MENU

टिप्पणी

635x90

वाम एकता : नयाँ राजनीतिक दिशा

अजयभद्र खनाल आइतवार, आश्विन २९, २०७४

दशैंलगत्तै एमाले र माओवादीको मिलनले नेपाली राजनीतिमा ठूलो तरंग ल्याएको छ । हुन त नेपालको राजनीति बुझ्नलाई पैसा (भ्रष्टाचार) लोभ (पद) र भू–राजनीतिको ‘लजिक’ बुझे पुग्छ । आइडियोलोजी वा जनचाहना अब अर्थहीन भैसक्यो । एमाले, माओवादी र बाबुराम मिल्नु पछाडि पक्कै पनि दलगत र व्यक्तिगत स्वार्थ लुकेका छन् । तिनलाई हामीले अन्यथा मान्न पनि हुँदैन । अन्ततः दीर्घकालीन सोच राख्ने हो भने नेपाली राजनीतिमा देखिएको यो नयाँ ट्रेन्डले सकारात्मक प्रभाव नै पर्नेछ । त्यसका केही बलिया आधार छन् ।

नयाँ राजनीतिक ट्रेन्ड

बाबुराम भट्टराईले जहिले पनि विदेशी साम्राज्यवादभन्दा स्वदेशी सामन्तवादलाई ठूलो शत्रु मान्थे । त्यसैले माओवादी हिंसाका दौरान राजतन्त्रको विरोधमा भारतीय रणनीतिक खेलको महत्‍वपूर्ण पात्र बन्न पुगेका थिए । राजतन्त्रको अवसानपछि भारतको सबैभन्दा ठूलो टाउको दुखाइ प्रचण्ड बन्न पुगेका थिए । विस्तृत शान्ति सम्झौतापछि प्रचण्डले ‘रअ’ र भारतलाई शान्तिपूर्ण रूपमा माओवादलाई रूपान्तरण गर्ने आश्वासन दिएका थिए । तर वचन पालना नगरेको र आफूलाई नचाउन खोजेको आभास पाएपछि भारतले प्रचण्डलाई कमजोर बनाउने प्रयास सुरु गर्‍यो । त्यही प्रयासका कडीका रूपमा माधवकुमार नेपाल र त्यसपछि बाबुराम भट्टराई प्रधानमन्त्री बनेका हुन् । आज नेपाल र भट्टराई लतारिँदै भारतका विरोधी मानिएका केपी ओलीको छहारीमा पुगेका छन् ।

राजनीतिक प्रतिस्पर्धा कडा र असफलताको मूल्य चर्को बन्दै गएका कारण दलहरूमा धु्रवीकरणप्रति आकर्षण बढेको पक्कै हो । तर राजनीतिक आइडियोलोजी मिलेका कारण मात्र यी दल मिलेका भने पक्कै होइनन् । अहिले अर्को नयाँ ट्रेन्ड देखिएको छ । त्यो के भने आजकाल राजनीतिले भन्दा लालच, पुँजी र विदेशी चलखेलले राजनीतिक कोर्स निर्धारण गर्छ ।

आजको नेपालमा आइडियोलोजी र दलको व्यवहारबीच कुनै ‘को–रिलेसन’ छैन । कागज र सिद्धान्तमा जनवादी वा लोकतन्त्रवादी भए पनि व्यवहारमा ‘आफूवादी’ र ‘पैसावादी’ हुनु नेपाली राजनीतिको मौलिक संस्कार बन्न पुगेको छ । यसका लागि संसद्ले निर्माण गरेका शिक्षा र स्वास्थ्यका ऐन र आफ्ना सुख सुविधाका लागि बनेका कानुन उदाहरण छन् । बाबुरामको नयाँशक्तिमा यस्ता प्रवृत्ति बोकेका धेरै व्यक्ति देखापरेका थिए । कांग्रेस, माओवादी र एमालेमा त यिनको हालीमुहाली छँदैछ ।

पहिला–पहिला राजनीति महँगो भएकाले नेताहरू भ्रष्टाचार गर्थे । खुमबहादुर खड्काले पार्टी र कार्यकर्ताको हितका लागि भ्रष्टाचार गरेका हुनाले उनलाई अझै पनि धेरै मान्छे हिरो मान्छन् । त्यही कुरा एमालेले वा माओवादीले गर्‍यो भनेचाहिँ लोकतन्त्र संकटमा परेको तर्क बाहिर आउँछ । कहिलेकाहीँ दलगत स्वार्थमा विदेशी स्वार्थ पनि मिल्न पुगेको हुन्छ । नेपालमा त्यसलाई पनि अचम्मको कुरा मान्नु पर्दैन । विगतमा पनि राजालाई फाल्ने केही दलहरूको चाहना भारतीय चाहनासँग मिलेको थियो । अन्ततः भारतको सहयोगकै कारण राजा फालिए र १२ बुँदे सहमति पनि भारतकै छत्रछायाँमा नयाँदिल्लीमा हुन पुग्यो ।

भारत र चीनबीच शीतयुद्ध चलिरहेको वेला कसले नेपाललाई आफ्नो प्रभावक्षेत्रभित्र राख्ने भन्ने आधा जुँगाको लडाइँ र आधा भू–राजनीतक रणनीतिले पनि नेपाली राजनीतिलाई धमिलो बनाएको छ ।

नेपाली राजनीतिलाई अहिले विचार वा आइडियोलोजीले नभएर पैसा र विदेशी स्वार्थले हाँकेको छ । नागरिकको हित शिक्षा र स्वास्थ्य हैन, बूढीगण्डकी, कर्णाली र रेलमार्ग राजनीतिको केन्द्रविन्दुमा पुगेका छन् । विकासको ठेक्का चीनलाई दिने कि भारतलाई भन्ने प्रश्नसँग कुन दलले आर्थिक लाभ र कमिसन कुम्ल्याउने भन्ने प्रश्न जोडिएको छ । धन्न तिनलाई विकास र राष्ट्रवाद नामका नयाँ र पुराना आइडियोलोजिकल आवरण ओढाउन सजिलो छ, नत्र नेताहरूको स्वार्थ र पैसा मोह छताछुल्ल भैसक्ने थियो ।

चुनौती कि लोकतान्त्रिक संकट

कांग्रेस कमजोर हुनु भनेको देशमा लोकतन्त्र कमजोर हुनु हो वा नेपालमा राजनीतिक संकट आउनु हो भन्ने एउटा परम्परागत मान्यता छ । त्यो मान्यताबाट अझै पनि धेरैले मुक्ति पाउन सकेका छैनन् । नेपाली इतिहासको कुनै कालखण्डमा यो मान्यता सही थियो होला । तर एकातिर कांग्रेसले आफ्नो लोकतान्त्रिक चरित्र गुमाउँदै गएको छ भने अर्कोतिर दलहरूबीचको भिन्नता मेटिँदै गएको छ । सिद्धान्तमा जेसुकै भनिए पनि व्यवहारमा सबै दल उस्तै छन् । सबैले प्रशासनमा राजनीतिकरण गरेका छन् । सबै भ्रष्टाचारमा लिप्त छन् । सबैले जनताको आवाजभन्दा व्यापारी र सिन्डीकेटको आवाज बढी सुन्छन् ।

आज नेपाल सरकारको प्रशासनमा गहिरो राजनीतिकरण भएको छ र एमाले समर्थित युनियनहरूले सबै सरकारी संयन्त्रमा कब्जा जमाएका छन् । सरुवा बढुवादेखि सेटिङ मिलाएर पैसा खाने काममा युनियनहरूको बोलवाला छ । एमाले र माओवादीको मिलनले यी दुई पार्टीलाई सत्ताकब्जा गरेर पार्टी नेता र कार्यकर्ताहरूको स्वार्थ पूरा गर्न सहयोग गर्नेछ । तर वाम शक्तिले प्रशासनलाई र संवैधानिक निकायमा प्रभाव विस्तार गर्दा सत्ता कब्जा हुने, अनि कांग्रेसले गर्दा भने लोकतन्त्र बलियो हुने भन्ने मान्यताबाट पनि हामीले मुक्ति पाउनु जरुरी छ ।

स्वार्थका लागि पिङजस्तै मच्चिने एक नेता हुन्, पुष्पकमल दाहाल। यस मिलनको एउटा नकारात्मक पक्ष प्रचण्डको राजनीतिक वेश्यावृत्तिा हो।

वाम एकताले कांग्रेसलाई सबैभन्दा ठूलो चुनौती थपिएको छ । कांग्रेसले अहिलेसम्म जित्दै आउनुमा तीनटा प्रमुख कारण छन् । पहिलो उसको इतिहास हो । इतिहासमा गरेको लगानीले कांग्रेसले अहिलेसम्म ब्याज खाँदै आएको छ । दोस्रो, सशक्त विपक्षको अभाव हो । कमजोर र विभाजित विपक्षका कारण ऊ २५ देखि ३० प्रतिशत मत ल्याएर पनि सधैं सत्तामा रहन सफल भएको हो । तेस्रो, लोकतान्त्रिक मूल्य र मान्यता राख्ने नेपाली जनताले भोट हाल्ने ठाउँ नभेट्टाउनु हो । कांग्रेस मन नपरे पनि लोकतन्त्रको बिल्ला भिरेका कारण यसोउसो कांग्रेसलाई नै भोट हाल्ने जमात नेपालमा ठूलो छ । तर कांग्रेसले भने तिनलाई आफ्नै समर्थक त हुन् नि भनेर खासै वास्ता गर्ने गरेको छैन ।

वाम एकताले यी तिनै तत्वमा ठूलै परिवर्तन आउने पक्का छ । दोस्रो र तेस्रो ठूला पार्टी मिलेका कारण अब कांग्रेसभन्दा नयाँ सशक्त गठबन्धन अगाडि आएको छ । यसले कांग्रेसलाई सत्तामा रहन कम्तीमा ४० प्रतिशत मत ल्याउन जरुरी छ । अब अल्पमतका भरमा सकारात्मक चुनावी नतिजा आस गर्न सकिँदैन । त्यसैगरी कांग्रेसले न विकास दिन सकेको छ, न त भ्रष्टाचार विरोधीका रूपमा नै आफूलाई उभ्याउन सकेको छ । अझ जटिल त ऊसँग न मधेशी खुशी छन्, न पहाडे । कांग्रेसको देखावटी लोकतन्त्रको विकल्पमा नयाँ खालको राष्ट्रवादले धेरै पहाडे मूलका मानिसलाई आकर्षित गर्ने पक्का छ ।

वाम गठबन्धनका कारण कांग्रेसमाथि ठूलै दबाब परेको छ । उसले पुरानो शैलीको सामन्तवादी र पारिवारिक राजनीतिबाट मुक्त भएर अगाडि जान जरुरी छ । यसका लागि कांग्रेसले सबैभन्दा पहिला आफ्ना कार्यकर्तातिर फर्किन जरुरी छ । यसअघिका निर्वाचनमा देखिएको जुन–जुन चुनावमा कांग्रेसका कार्यकर्ताको मनोबल उच्च हुन्छ, त्यसवेला उसले राम्रो नतिजा हात पारेको छ । त्यसैले पार्टीभित्र सुधार समावेशिता र लोकतान्त्रिक अभ्यासको थालनी अविलम्ब गरेर कार्यकर्ताको मनोबल बढाउनु नै सबैभन्दा प्रभावकारी चुनावी रणनीति हुनेछ ।

दीर्घकालीन सन्तुलन

स्वार्थका लागि पिङजस्तै मच्चिने एक नेता हुन्, पुष्पकमल दाहाल । यस मिलनको एउटा नकारात्मक पक्ष उनको राजनीतिक वेश्यावृत्ति हो । प्रचण्डले नै कांग्रेससँग मिलेर केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाएका थिए । कांग्रेस र एमालेको सहयात्रालाई छोट्याउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । स्थानीय निर्वाचनमा प्रचण्डपुत्रीलाई जिताउन चितवनका कांग्रेसीहरूले नयाँ झण्डाको रचनासमेत गरेका थिए । तर आखिरमा मुसाले मुसै रोज्छ भनेजस्तै प्रचण्डले ओरालो लाग्न थालेको कांग्रेसलाई मुटुको व्यथा हुने गरी झट्का दिए ।

‘रअ’ एजेन्टहरूको निकै नजिकै थिए भने चिनियाँ कम्युनिस्ट पार्टीसँग पनि उत्तिकै नजिक थिए । लुम्बिनी विकास र बुद्ध सर्किटको एजेन्डा अघि सार्ने हङकङको गैरसरकारी संस्थाको अभियानमा उनी संलग्न हुँदा उनलाई तत्कालीन चिनियाँ नेताहरूको आशीर्वाद प्राप्त थियो । यो कुरा तत्कालीन चिनियाँ पार्टीका विदेश मन्त्री आई पिङले खुलेआम नै बोलेका थिए । संविधान निर्माणको क्रममा चीनको भ्रमणपछि नै उनलै १८० डिग्री घुमेर एमालेसँग मिल्ने र मधेशवादीलाई ओझेलमा पारेर भए पनि संविधान निर्माणको बाटोमा अघि बढ्ने निर्णय गरेका थिए ।

लोकतन्त्रको आधार स्वार्थ हो । खुला बजार र खुला लोकतन्त्र दुवैले मानिसको स्वार्थी प्रवृत्तिलाई केन्द्रविन्दुमा राखेको छ । जोन लकबाट प्रभावित अमेरिकी संविधानले जीवन स्वतन्त्रता र सुखको खोजी गर्ने व्यक्तिगत चाहनालाई लोकतन्त्रको आधारस्तम्भ मानेको छ । यिनै चाहना पूर्ति गर्न खोज्ने व्यक्तिहरूबीच आउने स्वार्थको टकरावका कारण उनीहरू अन्ततः सामाजिक करार स्थापना गर्न बाध्य हुन्छन् । नेपालमा पनि व्यक्ति र दलहरू आफ्नै स्वार्थका लागि अघि बढ्दैछन् र अल्पकालमा स्वार्थको टकराव कडा भए पनि अन्ततः सबै दल एउटा स्थिर सामाजिक करारअन्तर्गत आउन बाध्य हुनेछन् ।

वाम एकतामा आखिर समान राजनीतिक डीएनए र प्रवृत्ति भएका दल र व्यक्तिहरू सामेल भएका छन् । यसले अन्ततः लोकतन्त्रलाई सघाउ नै पुर्‍ याउँछ । भलै आगामी ५/७ वर्ष नेपालका लागि स्वार्थका टकरावका कारण कष्टकर हुन सक्छ । तर ‘कन्टक नैव कन्टक’ भनेजस्तै स्वार्थले स्वार्थलाई सीमित गर्छ र नेपाली राजनीति पनि इभोलुसनर्ली स्टेबल स्ट्राटेजीमा उत्रन बाध्य हुन्छ । पिङजस्तै कहिले यताको अतिवाद र कहिले उताको अव्यवस्थातिर मच्चिने राजनीति र सत्ताले सन्तुलन हासिल गर्न दशकौं खर्चिनुपर्छ । दुर्भाग्यवश नेपालमा माओवादी हिंसाका कारण २०४६ सालपछि सुरु भएको यो प्रक्रिया बीचैमा बिथोलियो । अब फेरि यो प्रक्रिया सुरु भएको छ । हामीले सोचेजस्तो राजनीति पाउन भने अझै केही समय धैर्य गर्नैपर्छ । पैसाको खेल, पदको लोभ, नेताहरूमा लोकतान्त्रिक चरित्रको अभाव र विदेशी शक्तिको चलखेलले भने यो सन्तुलनको प्रक्रियालाई केही जटिल बनाएको छ ।


 

प्रतिकृया दिनुहोस