MENU

टिप्पणी

635x90

प्रदेश २ मा एमालेको परीक्षण उडान

योगेश भट्टराई मंगलवार, आश्विन २४, २०७४

प्रदेश २ मा सफलतापूर्वक चुनाव हुनु नै उत्साहको कुरा थियो । अब संविधानले बनाएका जनप्रतिनिधिमूलक निकायहरूको अभ्यास शुरु भएको छ । एमालेका निम्ति सबैभन्दा खुशीको कुरा यही हो । मुलुक संघीय प्रणालीमा गइसकेको वेला कुनै प्रदेशमा एउटा पार्टी बलियो हुन सक्छ भने अर्काे प्रदेशमा अर्काे पार्टी बलियो हुन सक्छ । समग्रतामा, स्थानीय चुनावमा एमाले नै सबैभन्दा बलियो पार्टीको रूपमा स्थापित भयो । प्रदेश २ मा हामीले अपेक्षा गरेअनुसारको परिणाम आएन । त्यसका पछाडि केही बाह्य र आन्तरिक कारण छन् । मुख्य कुरा त त्यहाँ एमालेविरुद्धको गतिविधि तीव्र थियो । हाम्रा कार्यक्रमहरू हुन दिइएन । त्यसमा राजपा त छँदै थियो, कांग्रेससमेत थपियो । सत्ता, शक्ति, पैसा र अन्तर्राष्ट्रिय शक्तिको समेत प्रयोग गरेर एमालेलाई प्रदेश २ मा अझै खुम्च्याउन खोजिएको थियो । तर खुशीको कुरा यो हो कि एमालेले उम्मेदवार नै पाउँदैन भन्ने हल्लाका बीच प्रदेश २ का एक सय ३६ स्थानीय तहमध्ये वडा तहसम्म पनि एमालेको उम्मेदवार कतै पनि खाली थिएन । कतिपय भ्रम तोड्न सफल भए पनि केही भ्रम तोड्न अझै बाँकी छ । तर, एमालेका निम्ति प्रदेश २ प्लेटफर्म बन्यो अब ।

एमाले त्यहाँ पस्यो, अब यसले त्यहाँ आकार लिन्छ । एमाले आफ्नो आकार बनाउँदै हिँड्ने पार्टी हो । अहिले हामीले करिब २० ठाउँमा जित्यौँ । र, परिणाम हेरियो भने बढी जनघनत्व भएका चुनाव क्षेत्रहरूमा एमालेले जितेको छ । यस अवस्थामा हामीलाई बाह्य प्रतिकूलता थियो । आन्तरिक रूपमा पनि हामी त्यस परिणामको समीक्षा गर्छौँ । हाम्रा कही कमजोरी रहे, खासगरी उम्मेदवार छनोटमा । समग्रमा एमाले यसपटक निरास छैन । प्रदेश २ को चुनावले हामीले बनाएको संविधान अब संविधानको रूपमा स्थापित भयो, संविधानको बहस अब सकियो । संविधानको स्वीकारोक्ति यो चुनावले बढाइदियो । संविधानले बनाएका लोकतान्त्रिक संस्थाहरूको ‘सेटअप’ जुन तयार हुँदैछ, यसले नेपाली समाजलाई सही दिशामा लान्छ । अहिलेको क्षणिक पराजय एमालेले आउने चुनावहरूबाट पुर्ताल गर्नेछ ।

चुनौतीबीच सन्तोष

हामीले लिएका केही राष्ट्रिय अडानलाई त्यहाँ गलत ढंगले प्रचार गरिएको थियो । मधेशी जनताको मनोविज्ञानलाई भड्काउने अधिकतम कोशिस गरिएको थियो । ‘इमोस्नल ब्ल्याकमेलिङ’ भइरहेको थियो । यी सबै कामहरू त्यहाँको ‘एलिट क्लास’, जमिनदार, सामन्त वर्गकाले गरेका थिए । उनीहरूले आफ्नो वर्चस्व गुम्न नदिन एमालेमाथि चौतर्फी खनिए । किनभने, एमाले त्यहाँ देखिएको सामाजिक बेथिति, लैंगिक, जातीय विभेदविरुद्ध थियो । एमालेलाई पन्छाउन सकियो भने राज गर्न सकिन्छ भन्ने थोरै माथिल्लो वर्गका मानिसको सोचाइ हो ।प्रदेश २ को चुनावका क्रममा हामीले धेरै कुरालाई स्पष्ट गरेका छौँ । त्यहाँ हाम्रा संगठनहरू विचलित भएनन् । हामीले त्यहाँ सोचेजस्तो परिणाम नल्याए पनि प्रदेश २ लाई चुनावी हिसाबले प्रभावित गर्न सक्ने व्यक्तिहरू एमालेमा प्रवेश भएका छन् । यो देशव्यापी एमालेको आकर्षण हो । मेरो विचारमा आउने प्रदेश र संसदीय चुनावमा हामी अहिलेको स्थानीय चनावको क्षतिपूर्ति लिन सक्छौँ ।

मधेशविरोधी को ?

जसले एमालेलाई मधेशविरोधी भनेका थिए, तिनीहरू नै खास मधेशविरोधी थिए । त्यो कुरा हामीले राम्ररी बुझाउन सकेनौँ । हामी मधेशी जनताको आर्थिक समृद्धिको एजेन्डा बोकेर आएका थियौँ । हाम्रा विरोधीहरूसँग भावनात्मक सम्बन्धलाई भड्काउनेबाहेक अरू कुनै हतियार थिएन । कहिलेकाहीँ भीडहरू भावनामा बग्छ । मेरो विचारमा पछिल्लो २–४ वर्षमा तराई मधेशमा मानिसहरू ज्यादा भावनाबाट प्रभावित भएका छन् । हामीले पनि एमालेका तर्फबाट सावधानी अपनाएनौँ होला । अभिव्यक्तिहरूमा केही सावधानी अपनाउनुपर्ने थियो, त्यसमा हामी सफल भएनौँ होला । तर, समग्रतामा एमाले मधेश पक्षधर पार्टी हो ।

एमालेले सञ्चालन गरेको सरकारको पालामै सबैभन्दा धेरै बजेट हामीले मधेशमा पठायौँ । सबैभन्दा ठूला विकास आयोजनाहरू हामीले त्यहीँ थालनी गर्यौँ । हुलाकी राजमार्गको कुरा होस् या पूर्वपश्चिम राजमार्गलाई ६ लेनको सडक बनाउनुपर्छ भन्ने कुरामा होस्, हामीले बजेट छुट्यायौँ । तराई–मधेशको १८ जिल्ला सदरमुकामलाई आधुनिक शहर बनाउनुपर्छ भनेर प्रत्येक सदरमुकामलाई ५० करोड रुपैयाँ छुट्यायौँ । ‘जनता सिँचाइ’, ‘जनता तटबन्ध’, ‘जनता आवास’जस्ता विभिन्न कार्यक्रमहरूमा एमालेले नै अग्रसरता लिएको हो । मलाई अचम्म लाग्छ, मधेशलाई बर्बाद गर्ने, पटक–पटक मन्त्री हुने तर मधेशको विकासमा कुनै ध्यान नदिने मानिसहरू कसरी त्यहाँ राजनीति गरिरहेका छन् र त्यहाँको भोट पाइरहेका छन् ?

रणनीतिमा चुक

गलत ढंगले चुनावी अभियान गरेनौँ । हामीले एजेन्डाहरूको बिक्री गरेनौँ । जे एजेन्डा थिए, तिनलाई नै स्थापित गर्ने प्रयास गर्‍यौँ । तिनमा ब्ल्याकमेलिङ गरेनौँ । हामीले पहाड र मधेशको एकताको कुरा गर्‍याँ । सामाजिक सद्भावको कुरा ग¥यौँ । एउटा बलियो राष्ट्र निर्माण भयो भने मात्र अरू समस्या समाधान हुन्छ भन्यौँ । सीमामा भएका ज्यादतीहरू, राष्ट्रियस्तरमा भारतले हामीमाथि गरेको दमन, अत्याचार, नाकाबन्दी गलत हो भनेर भन्यौँ । महिलाहरूमाथि भएका ज्यादती गलत हुन् भन्नेकुरा उठायौँ । दलितहरूमाथि भएको दमनको विपक्षमा एमाले उभियो । शान्तिपूर्ण ढंगले हामीले चुनावी अभियान चलाइरहँदा अन्तिम क्षणमा सत्तारूढ पार्टी र अन्य पार्टीहरू एमालेमाथि जबर्जस्ती जाइलाग्ने काम गरे ।

अहिलेको क्षणिक पराजय एमालेले आउने चुनावहरूबाट पुर्ताल गर्नेछ।

विमलेन्द्र निधिको गाउँमा एमालेलाई भोट नदिन उर्दी नै जारी भयो । पुलिस÷प्रशासनहरू रातारात बद्लिए । यसले गर्दा त्यहाँको चुनाव ‘फेयर’ होइन भन्ने देखिन्छ तर पनि हामीले त्यसप्रति गुनासो गरेनौँ । किनभने, यी परिस्थितिहरूका बाबजुद पनि एक सय ३६ वटा स्थानीय तहमा जनप्रतिनिधिहरू आए । जस्तोसुकै, जेसुकै नामका आए पनि अब उनीहरू जनताप्रति उत्तरदायी हुन्छन् । अब उनीहरूको काम एमालेको विरोध गर्नुमात्रै होइन । जनताप्रति उत्तरदायी हुनु हो । अब एमालेविरोधी धन्दा सकियो । एमाले विरोधीहरू पनि जनताको अदालतमा खडा भएका छन् ।

एमालेको प्रभाव पूर्वपश्चिम राजमार्गवरपर मात्रै बढी छ भनेर जसरी प्रचार गरियो, वास्तविकता त्यस्तो थिएन । हामीले हाइवे भनेर त्यसरी ‘टार्गेट’ गरेका थिएनौँ । बाहिर मिडियामा त्यसरी आएको हामीले पनि सुनेका थियौँ । तर, स्वभाविक रूपमा त्यस क्षेत्रमा एमालेको पकड राम्रो छ । केही ठाउँमा पराजय हुनुमा अन्तरविरोध पनि कारक बन्यो । अहिले ठाउँ नतोकौँ । केही ठाउँमा हाम्रो क्याम्पियन कमजोर रह्यो । केही ठाउँमा राज्य÷सरकारपक्षीय दलहरूको दबाब एकदमै धेरै थियो । समग्रतामा यिनै कारणहरू हुन् जसले समग्र परिणाममा प्रभाव प¥यो । एक सय ३६ वटाकै चुनाव क्षेत्रको अलग–अलग विश्लेषण गर्न सकिन्छ । कस्तो परिस्थितिमा हामीले चुनाव लड्यौँ भन्ने कुरा आमजनताले बुझ्नुपर्छ । अरू १० दिन समय भएको भए हामीले योेभन्दा धेरै राम्रो चुनावी परिणाम ल्याउँथ्यौँ । प्रदेश २ को परिणामबाट एमालेपंक्ति विचलित हुनुपर्ने कुनै कारण छैन ।

सत्तापक्षको धाँधली

धनुषा त समग्रतामा सत्तापक्षको नग्नता नै हो । विमलेन्द्र निधि आफैं बसेर, प्रहरी÷प्रशासनलाई निर्देशन हामीलाई हराउने गृहकार्यमा लाग्नुभयो । उहाँले कमाउनुभएको इज्जत÷प्रतिष्ठालाई पनि दाउमा राखेर जुनखाले एमालेविरोधी हर्कत गर्नुभयो, उहाँले आफू लोकतान्त्रिक पार्टीको नेता हुँ भन्ने कुरा बिर्सनुभयो जस्तो लाग्छ । त्यो हदसम्मको गैरराजनीतिक चरित्र उहाँमार्फत कांग्रेसले धनुषामा प्रकट ग¥यो । त्यति गर्दा पनि धनुषामा कांग्रेसको लज्जास्पद हार भयो । त्यसैले शक्ति, दमनको आडमा चुनाव जितिँदैन भन्ने उदाहरण धनुषामा देखियो । धनुषामा हाम्रो लक्ष्य १० तह जित्ने थियो । ८ जिल्लामध्ये हाम्रो सबैभन्दा बिग्रेको ‘सेटअप’ पनि धनुषामै थियो ।

त्यहाँको उम्मेदवारी छनोट राम्रो भएन । सहमतिपूर्व पार्टीमा उम्मेदवारी चुनिनुपर्छ भन्ने थियो तर त्यो भएन । भोलिका दिनमा अझै राम्रो गर्नुपर्नेछ । स्थानीय चुनाव हाम्रो लागि यो एउटा ‘टेस्ट फ्लाइट’ थियो । हामीले कहाँ उबडखाबड छ भन्ने कुरा देख्यौँ । हाम्रो इन्जिनमा के कमजोरी छ, क्याप्टेन सिटमा बस्ने मान्छेको भूमिका के थियो भन्ने कुराको अनुभव भयो । अब अर्काे दोस्रो/तेस्रो फ्लाइट हुँदा त्यसका कमजोरीबाट सिक्दै योभन्दा राम्रो फ्लाइट गर्छाैँ । अब यसबाट सिकेर संघीय संसद्मा, प्रतिनिधिसभामा देशका अधिकांश प्रदेशहरूमा हामी ‘सिंगल मेजरिटी’बाट प्रदेश सरकार बनाउँछौँ र केही प्रदेशहरूमा समीकरणबाट प्रदेश सरकार बनाउँछौँ । किरण दहालसँग कुराकानीमा आधारित ।

 

प्रतिकृया दिनुहोस