MENU

टिप्पणी

635x90

पत्रकार महासंघ इतिहासको किचलो

भानुभक्त आचार्य बिहिवार, कार्तिक २३, २०७४

राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको नामअघि कृष्णप्रसाद भट्टराईको नाउँ जोड्ने कि हटाउने भन्ने विवादले पत्रकारका संघसंगठनहरू इतिहासको किचलोमा अल्झिएका छन् । खासमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष भट्टराई हुन् कि होइनन् भन्ने विषय इतिहासको भन्दा राजनीतिको किचलो हो । संस्था खोलेर साँच्चिकै काम गर्नुभन्दा संस्थाका नाउँमा राजनीति गर्न सजिलो छ । भएको त्यही हो ।

प्रेस चौतारीलगायत संस्थाहरूले गरिरहेको तर्क के हो भने २००८ सालमा सत्यनारायण बहादुर श्रेष्ठले ‘नेपाल पत्रकार संघ’ गठन गरेका थिए । कृष्णप्रसाद भट्टराईले त्यही संस्थालाई ०१२ सालमा पुनर्गठन गरेका हुन् । यो तर्कलाई पुष्टि गर्न गृष्मबहादुर देवकोटाको ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’को एउटा पृष्ठको फोटो र श्रेष्ठकै अध्यक्षतामा २७ पुष ००९ मा बसेको पत्रकार संघको बैठकबारे गोरखापत्रमा छापिएको समाचारको कटिङ पेस गर्ने गरिएको छ । तर, ती विवरण पेस गर्दैमा सत्यनारायण श्रेष्ठले स्थापना गरेको नेपाल पत्रकार संघ नै कृष्णप्रसाद भट्टराई अध्यक्षमा पुनर्गठन भएको भन्ने पुष्टि हुँदैन । यहाँ चार तर्कहरू प्रस्तुत गरिएका छन् :

पहिलो : सत्यनारायण श्रेष्ठको सभापतित्वमा ००८ सालमा नेपाल पत्रकार संघको गठन भएकै हो । यसको पहिलो बैठक २८ वैशाख ००९ र दोस्रो २७ पुसमा बसेको थियो । यसले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन २००९ मा भएका प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्ने आशयका केही दफाहरूको आशय खुलाइदिन गृह मन्त्रालयलाई २ फागुन ००९ मा पत्र पठाएको थियो । यसपछि यसका गतिविधिहरू भएनन् । नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास (तेस्रो संस्करण) को पृष्ठ १३९ मा ‘यो पत्रकार संघ धेरै समयसम्म सञ्चालित हुन सकेन र अन्त्यमा त्यसै बिलायो’ उल्लेख छ । श्रेष्ठलाई पत्रकार महासंघको संस्थापक भनी जिकिर गर्ने मित्रहरूले देवकोटाको पुस्तकमा भएको यो हरफ लुकाउन खोजका छन् ।

patrakar-mahasangha1

दोस्रो : श्रेष्ठको अध्यक्षतामा गठन भएको पत्रकार संघका पदाधिकारीहरू र भट्टराईको नेतृत्वमा गठन भएको पत्रकार संघको पदाधिकारीहरू विल्कुलै फरक छन् । एकजना व्यक्ति पनि दोहोरिएको छैन (तालिका हेर्नुहोस्) । एउटै व्यक्ति पनि नदोहोरिएको संस्थालाई नाम मिल्यो भन्दैमा पुनर्गठन भन्न मिल्छ ?

तेस्रो : गोरखापत्रका तत्कालीन सम्पादक रामराज पौड्यालले ०२७ सालमा प्रकाशन गरेको ‘नेपाली पत्रकारिता’ पुस्तकको पृष्ठ ४५ मा सत्यनारायण श्रेष्ठको अध्यक्षतामा नेपाल पत्रकार संघ गठन भएको ‘तीन वर्षपछि श्री कृष्णप्रसादको अध्यक्षतामा अर्को एउटा नेपाल पत्रकार संघ स्थापित भयो’ भन्ने उल्लेख छ । उनको पुस्तकमा पछिल्लो पत्रकार संघ अघिल्लोको पुनर्स्‍थापना हो भन्ने कुरा उल्लेख छैन । यदि त्यो संस्था पुनर्गठन थियो भने गृष्मबहादुर देवकोटा र रामराज पौड्यालले आफ्नो पुस्तकमा किन लेखेनन् होला जबकि ०१२ सालपछि पत्रकार संघमा आएको फुट र एकीकरणहरूबारे लेखे । भट्टराईपछिका अध्यक्ष वा पदाधिकारी वा पत्रकारहरूले नेपाल पत्रकार संघको गठन या पुनर्गठन के हो भन्ने कुरा किन उठाएनन् ? ००८ सालमा गठित पत्रकार संघ त तिनीहरूलाई थाहा थियो होला नि । ती किन चुप बसे होलान् ?

चौथो : एउटा उदाहरणबाट स्पष्ट पारौँ । पृथ्वीनारायण शाहअघि वर्तमान नेपालभन्दा ठूलो राज्य खडा गर्ने श्रेय यक्ष मल्ललाई जान्छ । उनले उत्तर तिब्बतदेखि, पूर्वबंगाल र दक्षिण भारतसम्म नेपालको सीमा विस्तार गरेका थिए । तर, मर्नुअघि उनले आफ्ना तीन छोराहरूलाई राज्य नै अंशवण्डा गरिदिए, जसले गर्दा नेपाल राज्य कान्तिपुर, भादगाउँ र पाटन भनेर साना राज्यहरूमा छुट्टियो । कब्जा गरिएका भू–भागहरू पुनः स्वतन्त्र भए र नेपाल राज्य काठमाडौं खाल्डोमा सीमित भयो ।

पछि फेरि पृथ्वीनारायणले नेपालको एकीकरण अभियान शुरु गर्नुपर्‍यो, जसबाट स्थापना भएको अविच्छिन्न राज्य आजको नेपाल हो । अब वर्तमान नेपाल एकीकरणको श्रेय कसलाई जान्छ ? यक्ष मल्ललाई वा पृथ्वीनारायणलाई ? नेपाली पत्रकारिताको सांगठनिक इतिहासमा सत्यनारायण श्रेष्ठको स्थान यक्ष मल्लको जस्तो छ । यसमा उनको कुनै दोष छैन । समय र परिस्थितिले उनले जन्माएको संस्था निरन्तर चल्न सकेन । संस्था अविछिन्न रहे मात्रै त्यसको स्थापना गर्ने व्यक्ति संस्थापक भइरहन्छ ।

तर, इतिहासका तथ्यहरूमा शंका गर्न पाइन्छ । त्यो शंका निवारण गर्न थप अध्ययन–अनुसन्धान गर्नुपर्छ । आफ्नो अनुमानलाई सत्य सावित गर्न प्रमाणहरू भेट्टाउनुपर्छ । यो बहुमतका आधारमा वा सरकारले निर्णय गरेर हुने विषय होइन । नारा–जुलुस गरेर वा चिच्याएर मात्रै पनि हुन्न । सामाजिक सञ्जालमै प्रोपगान्डा गरेर पनि एकछिन मन शान्ति होला तर इतिहास बंग्याउन सकिन्न । उपलब्ध प्रमाणले पुष्टि गरेछ भने सत्यनारायण श्रेष्ठलाई संस्थापक अध्यक्ष मान्न के आपत्ति भो र । आखिर इतिहास तर्कहरूले भन्दा तथ्य र प्रमाणहरूले बोल्ने हो ।

 

प्रतिकृया दिनुहोस