MENU

अन्तरवार्ता

635x90

‘कुनै पनि शर्तमा माओवादीमा फर्किन्‍न’ : डा.बाबुराम भट्टराई

राजाराम गाैतम शुक्रवार, आषाढ ३०, २०७४

 स्थानीय तह निर्वाचनमा तपाईंको पार्टीप्रति जनताको आकर्षण खासै देखिएन, कसरी लिनुभएको छ ?

नयाँशक्ति एउटा वैचारिक ढंगले वैकल्पिक राजनीतिक धार निर्माण गर्ने ध्येयले बढेको छ । नेपालमा राजनीतिक आन्दोलन मूलतः पूरा भएको र अब आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरणको मुद्दा नै मुख्य बन्नुपर्छ भन्ने हाम्रो विचार हो । हाम्रो विचारप्रति जनतामा आकर्षण छ । हिमाल, पहाड र मधेशमा संगठनको सञ्जाल नबनेसम्म विचारको आधारमा मात्रै त्यो भोटमा परिणत हुँदैन । शुभेच्छा त मान्छेले राख्छन् । तर, भोट हाल्दा जसको संगठन छ, जहाँ चिनजान छ, त्यसलाई भोट हाल्ने प्रवृत्ति छ । त्यसो भएको हुनाले वैचारिक राजनीतिभन्दा पनि व्यवहारिक, सांगठनिक कुराले नै चुनावमा निर्णायक मत राख्छ । त्यही परिणाममा अभिव्यक्त भयो । त्यसैले हाम्रा लागि यो परिणाम मिश्रित हो ।

चुनावमा जनताले भोट नदिनु भनेको त्यो पार्टीको विचारलाई अनुमोदन नगरेको होइन र ?

विकास र आर्थिक समृद्धिका मुद्दा हामीले उठाउन थालेपछि यी शब्द स्थापित हुन पुगेका छन् । त्यसकारण जनताको आकर्षण नभएको होइन । हाम्रो समाजमा अत्यन्त पिछडिएको आर्थिक, सामाजिक बनोट छ । विविधतायुक्त छ । त्यो प्रकारले टोल–टोलसम्म संगठनको सञ्जाल नभएसम्म संगठनमार्फत् नै मान्छेले भोट हाल्छन् । हामी त्यहाँसम्म पुगेका छैनौँ । अहिले हामी केन्द्र, प्रदेश, जिल्लासम्म आइपुगेका छौँ । स्थानीय तहसम्म पुग्न भ्याएका छैनौँ । त्यसैले भोटमा अभिव्यक्त नभएको हो । एजेन्डा नै अस्वीकार भएको होइन ।

चुनावमा तपाईंहरूको भूमिका माओवादीलाई हराउनेमै सीमित भयो भनेर पनि विश्लेषण गरिँदैछ, के भन्नुहुन्छ ?

यो राजनीतिक संस्कारविहीनहरूले भन्ने कुरा हो । नयाँशक्ति भनेको माओवादीको कुनै टुक्रा होइन, परिवर्तित रूप पनि होइन । यहा वभिन्न पृष्ठभूमिका व्यक्ति जम्मा भएका छौँ । कसैले आफ्नो हार र आफ्नो पतनको दोष अर्कालाई दिन्छ भने यो उसको वैचारिक दरिद्रताको कुरा हो ।कांग्रेसले धेरै ठाउँमा हा¥यो । त्यहाँ पनि नयाँशक्तिका कारण हारे भन्लान् । अर्को ठाउँमा एमालेले हारेको छ । त्यहाँ पनि त्यही भन्लान् । कुनै पार्टीलाई जिताउने ठेक्का हाम्रो होइन । त्यसैले उनीहरूले आफूभित्र हेरून् । अरूलाई दोष थोपर्ने यो पुराना शक्तिहरूको नै अराजनीतिक कुरा हो ।

एक वर्षमा संगठन निर्माण कति गर्नुभयो ?

हामीले यो चुनावलाई संगठन विस्तार अभियानको रूपमा लियौँ । हामीले ७५ वटै जिल्लामा पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थियौँ । अहिले स्थानीय तहको निर्वाचनमार्फत् सात सय ४४ मध्ये अधिकांश गाउँपालिका र नगरपालिकामा हामीले उम्मेदवारी दिएका छौ । हाम्रो संगठन विस्तारै देशव्यापी बन्दैछ । एकातिर संगठन विस्तारमा हुनुहुन्छ, अर्कोतर्फ पार्टी छोड्ने प्रवत्ति पनि बढेको छ ।कतै माओवादी र ‘नन माओवादी ’ स्कुलिङबीचको द्वन्द्वले त होइन ? हाम्रो पार्टीमा मूलतः तीन पृष्ठभूमिका मान्छेहरू छौं । एउटा पूर्वमाओवादी, पूर्वगैरमाओवादी राजनीतिक पृष्ठभूमि (कांग्रेस, एमाले, मधेशवादीलगायत) र तेस्रो गैरराजनीतिक पृष्ठभूमिका छन् । जसमा पूर्वसुरक्षाकर्मी, पूर्वनोकरशाहहरू र विभिन्न पेसामा लागेका अन्य मानिस छन् । उनीहरूबीच अन्तरघुलन हुन अलिकति समय लाग्नु स्वाभाविक हो ।

एकातिर संगठन विस्तारमा हुनुहुन्छ, अर्कोतर्फ पार्टी छोड्ने प्रवत्ति पनि बढेको छ । कतै माओवादी र ‘नन माओवादी ’ स्कुलिङबीचको द्वन्द्वले त होइन ?
हाम्रो पार्टीमा मूलतः तीन पृष्ठभूमिका मान्छेहरू छौं । एउटा पूर्वमाओवादी, पूर्वगैरमाओवादी राजनीतिक पृष्ठभूमि (कांग्रेस, एमाले, मधेशवादीलगायत) र तेस्रो गैरराजनीतिक पृष्ठभूमिका छन् । जसमा पूर्वसुरक्षाकर्मी, पूर्वनोकरशाहहरू र विभिन्न पेसामा लागेका अन्य मानिस छन् । उनीहरूबीच अन्तरघुलन हुन अलिकति समय लाग्नु स्वाभाविक हो ।

पार्टी छोड्नेहरूले तपार्इंकै कार्यशैलीमाथि पनि प्रश्न चिह्न उठाएका छन्, हठवादिता छ, सँगै काम गर्न सकिएन भन्छन् नि ?

मान्छेहरूले छोड्ने क्रममा अनेक बहाना बनाउँछन् भने त्यसमा मेरो कुनै टिप्पणी छैन् । म आफ्ना कमी–कमजोरी सच्याउन सधैं तयार छु । म सधैं आफूलाई एउटा विद्यार्थी ठान्छु । ज्ञान कहिल्यै पनि पूर्ण हुँदैन । त्यसैले हामी विनम्र बनेर जानुपर्छ । मैले जुनसुकै ठाउँमा पनि मलाई मन पर्ने एक जना वैज्ञानिकको उद्धरण भन्ने गरेको छु, ‘ह्वाट यू नो इज अ ड्रप, ह्वाट यू डन्ट नो इज ओसन’ अर्थात् जे तिमीलाई थाहा छ । त्यो बुँदा मात्रै हो । तर, जे थाहा छैन । त्यो महासागर हो । म त्यसमा विश्वास गर्छु ।

चुनाव भयो । के अब संविधान कार्यान्वयनको गाडी कुदेको हो ?

संविधानमा केही अपूर्णता छन् । जो हिजो हामीले जनतासँग अथवा विभिन्न पक्षसित सम्झौता गरेका थियौं । त्यसअनुरूपको सबै कुरा त्यहाँ समेट्न सकिएन । अपूर्ण संविधानलाई सहमति गर्दै संशोधन गर्दै जानुपर्ने हाम्रो मान्यता छ । त्यसैले यो निर्वाचन हुनु सामान्य कुरा हो । उल्टो कसरी भयो भने संघीयतामा गइसकेपछि संघ, प्रदेश र स्थानीय तह यसरी निर्वाचन हुनुपर्ने हो । तर, हामीकहाँ पुराना दलहरू जो संघीयताको मर्मलाई राम्रोसँग आत्मसात गर्दैनन्, उनीहरूले हिजो संविधानसभाको निम्ति प्राप्त गरेको मतका आधारमा आफ्नो सत्ता सुरक्षित गर्दै त्यसको बलमा तलबाट निर्वाचन गर्ने जुन उल्टो विधि र प्रक्रिया अपनाए । त्यसले गर्दा केही असन्तुष्टि रहेको हो ।

संविधानलाई अब कुनै जोखिम त छैन नि ?

चुनाव त आज नभए भोलि हुन्छ । संविधानसभाबाट बनेको संविधान कसले खारेज गर्न सक्छ । कि ‘मिलिट्री कु’ भएर देश अर्कै दिशामा जानुपर्छ । नत त्यो नभएसम्म चुनाव एक महिना ढिलो वा छिटो भयो भनेर खासै अर्थ रहँदैन ।

यसको अर्थ अब मुलुक अस्थिरताबाट स्थिरताको राजनीतितर्फ उन्मुख हुँदै गरेको हो ?

म स्थिरता सहज देख्दिँन । निर्वाचन प्रणाली र शासकीय स्वरूप हामीले अपनाएका छौँ । त्यसले नेपालमा राजनीतिक स्थिरता दिँदैन । मिश्रित प्रणालीमा गइसकेपछि कसैको पनि बहुमत आउँदैन । त्यसले गर्दा देशमा अस्थिरता बढ्छ । त्यसैले संविधानको अपूर्णता भनेको प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नहुनु हो । आउँदो प्रदेश र केन्द्रको निर्वाचनपछि यो जटिलता अझ प्रस्ट देखिन्छ ।

त्यसो हो भने कसरी हामीले समृद्धि देख्छौं त, आफ्नै जीवनकालमा ?

हामीले शासकीय प्रणालीमा कार्यकारी प्रमुख अपनाउन सकेको भए राजनीतिक स्थिरता आउने थियो । परिवर्तनले छिटो गति लिने थियो । त्यहाँ हाम्रो त्रुटि भएकै छ । त्यो नसच्याएसम्म केही वर्षसम्म यस्तै दायाँबायाँ उथलपूर्ण ढंगले राजनीति अघि बढ्ने देख्छु । मंसिर, पुस वा माघमा जहिले प्रदेश र संघको चुनाव हुन्छ । त्यसमा त कसैको पनि बहुमत आउँदैन । त्यसपछि जनताले कुरा बुझ्छन्, त्रुटि भएकै रहेछ भन्ने कुरा । यो शासकीय स्वरूप र निर्वाचन प्रणाली रहेसम्म स्थिरता रहँदैन ।

संविधान संशोधन गरेर कार्यकारी प्रमुख हुने प्रणालीमा जानैपर्छ ?

यो ढिलो छिटोको कुरा हो । जानैपर्छ । छिटो भइदिए राम्रो हुन्छ । ढिलो भयो भने देशले दुःख पाउँछ । कुरा त्यत्ति मात्र हो ।

अस्थिरता निम्त्याउने प्रणालीमा तपार्इंहरू किन सहभागी हुनुहुन्छ त ?

यो चुनावमा भाग लिएर जनताको बीचमा जाने अवसरको रूपमा हामी लिन्छौँ । प्रत्यक्ष निर्वाचित कार्यकारीको मुद्दा लिएर हामी जान्छौं । सँगसँगै यो निर्वाचन प्रणालीमा चुनाव अत्यन्तै खर्चिलो छ । स्थानीय तहको निर्वाचनमा भएको करोडौं रुपैयाँको खर्च कहाँबाट आउँछ ? अन्ततः यो भ्रष्टाचार केन्द्रमा सीमित छ । त्यसलाई कमिसनखोरमा सीमित छ । तल स्थानीय तहमा ठेकेदार हुँदै अन्ततः राजनीतिक तहसम्म भ्रष्टाचार पुग्छ । त्यसले गर्दा यो राजनीति फोहरको दलदलमा फस्छ । त्यसबारे जनतालाई सचेत बनाएर हामीले एउटा राजनीतिक विकल्प खोजेका छौं ।

पछिल्लो समय भारत चीनबीच तनावपूर्ण सम्बन्ध विकास हँुदैछ । क्षेत्रीय राजनीति र तनावले गर्दा नेपाललाई कस्तो असर परेको छ ?

भारत र चीनबीच एउटा टकरावको स्थिति बन्दै गएको छ । त्यो हाम्रो लागि हितकर छैन । यी दुईको खिचातानीमा नेपाल पर्‍यो भने विकास, समृद्धि र स्थायित्वको हाम्रो मुद्दामा आघात पर्नसक्छ । त्यसैले हाम्रो छिमेकीबीच द्वन्द्व नबढ्दा नै हामीलाई फाइदा हुन्छ ।

बूढीगण्डकी जलविद्युत् आयोजनाका विषयमा तपार्इंले एक्लै लगातार विरोध गरिरहनुभएको छ, किन ?

यो परियोजना राष्ट्रिय गौरवको हो भनेर मेरै पालमा घोषणा गरिएको हो । यो नेपालको दीर्घकालीन विकासको निम्ति महŒवपूर्ण पूर्वाधार हो । काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल यी भनेका अत्यन्त दूरगामी आयोजनाहरू हुन् । यसलाई नेपाल आफैंले निर्माण गर्नुपर्छ । नेपालीहरूको आफ्नो साधनस्रोतले यो निर्माण गर्नुपर्छ । त्यसपछिमात्र मुलुकको आर्थिक विकासको ढोका खुल्छ । प्रचण्ड नेतृत्वको सरकारले अत्यन्त रहस्यमयपूर्ण ढंगले यो राष्ट्रिय गौरवको आयोजना विदेशी कम्पनीलाई दिने जुन निर्णय ग¥यो, त्यो मुलुकको हितमा छैन । त्यसलै यो जुन खालको सहमति गरिएको छ त्यसलाई अन्त्य गरेर बूढीगण्डकी आयोजना नेपाली आफैंले बनाउनुपर्छ भन्ने माग हामीले राखेर ज्ञापनपत्र दिएका छौं ।

चिनियाँ कम्पनीले यो परियोजना हात पा¥यो भनेर तपार्इंले विरोध गर्नुभएको भनेर पनि आरोप लागेको छ । के चिनियाँ कम्पनीलाई यस्ता परियोजना दिनु हुँदैन र ?

राष्ट्रिय गौरवको आयोजनामा एक नम्बरमा दु्रतमार्ग हो भनेर मैले घोषणा नै गरको हुँ । त्यसमा पनि यो भारतीय कम्पनीलाई दिइएको थियो । त्यो मैले नै १५साउन ०७२ गते पत्रकार सम्मेलन गरेर घोषणा गरेको हुँ । त्यसपछि सरकार पछि हटेर आफैं बनाउन लागेको छ । त्यसैगरी बूढीगण्डकी अहिले त्यही तरिकाले उत्तरतिर दिइयो । यो उत्तर र दक्षिणको कुरा होइन । नेपालीहरू आफैंले बनाएर आफ्नो सामथ्र्य बढाउन विकास गर्नुपर्छ र यसको लाभ नेपाली आफैंले लिनुपर्छ तबमात्र निजी क्षेत्रको विकास हुन्छ भन्ने मेरो मान्यता हो । त्यसकारण यी ठूला आयोजनामा कमिसनखोरहरूले कमिसन खाएको कुराको गम्भीर आशंका छ । यसको पनि छानविन गरी कारवाही गर्नुपर्छ ।

नेपाल, भारत र चीनबीच गतिशील पुल बन्नुपर्छ भन्ने तपाईंले नै कूटनीतिक सन्तुलन कायम राख्न सक्नु भएन भनिन्छ नि ?

म नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्ताको लागि लडेको छु । यो विदेशी शक्तिका गोटी बनेकाहरूले गरिएको दुष्प्रचार मात्र हो । यसमा कोही तथ्य लिएर आउँछ भने म जहाँसुकै बहस गर्न तयार छु ।

राजनीतिक संघर्षको चरण सकियो भन्नुभो । तर, राजनीतिक द्वन्द्वहरू त अझै बाँकी छन् नि ?

हामीले ‘मूलत’ शब्द प्रयोग गरेका छौं । किनकि, यो ००७ सालदेखिको यो राणाविरोधी पञ्चायतविरोधी जुन आन्दोलन थियो त्यसबाट मुक्त भएर संघीय गणतन्त्रमा आयौं । मूलत त पूरा भयो । तर, पूर्णरूपता कहिले पनि पूरा भएन । किनकि, विभिन्न जाति, समुदाय वर्गका मागहरू छन् त्यो पूरा हुन त समय लाग्छ । त्यसैले ती विषय त कायम रहन्छन्, त्यै पनि मूल रूपमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेपछि अब त्यो सुहाउँदो आर्थिक, सामाजिक आधार हुनुपर्‍यो, विकासमा लाग्नुप¥यो । देश सुहाउँदो अर्थतन्त्र बनाउनुपर्‍यो, औद्योगिकीकरणमा जानुपर्ने बेला आएको छ । यो कृषिप्रधान अर्थतन्त्र छ, यसलाई उद्योगप्रधानमा लैजानुपर्छ । यसरी मात्र यो लोकतन्त्र सुनिश्चित हुन्छ ।

मधेशको मुद्दालाई कसरी लिनुभएको छ ?

नेपाल भनेको खस आर्य, मंगोल र मधेशी, थारू यी तीन जातको क्लस्टरले बनको राज्य हो, त्यसैले यी तीन जातिबीच समन्वयायिक सम्बन्ध राखेर समतामूलक र सहाभागितामूलक राज्यको अभ्यास नगरेसम्म देशमा पूर्ण राजनीतिक परिवर्तन आउँदैन । नेपालको आन्तरिक राष्ट्रियतालाई नयाँ ढंगले परिवर्तन गर्ने बुझाइमा केही कमजोरी रहेको छ । त्यसैले अहिले यसको सम्बोधन गर्नेुको सट्टा अलग्गै निर्वाचन गर्ने काम गरियो यसो गर्नु हुँदैन्थ्यो । पहिले नै यसलाई समाधान गरेर मधेशका सबै पक्षलाई विश्वासमा लिएर एकैचोटि चुनाव गरेको भए राम्रो हुने थियो ।

तपाईंको सोचले मूर्तरूप लिन सत्तामा पुग्नुपर्छ, तर सत्ता तपाईंबाट निकै टाढा हुँदै गएको देखिन्छ । कसरी तपार्इंका सोच कार्यान्वयन होलान् ?

नजिक नआएसम्म टाढै देख्छन मान्छेले । पञ्चायती व्यवस्था अन्त्य हुनुअघि चैत ७ गते पोखरामा विशाल पञ्चायत ¥याली भएको थियो, त्यहाँ लाखौं मान्छेको जमघट थियो । त्यतिबेला राजाले पनि त्यसलाई देखेर पञ्चायत कहिले पनि जाँदैन भन्ने घोषणा गरेका थिए, तर त्यसको केही सातामै पञ्चायत ढल्यो । राजतन्त्र र कांग्रेस र एमालेको संसदीय व्यवस्था थियो ०४८ पछि उनीहरूको संसद्मा बहुमत थियो, यसलाई कसले हटाउन सक्ला भन्थे मान्छेले । तर, ०६२/०६३ मा त्यो पनि गयो । त्यसैले क्रान्तिकारी परिवर्तन विन्दुमा नपुगेसम्म मान्छेले पत्याउँदैनन् । ९९ डिग्रीसम्म तातेको पानीलाई मान्छेले उम्लेको देख्दैन । त्यसैले नयाँशक्ति पनि त्यसरी बन्दै छ । उपयुक्त समयमा त्यसको परिणाम देखिन्छ ।

‘फस्ट म्यान’ भएर पार्टी सञ्चालन गर्दाको तपाईंलाई कस्तो अनुभूति भइहरेको छ ?

म सधैं ‘फस्टम्यान’ नै त हुँ नि । माओवादी आन्दोलनको बेला पनि बाहिर मलाई नै नेताका रूपमा बुझ्थे । ४० सूत्रीय मागदेखि लिएर संविधानसभा र अन्तरिम संविधानका सबै दस्तावेज हेर्दा र संविधान बनाउने संवैधानिक समितिको अन्तिम बेलासम्म व्यवहारतः मैले ‘फस्टम्यान’कै काम गरेको छु । प्रधानमन्त्रीका रूपमा पनि ‘फस्टम्यान’को रूपमा काम गरेको छु । त्यसकारण यहाँ फस्टम्यान र सेकेन्डम्यानको कुरा होइन, विचार र नीति लागु गर्ने कुरा प्रमुख हो ।

प्रचण्डले तपार्इं माओवादी फर्कँदै हुनुहुन्छ भनेर सार्वजनिक रूपमै भन्नुभयो । केही कुरा भएको हो ?

जो विदेशी शक्तिका गोटी बनिराखेका छन्, तिनले गर्ने दुष्प्रचारको भ्रममा नपर्नुस । म कुनै पनि शर्तमा माओवादी जान्नँ । किनकि, पकेटमारले पकेट मार्नुअघि चोर भनेर आफैं कराउँछ अनि पकेट मार्छ । त्यसकारण यी राजनीतिक पकेटमारहरूबारे जनताले छिटो बुझ्नुपर्छ ।

कार्यगत एकताको चाहिँ सम्भावना छ ?

मुद्दाको हिसाबले कार्यगत एकता त एमाले, मधेशवादी, कांग्रेस, माओवादी जोसँग पनि हुनसक्छ । हामी वैकल्पिक राजनीति भएको नाताले पुराना राजनीति शक्ति जसरी भ्रष्टाचारमा फसेका छन् र पुराना आन्दोलनको नाम भजाएर भ्रम छरिरहेका छन्, त्यो लामो समय टिक्दैन, हामी त्यसलाई टिक्न पनि दिने छैनौं । हामी त्योभन्दा माथि उठन् चाहन्छौं ।

के तपाईंहरूले उपेन्द्र यादवसँग एकीकरण गर्न लाग्नुभएको हो ?

विभिन्न पक्षहरूसँग कुराकानी अगाडि बढेको छ तर कुनै निष्कर्षमा पुगेको छैनौं । हामीले शासकीय प्रणालीमा कार्यकारी प्रमुख अपनाउन सकेको भए राजनीतिक स्थिरता आउने थियो । परिवर्तनले छिटो गति लिने थियो । त्यहाँ हाम्रो त्रुटि भएकै छ । त्यो नसच्याएसम्म केही वर्षसम्म यस्तै दायाँबायाँ उथलपूर्ण ढंगले राजनीति अघि बढ्ने देख्छु । मंसिर, पुस वा माघमा जहिले प्रदेश र संघको चुनाव हुन्छ । त्यसमा त कसैको पनि बहुमत आउँदैन । त्यसपछि जनताले कुरा बुझ्छन्, त्रुटि भएकै रहेछ भन्ने कुरा । यो शासकीय स्वरूप र निर्वाचन प्रणाली रहेसम्म स्थिरता रहँदैन ।

 

 

 

 

प्रतिकृया दिनुहोस