MENU

अन्तरवार्ता

dishhomeapp

पर्यावरणका पुजारी डा.झा

विवश वस्ती बिहिवार, आषाढ २२, २०७४

२०४६ सालको अन्तिम दिनहरूमा बहुदलीय व्यवस्था स्थापना भएपछि तराईका समशीतोष्ण भू–भागमा एउटा नयाँ बिरुवा देखापर्‍यो । अरू स्थानीय झारहरूको अस्तित्व नै मेट्ने गरी फैलिने उक्त मिचाहा बिरुवाको नाम हो, ‘पार्थेनियम हिस्ट्रोफोरस’ । अमेरिकाबाट भित्रिएको उक्त बिरुवाको फैलावट देखेर त्यसलाई नेपालीहरूले भने ‘बहुदलीय झार’ भन्न थाले । पहिला तराई क्षेत्रमा मात्र व्यापक रूपमा फैलिएको उक्त बिरुवा अब त पहाडतिर पनि चढ्न थालिसकेको छ । ४० वर्षसम्म त्रिभुवन विश्वविद्यालयको वनस्पतिशास्त्र विभागका रहेर वनस्पतिहरूको अध्ययनमा बिताई १० महिनाअघि मात्रै अवकाश पाएका प्रा.डा. प्रमोदकुमार झा भन्छन्, ‘१५ वर्षयता काठमाडौं उपत्यकामा पनि यो बिरुवा देखापर्न थालेको छ ।

समशीतोष्ण प्रदेशमा हुने बिरुवा १५ सय मिटरको उचाइसम्म देखापर्नुमा जलवायु परिवर्तनको असर नै हो ।’ अवकाश पाए पनि उनी त्यति फुर्सदिला देखिँदैनन् । अचेल पनि त्यस्तै मिचाहा प्रवृत्तिका बिरुवा र झारहरूको अध्ययनमै समर्पित छन् । भन्छन्, ‘म अचेल मिचाहा प्रवृत्तिका बिरुवा र किराहरूको अध्ययनमा लागिरहेको छु ।’ अझ, उनलाई त ‘बहुदलीय झार’ पहाडी क्षेत्रहरूमा समेत विस्तार हुनुले चिन्ता बढाएको छ । डा. झा अचेल जलवायु परिवर्तनले पारिस्थितिक अवस्थामा पुर्‍याउने असर र नेपालको जैविक विविधताबारे काम गरिरहेका छन् । जलवायु परिवर्तन विश्वव्यापी चासो र चिन्ताको विषय भए पनि उनलाई भने कीर्तिपुरको प्राध्यापक–आवासमा बस्दा छोएको एउटा घटनाले त्यो विषयतिर तान्यो । उनी जुन आवासमा बस्थे, त्यसको पछाडि घोडताप्रे असाध्यै पाइन्थ्यो र दिनहुँ एक जना स्थानीय मानिस घोडताप्रे टिप्न आउँथे ।

ती मानिसको सानेपामा आयुर्वेदिक औषधालय रहेको हुँदा घोडताप्रे उखेलेर आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्थे । तर, दिनहुँ घोडताप्रे टिप्न आउने ती मानिस विस्तारै दिन बिराएर र पछि त सातामा एक दिनमात्र आउन थाले । एकदिन उनले ती मानिसलाई सोधे, ‘अचेल किन साता दिनमा मात्रै आउनुहुन्छ ?’ती मानिसले लाचारी व्यक्त गर्दै जवाफ दिए, ‘अचेल पहिलाजस्तो पाउनै छाड्यो ।’ उनले जलवायु परिवर्तनका कारण रैथाने बोटबिरुवा र जडीबुटीहरूमा पारिरहेको असरबारे पहिल्याउन चाहे र घोडताप्रे कम उम्रिनु र मिचाहा प्रवृत्तिका झारद्वारा विस्थापित हुनुमा पनि त्यही कारण जोडिएको अनुमान लगाए । भन्छन्, ‘त्यसपछि मैले एक जना शोधार्थीलाई घोडताप्रेमा विद्यावारिधि गर्न लगाएँ ।

चार दशकसम्म केन्द्रीय वनस्पतिशास्त्र विभागमा रहँदा उनले झार, जडीबुटी र पारिस्थितिक प्रणालीकै वरिपरि आफ्नो अध्ययन र अनुसन्धानको दायरालाई फिँजाए।

स्मरण शक्ति बढाउने गुण र क्षमता भएको घोडताप्रे कम हुँदै जानु चिन्ताको विषय थियो । देशभरिका २२ ठाउँका घोडताप्रे बटुलेर त्यसमा हुने रसायन तŒवबारे अध्ययन गराएको थिएँ । तर, हामीले के पायौं भने जलवायु एवं पारिस्थितिकीय परिवर्तनले घोडतापे्र, चिराइतोलगायत अरू औषधीय गुण भएका बोटबिरुवाहरूको रासायनिक गुणलाई समेत असर पारिरहेको छ ।’ उनी हामीकहाँ जडीबुटीबारे जुन तहमा वैज्ञानिक अध्ययन हुनुपर्ने हो, त्यो नभइरहेकोमा चिन्तित छन् । चार दशकसम्म केन्द्रीय वनस्पतिशास्त्र विभागमा रहँदा उनले झार, जडीबुटी र पारिस्थितिक प्रणालीकै वरिपरि आफ्नो अध्ययन र अनुसन्धानको दायरालाई फिँजाए । करिब ६० वर्षअघि मेक्सिकोबाट भित्रिएको वनमारा पनि एक मिचाहा बिरुवा नै हो । यो ४ सयदेखि २६ सय मिटरको उचाइसम्म पुगिसकेको छ ।

उनी भन्छन्, ‘वनमाराको सकारात्मक पक्षतिर पनि अहिले मानिसहरूको ध्यान गएको छ । यसले भूक्षय रोक्ने र ब्रिकेट बनाउनसमेत काम लाग्ने भएको हुँदा मानिसहरू सकारात्मक बन्न थालेका छन् । तर, यसले स्थानीय उपयोगी बिरुवाहरूलाई विस्थापित गरिरहेको कुरा भने बिर्सनु हुँदैन ।’ त्यस्तै, माइकेनिया र जलकुम्भीजस्ता मिचाहा बिरुवा र झारप्रति पनि उनको समूहले अध्ययन गरिरहेको छ । सन् १९५३ मा महोत्तरीको साढामा जन्मिएका डा. झाको प्रारम्भदेखि उच्च शिक्षा भने भारतमै भयो । उनका बुवा पण्डित सुरेश झा संस्कृतका विद्वान् थिए । अनेक पुस्तक लेखेका उनका बुवाले राजस्थानको शिक्षा विभागका साथै साधुबेला संस्कृत महाविश्वविद्यालयमा लामो समयसम्म प्राध्यापन गरे ।

तर, जोधपुर विश्वविद्यालयबाट बीएस्सी र कानपुर विश्वविद्यालयबाट एमएस्सी सिध्याएपछि भने डा. झाले नेपालमै आएर आफ्नो ज्ञान बाँड्न चाहे । ०३३ सालमा विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा पढाउन थालेका उनले त्यसको दुई वर्षपछि नै विद्यावारिधिका लागि जोधपुर विश्वविद्यालयमै छात्रवृत्ति पाए । २९ वर्षको उमेरमै विद्यावारिधि सिध्याएर फर्किएपछि भने उनले कीर्तिपुरमै आफ्नो डेरा जमाए । भन्छन्, ‘पीएचडी गरेर फर्किएपछि कीर्तिपुरमा इकालोजी पढाउने प्राध्यापक नभएपछि मैले पढाउन थालेँ ।’

बिरुवाहरूको पारिस्थितिक अध्ययनमा विद्यावारिधि सिध्याएका उनले प्रारम्भमा बाली–बिरुवाहरूमा उम्रिने झारपातलाई कसरी नियन्त्रण गर्ने भन्नेमा आफूलाई केन्द्रित तुल्याएका थिए । तत्पश्चात् लट्टे साग र रामदानामा अध्ययन, अनुसन्धान, बिरुवाहरूको जलीय एवं पारिस्थितिक सम्बन्ध, जडीबुटीको विस्तृत अध्ययन, जैविक विविधता र जलवायु परिवर्तनको प्रभावबारे अन्तर्राष्ट्रिय परियोजनासमेत सञ्चालन गरे उनले ।केन्द्रीय वनस्पतिशास्त्र विभागमा कार्यरत रहन थालेपछि उनले अहिलेसम्म सात जना शोधार्थीको विद्यावारिधिको लागि शोध–निर्देशक भएर काम गरिसकेका छन् । त्यसमा दुई जनाले झारपातमै विद्यावारिधि गरे ।

dr.jha1

एकजनाले पोखरा क्षेत्रमा हुने धानबालीमा हुने झार र अर्कोले विराटनगरको चरन क्षेत्रमा उम्रिने झारबारे अनुसन्धान गरे । उनी भन्छन्, ‘धान बालीमा बेग्लै झार उम्रिन्छ, चरन क्षेत्रमा उम्रिने झार बेग्लै हुन्छ र गार्डेनमा हुने झार पनि बेग्लै हुन्छ ।’ उनले जडीबुटीमा तीन जनालाई, जल–बिरुवा र पारिस्थितिक प्रणालीबारे एक जना र खुम्बु क्षेत्रको नदीनालासम्बन्धी एक जनालाई पीएचडीको लागि शोध–निर्देशक रहेर काम गरे । अहिले पनि अरू सात जना शोधार्थीले नै उनको शोध–निर्देशनमा अनुसन्धान गरिरहेका छन् । साथै, विभिन्न राष्ट्रको दुई दर्जनभन्दा बढी विश्वविद्यालयको ५३ जति विद्यावारिधि ग्रन्थको मूल्यांकनसमेत गरेका छन् ।

अचेल भने उनलाई गोलभेंडामा लाग्ने मिचाहा प्रजातिका किरा ‘टुटा एब्सोल्युटा’ को बढ्दो विस्तारले चिन्ता जगाइरहेको छ । नेपाली भाषाको नाम अहिलेसम्म नपाइसकेको उक्त किरा विगत २ वर्षयता नेपालमा रेकर्ड भएको हो । उनी भन्छन्, ‘सन् २०१६ मा यो किरा नेपालमा देखिएको हो । अहिले काठमाडौं, पोखरालगायत ८÷१० जिल्लामा यो किराको प्रकोप बढेको छ । समयमै नियन्त्रण नगर्ने हो भने गोलभेंडा प्रजातिका बोटबिरुवालाई यो किराले सखाप नै पार्छ ।’ हुन पनि, यो किराले गोलभेंडाको पात र डाँठ सबै चपाइदिन्छ । यो किरा पनि दक्षिण अमेरिकाबाट युरोप हुँदै भारत भएर नेपाल भित्रिएको हो । त्यसो त, मिचाहा बोटबिरुवा मात्र होइन, मिचाहा किराप्रति पनि डा. झाको समूहको अध्ययन तन्किएको छ । किराहरूले अन्य बालीभन्दा तरकारी बालीमा धेरै असर पु¥याउने गरिए पनि मकैमा लाग्ने किराबारे पनि अहिले अध्ययन भइरहेको छ ।

जलवायु परिवर्तनका कारण मकै बालीमा के–कस्ता किराहरूले असर पुर्‍याइरहेको छ भन्नेमा चितवन, जोमसोम, कास्की र स्याङ्जामा कृषि तथा वनविज्ञान विश्वविद्यालयको संलग्नतामा अध्ययन चलिरहेको छ । भन्छन्, ‘मकै बालीलाई मिचाहा र स्थानीय दुवै खाले किराले असर पुर्‍याइरहेको छ । जलवायु परिवर्तनका कारण त्यस्ता किराहरूको विस्तार कसरी भइरहेको छ र त्यसको एकीकृत शत्रुजीव व्यवस्थापनद्वारा कसरी नियन्त्रण गर्ने भन्नेबारे अध्ययन चलिरहेको छ ।’विकसित देशहरूमा बढ्दो औद्योगिकीकरण, शहरीकरण र वन विनासजस्ता कारणहरूले जलवायु परिवर्तनका असरहरू देखापरेका हुन् । भन्छन्, ‘जलवायु परिवर्तन बढ्दो औद्योगिकरणका कारण भइरहेको छ र विश्वका विकसित देशहरूले कार्बन उत्सर्जन गर्दा यो समस्या निम्तिरहेको छ । अमेरिकाले पनि आफ्नो व्यावसायिक हितमा असर पर्ने देखेर नै पेरिस सम्झौताबाट हात झिकेको हो ।’

 

नेपालमा सीमित दूरीमा जुन पारिस्थितिक अवस्था छ, त्यो संसारमा विरलै पाइने गर्छ।

उनलाई अबका २५ वर्षपछि नेपालका हिमालहरू अहिलेकै जस्तो सौन्दर्य र मनमोहक रहलान् कि नरहलान् भन्ने चिन्ता पनि उत्तिकै छ । सन् २००९ मा सगरमाथा बेसक्याम्पमा पुग्दा स्थानीयहरूले हिमालमा हिउँ कम हुँदै जान थालेको अनुभव सुनाएपछि त उनले जलवायु परिवर्तनको सीधा असर पर्दै गएको देखे । भन्छन्, ‘अहिले ग्लेसियर बगेर सुक्खायाममा नदीनालामा पानी आउने हो । तर, ग्लेसियर घट्ने हो भने नदीनाला सुक्छन् र यसले सिँचाइ, जलविद्युत्हरूमा असर पार्छ । कृषि र ऊर्जा क्षेत्रमा सीधा असर पर्ने देखिन्छ ।’ तर, बढ्दो जलवायु परिवर्तनको असरलाई कम गर्न जलवायु अनुकूलन बिरुवाहरू लगाउनुपर्नेमा उनको जोड छ ।

‘नेपाल ठूलो प्राकृतिक प्रयोगशाला हो’ यस्तो धारणा राख्ने डा. झा नेपालको जैविक विविधता देखेर पहिलादेखि नै कायल थिए । भन्छन्, ‘अमेरिकामा तीन हजार किलोमिटर छिचोल्दा पनि नपाइने पारिस्थितिक एवं जैविक विविधता हामीकहाँ भने डेढ किमि छिचोल्नेबित्तिकै पाइन्छ । जैविक विविधताको क्षेत्रमा नेपालले गर्व गर्न सक्न सक्छ । हामीकहाँ अफ्रिकाजस्तो गर्मी ठाउँमा हुने बोटबिरुवा तराई क्षेत्रमा हुन्छन्, भने चिसो ठाउँमा हुने जैविक चिज पहाडमा हुन्छन् ।’ नेपालमा सीमित दूरीमा जुन पारिस्थितिक अवस्था छ, त्यो संसारमा विरलै पाइने भएको हुँदा वैज्ञानिक अध्ययनका लागि नेपालले विश्वकै ध्यान तान्नसक्ने डा. झाको तर्क छ ।

नेपालको वनस्पति क्षेत्र, जैविक विविधता, जलवायु परिवर्तनलगायत विषयमा अध्ययन–अनुसन्धान गर्नमै जीवनका ऊर्जावान् वर्षहरू बिताएका डा. झालाई राष्ट्रले सम्झिने काम भने यही वर्ष गर्‍यो । उनले एक लाख रुपैयाँको ‘राष्ट्रिय वनस्पति पुरस्कार’ केही समयअघि ग्रहण गरे । उनको सम्मानपत्रमै लेखिएको थियो, ‘नेपालको वनस्पति सम्पदाको पहिचान, संरक्षण, व्यवस्थापन एवं दिगो उपयोगलाई प्रबद्र्धन एवं संस्थागत विकासमा पु¥याउनुभएको विशिष्ट योगदानका लागि ।’ यो पुरस्कार छनोट गर्ने टोली पनि जम्बो नै हुन्छ, १३ जनाको । विभिन्न चार वटा पद्धति अँगालेर मूल्यांकन गर्ने गरिन्छ र त्यही आधारमा चयन भएका तीनमध्ये एक जना व्यक्तिले यो पुरस्कार पाउँछन् ।

डा. झा भने यो पुरस्कार पाउने छैंटौं व्यक्ति हुन् । यसअघि, दिव्यदेव भट्ट, डा. उदयराज शर्मा, समरबहादुर मल्ल, केशवराज राजभण्डारीलगायतले यो पुरस्कार पाइसकेका छन् । यसबाहेक उनले विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पुरस्कार, सम्मान र पदकहरूसमेत पाएका छन् । त्रिविको वनस्पतिशास्त्र विभागमा रहेर अनुसन्धान कार्यलाई संस्थागत गर्ने प्रयत्नमा लागेका डा. झा टोनी हेगन फाउन्डेसनका अध्यक्ष पनि हुन् । वनस्पति क्षेत्रमा युवा पुस्तालाई कसरी आकर्षित गर्ने भन्नेमा लागिपरेका डा. झाले नेपाल विज्ञान प्रज्ञा–प्रतिष्ठान (नास्ट) को प्राज्ञको भूमिकामा रहेर पनि आफ्नो योगदान दिइरहेका छन् । नास्टको व्यवस्थापन परिषद्का सदस्यसमेत रहेका उनले दर्जनभन्दा बढी अनुसन्धानमूलक कृतिसमेत लेखेका छन् । उनले नास्टबाटै नेपालको जैविक विविधतासम्बन्धी वृहत् अनुसन्धानमूलक लेखहरूको सँगालो पनि निकालेका छन् ।

 

 

प्रतिकृया दिनुहोस