MENU

अन्तरवार्ता

Annapurna635x90

सिनेमामा माैलिकता चाहियाे : मनिषा काेइराला

अन्‍नपूर्ण टुडे सोमवार, भाद्र २६, २०७४

उमेरको १८ वर्षमै मेघा उलको विज्ञापन, चार–पाँच महिनाभित्रै सिनेमा ‘फेरि भेटांैला’को अफर, त्यसको केही महिनाभित्रै बलिउडका चर्चित निर्देशक सुभास घईको ‘सौदागर’ सिनेमाबाट बलिउडमा डेब्यू, ‘इलुइलु गर्ल’को नयाँ परिचय, सिनेमाको सफलतापछि मायानगरी मुम्बईमा एक्कासि बढेको फेम (ख्याति) । दुई वर्षको अन्तरालको यो द्रुत चढाव, उनका लागि पनि सपना जस्तो थियो । १९८० को दशकको अन्त्य (सन् १९८९) र ९० को दशकको (सन् १९९०) शुरुमै उनी नेपाल र भारतमा परिचित अनुहार बनिसकेकी थिइन् । राजनीतिक परिवारको पृष्ठभूमि, अर्थात् कोइराला परिवारको लिगेसीबाट आएकी उनको चर्चा स्वभाविक थियो । त्यसमाथि उनको सुन्दरताले थप चर्चा पायो ।

भारतको चर्चित सिनेम्याटेग्राफरबाट निर्देशकहरू (सुभास घई, विधुविनोद चोपडा, मणिरत्नम) ले उनको सुन्दरता र अभिनयमा निखार ल्याएका थिए । क्रमशः ‘सौदागर’, ‘१९४२ अ लभस्टोरी’, बाट उनले उत्कृष्ट अभिनयको चौतर्फी प्रशंसा बटुलिन् । गीतकार जावेद अख्तरले उनको सुन्दरताको बखान गरेर एक लडकीको देखा तो ऐसा लगा सुपरहिट गीत नै लेखे । सिम्मी ग्रेवालले आफनो सो ‘रन्देवू विथ सिम्मी ग्रेवाल’मा प्राकृतिक सुन्दरताकी प्रतिमूर्तिकै रूपमा ‘नेपालकी कान्छी’ भनेर प्रशंसा गरिन् । बलिउडको व्यस्तामै उनको दुई दशक बित्यो ।

एकैपटक २० वर्षपछि नेपाली सिनेमा ‘धर्मा’ (सन् २०११) मा नेपालका सुपरस्टार राजेश हमालसँग देखापरिन् । यो अन्तरालमा बलिउडको सिनेमा विकासले फड्को मारिसकेको थियो भने नेपालको सिनेमा क्षेत्र सुस्तरी अघि बढने क्रममा । उनीसँग बलिउड, हलिउड र कलिउडलाई हेर्ने तुलनात्मक दृष्टिकोणलगायत कुरा खोतल्ने एक प्रयास गरेका छौं । बलिउडकी स्थापित नेपाली मुलकी नायिका, मनीषा कोइरालासँग अन्नपूर्ण टुडेकी दिल्ली संवाददाता आशा थपलियाका प्रश्नहरू : 

सिनेमा क्षेत्रमा कसरी आउनु भयो ?

शुरुमा अभिनय गर्दा पूरै सिनेमामा आउँछु भनेर खेलेको होइन । सन् १९८८ को कुरा हुनुपर्छ, दिल्लीको धौलाकुँवामा रहेको आर्मी पब्लिक स्कुलमा १२ कक्षामा पढ्दै थिएँ । बिदामा नेपाल आउँदा प्रेम उपाध्याय (नातामा मामा पर्ने)ले उनको विज्ञापनमा खेल्न भन्नुभयो । त्यो विज्ञापनले निकै चर्चा पायो । केही महिनापछि ‘फेरि भेटौंला’ खेल्ने अफर आयो । अहिले त्यति सम्झना पनि छैन । तर, सिनेमा सुटिङको दौरान मलाई मौका पाए योभन्दा धेरै राम्रो गर्न सक्छु भन्नेचाहिँ मनमा लाग्यो । सिनेमा उद्योगबारे परिपक्व ज्ञान थिएन । तर, मुम्बई जान पाए हुन्थ्यो भन्ने कुरा त्यहीबेला लाग्यो ।

के अनुभव गर्नुभयो पहिलो सिनेमाबाट ?

एक महिनामै सुटिङ सकियो । त्यो सिनेमा मैले ‘पकेट मनी’ आउँछ भनेर गरेकी थिएँ । पारिश्रमिक अहिले ठ्याक्कै याद छैन, तर नौ हजार थियो कि २५ हजार । नयाँ अनुभव थियो, सबै रमाइलो लागिरहेको थियो, तर म डाक्टर बन्छु भन्थेँ ।

नेपाली सिनेमाबाट बलिउड प्रवेश गर्दाको अनुभूति कस्तो थियो ?

‘सौदागर’ बलिउडको पहिलो सिनेमा थियो मेरो । विश्लेषण गर्न सक्ने भइसकेको थिइनँ म । तर, यति भन्न सक्छु, हामी बलिउडभन्दा निकै पछि थियौँ । सोचको लेभल नै फरक थियो । प्रविधि, लगानी, स्रोतसाधनदेखि सामाजिक परिवेश पनि भिन्दै थियो । हामीकहाँ शिक्षाको स्तर नै निकै पछि थियो । ‘आशिकी’, ‘दिल’, ‘दिल है कि मानता नहीं’ जस्ता सिनेमाले धुम मचाएको समयमा ‘सौदागर’ पनि ब्लकबस्टर भयो र म बलिउडको यात्रामा एक कदम अघि बढेँ ।

राजनीतिक पृष्ठभूमि अनि आमाको चिनजानका कारण तपार्इंले खासै संघर्ष गर्नुपरेन नि ?

त्यसलाई मैले स्वीकार्नै पर्छ । कोइराला परिवारमा जन्मिुन, त्यसमा पनि बीपीकी नातिनी हुनुले फरक त पारेको हो । अनि आमाको, साथीभाइसँगको चिनजानले मेरो डेब्यू सही तरिकाले भएको थियो । बलिउडमा ब्यानर र इन्ट्रोडयुस कसले गराउँदैछ भन्ने कुराले निकै महत्व राख्छ । आज पनि त्यो कुरा उत्तिकै महत्वपूर्ण छ ।

त्यसपछि नेपाली सिनेमामा खेल्नुभएन नि ?

बलिउडमा बढेको व्यस्तताका कारण पनि होला । तर, नेपालबाट कसैले प्रस्ताव पनि गरेन । मैले पनि सोच्न भ्याएकी थिइनँ ।

दुई दशकपछि नेपाली सिनेमामा फर्किंदाको अनुभव कस्तो रह्यो ?

दुर्गा पोखरेल दिदीसँग पारिवारिक सम्बन्ध छ । उहाँले मलाइ खेल्देऊ भनेको हुनाले मात्र धर्मामा काम गरेकी हुँ । मलाई सधैं लाग्ने कुरा के हो भने हामीले बलिउडका राम्रा कुरा सिक्नुपर्छ, नराम्रा कुराहरू छोड्दिनुपर्छ । विडम्बना, हामी धेरै नराम्रो सिक्छौँ । त्यहाँ केही निर्देशक छन्, जसले नेपाली सिनेमा अन्तर्राष्ट्रियस्तरमा पु¥याएका छन् । जस्तै : ‘कागबेनी’, ‘कालो पोथी’ आदि ।

हिजो र आजको सिनेमामा के भिन्नता छ ?

समाज परिवर्तनसँगै परिपक्व पनि हुँदै जान्छ, स्तरीय सिनेमा निर्माण होस् भन्ने कुरा समाजले नै निर्धारण गर्दै जान्छ । जस्तो : बलिउडमा अहिले कंगना रनावतले खुलेर आफ्नो रिलेसनसिपका कुरा गरेकी छन् । त्यस विषयमा १० वर्षअघिको सामाजिक परिवेशमा उनलाई समर्थन गर्ने २० प्रतिशत थिए भने आज ८० प्रतिशत पुगेको छ । हिजोका दिनमा मेरो रिलेसनसिपका कुरालाई नै भद्दा तरिकाले मिडियामा प्रचार गरियो । पुरुषप्रधान समाजमा महिलालाई मानसिक तनाव थियो । आज त्यो कुरा सामान्य भएको छ । यसले नायिकाप्रधान सिनेमा पनि सफल हुन थालेको छन् । नेपाली समाज पनि परिवर्तन भएको छ ।

कत्तिको हेर्नुभएको छ, नेपाली सिनेमा ?

धेरै हेरेको छैन । वरिपरिका साथीभाइ परिवारले राम्रो छ भनेपछि हेर्छु । म हिन्दी सिनेमा पनि धेरै हेर्दिनँ । करियरको पिक टाइममा मैले हलिउड, बलिउडका धेरै नायिकाहरूको एक्टिङ अध्ययन गर्न थुप्रै सिनेमा हेरेँ, त्यसबाट धेरै सिकेँ ।

जति हेर्नुभएको छ, त्यसमा के छ प्रतिक्रिया ?

‘झोला’, ‘कागबेनी’ जस्ता सिनेमा हेरेकी छु । यी स्तरीय पनि छन्, तर यतिले मात्र नेपाली सिनेमाको स्तर उकासिँदैन । केहीलाई छाडेर अहिलेका नेपाली सिनेमा व्यवसायिक सिनेमाको खराब नक्कल बनिरहेका छन् ।

कमीकहाँ छ त ?

अनुभवी निर्देशनको कमी छ, अध्ययन अनुसन्धानको कमी छ हामीकहाँ । आज पनि हामी व्यवसायिक सिनेमामा मौलिक विषयवस्तु उठान गर्न चुकिरहेका छौँ । समाजको कथावस्तु पस्कने सिनेमा बनाउनुपर्छ । भारतमा पनि हलिउडका खराब नक्कलका सिनेमा बनेका छन् । तर, एडप्टेसन राम्रो भएका सिनेमा मात्र चलिरहेका हुन्छन् ।

अन्तराष्ट्रिय सिनेमा फेस्टिभलको महत्व कत्तिको हुन्छ ?

अन्तराष्ट्रिय बजारको पहुँचका लागि यो आवश्यक छ । विभिन्न सिनेमा फेस्टिभलमा थुप्रै सिनेमाको अनुभव बटुलेँ । सानै बजेटमा पनि सिनेमा बनाउन सकिनेरहेछ भन्ने बुझेँ । साउथ अमेरिका, स्पेन, कोरिया, इरानी सिनेमा सानो बजेटमा तर मौलिक कथा बताउँछन्, सफल पनि हुन्छन् । अध्ययन र अनुसन्धानका लागि यस्ता महोत्सव आवश्यक हुन्छन् ।

भाषाले पनि नेपाली सिनेमा कमजोर भएको भन्छन् नि ?

त्यस्तो होइन, अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन सबटाइटल राख्न सकिन्छ । आफ्नो समाजले नेपाली भाषा बुझिहाल्छ । कथावस्तु र प्रस्तुति अनि मौलिकपनको खाँचो छ, नेपाली सिनेमामा ।

बलिउडको नयाँ पुस्ता नेपालको नयाँ पुस्ताबीच समानता के छ ?

नयाँ पुस्तामा विशेषगरी केटीहरू बोल्ड छन्, आत्मविश्वासी छन् जुन करियर स्टार्टका लागि अत्यावश्यक छ । नेपाली नायिका धेरैलाई चिनेको पनि छैन । केही दिनअघि एउटा कार्यक्रममा प्रियंका कार्कीलाई भेटेकी थिएँ । उनी आत्मविश्वासी छन् ।

नेपाली सिनेमामा आउने विचार छ ?

नेपाली सिनेमा निर्देशन गर्ने मेरो भित्री चाहना छ र मेरो योजना पनि आर्ट मुभी बनाउने नै छ । कथावस्तु मेरो दिमागमा केटाकेटीदेखि नै छ । स्क्रिप्ट तयार गर्नुछ । भारतीय बेस्ट सिनेम्याटोग्राफरलाई लिएर बनाउँछु । सानो बजेटको मुभी हुन्छ । अहिले केही पारिवारिक काममा व्यस्त छु, त्यो सक्ने बित्तिकै सिनेमा बनाउँछु । अशोक मेहता, मधु अम्बड मलियालम मुभीको बेस्ट सिनेम्याटोग्राफरसँग कुरा गरेकी छु । नेपाली माटो, परिवेश, कला र संस्कृति झल्काउने सानो बजेटकै मुभी बनाउँछु ।

नेपाली सिनेमा खेल्न अफर गरियो भने ?

क्यान्सर निको भएपछि मैले मेरा प्राथमिकताहरू तय गरेकी छु । अहिले म पारिवारिक काममा व्यस्त छु । बलिउडबाटै अफर आयो भने पनि अहिले गर्न नसक्ने अवस्थामा छु । ती काम सकेपछि मात्रै म अन्य योजना बनाउँछु ।

बलिउडका कति वटा सिनेमा सक्नुभयो ?

संजय दत्तको बायोपिक सकिएको छ । राजकुमार हिरानीको यो सिनेमा राम्रो बनेको छ । डिसेम्बर या जनवरीमा रिलिज हुन्छ । ‘बम्बे टाकिज २’ को सुटिङ सकेकी छु । एउटा ठूलो ब्यानरको सिनेमामा अतिथि भूमिका (स्पेसल एपियरेन्स)को काम सकेकी छु । तर, नयाँ काम साइन गरेको छैन ।

साथै लक्ष्मीनाथ शर्माकाे नेपाली सिनेमासम्बन्‍धी टिप्‍पणी पढ्नुहाेस् 

भोलिको नेपाली सिनेमा

 

 

प्रतिकृया दिनुहोस