MENU

टिप्पणी

635x90

छापामा नेपाली समाज

रामकृष्ण रेग्मी शुक्रवार, कार्तिक १७, २०७४

छापामा समाज खुल्छ वा समाजले छापालाई खोल्छ भन्ने बहस लामो समयदेखि आमसञ्चारमाध्यम पढ्ने, अभ्यास गर्नेहरू र तिनमा चिन्तन गर्नेबीच चलेको छ । अधिकांश तर्कको सार भने करिब–करिब एकै छ : ती दुवै अन्योन्याश्रित हुन्, छापामा सम्पूर्ण समाज नदेखिएला, तर त्यसको संकेत निश्चय नै फेला पार्न सकिन्छ, समाजलाई प्रभावित तुल्याउने अंग, तत्व‍, आधार अरू पनि होलान् तर छापाको प्रभाव समाजमा विशेष किसिमले परेकै हुन्छ ।

नेपाली छापाको करिब एक सय १७ वर्ष यात्राको चरी–अवलोकनमा पनि यो क्रमलाई प्रत्यक्ष/अप्रत्यक्ष रूपमा फेला पार्न सकिन्छ । यो आलेख त्यही प्रयास गर्ने जमर्काे हो । यहाँका समाचारपत्रका सामग्रीलाई दूर विगतदेखि अत्याधुनिक वेलासम्म हेर्दा समाजका गन्ध, संकेत तथा दिशाको बोध तिनमा गर्न नसकिने होइन । हो, ती कहिले देखिनेगरी उपस्थित स्वरूपमा रहन्छन् त कहिले अनुपस्थित स्वरूपमा । तिनले समाजलाई बोल्ने, व्यवहार गर्ने, सोच्ने, तथा अघि बढ्ने क्रममा निर्देशन नै गरिरहेका सिलसिला पनि अनेक विन्दुमा स्थापितसरह नै छन् ।

उपरोक्त अवधारणाको विपरीत सोचाइ नभएको होइन । त्यसको निक्र्याेल हो, पत्रपत्रिका (मिडिया) त शक्तिशाली, शासक वर्ग, प्रभुत्व जमाएर बसेका, धनीमानी, शोषक एवं हैकम चलाउनेको प्रचार औजार पो हो, मिडियामा समाजको अनुहार होइन तिनै उच्चपदस्थको काम र जीवनको प्रसंग मात्र विविध ढाँचामा प्रस्तुत भएको हुन्छ । समाज र त्यसका सर्वसाधारण, सडक, खेतबारीका, किनाराका मान्छे, तिनको जीवन, समस्या, अनुभूति न मिडियाको लागि आकर्षण बन्छन् न तिनै मिडियामा पुग्न सक्छन् । मिडिया स्वतन्त्रता जसको लगाममा छ, त्यसकै प्रचार यन्त्र बन्छ । आमसञ्चारमाध्यम मात्र राजनीति, शासन र शक्ति, विज्ञापनदाता, व्यापारी वा कर्पाेरेट गृहको ‘रबरछाप’ हो, समाजको यथार्थभन्दा यो धेरै पर छ । यही भनेर मिडिया शक्तिशालीको मात्र औजार भनी टुंगोमा पुग्नेको पनि कमी छैन ।

छापाले राष्ट्रिय बहसमा अभिव्यक्‍ति स्वतन्त्रतालाई मात्र होइन, समाजभित्रको विविधता प्रदर्शन हुने, नागरिक सहभागितालाई निश्चित तुल्याउने प्रावधान विकास गरिदिएका छन्।

यस दृष्टिले हेर्ने हो भने पनि छापामा नउत्रेका, पूर्णतः ओझेलमा परेका, मिल्किएसरहका नेपाली कथा, व्यथा तथा समस्या अनेकको संख्यामा फेला पर्छन् । मूलधारका नेपाली पत्रिकाले प्रयास गर्दा पनि यसमा सारपूर्ण परिवर्तन गर्न नसकेको कुरा सञ्चारकर्मीहरू नै महसुस गर्छन् । किनाराका विषयवस्तुलाई मात्र मध्यनजरमा राखेर समाचारपत्र चलाउने प्रयास न सफल बनेको देखिन्छ, न सम्बद्ध प्रयासलाई धैर्यसाथ त्यसमै निरन्तर पार्न व्यावहारिक रूपमा सम्भव हुन आउँछ । छापा विषयवस्तुको दृष्टिकोणले हेर्दा जुनसुकै कालखण्डमा पनि शक्तिसँग सम्बद्ध सन्दर्भ बढी रिपोर्टिङ हुने गरेको र शक्तिबाहिरकाको प्रसंग उपेक्षित भएको स्पष्टै देखिन्छ ।

यी दुई धारबीच कतै निकट त कतै अर्काेतिर ढल्किएर र कतै तुलनात्मक रूपमा सन्तुलित, स्वतन्त्र र निष्पक्ष भएर विगतदेखि अहिलेसम्म प्रेस विशेष गरी समाचारपत्र छापिइरहेछन्, छापिइरहनेछन् । यसै क्रममा समाचारपत्रका सामग्रीले आमसञ्चारमाध्यममा विशेष किसिमको संरचना तयार पारेका छन् ः सूचना प्रवाहमा एक संस्कृति नै खडा गरेका छन् । जनमत सिर्जनाका दरिलो मञ्च तयार पारेका छन्, सम्पादकीय फाँटमा आसन जमाएका छन्, विचार मन्थनमा स्तम्भ तयार पारेका छन् । भाका र शैलीका मानक नै विकसित गरेका छन्, टीका–टिप्पणी, समीक्षा विश्लेषणका चौतारी खडा गरिदिएका छन् ।

Book-new

सर्वसाधारणलाई समाचारपत्रभित्र प्रवेश गरेर आफ्नो धारणा राख्ने, एक किसिमले परिचालित हुने अवसर विविध ढंगमा उपलब्ध छ । राष्ट्रिय बहसमा अभिव्यक्ति स्वतन्त्रतालाई मात्र होइन, समाजभित्रको विविधता प्रदर्शन हुने, नागरिक सहभागितालाई निश्चित तुल्याउने प्रावधान विकास गरिदिएका छन् । छापामा छापाबाहिरका समाजका वा अन्यत्रका जोसुकैको लेख विचार वा अवलोकन अनुभूति प्रकाशन गर्ने प्रचलन स्थापितसरह नै छ । शासन र जनस्तरबीचको पुल खडा गरिदिएका छन्, समय समयमा यसमा देखापर्ने तगाराहरूलाई उघार्ने उपाय खोज्ने प्रयास गरेका छन् । विगतदेखि वर्तमानसम्मका नेपाली छापाको अध्ययन गर्ने हो भने यी कुरा तिनमा एकैपल्ट होइन क्रमशः विकसित हँदै गएको देखिन्छ ।

मिडिया कन्टेन्ट अध्ययन

आमसञ्चारमा मिडिया कन्टेन्ट (समाचारपत्रमा प्रकाशित सामग्री) लाई अध्ययन गर्ने एक बेग्लै विधि र विधालाई विकसित गरिसकिएको अवस्था छ । यो विधा अहिले आमसञ्चार अध्ययनको विकल्पसरह विकसित भएको छ, योबिना आमसञ्चार अध्ययन अपूर्ण छ । सामग्री विश्लेषणबिना त माध्यमलाई कसरी बुझ्नु, सन्देशको अर्थ लगाउने र सन्देशको सञ्चार प्रवाह प्रक्रिया कसरी सम्झनु, सन्देश पाउनेमा त्यसको असर कसरी आक्नु, सन्देश प्रस्तोता र तिनको सिर्जना तथा उत्पादनलाई कहाँ केन्द्रित गर्नु र बजार कहाँ खोज्नु ?

प्रेस सामग्रीको विश्लेषण (मिडिया अनालिसिस) आमसञ्चारमाध्यममा अहिले एक अनिवार्य कार्य नै भइसकेको छ । यो बौद्धिक व्यायामका लागि मात्र होइन, खास कार्यगत, नीतिगत दिशा निर्धारण गर्न पनि आवश्यक छ । छापाका उद्देश्यको दृष्टिकोणमा सामग्रीहरू कस्ता छन्, कतातिर डोरिएका छन्, प्रतिस्पर्धीमाझ तिनको अवस्था कस्तो छ, स्तरीयता, विश्वसनीयता, नवीनता, सिर्जनशीलताको विन्दुबाट पढ्दा ती कस्ता छन्, समयक्रममा समाजको आवश्यकतालाई तिनले सम्बोधन गर्न सकेका छन्÷छैनन् भनी हेर्न पनि सामग्री विश्लेषण गर्नुपर्ने हुन्छ ।

छापा सामग्रीको पठनशीलता व्यापक पार्न होस् वा तिनको प्रभावकारितालाई बढाउन वा तिनको प्रवृत्तिलाई हेर्दै सुधार गर्न छापा सामग्रीको विश्लेषणले सहजीकरण गर्छ । छापाले आफ्नो चाल र गतिसँगै पाठकलाई डोर्‍याएर अघि जाने रणनीति बनाउने सूत्र नै सामग्री विश्लेषण हो भनेर विज्ञहरूले यसलाई परिभाषित गरेका छन् । मिडिया हाउसको लगानी, आर्थिक, मानवीय संशाधन कतातिर निर्देशित हुनु जरुरी छ भन्ने संकेत पनि सामग्री विश्लेषणबाट पाइन्छ ।

छापाका सामग्री वास्तवमा के हो ? परिभाषा अनेक छन् । समाचार, सूचना, शिक्षा, मनोरञ्जन पनि हो भन्नेहरूले सामग्रीभित्रको सन्देश, सत्यतथ्य, ज्ञान, सिर्जना, अनुभूति र अभिव्यक्तिलाई औंल्याउन खोजेको भन्नेमा प्रायः सबैजसोको अनुमोदन छ । विज्ञापन पनि त्यसमा थपिनुपर्नेमा केहीको जोड वादविवादका बीच अहिलेसम्म कायमै छ । सामग्रीको महŒव देखाउनेहरूले नै छापाको पहिचान बनाउने हो, तिनमै छापाको ज्यान अडेको छ, तिनैले नै छापा र पाठकबीचको सम्बन्ध कायम राख्ने हो भनेर शताब्दीयौंदेखि दोहो¥याइरहेछन् । उत्पादन, उपयोग र तीबीचका अनेक चरणलाई केलाउनेहरू पाउँछन् । सामग्री समय, प्रविधिसँगै, समाजअनुरूप, पाठकका मुखरित वा अव्यक्त चाहना, आवश्यकतालाई ध्यानमा राख्दै गतिशील शैलीमा विकसित हुने रहेछ । सञ्चारमाध्यमको दृष्टिकोणले सामग्री हेर्न विद्वान मार्सल मक्लुहानले त ‘मिडियम इज द मेसेज’ (माध्यम नै सन्देश हो) है भनेर स्पष्ट पारेको देखिन्छ ।

gorkhapatra

के छापा सामग्रीको दृष्टिकोणले राणाकाल, प्रजातन्त्रको प्रथम दशक, पञ्चायती ३० साल, ०४६ को आन्दोलनबाट पुनसर््थापित प्रजातन्त्र र पुनः स्वतन्त्र भएको प्रेस, द्वन्द्वको १० हिउँद, प्रजातन्त्रविपरीत राजाको कदम र त्यसलाई पछ्याउने दशक, नयाँ संविधान घोषणाअघि र पछिका समयको नेपाली समाजलाई हेर्न सकिन्छ ? मिडिया कन्टेन्ट विश्लेषण गर्नेहरू यसलाई सम्भव ठान्छन् । सामग्रीलाई सूक्ष्म रूपमा केलाउनुपर्छ, सन्दर्भको पृष्ठभूमिमा व्याख्या गर्नुपर्छ, सामग्रीका सन्देशहरूलाई समयअनुरूप अर्थ लगाउनुपर्छ, एकै माध्यमको पृष्ठभूमिमा उक्त समयावधिको समाजचित्र स्पष्ट नहुन सक्छ तर बहुमाध्यमका केही थप सामग्रीलाई तुलना गर्दा मोटामोटी स्थिति स्पष्ट हुन्छ नै । छापा सामग्री तयार पार्दा, छाप्दा, पढ्दा र त्यसबाट प्रभावित हुनेको विषयमा गहन अध्ययन भने गर्नु नै पर्ने हुन्छ ।

आमसञ्चारमाध्यममा बहुचर्चित प्रेसका चार थ्योरी (सिद्धान्त) सरकारी (अथोरिटेरियन), स्वतन्त्र(लिबर्टेरियन), साम्यवादी दल निर्देशित (कम्युनिस्ट) तथा सामाजिक दायित्व सोसल रेस्पोन्सबिलिटीमा व्याख्या गरिएझैं नेपाली माध्यममा सामग्री विकास भएको पनि पाइन्छ । ती सिद्धान्तका प्रवर्तक प्राध्यापकत्रय, फ्रेड सिबर्ट, थियोडर पिटर्सन र विल्बर स्क्रामले अपेक्षा गरिएकै दिशामा बेग्लाबेग्लै कालखण्डमा नेपाली छापाले सामग्री उत्पादन गरेको नपाइने होइन । यी सिद्धान्तका आधारस्तम्भलाई एकातिर राखेर नेपाली छापाका शताब्दीभन्दा बढीको विविध समयलाई अवलोकन गर्ने हो भने बेग्लाबेग्लै समयमा चारैको अवस्था स्पष्ट हुन्छ ।

यहाँ सत्ताधारीले छापालाई हाँकेका रहेछन्, प्रेसले पनि आफ्नो स्वतन्त्रता जोगाएको रहेछ, दल विशेषबाट छापा निर्देशित हुने गरेका रहेछन् र समाजको हेक्का राख्ने प्रवृत्ति पनि यहाँ पाइने रहेछ । छापाले नेपालमा नियमित परिवर्तनका लागि संघर्ष नै गरिरहेको अवस्था इतिहासमा देखिन्छ नेपाली छापा दुबोझैं दबाइँदा पहेँलिने र खुला छाड्दा फेरि हरियो हुनेजस्तै छन् । इतिहासका केही प्रतिनिधि प्रसंगको व्याख्या यहाँ सान्दर्भिक हुन सक्छ ।

ऐतिहासिक परिवेश

जंगबहादुर राणाले बेलायत भ्रमण गर्दा प्रकाशन र ‘अभिव्यक्ति स्वतन्त्रता’, ‘कानुनी राज’ विषयमा मिलेको प्रेरणामा नेपालमा प्रेस (गिद्दे प्रेस सन् १८५१) भित्रिएको, मुलुकी ऐन (१८५४) प्रकाशन भएको रमाइलो ऐतिहासिक प्रसंग हो । त्यही यथार्थमा टेकेर करिब पाँच दशकपछि यस देशको समाचारपत्र प्रकाशन युग शिलान्यास भएको पढ्दा मोबाइल युगका नेपालीलाई झन आश्चर्य लाग्ला ।

नेपाली छापामा पाठकमा आशा जगाउने, उत्साह भर्ने, सकारात्मक बन्न सहजीकरण गर्ने क्षमता छ, त्यसलाई उपयुत्ताm समय, विषय, पाना र सन्दर्भमा उजागर गर्न विवेक र सीपको प्रयोग गर्नुपर्छ।

राणा प्रधानमन्त्री देवशमशेरले आफ्नो उदार दृष्टिकोण र दुइटा म्यागेजिन ‘भारत गोरखा जीवन’ (बनारसबाट प्रकाशित) र ‘सुधासागर’को (काठमाडौंबाट प्रकाशित) प्रकाशनबाट प्रोत्साहित भएर नै सनदको आधारमा सम्पादन अनुभव भएका नरदेव पाण्डेलाई सन् १९०१ मा गोरखापत्र प्रकाशन अनुमति दिएका हुन् । त्यसवेला एक शासकले एक सम्पादकलाई सर्वसाधारणले पढ्ने सामग्रीको जिम्मा दिनु भनेको सोच्न असम्भव प्रायः थियो, उनले पनि के छाप्न हुने र के नहुने भनेर होसियारी साथ अधिकारपत्रमा उल्लेख नै गरेका थिए, प्रकाशनअघिको अन्तिम आधिकारिक निगरानी एक किसिमको (सेन्सरसिप) हुनुपर्ने लिखित व्यवस्था थियो । पत्रिकामा ‘एडिटरको राय’ हुनु, सूचना नै ज्ञान हो, शासक र जनताबीचको पुल हो भन्ने भावना रहनु, सूचना, शिक्षा र प्रेरणा दिने भनेर गोरखापत्रमा नै समाचारपत्रको महŒवबारे १४ बुँदा उल्लेख हुनु, स्थानीय, राष्ट्रिय, अन्तर्राष्ट्रिय, अड्डा अदालतका मुद्दा मामिला, सर्वसाधारणलाई परेको पीरमर्का मुखरित हुनु, सामानको भाउ, सटही दर, बजार समाचारका लागि स्थान रहनु विशेष रूपमा महत्‍वपूर्ण छ ।

उक्त अभियान धेरै लम्बिन सकेन, यसकै कारण देवशमशेर पदच्यूत हुँदा दुई महिनामा नै खुला प्रयासमा रोक लगाइयो । चन्द्रशमशेरले करिब तीन दशकसम्म गोरखापत्रलाई दबाएरै राखे, जनचेतना प्रबद्र्धनका सबै माध्यमलाई रोके तर चँुड्ने आँट गरेनन्, आफ्नो र परिवारको प्रचारमोहका कारण पत्रिकाको निरन्तरतामा लाभ देखे । गोरखापत्रमा राणा शासक र नातेदारको स्तुतिगान, तिनकै जीवनका र गतिविधिका समाचार केन्द्रविन्दुमा हुन्थे, यही क्रम उनीपछिका चार प्रधानमन्त्रीको शासन कालसम्म रह्यो । जुद्धशमशेरको पालामा पत्रिका दर्ता हुने क्रमको थालनी, विशेषांक, नारी अंक, विजायांक भन्ने प्रकाशन निकाल्ने प्रवृत्ति झुल्किएको हो । ‘शारदा’ साहित्यिक पत्रिकाले त साहित्यिक जागरणलाई उत्प्रेरित नै गरेको हो र सर्जकलाई प्रकाशनको भरपर्दाे विकल्प दिएको हो, त्यसबाट सिर्जित चेतना र पोषित जागरणले नजानिँदो ढंगमा नेपाललाई खुलापनतिर लग्यो ।

उदारपन्थी पद्मशमशेरको समयमा त गोरखापत्रमा सम्पादकलाई चिठ्ठीको शुरुवात नै भयो । यसलाई समाचारपत्र प्रयोक्ताको प्रतिक्रियाभन्दा पनि नागरिकको बोलीको लागि महŒवपूर्ण सम्मानको रूपमा लिनु आवश्यक छ । हुन पनि त्यसवेलाको सेन्सरसिपमा निस्केका पत्रमा पनि शासन प्रक्रियाका, हाकिमका कामप्रतिको असन्तोष, सेवाग्राहीलाई परेका अप्ठ्यारा त्यसमा पोखिएको पाइन्छ । नेपाली साहित्य परिषद् स्थापनाका अतिरिक्त सर्वसाधारणले रेडियो राख्ने स्वतन्त्रता, वैधानिक कानुनका केही संकेत त्यसवेला फेला पर्छ । तर त्यस कालका करिब २२ पत्रिकामा त्यसवेला जनस्तरमा भइरहेका गतिविधि, समाजले खोजिरहेको स्वतन्त्रता, राणाविरुद्धका आवाज, राजनीतिक संगठन खोल्ने चाहना, राजनीतिक परिचालन, प्रसिद्ध चार शहीद हुनु अघिपछिको पृष्ठभूमि तथा भारतबाट फर्केका नेपाली विद्यार्थी वा कामदारले ल्याउने वैचारिक उथलपुथलका विषयमा खासै संकेत फेला पार्न गाह्रो पर्छ ।

यसको विपरीत २००७ सालमा प्रजातन्त्रको उदयपछिको पहिलो ६ वर्षमा निस्किएका एक सय २१ पत्रपत्रिका, बुलेटिन, संघसंस्था, राजनीतिक पार्टीका मुखपत्र, समाचारमूलक पत्र, म्यागेजिन आदिमा भने जनस्तरमा विशेष गरी राजनीति र साहित्यमा भइरहेका गतिविधि, नेता विशेषको चर्चा, सरकारी पक्षको आलोचना निकै फेला पर्छन् । विविध भाषामा प्रकाशन गर्ने प्रवृत्ति पनि देखिन्छ, वाक् तथा प्रकाशन स्वतन्त्रता प्राप्तिको व्यापक प्रयोग भएको पाइन्छ । हृदयचन्द्रसिंह प्रधान सम्पादित ‘जागरण’ साप्ताहिक वा सिद्धिचरण श्रेष्ठ सम्पादित ‘आवाज’ वा मणिराज उपाध्याय सम्पादित ‘समाज’, दाताराम शर्मा सम्पादित ‘हालखबर’मा पत्रिकाको समालोचनात्मक गन्ध नआउने होइन । तिनले उठाएका सवालहरू निकै सान्दर्भिक पाइन्छन् । त्यही क्रम पछिका चार वर्षमा पनि कायम रह्यो । रंगप्रतिको आकर्षण, नेमप्लेट, हेडलाइनको मोह, चित्र कार्टुनको सोख, विज्ञापन (हिन्दी फिल्मको), विज्ञापनको रकम प्रकाशन तथा दलीय निकटता त्यसवेलाका पत्रपत्रिकाका विशेषताहरू नै हुन् ।

यस क्रममा ‘समीक्षा’ (मदनमणि दीक्षितको सम्पादनमा) ले पत्रिकामा नयाँ गन्तव्य नै खोल्यो । समीक्षाका समाचारमाथिको समीक्षा, सहयोगीको विचार, व्यक्तित्वको खोजी, इतिहासको पाना, सामयिक चर्चा त्यस्ता स्तम्भ हुन्, जसलाई नेपाली पत्रकारितामा कोशेढुंगाको रूपमा लिनुपर्छ । पछि यस क्रमलाई पञ्चायती ३० वर्षमा र पछि पनि धेरै पत्रिकाले पछ्याएको पाइन्छ । निर्दलीय पञ्चायती निर्देशनमा पछि (गाउँफर्क अभियानको खटनपटनमा) चलेको प्रेस हुनाले सरकारसमर्थित छापाको बोलबाला थियो । तर केही पत्रिका समाचार प्रकाशन गर्न साहस गर्थे, अञ्चलाधीशको कारबाहीमा पर्थे, गिरफ्तारी बेहोर्थे । केही साप्ताहिक दल विशेषका समाचार घुमाउरो ढंगमा प्रकाशन गर्थे, कति त भूमिगत प्रेस नै सञ्चालन गर्थे र तिनको निकै ठूलो चर्चा पब्लिक स्फेरमा हुने गथ्र्यो ।

वर्तमानको चुनौती

२०३६ सालको जनमतसंग्रहको वेला भने प्रेसले खुला रूपमा बहुदल र निर्दलको प्रचार प्रसार गरेको देखिन्छ । बहुदलको पराजय भए पनि प्रेसले दरोगरी लेख्ने, विचार प्रकाशन गर्ने क्रम त्यसपछिको दशकसम्म कायम गरियो, जसलाई त्यसवेलाको राष्ट्रिय पञ्चायतको बैठक प्रेसका लागि खुला गरिएको प्रावधानले पनि विशेष सहयोग पुर्‍यायो ।

यसैको चरमोत्कर्षमा देखिन्छ नेपाली प्रेसको योगदान, ०४६ सालको आन्दोलनमा । त्यसपछि संविधानले प्रत्याभूति गरेको प्रेस स्वतन्त्रताको आडमा अहिलेसम्म नेपाली छापाले विविध ढंगमा सेवा प्रदान गर्दै आएको छ । यसले कालान्तरमा आफूमा यस्तो ऊर्जा सिर्जना गरेको छ कि यसलाई दबाउन हुने सानो÷ठूलो, प्रत्यक्ष/अप्रत्यक्ष प्रयास कहिल्यै सफल भएनन् । प्रेसमा सेन्सरसिप लगाउने वा अनुशासित तुल्याउने नाममा अनेक किसिमका प्रशासनिक झमेला उठाइँदा छापाले त्यसको विरोध गरेको कुरा धेरै पुरानो होइन । छापा संस्थागत हुनु, यसको पहुँच देशभरि फिँजिनु, पाठ्यसामग्रीमा विविधता पाइनु, प्रकाशनमा नवीन प्रयोग हुनु, पाठकप्रिय बन्नु पर्ने कुरालाई विशेष ध्यान दिनु, राष्ट्रिय, जनजीवनका विविध प्रसंगलाई उतार्नु, सचित्र प्रस्तुतिमा हेक्का राख्नु, पत्रकारिताभन्दा बाहिरका लेखक, विचारक, जनशक्तिलाई स्थान दिनु, अन्तर्वार्तालाई स्तरीय पार्नु, कृषि, स्वास्थ्य, शिक्षा, खेलकुद, यातायात, शहरी÷ग्रामीण जीवन, पर्यटन, पदयात्रा, राशिफल, मौसम आदिमा विशेष रिपोर्टिङ गर्नु छापाका निरन्तर कार्य भइसकेका छन् । नेपालमा ‘मोफसल’ भन्ने शब्दलाई छापाले अहिले पुरानो नै बनाइदिएका छन् । अहिलेको नेपाली छापा पढ्नेले आफूलाई समसामयिक स्थितिमा बौद्धिक रूपले तन्दुरुस्त राख्ने सम्भावना छ भन्दा अतिशयोक्ति नहोला ।

छापासामु चुनौती नभएका होइनन् । राजनीतिक र आर्थिक कारणले कसैमाथि भर पर्नुपर्ने बाध्यताले छापालाई सन्तुलित हुन दिइरहेको छैन, अस्वस्थ प्रतिस्पर्धा, विज्ञापन प्रवाह पारदर्शी नहुँदाको स्थितिले विकृति यत्रतत्र फैलिएको छ, जसले सूचना प्रवाहलाई आघात परेको छ । संस्थागत हुने रोडम्याप तयार छ तर त्यसलाई धान्ने नियमित दरो जनशक्तिको सञ्जाल भरपर्दाे गरी मिल्ने स्थितिमा छैन, छापा पुरानो हुँदै जाने, त्यसलाई धान्न नयाँ जनशक्ति आउनुपर्ने यथार्थ धेरैले व्यहोर्नुपरेको छ । छापाको दौडलाई धान्न आवश्यक सम्पादकीय ऊर्जा, आँट र सीपको कमी देखिन्छ, खोजी पत्रकारितामा त खासै केही हुन सकेको छैन । सोसल मिडिया र अन्यबाट सूचना प्रवाहमा भइरहेको प्रतिस्पर्धालाई छापाले कसरी सामना गर्ने भन्नेमा सामान्य सम्पादकीय, प्रकाशकीय रणनीतिसम्म बन्न सकेको छैन । देशले प्रदेश र स्थानीय सरकारसहितको संघीय संरचना अपनाउँदा अबका छापाले कस्तो संरचनाअनुरूप पहुँच बढाउने भन्नेमा त गृहकार्यसमेत भएको देखिँदैन, केवल अहिले गरिरहेको कामलाई अलि विस्तार गर्ने त हो नि भन्ने सोच लिएजस्तो छ, जुन आमसँचारको दृष्टिकोणमा भ्रम मात्र हो ।

इतिहासले नै संघर्षशील बनाएको नेपाली छापा उपरोक्त चुनौतीबाट हतोत्साहित हुनु आवश्यक छैन । अहिलेका छापाले परिवर्तनको बोल, सामयिकी धुन र सामाजिक चाहनालाई मध्यनजर गर्दै गएमा अघि बढ्न सक्ने स्थिति छ । नेपाली छापामा पाठकमा आशा जगाउने, उत्साह भर्ने, सकारात्मक बन्न सहजीकरण गर्ने क्षमता छ, त्यसलाई उपयुक्त समयमा, विषयमा, पानामा र सन्दर्भमा उजागर गर्न विवेक र सीपको प्रयोग गर्न भने पछि पर्नु हुँदैन । त्यसैगरी नेपाली छापाले त्यसमा कार्यरत जनशक्तिलाई भविष्यबारे आश्वस्त पार्न सक्ने अवस्था छ । यिनलाई ध्यानमा राखी छापा गृहहरू अघि बढ्दा नेपाली आमसञ्चार जगत् अहिलेभन्दा बढी सार्थक र सान्दर्भिक हुँदैनन् कसरी भन्नू ?

 

 

प्रतिकृया दिनुहोस