MENU

अन्तरवार्ता

Annapurna635x90

दर्शकका जिज्ञासाहरूको उत्तर दिन खोजेको हुँ : मदनकृष्ण

शिवप्रसाद तिवारी शुक्रवार, भाद्र २३, २०७४

‘महको म’ कस्तो पुस्तक हो ?

पाठकहरूले मह (जोडी) को ‘ह (हरिवंश आचार्य)’बारे ‘चिना हराएको मान्छे’मा पढ्नु भयो । बाँकी रह्यो ‘महको म’ (मदनकृष्ण श्रेष्ठ) । यो पुस्तक त्यही ‘म’ बारे लेखिएको आत्मकथा भएकोले नाम नै ‘महको म’ राखिएको हो । यसमा मेरा जिन्दगीका उतारचढावकाे वर्णन छ ।

किताब लेख्न के ले प्रेरित गर्‍यो ?

मलाई पहिल्यैदेखि नै मित्रहरूले सुझाएका थिए । मैले वास्तै गरेको थिइनँ । खासमा यो पुस्तक ६ वर्षअघि लेख्न शुरु गरेँ ।

किन यति समय लाग्यो ?

मेरी श्रीमतीलाई क्यान्सर भएको थाहा पाएपछि केही समय लेख्न सकिनँ । भुइँचालो आएपछि केही महिना लेखिनँ, नाकाबन्दीमा लेख्न सकिनँ । त्यस्तै भयो, कहिले एक–दुई दिन लेखेँ, हप्ता, महिना दिन जति लेखिनँ । एक–दुई च्याप्टर लेखेपछि बीचमा एक–दुई वर्ष नलेख्ने पनि भयो ।

हरिवंश आचार्यले ‘चिना हराएको मान्छे’ र ‘हरिबहादुर’ लेखेपछि पुस्तक लेख्नलाई दबाब कत्तिको आयो ?

हरिवंशको किताब आएपछि, तपाईंको किताब कहिले आउँछ भनेर सोध्नेहरू धेरै थिए । मैले यसअघि ‘साझा पृथ्वी’ नामको पुस्तक लेखेको छु । प्रकाशकको भनाइअनुसार उक्त पुस्तक ७० वटा निजी विद्यालयमा पढाइन्छ । यो मैले लेखेको दोस्रो किताब हो ।

कलाकारलाई लेखनमा के ले घच्घच्यायो ?

यो मेरो अटोबायोग्राफी हो । जीवनभरि के–के गरें भनेर सम्झिने कोशिस हो यो पुस्तक । जस्तो : सुत्ने वेला दिनभरिको घटना सम्झिइन्छ, दिनभरि क–कसलाई भेटियो, बोल्न नहुने के कुरा बोलियो, के खाइयो, कस–कसको चित्त दुखाइयो जस्ता कुरा लेखाजोखा गरेर भोलिका दिनमा कसरी अगाडि बढ्न सकिन्छ भनेर सोचिन्छ नि ! जीवनमा के राम्रो, के नराम्रो काम गरियो । आफूले जिन्दगीलाई फर्केर सम्झिँदा राम्रै हुन्छ भन्ने हिसाबले यो किताब लेखेको हुँ । पुस्तक मोटो हुँदा पनि सबै कुरा लेख्न सकिनँ । जीवनका सबै सम्झना अटाएनन् ।

कलाकारिता र पुस्तक लेखनमा फरक के रहेछ ?

कलाकारितामा अभिनयमात्रै गर्ने हो भने अर्कै कुरा हो । हरि र म सोच्छौं, छलफल गर्छौं र आफै लेख्छौं । त्यसैले नै हामी अघि बढ्न सकिरह्यौं । त्यहाँ (कलाकारितामा) पनि आफैं लेख्न सकियो भने सजिलो हुन्छ । कलाकारिताको लेखन अभ्यास पुस्तकमा पनि काम लाग्यो ।

तपाईं गायक पनि हुनुहुन्छ, पुस्तकमा त्यसबारे पनि केही छ ?

छ । परिस्थितिले मागेको भएर यो पुस्तकमा गीतहरू पनि राखेको छु ।

 कलाकारिताभन्दा पनि विज्ञापनहरू र गैरसरकारी संस्थाको कार्यक्रममा बढी देखिनुहुन्छ भन्छन् नि ।

पहिला हामीले सामाजिक काममा बढी ध्यान दिएका थियौँ । राजनीतिक चेतना फैलाउन पनि हामीले कोशिस गरेका हौँ । व्यावसायिक विज्ञापनलाई हामीले शुरुमा त्यति बढी वास्ता गरेका थिएनौं । पछि के सोच्यौं भने देश सम्पन्न हुन उद्योगधन्दा फस्टाउनुपर्छ । जबसम्म देश आत्मनिर्भर हुन सक्दैन, तबसम्म परनिर्भर भएर बाँच्नुपर्ने रहेछ । उद्योगधन्दा र व्यवसायले देशलाई समृद्ध बनाउने रहेछन् । आफ्नो देशका उद्योगधन्दा बलिया हुन् भन्ने सोचेर पनि विज्ञापनमा खेल्न थालेका हौं ।

तपाईंले यसपछि पनि किताब लेख्ने बारेमा केही सोच्नु भएको छ कि ?

समयले के भन्छ त्यसैअनुसार गर्ने हो । हेरौं के हुन्छ ।

अन्तमा अरू केही भन्न चाहनुहुन्छ ?

मलाई चिन्नुहुने पाठक, दर्शक र स्रोताहरूलाई मेराबारे खुल्दुली लाग्न सक्छ । त्यसैले मेराबारे उहाँहरूमा भएका जिज्ञासाको उत्तर दिन खोजेको हुँ, यो किताबमार्फत् । पाठकले पढ्छन् जस्तो लाग्छ । सबै पाठक, दर्शक र स्रोताहरूको माया पाएर नै म अगाडि बढ्न सकेँ । मैले विभिन्न रोगलाई जित्न सकेको पनि मलाई माया गर्ने दर्शकहरूकै हौसलाले गर्दा हो । यस्तो हौसला मलाई निरन्तर रहिरहोस् । त्यसका लागि हामी पनि कोशिस गरिरहने छौँ ।

mahako ma

 

 

 

प्रतिकृया दिनुहोस