MENU

अन्तरवार्ता

Annapurna635x90

रणनीतिक परिवर्तन होइन कोर्स करेक्सन

अन्‍नपूर्ण टुडे सोमवार, भाद्र १९, २०७४

इन्डिया टुडे ग्रुपको आजतक टीभीमा विदेश मामिला प्रमुख रहिसकेकी स्मिता शर्मा दुई दशकदेखि पत्रकारितामा छिन् । नेपाल–भारत सम्बन्धकी जानकार उनले आईबीएन सेभेन, सीएनएन आईबीएन, एएनआईलगायत टीभी अनुभव सँगालेकी छन् । शर्मासित देउवा भ्रमण र नेपाल–भारत सम्बन्धबारे नोयडास्थित निवासमा अन्नपूर्ण टुडेकी आशा थपलियाले गरेको कुराकानी :

यो भ्रमणमा दुई प्रधानमन्त्रीबीच साँच्चै आकस्मिक भेट नै भएको थियो ?

उच्च राजनीतिक भेटघाटमा केही प्रोटोकल र सुरक्षाका कुरा हुन्छन् । अति व्यस्त प्रधानमन्त्री मोदीको समय नै खाली हुँदैन, त्यस्तो वेलामा भएको भेटघाटलाई आकस्मिक भनेर बताइए पनि केही न केही पूर्वतयारी रहेकै हुन्छ । यद्यपि, मोदीले सरप्राइज कामहरूमा आफ्नो ट्रेडमार्क भने बनाएका छन् ।

भ्रमणले भारतको नेपाल रणनीति परिवर्तन भएको हो ?

विगत दुई वर्षमा नेपाल–भारत सम्बन्ध निकै उतारचढावमय रह्यो । नाकाबन्दीपछिका दिन र मधेश आन्दोलनका कारण साउथ ब्लकमा पनि ‘मिसक्यालकुलेसन’ थियो । तर, अहिलेको यो भ्रमणमा भएको स्वागत हेर्दा नेपाल–भारत सम्बन्धमा आएको दरार हटाउन ‘रेड कार्पेट’ बिछ्याइएको जस्तो लाग्यो । रणनीतिक परिवर्तन होइन, कोर्स करेक्सन भन्छु, म । पछिल्लो समय नेपालमा एन्टी इन्डिया सेन्टिमेन्ट बढेको थियो । त्यसलाई कम गर्नु पनि जरुरी थियो, भारतको लागि ।

यो करेक्सन नेपालमा चीनको बढ्दो प्रभावका कारणले हो कि भारतले नै सम्बन्ध सुधार्नु जरुरी ठानेको हो ?

एउटा मुख्य कारण त चीन हो । छिमेकी मुलुकमा उसको बढ्दो प्रभाव भारतको लागि चुनौती हो । सरकार अफिसियली भारत र नेपालको कुराकानीका क्रममा दोक्लम मुद्दामा छलफल भएन भने पनि पत्याउन गाह्रो हुन्छ । किनकि, भुटान, भारत र चीनबीचको दोक्लम विवादमा सहमति भयो भने पनि नेपाललाई छायाँमा राख्ने काम भारतले पक्कै पनि गर्छ । नेपालसँग भू–राजनीतिक सम्बन्धको फाइदा रहेको कुरा भारतले राम्ररी बुझेको छ । तर, चीनको नेपालमा बढ्दो प्रभाव नयाँदिल्लीको लागि गहिरो चासोको विषय भने हो, यसलाई दिल्लीले नजरअन्दाज गर्नै सक्दैन ।

मधेशीहरूको मुद्दा समेटेर संविधान संशोधन हुनुपर्छ भन्ने एजेन्डा थाती राखेर अहिले दिल्लीले नेपालसँगको सम्बन्ध विस्तार गर्न खोजेको हो ?

नयाँदिल्लीले रियलाइज गरेको एउटा कुरा के हो भने नेपालको राजनीतिमा मधेशीहरूलाई मात्र पुट दिएर हुँदैन । किनकि, मधेशीहरूसँग सम्बन्ध सुधारको आवश्यकता भनेको काठमाडौंको हो । त्यो सुधारको आवश्यकता नेपालको भित्री आयाम हो । हो, नेपाल भारतका अधिकांश सीमा विहार र उत्तरप्रदेशसँग जोडिएका छन् । त्यसैले त्यस क्षेत्रका जनताको चासो भारतको हो । अहिले कांग्रेस नेतृत्वको सरकार छ, ऊसँग भारतले विगतमा पनि सहज सहकार्य गरेको थियो । बीचमा एमालेको सरकार बन्यो, जसको झुकाव चीनतर्फ बढी देखियो ।

त्यसो भए भ्रमणले डायनामिक्स बदल्यो ?

विदेशसचिव एस जयशंकरले विदेश मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा विकासका मुद्दा मात्रै चर्चा गरियो । माथिल्लो कर्णाली, विशेष आर्थिक क्षेत्र, बाटो निर्माण, कनेक्टिभिटीका कुरामा केन्द्रित रह्यो । यसबाट भारतले नेपाललाई दिन खोजेको सन्देश के हो भने भारत नेपालको आर्थिक विकासको प्रमुख साझेदार बन्न चाहन्छ । सबैको सहमतिमा संविधान संशोधन भयो भने भारतले औपचारिक रूपमा संविधान स्वीकार भएको भन्छ ?सिमानामा मधेशीहरूका कारण हिंसाको स्थिति नआओस् भन्ने भारतको चाहना एक हदसम्म जायज पनि छ । तर, भारतको स्वर र मुहारमा परिवर्तन आएको छ । सन् २०१५ मा संविधान जारी हुँदा भारतीय विदेशसचिव नेपाल गएका थिए । त्यतिबेला दिल्लीले नेपालको संविधानको सही र गलत पक्षलाई निर्धारित गरेको थियो । त्यसवेलादेखि अहिलेको अवस्थासम्म आउँदा टोनमा निकै परिवर्तन आइसकेको छ ।

नेपालका लागि भारत र चीनबीचको फरक के हो ?

भारतले चीनसँग फन्ड (पैसा) मा प्रतिस्पर्धा गर्न सक्दैन । तर, नेपालसँग फरक सम्बन्धका कारण सम्बन्ध मजबुत बनाउन सक्छ । दुइटा महŒवपूर्ण आधार छन् यसका, नेपालीहरूले भारतमा आएर गर्ने इन्जोइमेन्ट चीनमा सक्दैनन् ।

याे पनि पढ्नुस्

प्रधानमन्‍त्रीकाे भारत भ्रमण : मुद्दा यथावत्

 

 

प्रतिकृया दिनुहोस