउन सम्भव छैन । पैदलयात्रीहरूलाई पनि ‘मैले जे गर्दा पनि हुन्छ’ भन्ने मानसिकताले डोर्‍याएको छ । गाउँमा भर्खर आएकाहरूलाई थाहा नहुने र यहीँ बसेकाहरूलाई चेतना भए पनि छोटो बाटो प्रयोग गर्ने बानीले नियमको सही प्रयोग नभएको बताउँछन्, थापा । उनी भन्छन्, ‘जिन्दगी एक पटक पाइन्छ । त्यही भएर सुरक्षित भएर हिडाैँ । जथाभावी हिँडेर दुर्घटनाको शिकार नबनौँ ।’

यो एक प्रकारको हेपाहापन भएको बताउँछन्, खतिवडा । राज्यले नियम बनाइसकेपछि त्यसलाई सबैले अपनाउनुपर्ने उनको भनाइ छ । ‘सुविधा नभएको ठाउँमा त ठिकै छ । तर, भएको ठाउँमा त त्यसकै प्रयोग गर्दा भइगयो नि,’ उनी भन्छन्, ‘सबै मान्छेले एकै ठाउँबाट बाटो पार गरे पो हुन्छ । ड्राइभरले पनि कति ठाउँमा घ्याच्च.. घ्याच्च.. ब्रेक लगाओस् । यात्रुहरूको व्यवहार नै दुर्घटना निम्त्याउने खालको छ ।’

 

प्रतिकृया दिनुहोस