MENU

टिप्पणी

635x90

बिस्तारै त मृत्युमात्रै आउँछ

प्रदीप परियार मंगलवार, भाद्र २७, २०७४

एक मारवाडी किशोरीले हामीलाई सुनाइन्, ‘वीरगन्जमा हाम्रो तीन–चार पुस्ता बसिसक्यो । मेरो बोलीमा यहीँकै लवज छ । तर, मेरो थर सुनेपछि सबैले भारतीय ठान्छन् । म अग्रवाल थर फेरेर चौधरी थर राख्न चाहन्छु ।’पहिलो मधेश आन्दोलनमा खुट्टा गुमाएका श्रवण झालाई हामीले राजविराजमा भेट्यौँ । खुट्टा गुमे पनि प्रेमिकाले साथ छाडिनन्, त्यसैले औधी खुशी रहेछन् । केही समयअघि अन्तर्जातीय विवाह पनि भइसकेको छ । युवा अभियन्ता ब्रबिमकुमारको संयोजन र केही मित्रहरूको सहयोगमा हामीले उक्त दम्पतीलाई स्कुटरको साचो बुझायौँ । उनीहरूको मुहारमा देखिएको चमक अझै पनि मेरो मानसपटलमा ताजै छ ।

मधेशमा महिलाको कुरा गर्ने बित्तिकै घुम्टोभित्र छन् भन्ने गरिन्छ, तर मधेशका महिलाले घुम्टो उघारिसकेको थुप्रै उदाहरण छलफलमा आयो । हरेक मधेश आन्दोलनमा उनीहरू अग्रपंक्तिमै रहेकोले ‘मधेशका महिला घुम्टोभित्र’ भन्ने कुरा पुरानो भइसकेको र विश्वास नलागे मधेशका गाँउ घुम्न हामीलाई उनीहरूले अनुरोध गरे । मधेशका युवामा काठमाडौंले हाम्रो कुरा सुनेन भन्ने कुरा परेको छ । अहिले संविधान संशोधन हुन नसक्नुले अतिवादी झुकावलाई मलजल गर्र्ने सम्भावना छ । जे गरे पनि काठमाडौंले नसुन्ने रहेछ भन्ने पर्दै गएको देखिन्छ । मधेशको मुद्दा कमजोर भए पनि आन्दोलन उठ्नेमा उनीहरू ढुक्क थिए । लेखक सीकेलालले आन्दोलन ‘रिले रेस’जस्तै हो कहिले थाकिन्छ, थाकेपछि आराम गरेर फेरि कुद्नुपर्छ भनेका छन् । त्यसका लागि युवापुस्ता बिस्तारै तयार भएको देखिन्छ ।

एक दलितले गुनासो पोखे, जसले छिमेकीको घर कस्तो छ देखेको छैन । उनले मन मिल्ने साथीको घरमा ३२ वर्षपछि पाइला टेके । उनलाई उसको घर जाँदा अपमानित हुने भयले नजानु नै बेश लाग्यो । उनी गुरुलाई नमन गर्छन्, तर अहिले पनि मैले बिर्सेको छैन, पानी परेको त्यो दिन उनी ट्युसन पढाउने सरको घरको ढोकाभित्र छिर्न नपाएपछि रुझ्दै घर फर्के । काठमाडौंमा घरभाडामा विभेद भएपछि १० वर्ष मुसलमानको घर बसे । उनलाई यी फहेरिस्त सुनाइरहँदा कि रुन मन लाग्छ, कि विद्रोही हुन कर लाग्छ । यहाँका आदिवासी/जनजातिले मातृभाषामा शिक्षा लिन पाएनन् । कसैले भन्नुहोला, अंग्रेजीको जमाना आइसक्यो, मातृभाषा सिक्नेलाई कसले रोकेको छ र, सिके भइहाल्यो नि । केही समयअघि म सिंगापुर यात्राको क्रममा सिंगापुरको रेलमा तमिल क्षेत्रमा पुग्दा तमिलमा, मलेसियन क्षेत्रमा पुग्दा मलेमा, चिनियाँ क्षेत्रमा पुग्दा चिनियाँ भाषामा उद्घोषण गर्ने चलन देखेँ । यहाँ पनि मातृभाषाको महत्व बुझ्न ढिला भइसक्यो ।

मधेशमा महिलाको कुरा गर्ने बित्तिाकै घुम्टोभित्र छन् भन्ने गरिन्छ, तर मधेशका महिलाले घुम्टो उघारिसकेको थुप्रै उदाहरण छन्।

महिला, जसले परिवार राम्रोसँग चलाउछिन् । किन देश चलाउन सक्दिनन् भनेर सोचिएन । कहिलेकाहीँ म आमालाई हेर्छु, उहाँले पढ्न पाउनुभएन । आधा जिन्दगी अन्धकारमै बित्यो । तर, त्यही पुस्ताका बुवाले भने पढ्न पाउनुभयो । बुवा अफिस जाने हुनुभयो । आमा महिला भएकोले हुने पीडा त छँदैछ, त्यसमाथि दलित भएकोले हुने पीडा पनि थपिएको छ । पानीको पालो पाउन अरूले भरेपछि घण्टाैँ पानी लिन बसेको कथा अझै सुनाउनुहुन्छ । हामीले गरेको विभेदका कारण महिलाहरू पछि परेका हुन्, हामीले पछि पारेका हौँ । अब माफी मागेर खुला हृदयले सँगैसँगै अगाडि बढ्नुको विकल्प छैन । काठमाडांै खाल्डोमा कति पटक सडक पिच भए, भत्के । अहिले पनि राम्रो सडक भत्काएर नाटक गर्दैछन् । यसको सबै हिसाबकिताब जोडाैँ र सुर्खेतदेखि जुम्ला पुग्न बनाएको बाटोको हिसाब जोडौँ ।

त्यसले प्रस्ट पार्छ विभेद छ कि छैन ? कुनै वेला डोरबहादुर विष्टजस्ता मान्छे नभएको भए अहिले पनि कर्णालीमा प्राविधिक शिक्षा पढाउने विद्यालय सायदै हुने थिएन होला । भनिन्छ, कर्णाली जडीबुटीको भण्डार हो, तर अहिले कर्णालीका कति विद्यार्थी छात्रवृत्तिमा राज्यले पढाइरहेको छ ? के एउटा आयोग बनाएपछि सबै सकियो ?यी केही उदाहरणपछि अब सीधा हिसाबले भन्नुस्, देश कसले चलाएको छ, र देश समावेशी कसरी छ ? अझै पनि मान्छेहरू भन्छन् समावेशिता किन चाहियो ? यसको उत्तर सजिलो छ ।

देशको विविधताको झल्को जबसम्म राज्यसंरचनामा देखिँदैन र विभेद समाप्त हुँदैन, तबसम्म समावेशिता चाहिन्छ । आजभन्दा ६० वर्षअघि कांग्रेसको महामन्त्रीमा दलित चुनिएको मान्छेलाई आज केन्द्रीय कमिटीमा आउन आरक्षण चाहिने भएको छ । कम्युनिस्ट पार्टीका संस्थापकहरू पनि जनजाति नै थिए, अहिले केन्द्रीय कमिटीमा आउन आरक्षण चाहिएको छ । भनिन्छ, विकास र परिवर्तन विस्तारै हुन्छ, समय आउँछ, पर्खिनुपर्छ । भारतीय कवि सर्वेस्वरदयाल सक्सेनाले भनेझैं विस्तारै विस्तारै त मृत्यु मात्रै आउँछ । के हामी सबै उत्पीडितहरूले मृत्यु आउने समय मात्रै कुर्दै बस्ने त ?

 

 

प्रतिकृया दिनुहोस