MENU

अन्तरवार्ता

635x90

विद्युतीय मेसिन अभावमा शव अन्त्येष्टि गर्न अार्यघाटमा घन्टौं लाइन

किरण दहाल आइतवार, श्रावण २९, २०७४

२३ साउन दिउँसो १ बजे अन्नपूर्ण टुडे टिम काठमाडौंको देवपतनस्थित पाशुपत क्षेत्र (पशुपतिनाथ मन्दिर) पुग्दा हातमा थाली, फूल अक्षताका पूजा सामग्री बोकेका महिलाको लाइन मूलगेटसम्म थियो । अविवाहित महिला सुयोग्य वर माग्ने र विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै साउने सोमबारको ब्रत बस्ने गर्छन् । महादेवको पूजाआजा गर्न पशुपति पुगेका महिलाको लर्को विद्युतीय शवदाहको छेवैको सडकमा देखिन्थ्यो । त्यसको मुस्किलले पचास मिटरको दूरीमा पूर्वपट्टि वागमती नदी किनार (आर्यघाट) मा भने चित्कारै चित्कार सुनिन्थ्यो ।

धुवाँले आकाश कुहिरीमण्डल थियो । शवको अन्त्येष्टि गर्नेहरू पालो पर्खेर बसेका थिए । घाटे पोलिरहेको शवलाई घोच्दै थिए । कोही घाट सफा गर्दै थिए । सबैको व्यस्तता उस्तै थियो । हृदयविदारक दृश्यले वातावरण शोकमग्न थियो । एकातिर जिउँदाको दीर्घायुको कामना र अर्कोतिर मृतात्माको चिर शान्तिको कामना गर्ने दुईथरी लाइन थिए, पशुपतिमै । दुवैमा उस्तै भीड थियो । आर्यघाटमा पालो पर्खेर बसेका एक जना पुजारी भन्दै थिए, ‘हेर्दै जानुस् । एकछिनमा यो ठाउँ शवैशवले भरिन्छ । शव राख्ने ठाउँ हुँदैन ।’

sub4

पशुपति क्षेत्र विकास कोषका अनुसार आर्यघाटमा दैनिक औसत ४० वटा शव अन्त्येष्टिका लागि आउँथे । तीमध्ये आधा जति विद्युतीय शवदाह गृहमा लगिन्थ्यो । १७ असारदेखि विद्युतीय शव दाहगृह बन्द छ । पशुपति आर्यघाटमा ११ वटा घाट छन् । एउटा शव जलाउन औसत तीनदेखि चार घण्टा लाग्छ । अहिले शव जलाउन तीन–चार घण्टा पालोमा बस्नुपर्छ ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उपे्रती नै ‘दैनिक २० आफन्त मर्कामा पर्ने’ स्वीकार्छन् । हिजोआज आर्यघाटमा शव जलाउने ठाउँसमेत अभाव छ । घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता देखिन्छ । ठाउँकै अभावमा मान्छेहरू आफन्तको शव जलाउन लामो समयसम्म पालो कुरेर बस्छन् । मलामी आउनेहरू धेरैको गुनासो छ, ‘यो शहरमा लाइन बस्नु नपर्ने ठाउँ नै छैन ।’ एकातिर आफन्त गुमाएको पीडा र अर्कातिर लाइन बस्नु पर्दा धेरैको मुहारमा असन्तुष्टि झल्किन्थ्यो ।

sub1

मेसिनबाट शव जलाउँदा यति धेरै व्यस्त हुँदैन थियो, आर्यघाट । तर, विगत एक महिनादेखि धेरैले समयमै आफन्तको दाहसंस्कार गर्न पाएका छैनन् । निर्देशक उपे्रती छिट्टै विद्युतीय शवगृह सञ्चालनमा आउने दाबी गर्छन् । ‘कोलकाताबाट सामान मगाएर मेसिनभित्रको ‘ब्ल्याङ्केट’ फेर्ने काम भइरहेको छ,’ उनले भने, ‘अहिले एक नम्बर चेम्बरको चाहिँ पुरानै ब्ल्याङ्केटहरूलाई मर्मतसम्भार गरिदैँछ । त्यो चाँडै सञ्चालनमा आउनेछ ।’

सञ्चालनमा आइसकेपछि अहिले रहेका दुई वटा मेसिनलाई पालैपालो प्रयोगमा ल्याउने उप्रेती बताउँछन् । बेला–बेलामा यसलाई मर्मत गरिरहनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । ‘गाडीलाई जसरी बेला–बेलामा मोबिल, ग्रिज फेरिरहनु पर्छ, त्यसरी नै ब्ल्याङ्केटहरूलाई सर्भिसिङ र परिवर्तन गर्नुपर्दाे रहेछ,’ उनले थपे, ‘अहिले दुई वटै बिग्रिए पनि अब बनेपछि १५/१५ दिनको अन्तरमा चलाउँछौँ ।’

sub2

कोषले करिब ११ करोड रुपैयाँको लगानीमा १० माघ २०७२ देखि दुई वटा मेसिनसहित विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याएको थियो । मेसिनबाट ४५ मिनेटमै एउटा शवदाह गर्न सकिन्छ । विद्युतीय शवदाह गर्दा आर्यघाटमा जलाउँदाभन्दा आधा नै सस्तो पर्छ । अर्थात्, विद्युतीय शवदाहगृहमा जलाउँदा लाग्ने शुल्क चार हजार मात्रै छ । जबकि घाटमा जलाउँदा न्यूनतम १० हजार रुपैयाँ खर्च हुन्छ ।

विद्युतीय शवदाह गृह प्रयोगमा आएको करिब १८ महिनामा साढे पाँच हजार शवदाह गरिसकिएको छ । सस्तो, वातावरणमैत्री र वनजंगल जोगाउनसमेत विद्युतीय शवगृह महत्वपूर्ण मानिन्छ । शव जलाएर नै अन्त्येष्टि गर्नुपर्ने हिन्दु धर्म संस्कृतिमा उल्लेख भएको बताउनेहरू पनि छन् । दाउरामा शव जलाउने बहुसंख्यक नेपालीको संस्कार भएकाले शुरुमा यसको प्रयोग नहुने हो कि भन्ने डर लागे पनि त्यस्तो अवस्था नआएको उनले बताए । भन्छन्, ‘हामी नेपाली नयाँ आएका परिवर्तनहरूलाई स्वीकार्दा रहेछौँ ।’

sub3

दाउराबाट शव जलाउँदा लाग्ने धेरै गुणा समय बचत हुने भएकाले पनि पछिल्लो समय विद्युतीय शवदाह गृह रोजाइमा पर्ने गरेको थियो । दाउराबाट शवदाह गर्दा समय र झण्झटिलो प्रक्रियाका कारण पनि विद्युतीय शवदाह गृह राम्रो विकल्प बनेको थियो । त्यसैले आर्यघाटमा शव नै लाइनमा लाग्ने प्रथाको अन्त्य गर्न ध्यान दिनुपर्ने सम्बद्धको जोड छ ।

प्रतिकृया दिनुहोस