MENU

टिप्पणी

635x90

मातृसत्ता होइन, समानता

डा. सञ्‍जीव उप्रेती शुक्रवार, आश्विन ६, २०७४

एउटा गलत धारणा छ– पैसा कमाउने र नाम कमाउने काम पुरुषको हो, महिलाको काम सहयोग मात्रै गर्ने हो, उनीहरू पुरुषको सहयोगी मात्रै हुनुपर्छ । त्यसैको आधारमा समाजमा पुरुषको सामाजिक परिचय स्थापित भएको हुन्छ । यो परम्परागत धारणाले महिलाको स्वतन्त्र व्यक्तित्वलाई विकास हुन दिइरहेको छैन । अहिले समाज धेरै परिवर्तन हुँदै गएको छ । लैंगिक वर्गीय समानताको कुरा उठिरहेको छ । यस्तो अवस्थामा सबैले उत्तिकै व्यक्तित्व विकास गर्ने मौका पाउनुपर्ने हो, तर त्यस्तो भइरहको छैन । पारम्परिक धारणा छ, ‘हरेक सफल पुरुषको पछाडि महिलाको हात हुन्छ । यो धारणा आज पनि अस्तित्वमा छ । तर, सफल महिलाको पछाडि पुरुषको हात पनि हुनसक्छ । दुवैले एकअर्कालाई सहयोग गरेको पनि हुनसक्छ ।

पुरुष र महिलाको हुर्काइमा सामाजिक प्रक्रिया जिम्मेवार छ । सामाजिक प्रक्रियामा पुरुषलाई पहिलादेखि नै बाबुबाजेको नाम चम्काउँने, वंश धान्ने, पैसा कमाउने भनी दबाब दिइन्छ । महिलालाई घर सम्हाल्ने भनिन्छ भने पुरुषले आफ्नो छुट्टै करिअर बनाउनुपर्छ भन्ने भनिन्छ । यो सामाजिकीकरणको प्रक्रियाबाट हामी कोही पनि स्वतन्त्र हुँदैनौँ । जन्मँदै कोही क्षमतावान् र कोही कमजोर हुँदैन । पति–पत्नीको सम्बन्ध साथीको जस्तो हुनुपर्छ । पत्नी आफ्नो ‘बेस्ट फ्रेन्ड’ नै हुनु राम्रो । असल साथी भएपछि झुकेर होइन आफ्नै परिचय खोज्न थाल्छ । अहिलको नयाँ पुस्तामा यो परिवर्तन आइरहेको छ । सामाजिक प्रक्रियामा ऐतिहासिक प्रक्रिया पनि जोडिएको हुन्छ ।

इतिहासमा पुरुषलाई आक्रमकता, जुझारुपनमा बढी प्रोत्साहित गरियो । कुन राजा महान् ? कसले बढी राज्य जित्न सक्ने ? भनियो । लड्ने भिड्ने काम पुरुषको भागमा भयो । जसले बढी दबाउन सक्यो, लडभिड गर्न सक्यो त्यही नै वास्तविक पुरुष हो भन्ने भयो । यस्तै किसिमको ऐतिहासिक मान्यताहरू रहँदै आएको छ । इतिहासले पुरुषहरूलाई आक्रमक बन्न सिकायो । अरूमाथि शासन गर्न सिकायो । कुनै पनि पुरुष जतिवेला पनि आक्रमक त बन्न सक्दैन नि । पुरुषलाई पनि डर लाग्छ । डराउने, हाँस्ने, रुने मानवीय संवेदनाका पक्ष हुन् । यो नारी पुरुष दुवैमा हुन्छ । कुनै पुरुषको जागिर गयो र पत्नीले मात्रै कमायो भने खिसिटिउरी गर्ने चलन छ । यो गलत हो ।

पति–पत्नीको सम्बन्ध साथीको जस्तो हुनुपर्छ। अहिलेको नयाँ पुस्तामा पतिपत्नी सम्बन्ध बुझ्ने मानसिकतामा परिवर्तन आइरहेको छ।

‘म त पुरुष हुँ’ भन्ने भावना पुरुषमा हुन्छ । अलिकति पत्नीलाई ‘डोमिनेट’ गरिएन भने समाजले मलाई के भन्छ भन्ने हुन्छ । यो गलत कुरा हो । त्यसकारण दुवैको अस्तित्व समान हुने साथीको सम्बन्ध हुनुपर्छ । महिला पुरुषबीच फाटो ल्याउने अर्को कारण हो, आर्थिक । सकेसम्म आर्थिक सम्बन्ध समान भएको राम्रो हुन्छ । नेपालमा धेरैजसो सम्पत्ति पुरुषको नाममा छ । समानता छ भन्ने तर आर्थिक स्वतन्त्रता महिलालाई नदिने । खर्च गर्ने अधिकार नदिने । अन्ततः पुरुषकै हातमा लगाम हुने । यसले सम्बन्ध राम्रो बनाउँदैन । त्यसकारण आर्थिक स्तर बराबर भएको राम्रो हुन्छ । समाजमा घरमूलीका रूपमा महिला र पुरुषबीचको सम्बन्धमा परिवर्तन भइरहको छ । पछिल्लो २० वर्षको इतिहास हेर्दा धेरै परिवर्तन देखिन्छ । तुलनात्मक रूपमा समानता बढेको छ । शिक्षामा महिलाहरूको पहुँज बढेको छ ।

महिलामैत्री कानुनहरू बनेका छन् । परिवर्तन भइरहेको छ । यसमा सकारात्मक हुनुपर्छ । घरमा कसै न कसैले भान्सामा काम गर्नै पर्छ । यसमा श्रमको कुरा महŒवपूर्ण हुन्छ । खाना पकाउने, घर सफा गर्नेमा कसै न कसैको श्रम खर्च भइरहेको हुन्छ । यसमा मिलेर गर्नुपर्छ । घरमा पनि पुरुषले काम गर्नुपर्छ । बच्चा पुरुषले जन्माउन सक्दैन । यो जैविक कुरा हो । जन्मिसकेपछि पुरुषले सहयोग गर्न सक्छ । बच्चाको स्याहार पुरुषले गर्दा मानवीयता थपिन्छ जस्तो लाग्छ । कुनै महिलालाई खाना पकाउनै मजा लाग्छ । दुई जनाको कुरा मिलेको छ भने त्यसमा पनि केही भन्ने कुरा आएन । सामाजिकीकरणको असर पुरुषलाई मात्रै पर्छ भन्ने होइन, महिलालाई पनि पर्छ । उसको दिमागको पनि त्यही असर हुन्छ ।

चुलो चौको छाडेर महिलाहरू श्रमबजारमा निस्कनुले समाज परिवर्तन भएको संकेत गर्छ। तर, महिलाहरू श्रमबजारमा त्यतिकै नगई सीप सिक्नु प¥यो। नत्र तल्लोस्तरको काममा मात्रै जानुपर्छ।

चुलो चौको छाडेर महिलाहरू श्रमबजारमा निस्कनुले समाज परिवर्तन भएको संकेत गर्छ । तर, महिलाहरू श्रमबजारमा त्यतिकै गएर हुँदैन । त्यसका लागि उसले सीप सिक्नु प¥यो । नत्र तल्लोस्तरको काममा मात्रै जानुपर्छ । सीप सिकेर नयाँ परिचय विकास गर्नुपर्छ महिलाले । घरगृहस्थी मात्र सम्हाल्नुपर्ने महिलाहरूको अवस्थामा नयाँ परिचय थपिनु राम्रो हो । त्यो पुरुषको लागि पनि राम्रो हो । महिला श्रमबजारमा गएपछि घरको आर्थिक अवस्था पुरुषले मात्रै धान्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । नेपालमा अहिले पितृसत्तात्मक अवस्था घट्दो क्रममा छ । तर, पितृसत्ताको विकल्प मातृसत्ता होइन । भोलि महिलाहरू आएर उनीहरूले मात्रै डोमिनेट गर्ने शासन पनि राम्रो भएन नि । न हामीलाई पितृसत्ता चाहिएको छ न मातृसत्ता । हामीलाई चाहिएको समानता हो । पितृसत्ताको विकल्प समानता हो । यो पुरुषविरुद्ध नारीको र नारीविरुद्ध पुरुषको युद्ध होइन । नारी पुरुषको प्रतिस्पर्धा पनि होइन । नारी र पुरुष दुवै मिलेर गर्ने पुरानो विचारविरुद्धको युद्ध हो । विचारहरू दुवै मिलेर परिवर्तन गर्नुपर्छ ।

पुरानो विचार नारी पुरुष दुवैका लागि घातक छ । नेपालको संविधान राम्रो संविधान बनेको छ । स्थानीय तहमा महिला प्रतिनिधित्व बढेको छ । धेरै कानुन महिलाको पक्षमा छन् । यद्यपि, कमजोरीका पक्षहरू छन् । संविधान आउनेबित्तिकै सबै थोक भइहाल्छ भन्ने छैन । राम्रो शुरुवात भएको छ । आमाको नाममा नागरिकता लिने कुरा लगायत । तर, कार्यान्वयन पक्ष कमजोर भयो । कानुन कुनै व्यक्ति त होइन । कार्यान्वयन गर्ने व्यक्तिले पुरानो विचार लिइरहेको हुनसक्छ । जसका कारण कार्यान्वयनमा व्यवधान हुनसक्छ । तर, संविधान बनेर राम्रो शुरुवात भएको छ । संविधानका धाराहरू हुबहु लागू नहुनुका केही कारण छन् । राम्रो कानुन बन्नेबित्तिकै लागू नहुन सक्छ । लागू गर्ने निकायमा पुरानो चिन्तन बोकेको पुरुष वा महिला नै पनि हुनसक्छ ।  
विचारधारा उही रहेसम्म काननु राम्रो भएपछि लागू गर्न गाह्रो हुन्छ ।

यो सबै परिवर्तन गर्न अन्ततः विचारमै परिवर्तन गर्नुपर्छ । विचारधारा तुरुन्तै परिर्तवन हुँदैन । पुस्तौं पुस्ता हस्तान्तरण हुँदै आएको हुन्छ । त्यो विचार दिमागमा बसेको हुन्छ । निरास भइहाल्नुपर्ने अवस्था छैन । समाज परिवर्तन हुने विभिन्न पक्ष हुन सक्छन् । अहिले महिलाको शिक्षामा अधिकार बढेको छ । उनीहरू श्रमबजारमा जान सकेका छन् । यसलाई थप विकास गराउन मिडियाको भूमिका हुन्छ । स्कुल कलेजहरूको पाठ्यक्रममा पनि यी कुराहरू ल्याउन सक्छौँ ।चुलो चौको छाडेर महिलाहरू श्रमबजारमा निस्कनुले समाज परिवर्तन भएको संकेत गर्छ। तर, महिलाहरू श्रमबजारमा त्यतिकै नगई सीप सिक्नु पर्‍यो। नत्र तल्लोस्तरको काममा मात्रै जानुपर्छ।

मस्क्युलिनिटिज् स्टडीमा पोस्ट– डक्टरेट उप्रेतीसँग राजु स्याङ्तानको कुराकानी 

 

प्रतिकृया दिनुहोस