MENU

टिप्पणी

635x90

भाषा बिगार्दै मिडिया

शरदचन्‍द्र वस्ती बिहिवार, कार्तिक २३, २०७४

गोरखापत्रभन्दा अगाडि भाषालाई अघि बढाउन पत्रकारिताले भन्दा साहित्यले बढी सहयोग गर्‍यो । साहित्यको माध्यमबाट भाषा अघि बढ्यो । त्यसवेलाको भाषा पुरानो खालको थियो । १९९१ मा शारदा पत्रिका शुरु भएपछि नेपाली भाषाले एक फड्को मार्‍यो । राम्रा प्रतिभाहरूले ‘शारदा’मा स्थान पाए । लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, लेखनाथ पौड्याल जस्ता साहित्यकारहरू आए । त्यतिवेला राम्रो लेख्नेहरू नै अहिलेसम्म साहित्यमा मानक भएर बसेका छन् ।

२००७ सालपछि नेपालमा पत्रकारिताको युग शुरु भयो । अभिव्यक्तिको कुनै पनि पाटोमा बन्देज लागेको छ भने एक प्रकारको अपांगताजस्तो हुँदो रहेछ । ००७ सालपछि भाषाको लागि बाटो खुल्यो । ००७ सालदेखि ०१७ सालसम्म धेरै पत्रिकाहरू आए । चाहिनेभन्दा अलि बढी स्वच्छन्द जस्तो पनि देखियो । तर, ०१७ साल पछि भने पत्रकारिताको गति मन्द भयो । मन्द गति ०३६ सालसम्म रह्यो । ०३६ सालको आन्दोलनपछि वातावरण अलिकति खुकुलियो । त्यसबाट केही पत्रिकाहरू प्रकाशित भए ।

नेपाल अधिराज्यको संविधान २०४७ मा पहिलो पटक प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरियो । त्यसपछि निजी क्षेत्रबाट व्यावसायिक रूपमा पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजन सञ्चालनमा आए । देवकोटा, सम, पौड्याल जस्ता भाषाको सामथ्र्यलाई प्रकट गर्न सक्ने कविहरू आए । त्यसले भाषालाई राम्रो बनायो । पत्रकारितामा राम्रो साहित्यिक तथा सम्पादकीय सामथ्र्य भएका व्यक्ति आए । पत्रकारिता मात्रै गर्ने होइन, राम्रो वैचारिक दक्खल भएका, राम्रो साहित्य लेख्न सक्ने, दार्शनिक सोच भएका व्यक्तिहरूले पत्रकारितामा हात हाले । त्यसले पत्रकारिताको स्तर राम्रो हुँदै गयो । यद्यपि स्तरहीन र सत्ताको मात्रै गुनगान गाउने पनि छँदै थिए । भाषाको एकदमै प्रयोग गर्ने लहर चाहिँ ०४६ सालपछि आयो ।

पत्रकारितामा भाषा प्रयोग पहिलाको तुलनामा राम्रो मान्न सकिन्छ । भानुभक्तको वेलाको तुलनामा भाषाले ठूलै फड्को मारिसकेको छ । ०४६ सालपछि पत्रकारितामा भाषाको प्रयोग अलि सरल र स्पष्ट हुँदै आयो । नेपाली भाषा यति सरल, सञ्चारयोग्य हुनुमा पत्रकारिताकै योगदान छ । नेपाली भाषाका गुरुहरूको भाषा अहिले पनि हेर्ने हो भने बुझ्नै नसकिने जटिल र अस्पष्ट प्रकृतिको छ । अहिले साहित्यको भाषालाई पत्रकारिताले उछिनेर पछि लगाएको जस्तो देखिन्छ । साहित्यको भाषा पत्रकारिताबाट प्रभावित भएर पत्रकारिताको भाषाजस्तो बन्न पुगेको छ । यो भाषामा पत्रकारिताको जित हो । यद्यपि भाषालाई साहित्यले नै गति र नेतृत्व दिनुपर्ने हो । तर, पत्रकारिताले गति दिएको छ । पत्रकारिताको भाषाको पछाडि साहित्यको भाषा हिँडेको छ । पत्रकारिताले ‘लिड’ गरेको छ ।

वास्तविक सञ्चारमाध्यम भनेको भाषा मात्रै हो। भाषा राम्रोसँग बुझ्ने र प्रयोग गर्ने मान्छे मात्रै पत्रकार हुन सक्छन्।

नेपाली भाषालाई आममानिसबीच सञ्चार गराउन पत्रकारिताको योगदान छ । ४० वर्षअघिको सामान्य भाषा र अहिलेको भाषामा फरक छ । यता आएपछि ‘घोडा चढ्ने लड्छ’ भनेजस्तै पत्रकारितामा ‘जे लेखे पनि हुन्छ, जस्तो लेखे पनि चल्छ’ भन्ने सोचाइको विकास भएको कारण गल्ती हुँदा वास्ता नगर्ने प्रवृत्ति बढ्दै गएको छ ।

पत्रकारिता भनेको भाषाको मैदानमा खेलिने खेल हो । सञ्चारमाध्यमलाई वर्गीकरण गर्दा ‘छापा’ र ‘विद्युतीय माध्यम’ भन्छौँ । यो त प्राविधिक वर्गीकरण मात्रै हो । वास्तविक सञ्चारमाध्यम भनेको भाषा मात्रै हो । भाषा राम्रोसँग बुझ्ने र प्रयोग गर्ने मान्छे मात्रै पत्रकार हुन सक्छ ।

पत्रकारितामा भाषिक क्षमता सामान्यभन्दा राम्रो हुनुपर्छ । तब मात्रै पत्रकारिता गर्न होइन, पढ्न लायक ठानिने परम्परा छ, विदेशमा । १० औं वर्ष काम गरेका मान्छेहरू पनि भाषामा कमजोर भए पनि उनीहरूलाई पत्रकारितामा ल्याइएको देखिन्छ । यसमा सम्पादक र समाचार प्रमुखको दोष छ । किनकि त्यस्ता व्यक्तिहरूलाई सम्पादक र समाचार प्रमुखले ल्याउने गर्छन् । भाषाको फैलावटमा पत्रकारिताको योगदान भए पनि पत्रकारको भाषाचाहिँ एकदमै कमजोर छ । यस हुनुको पछाडि भाषिक क्षमता कमजोर भएका मान्छेहरूले पत्रकारितामा प्रवेश पाउनुले हो । भाषिक क्षमता कमजोर हुने मान्छेको पेसा नै होइन पत्रकारिता । पत्रकारितामा फिट हुने मान्छे नै होइन ऊ ।

भाषामा भएको भद्रगोलको एउटा कारण : यस्ता मान्छेको बाहुल्य हुँदै जानु हो । किन यस्तो हुन्छ त ? स्नातक तथा प्लस टु पढ्नेहरू पत्रकारितामा प्रवेश गर्दा तिनीहरू सबैको भाषा कमजोर हुनुको कारण शिक्षण पद्धतिले नेपाली भाषा सिकाउन नजान्नु हो । प्राथमिकदेखि स्नातक तहसम्म नेपाली विषय अनिवार्य छ । हरेक वर्ष पास हुन्छ, त्यो मान्छे । तर स्नातक तह पास गरिसक्दा पनि एउटा अनुच्छेदसमेत राम्रोसँग लेख्न नसक्ने मान्छे निस्कन्छ । ४० औं वर्षदेखि करोडौं मान्छे त्यस्ता मात्रै निस्किरहेका छन् । सबै विद्यार्थी कमजोर भएर त्यस्तो भएको होइन । त्यो त पढाउने मान्छेहरूको कमजोरीका कारण हो ।

नेपाली भाषा पढाउने गुरुबाहेक नेपाली भाषा बिग्रनुमा कसैको दोष छैन । ४० औं वर्षदेखि उनीहरूले पढाइरहेका छन् र पनि एउटासम्म अनुच्छेद पनि शुद्ध लेख्न सक्ने मान्छे निस्किँदैन । सयमा एक र एक करोडमा एक लाख निस्कन गाह्रो छ । तीन करोड नेपालीमा तीन लाख मान्छेले पनि शुद्ध नेपाली लेख्न सक्दैनन् । धेरै भए तीन हजार होलान् । त्यो भनेको गुरुहरूका कारण होइन, गुरुहरूका बाबजुद राम्रो लेखेका हुन् । गुरुहरूको भन्दा पनि आफ्नै क्षमताले राम्रो लेख्न सक्ने भएका हुन् । यसमा शिक्षण पद्धति दोषी छ ।

पद्धति जेसुकै भएपनि गुरुहरूले पढाउन नजानेर यो अवस्था आएको हो । पढाउन नजानेपछि वितण्डता कहाँसम्म देखियो भने ‘विद्या’को ‘द्य’ संयुक्त अक्षर सिकाउन नसकेर खुट्टा काटिएको ‘द्’ लेख्नुपर्छ भनेर सिकाए । एउटा संयुक्त अक्षर पनि लेखाउन सक्दैनौं भन्ने गुरुहरूको कुरा राष्ट्रिय समस्या बन्छ र त्यो समस्याबाट मुक्ति पाउन भाषामाथि प्रहार गरिन्छ । आफ्नो कमजोरी लुकाउन भाषामाथि प्रहार गरेर संयुक्त अक्षरलाई नै छुट्याइन्छ भने कति ठूलो नालायकी र कमजोरी छ आफैं बुझिन्छ । जापानी, चिनियाँलगायत भाषाका जटिल अक्षरहरूका बच्चा पनि गर्भमै सिकेर आएका हुँदैनन्, खै उनीहरूलाई गाह्रो भएको छैन त । तर, हामीकहाँ सिकाउने मान्छेमा सिकाउने क्षमतै भएन, समर्पण र योग्यता भएन । एउटा अक्षर त सिकाउन नसक्नेले कसरी भाषा सिकाउला ?

नेपाली विषयमा जति राम्रो लेखे पनि राम्रो नम्बर पाइँदैन। जति नराम्रो लेखे पनि फेल भइँदैन। कुनै भाषालाई यति हेलचेक्र्याइँको भाषा बनाइसकेपछि यसलाई जे गरे पनि हुने रहेछ भन्ने धारणा बढ्दै गयो।

नेपाली भाषालाई हेलचेक्र्याइँ गरे हुन्छ र यसलाई धेरै मतलब राख्नु हुँदैन भन्ने हाम्रो अप्रत्यक्ष शिक्षण पद्धति हाम्रा गुरुहरूले सबै विद्यार्थीलाई दिएका छन् । जतिसुकै राम्रो लेखे पनि सय पूर्णांकमा १०० नै अथवा ९९, ९८ पाइँदैन । ४० औं वर्षदेखि करोडौं नेपालीमध्ये एक जना पनि सयमा सय ल्याउन सक्ने योग्य थिएनन् होला ? नेपाली विषयमा जति राम्रो लेखे पनि राम्रो नम्बर पाइँदैन । जति नराम्रो लेखे पनि फेल हँुदैन । भाषालाई यति हेलचेक्र्याइँ गरेपछि जे गरे पनि हुने रहेछ भन्ने धारणा विकसित हुन्छ ।

पत्रकारितामा राम्रो मान्छे ल्याउन सम्पादक तथा समाचार प्रमुखहरूले ध्यान नदिएका कारण यस्तो भएको हो । यसमा मुख्यतः अनलाइनलगायत मिडिया गैरजिम्मेवार हुँदै गएका छन् । अलि अगाडिसम्म गल्ती गर्नु हुँदैन, सही अभिव्यक्ति दिनुपर्छ भन्ने थियो । तर, अहिले लापरर्वाहीतिर गइरहेको छ । सुझाव दिँदा नसुन्ने, सुने पनि वास्ता नगर्ने, भुलसुधार गर्दा सानो भइन्छ भन्ने धारणाको कारण यस्तो भएको हो । कतिपय त भएका गल्ती बुझ्न सक्ने ल्याकतसमेत राख्दैनन् । भाषिक योग्यता कमजोर भएका पत्रकारहरूले गर्दा नेपाली भाषामा अराजकता देखिएको छ । ०४६ सालपछि आएका केही पत्रकारहरूले पत्रकारिताको इज्जत धानिरहेका छन् । तर, यो संख्यात्मक रूपमा भने सानो छ । गैरजिम्मेवार हुनु पनि बाध्यता छ ।

नेपाली भाषालाई नगिजोलौं । भाषामै गज्याङगुजुङ भएपछि हिज्जे नै मिल्छ कि मिल्दैन भन्ने डरले नेपाली भाषी र नेपाली मूलभाषा नभएकाहरूको प्रतिभा प्रस्फुटित हुन पाएको छैन । उनीहरूले आँट गर्न नसकेर प्रतिभा कुण्ठित भएको हो । लेख्न थाल्दा यो ठीक भयो÷भएन भनेर रोकिनुपरेपछि विचारको प्रवाह पनि रोकिन्छ । सिकारुहरू मनोवैज्ञानिक रूपमा कमजोर हुँदै गएपछि हतोत्साही भएर लेख्न सकिरहेका छैनन् । यसबाट नेपाली भाषाले ठूलो उपलब्धि गुमाएको तथ्य हामीले ख्यालै गरेका छैनौँ । सबैभन्दा विस्मातको कुरा भनेको सञ्चार क्षेत्रले यसको गाम्भीर्यता नबुझेर हो । एक वर्षसम्म भाषाको सही तथ्यमा केही ठूला मिडियाले अडान लिने हो भने भाषाको सबै विवाद अन्त्य भई एकठाउँमा आउन बाध्य हुनेछन् ।

विदेशतिर भाषाको गल्तीमा खबरदारी गर्ने मान्छे हुन्छन् । तर हाम्रोमा त्यस्ता मान्छे र वातावरण नै जन्मिएको छैन । यसबाट आलोचनालाई स्वस्थ रूपमा ग्रहण गर्ने मानसिकता नै हाम्रोमा विकसित भइसकेको रहेनछ भन्ने बुझिन्छ ।

आपूmलाई कसैले सार्वजनिक रूपमा गल्ती औंल्याइदियो भने हामी सहन सक्दैनौँ । यो आम प्रवृत्ति हो । त्यसैकारण भाषामा भद्रगोल मच्चिरहेको छ । नाम चलेका सञ्चारमाध्यमको भाषामा समेत यति भद्रगोल छ । अरूको के कुरा गर्नु ? हेर्दै लाजमर्दो अवस्था छ । यस्तो अवस्था कहिलेकाहीँ झुक्किएर आउने पनि होइन, लगातार आइरहेको छ । त्यसलाई सुधार गर्न उनीहरूले कुनै संयन्त्र विकास गरेकै छैनन् ।

पत्रकारलाई के भ्रम छ भने मैले लेखेको कुरामा कसैले खण्डन गरेन भने यो चल्यो । जान्ने मान्छेले तुरुन्तै भन्दैन, उसले हेर्छ अनि मुसुक्क हाँस्छ । यस्तो ‘पत्रु’ मान्छे रहेछ यसलाई कसले सम्झाओस्, कसले बोलिराखोस् भन्छ । गाली गर्न पनि लायकको पात्र नसम्झिएर जान्ने मान्छे बोल्दैन ।

अहिलेका पत्रकारले भाषा जान्ने मान्छेले गाली गर्न योग्य तहमा आफूलाई उकास्न सके मात्रै पनि पत्रकारिताको भाषा धेरै राम्रो हुनेछ । सामान्य वाक्य गठन नबुझ्ने, शब्दको अर्थ पनि नबुझ्ने, के लेख्दा के बुझिन्छ भन्ने पनि नबुझ्ने मान्छेले जथाभावी भाषा प्रयोग गर्दा भाषा भद्रगोल बनेको छ । यसले पत्रकारितामा सञ्चार हुँदैन । ठीकसँग भाषाको प्रयोग नगरिदिँदा समाजमा भाँडभैलो उत्पन्न हुन्छ ।

तपाईं राष्ट्रिय सरकारको प्रमुख हुनुभयो भने के काम गर्नुहुन्छ भनेर चीनमा कन्फ्युसियसलाई कसैले भनिदियो । उनले सबैभन्दा पहिलो काम भाषाको सुुधार गर्थें भने । भाषा ठीक भएन भने भन्न खोजेको कुरा राम्रोसँग व्यक्त गर्न सकिँदैन । व्यक्त गर्न नसकेपछि उसले अर्कै कुरा बुझ्छ । अर्कै बुझेपछि अर्कै काम गर्छ । अर्कै काम गरेपछि समाजमा अन्योलता उत्पन्न हुन्छ र समाज भाँडिन्छ । देश कहीँ पनि पुग्न सक्दैन । पहिलो काम भाषालाई ठीक ठाउँमा ल्याउँछु भनेर उनले भनेका थिए । यो कुनै दन्त्यकथा मात्रै होइन गम्भीर कुरा हो ।

म पत्रकारिताको भाषिक तालिम दिन जाने वेलामा केही तयारी गर्दिनँ । जुन दिन ट्रेनिङ दिनुपर्ने हो, त्यसदिन निस्केको ४/५ वटा पत्रिका बोकेर जान्छु । त्यहीँका कमजोरी देखाउँदा ट्रेनिङ पुग्छ । त्यति सजिलो बनाएको छ, मलाई पत्रकारिताले ।

पत्रकारितामा राम्रो लेख्न सक्नेहरूले नै नेतृत्व गर्ने हो । तर, यसैगरी त्रिभुवन विश्वविद्यालय र प्रज्ञाप्रतिष्ठानले भाषालाई भाँड्ने, सबै जाति र भौगोलिक समुदायको मनमा भाषिक नीतिका कारण चोट पुरर्‍याइरहने, उनीहरूको मनमा नेपाली भाषाप्रति दूरी र वितृष्णा बढाइराख्ने, नेपाली भाषालाई संकुचित र सानो बनाइराख्ने हो भने हामीले देख्दादेख्दै नेपाली भाषाको दुर्गति नआउला भन्न सकिन्न । समयको प्रवाह र जनताको चाहनाविपरीत जबर्जस्ती एकपछि अर्को आदेश दिँदै भाषालाई लैजान खोजिँदैछ । नेपालीहरूले कहिल्यै कल्पना नगरेका महत्‍वपूर्ण विषयहरू उनीहरूको चाहनाअनुसार भन्दै सीधै संसद्ले घोषणा गरेको इतिहास छ । भाषाको सन्दर्भमा पनि त्यस्तै सुन्नुपर्ने दिन आएछ भने पनि अचम्म नमान्नु भए हुन्छ ।

(वस्तीसँग राजु स्याङ्तानले गरेको कुराकानीमा आधारित)

 

 

 

प्रतिकृया दिनुहोस