MENU

टिप्पणी

635x90

मधेश सम्बोधनलाई मौका

डा.सुरेन्द्र लाभ शुक्रवार, भाद्र ३०, २०७४

चाहेर–नचाहेर, सन्तुष्टि–असन्तुष्टि र गुनासो–आक्रोशको बीचमा प्रदेश २ मा चुनाव हुन गइरहेको छ । यस प्रदेशको नामाकरण हुन बाँकी छ । मधेश आन्दोलनको केन्द्र यसै प्रदेशमा रहँदै आएकोले यसलाई कोर मधेश भन्ने गरिएको छ । स्थानीय तह चुनावको यो अन्तिम चरण भएकाले यहाँ देशभरिकै संचारकर्मी, राजनीतिज्ञ, सजग नागरिकको ध्यान केन्द्रित छ । प्रत्येक ठूला दलले प्रदेश नम्बर नं २ मा एक नम्बर हुने दाबी गरेको देखिन्छ । कांग्रेसको लागि यो प्रदेश पुरानै ‘गढ’ हो । २०७० सालको संविधानसभा निर्वाचनमा पनि २१ वटा सिट जितेर पहिलो स्थानमा थियो । अहिलेको स्थानीय तहमा पनि पहिलो दल हुने दाबी गरिरहेको छ । १४ वटा सिट जितेर दोस्रो स्थानमा एमाले थियो । यो चुनावमा अन्य प्रदेशमा आएको मत र बलियो संगठनको दाबी गर्दै यस प्रदेशमा पनि पहिलो आउने दाबी छ ।

आठ सिट ल्याएर तेस्रो स्थान एमाओवादीको थियो । पार्टीको छविमा आएको सुधारको दाबी गर्दै प्रदेश नं २ मा राम्रै स्थान ल्याउने अपेक्षा देखिन्छ । ०७० को चुनावमा राजपा नभए पनि त्यसमा हाल सम्बद्ध दलहरू थिए र कुल तीन सिट जितेर चौथो स्थानमा रहेको थियो ।२०७२ सालको मधेश आन्दोलन र मधेशकेन्द्रित ६ वटा दल मिलेर बनेको राजपाले आन्दोलनको रापताप र एकिकृत संगठनले गर्दा प्रदेश नं २ प्रदेशमा एक नम्बर बन्ने दाबी गरेको छ । संघीय समाजवादी फोरमले ०७० सालको चुनावमा एकै सिट जित्न नसके पनि आफ्नो दलले तराई र पहाडको जनजातिलाई जोडेको हुनाले यसपालि स्थानीय तहमा राम्रै उपस्थितिको अपेक्षा गरेको देखिन्छ । फोरम लोकतान्त्रिक त्यतिवेला एउटै सिट जितेको थियो तर यतिवेला राम्रै आशा गरेको देखिन्छ । २०७० सालमा एकजना स्वतन्त्र पनि यस प्रदेशबाट जितेका थिए । उनी राजपा प्रवेश गरिसकेका छन् ।

यस प्रदेशमा महानगरपालिका एक, उपमहानगर तीन, नगरपालिका ७३ र गाउँपालिका ५९ गरी जम्मा एक सय ३६ वटा स्थानीय तह निर्धारण गरिएको छ । यो स्थानीय तहमा कुन दलको सर्वाधिक सिट आउँछ भन्ने अन्योल नै छ । जसले जे दाबी गरे पनि चित्र अस्पष्ट छ । सामान्यत प्रत्येक दलमा असन्तुष्टि देखिएका छन् । यी असन्तुष्टि अन्तर्घातमा परिणत नहोला भन्ने ठोकुवा गर्न सकिन्न । २०७० सालयता यस प्रदेशमा मतदाताको संख्यामा उल्लेख्य वृद्धि भएको छ । बढेको मतदाताको रुझान कतातिर जान्छ ? यो महŒवपूर्ण प्रश्न हो । अर्कोतिर जातीय समीकरण, रक्सी, मासु, पैसा, झूठो आश्वासनको गहिरो प्रभावलाई पनि अस्वीकार गर्न सकिन्न ।

मधेशमा व्यापक असन्तुष्टि थियो, छ । मधेश आन्दोलनताका लगभग हरेक दलका व्यक्ति सडकमा ओर्लिएका थिए । ठूलो तटस्थ जमात पनि आन्दोलनमा सरिक भए । यहाँसम्म कि प्रत्येक दलभित्र मधेशका नेताहरूले आवाज उठाएको समाचार पनि न आएको होइन । तर, आज स्थिति फेरिएको छ । आन्दोलनको समयमा सडकमा देखिएको भीड घर फर्किसकेको छ । छाता ठूलो भए पनि आज आन्दोलनका सहभागीहरू एउटै ओतमा छैनन् । प्रश्नहरू तेर्सिएका छन् । यत्रो आन्दोलनले के दियो ? यति शहीद भए, त्यसको के अर्थ ? संविधान संशोधन कता गयो ? नेताहरूले के गरे ? ठूला दल यति असहिष्णु किन भए आदि । यी प्रश्न गुन्दै चुनावमा आम जनता सहभागी पनि छन् र केही बहिष्कार पनि गरिरहेका छन् ।

प्रश्नहरूको फेहरिस्त लामो भए पनि देशले एउटा अवसर पाएको छ । प्रदेश नं २ को चुनाव सबै दलको प्रतिष्ठा बनेको छ । कांग्रेस आफ्नो गढमा कुनै पनि हालतमा रूख नढलोस् भन्ने चाहन्छ भने मधेशकेन्द्रित दल सर्वाधिक सिट ल्याएर काठमाडांैमा आफ्नो मुद्दालाई कोही साइकल चढेर कोही मसाल लिएर स्थापित गर्न चाहन्छन् । एमालेले यो प्रदेशमा सम्मानजनक मत ल्याएर आफ्नो अडान सही प्रमाणित गर्न खोज्दैछ । माओवादी केन्द्रको अध्ययक्षलाई त मधेशसँग ‘लभ’ नै परेको थियो । अन्य प्रदेशमा उत्साहजनक स्थान नआएकोले ‘प्रेमी प्रदेशमा’ त प्रतिष्ठा जोगाउनै पर्‍यो ।

यस्तै नयाँशक्ति जस्ता नयाँ दल र कतिपय पुरानो पार्टीले समेत अन्य प्रदेशमा खासै स्थान नपाएकोले प्रदेश नं २ मा आफ्नो इज्ज्त जोगाउन खोजिरहेको देखिन्छ । त्यसैले होला, प्रत्येक दलका उप्पलो तहका नेताहरूको निरन्तर दौडाहा मधेशमा बढेको छ । मधेशी जनतालाई आ–आफ्नो पक्षमा पार्न भए पनि प्रत्येक दलका नेताहरूले मधेशको असन्तुष्टिलाई सन्तुष्ट पार्न बाचा दिने अवसर पनि यो चुनावले दिलाएको छ । यसबाट देशमा एउटा सकारात्मक वातावरण निर्माण हुने आशा गर्न सकिन्छ । अन्यथा दुई–चार वर्षमा फेरि आन्दोलन हुन सक्ने सभावना इन्कार गर्न सकिन्न । आशा गरौं, सबैले विवेकपूर्ण पाइला चाल्ने छन् र देशले निकास पाउनेछ ।

लाभ अर्थशास्त्री हुन् ।

साथमा याे पनि पढ्नुहाेस्

प्रदेश २ काे चुनाव : कथ्यको भिडन्त

 

प्रतिकृया दिनुहोस