MENU

अन्तरवार्ता

635x90

नेपाल आइडलले पुनर्जन्म दियो : प्रताप दास

किरण दहाल शुक्रवार, आश्विन ६, २०७४

नेपाल आइडलका प्रतिस्पर्धीमध्ये सबैभन्दा धेरै प्रभाव कसले पार्‍यो ? किन ?

सबै साथीहरूले केही न केही प्रभाव पारे । तर, अन्तिम पटक सागर आलेमगर बाहिरिँदा साह्रै नराम्रो लागेको थियो । हामी रुम पार्टनर पनि थिर्यौँ । शुरुदेखि नै राम्रो सम्बन्ध बनेकाले हरेक कुरा सेयर गथ्र्याैँ । ऊ एउटा असल मान्छे हो । सबैको भलो चिताउँथ्यो । जो बाहिरिँदा पनि सबैभन्दा दुःखी उही बन्थ्यो । बरु आफैं बाहिरिँदा दुःखी बनेन, हाँसेरै नेपाल आइडलको मञ्च छोड्यो । ऊ मेरो ‘आइडल’हो जस्तो लाग्छ । धेरै प्रभाव पारेर बिदा भयो ऊ ।

तपाईं ५ पटक ‘डेन्जर जोन’मा पर्नुभयो । त्यतिवेला मनमा कस्ता कुरा खेल्दा रहेछन् ?

शुरु–शुरुका डेन्जर जोनले एकदमै ‘नेगेटिभ भ्वाइस’ ल्याउने रहेछ । म डेन्जर जोनमा छु भन्ने थाहा पाएपछि दर्शकले मलाई भोट नै गर्दा रहेनछन् भन्ने कुरा मनमा खेल्न थाल्छन् । मैले यति धेरै मिहिनेत गर्दा पनि मान्छेहरूले मन पराइदिनुभएन भन्ने कुराले तनाव दिन्थ्यो । तर, डेन्जर जोनमा पर्नु भनेको पाठ सिक्नु पनि रहेछ । अर्काे राउन्डको लागि चुनौती हुँदो रहेछ । जस्तो : म डेन्जर जोनमा पर्दा दर्शकले सोच्छन्, ‘यति राम्रो गाउने पनि डेन्जर जोनमा पर्‍यो ।’ त्यसपछि उहाँहरूले पनि भोट गर्न थाल्नुहुन्छ । यो ‘प्लस पोइन्ट’ हो ।

संगीतमा लागेर तपार्इंले के पाउनु, के गुमाउनु भयो ?

मान्छेहरूको एउटा न एउटा सपना हुँदो रहेछ । आफूले राम्रो काम गरेर सबैका अगाडि चिनिन मनलाग्दो रहेछ । त्यो अहिले अनुभव गर्दैछु । संगीतमा लागेर पाएको सबैभन्दा ठूलो कुरा भने सन्तुष्टि हो । बरु गाली नै खाएर पनि यसमा लागेपछि सन्तुष्टि पाइयोे । मलाई यति धरै माया गर्नेहरू पाएको छु, यो ठूलो सफलता हो । संगीतमा लागेर गुमाएका चिजबारे मैले सोचकै छैन । संगीतकै लागि सानैदेखि मिहिनेत गरियो । अहिले पनि यसैमा लागिरहेको छु । नेपाल आइडलले मेरो मात्र हैन, धेरैको प्रतिभालाई बाहिर ल्याएको छ । संगीतमा लागेर गुमाएको भन्दा पाएका चिजहरू पो धेरै छन् कि !

संगीतमा लागेर कस्तो भविष्यको कल्पना गर्नुभएको छ ?

अहिलेसम्म राम्रै भइरहेको छ । अहिलेको अवस्थालाई हेर्ने हो भने नेपाल आइडलले मलाई एउटा हैसियत दिएको छ । धेरैले चिन्छन्, माया गर्छन्, मेरो आवाज सुनिदिन्छन् । यसरी हेर्दा संगीतमा राम्रो भविष्य देख्छु । अब विगतको जस्तो तनाव खेप्नु नपर्ला भन्ने कल्पना गरेको छु । म अब रातरात परिवर्तन भएँ भन्न खोजेको हैन । तर, अब जिन्दगी अलि सहज तरिकाले चल्छ होला भन्ने लाग्छ ।

जितको नजिक आइसकेपछि कस्तो अनुभूति हुँदोरहेछ ?

जित्ने भन्ने कुरा तिर्खाएको मान्छेजस्तो हो । जब हामी शुरुमा अडिसन दिन आयौँ, कसरी छानिने होला भन्ने पीर थियो । छानिएपछि कसरी ‘टप १८’मा पुग्ने भन्ने भयो । त्यसपछि ‘टप१०’ सम्म कसरी आइपुगिएला भन्ने डर थियो । त्यसरी ‘टप ५’ सम्म पनि आइपुग्यौँ । अहिले ‘टप ३’मा छौँ । नेपाल आइडल बन्छु भन्ने सपना मसँग पनि छ र अन्य साथीहरूमा पनि होला । बुद्ध र निशान दुवैमा नेपाल आइडल बन्ने क्षमता छ । मेरो विकल्प छैन भन्नै सक्दिनँ ।

नेपाल आइडलपछिको जिन्दगीलाई कसरी लैजाने विचार गर्नुभएको छ ?

म संगीतमा लागिरहेको थिएँ । र, त्यसका लागि एउटा प्लेटफर्म खोजिरहेको थिएँ । नेपाल आइडलले त्यो प्लेटफर्म दियो । नेपाल आइडल र दर्शकलाई मेरो बाबाआमाको रूपमा हेर्छु । नेपाल आइडलले हामीलाई पुनर्जन्म दियो र आफ्नो खुट्टामा टेक्ने बनाइदियो । अहिलेसम्म त हामीले आफ्नो काम देखाउने मौका पाएकै छैनाँै । अरूकै गीत गाइरहेका छौँ । तर, नेपाल आइडलपछि अब आफ्नै काम देखाउने मन छ । म संगीत त छाड्न सक्दिनँ । बरु संगीतमै लागेर देशका लागि केही गर्न सक्छु कि !

 

साथमा याे पनि पढ्नुस् । 

अाज नेपाल आइडलको अन्‍तिम भिडन्त

प्रतिकृया दिनुहोस