MENU

टिप्पणी

Annapurna635x90

भोलिको नेपाली सिनेमा

लक्ष्मीनाथ शर्मा सोमवार, भाद्र २६, २०७४

नेपालमा शुरुदेखि हालसम्म अनेकौं कथामा सिनेमा निर्माण भए । केही अति सुन्दर, दोहोर्‍याई–दोहोर्‍याई हेरौँ जस्ता, असल, कम असल र अति कमसल सिनेमा पनि बने । सिनेमा अनेक प्रकारका हुँदा–हुँदै तिनमा एक किसिमको समानता हुन्छ । यसमा सानोठूलो अथवा छोटोलामो हुन सक्ने गुण एकातिर छँदै छ भने अर्कोतिर जे–जस्तो भए पनि सिनेमामा कथात्मकता वा कुनै कथ्य अनिवार्य तत्व हो । अर्थात् यसमा जीवन र जगतसम्बन्धी कुनै न कुनै विषयवस्तु हुन्छ नै । तथापि, एउटा सिनेमा अर्को सिनेमासित ठ्याक्कै मिल्ने गरी बनेका हुँदैनन् ।

हामीलाई के भान हुन सक्छ भने वैज्ञानिक कारखानामा उत्पादित एउटा उत्पादन त्यसै कारखानामा उही उपकरणद्वारा उत्पादन गरिएको अर्को उत्पादनसित रूप, आकार, तौल, लम्बाइ, चौडाइ ठ्याक्क मिल्न जान्छ र तिनमा समानता पाइएजस्तै सिनेमा पनि उस्तै–उस्तै र उही किसिमको हुनुपर्ने हो । तर, कारखानाको यन्त्रद्वारा निर्माण गरिने सामान नभई उस्तै–उस्तै प्रकृतिको क्यामेराद्वारा उही किसिमले छायांकन गरी निर्माण हुने वस्तु भए पनि भिन्ना–भिन्नै मानिसले आ–आफ्नो सोचाइअनुसार सिर्जना गर्नुपर्ने विषय भएकाले एउटा निर्देशकले बनाएको सिनेमा अर्को व्यक्तिले बनाएको सिनेमासित मेल खाँदैन ।

सिनेमा नितान्त सिर्जनशील र सांस्कृतिक उत्पादन हो । यद्यपि, सिनेमा राम्रा–नराम्रा, असल अथवा उत्कृष्टस्तरको निर्माण हुन सक्नु र नसक्नुमा निर्माणमा संलग्न व्यक्तिहरूको क्षमतामा भर पर्छ । कतिपय अवस्थामा नराम्रै सिनेमालाई पनि आमदर्शकले मन पराइदिन सक्छन् । तथापि, कम असल सिनेमा बढी दिन चलेर तुलनात्मक बढी नाफा कमाए भन्दैमा तिनलाई सर्वग्राह्य र सर्वश्रेष्ठ मान्न सकिन्न । त्यसका निम्ति तिनमा पूर्ण स्तरीयता, सामाजिक तथा राष्ट्रिय उपयोगिता, पूर्ण कलात्मक वैचारिक उच्चता तथा राष्ट्रिय मौलिकताको दक्षतापूर्ण प्रस्तुति हुनुपर्छ । तथ्यमूलक, सन्देशमूलक र उद्देश्यमूलक तथा विश्वसनीय सिर्जना बन्न सक्नु सिनेमाको गहकिलो आवश्यकता हो । छिचरो, क्षणिक र सतही मनोरञ्जन मात्रै प्रस्तुत भएका सिनेमा दीर्घकालसम्म स्मरणीय हुन नसक्ने मात्रै होइन, त्यस्ता सिर्जना उपयोगिताविहीन पनि हुन सक्छन् ।

वास्तवमा विश्वका जुनसुकै देशमा पनि व्यावसायिक उद्देश्यले निर्माण गरिएका अनगिन्ती सिनेमाले त्यस देशको उद्योगलाई बलियो गरी दीर्घकालीन प्रतिष्ठापित गरेका हुन्छन् । तर, तिनमा विषयवस्तुको छनोटमा गहन अध्ययन र अन्वेषण गरिएको हुन्छ । विषय जेसुकै भए पनि ती सिनेमा दर्शकका निम्ति मनोरञ्जक र ग्राह्य हुन पुग्छन् । यसै सन्दर्भमा नेपाली सिनेमाको कुरा गर्दा अति थोरै मात्र सिनेमामा प्रस्तुत विषयवस्तुबारे तथ्यपूर्ण खोज गरिएको देखिन्छ । यसै सिलसिलामा सिनेमा माध्यम क्षणिक मनोरञ्जनको मात्रै साधन नभएकाले यसको दीर्घकालीन उन्नति र विकासका निम्ति नेपालमा कस्ता सिनेमा निर्माण गर्नु आवश्यक छ, अथवा भोलिका हाम्रा सिनेमा कस्ता स्वरूपमा निर्माण भए, यसले हाम्रो उद्योग फस्टाउने थियो भनी केही अड्कल गर्न सकिन्छ ।

यद्यपि, माथि नै उल्लेख भएबमोजिम सिनेमा भन्ने कुरा ठ्याक्कै यसरी नै बनाउनुपर्छ अथवा यस्तै हुनुपर्छ भनी तोक्नु ठीक हुँदैन । किनभने, यो विषय नै एउटा सामाजिक र सांस्कृति सिर्जनाको आ–आफ्नै विशेषता सँगालिने उत्पादन हो । तथापि, व्यक्तिगत अभिव्यक्तिको निजी प्रस्तुति हो भन्दैमा कुनै पनि सिनेमा निर्देशकले सामाजिक दायित्वबोध र प्रस्तुतिमा अँगाल्नुपर्ने आत्मनियन्त्रण र उत्तरदायित्वलाई मनन नगरी व्यवहारमा ओरालियो भने उसको असफलता हुन सक्छ । केवल प्रसिद्धिको लालसा बोकेर नाम र दाम कमाउने अथवा मोजमज्जा मात्रै गर्ने, रहरै–रहरले सिनेमाको निर्माणमा होमिने कार्यमा अघि बढेको स्थितिका प्रशस्त उदाहरण भेटिएका छन् । यस्तो अनुत्तरदायी कार्यले उद्योगको भविष्यलाई उल्टो बाटोतिर हिँडाएको छ । तर, उपरोक्त किसिमका थुप्रै दृष्टान्त हुँदाहुँदै पनि सिनेमा उद्योगको भविष्यको उन्नत र फराकिलो सडक सम्याउने प्रयास पनि प्रशस्तै देखिएका छन् । संकेत के पाइएको छ भने निष्पट्ट अँध्यारो हटेर शनैःशनैः नेपाली सिनेमाको आँगनमा झलमल्ल घाम लाग्न शुरु हुँदैछ ।

केवल प्रसिद्घिको लालसा बोकेर नाम र दाम कमाउने अथवा मोजमज्जा मात्रै गर्ने, रहरै–रहरले सिनेमाको निर्माणमा होमिने कार्यमा अघि बढेको स्थितिका प्रशस्त उदाहरण भेटिएका छन्।

मौलिक विषयवस्तु नेपाली सिनेमा निर्माणमा देखापर्न थालेका छन् र विदेशी भाषाका सिनेमाको दुरुस्त नक्कल गर्ने परम्पराबाट धेरै निर्देशक जोगिन थालेको देखिन्छ । नेपाली माटो र पृष्ठभूमिको मौलिकताको महत्‍व झल्किने कथ्य तथा लोकभाका र लोकगीत यस माध्यममार्फत् प्रस्तुत हुन थालेका छन् । नक्कली, अति नाटकीय र उडन्ते कल्पना भएका कथाहरूको साटो नेपाली गाउँठाउँ तथा परिवेशका मौलिक परिचय दिलाउने कथ्यहरू पनि क्रमशः आउन थालेका छन् । त्यसका साथै नेपाली सांस्कृतिका परिपूरक जनजातिका सिनेमाले नेपाली जनजीवनको पूर्णतालाई अगाडि बढाउन थालिसकेका छन् । तर, तिनलाई राष्ट्रव्यापी प्रदर्शन गराउने कार्यलाई अगाडि बढाउनुपर्ने दायित्वबाट सरोकारवालाहरू पछाडि हटिरहेको अवस्था छ । अनावश्यक तथा अनुपयोगी विदेशी सिनेमा सस्तो मनोरञ्जन र व्यावसायिकताका नाममा राष्ट्रव्यापी रूपमा निरन्तर प्रदर्शन भइरहेका छन् । यस्तो भाषिक त्था सांस्कृतिक अतिक्रमणको थिचोमिचो तत्कालै कम गराउने प्रयाससम्म पनि कसैले गरेको छैन ।

यसलाई कम गराउँदै लैजाने बलियो उपाय सुन्दर तथा मौलिक नेपाली सिनेमा नै हुन सक्छन् । जसलाई अघि लम्काउने कार्यमा सिनेमासम्बन्धी ठोस तथा बलियो ऐन र नीतिनियम कडाइका साथ लागू गराउने कार्य राज्यको उत्तरदायित्व हो । हाम्रो राज्य सिनेमा क्षेत्रलाई कुनै वास्तै नगरी उपेक्षाको दृष्टिले हेरिरहेको छ । कुनै पनि प्रोत्साहन र आर्थिक सहयोगको लगानी नै नगरी केवल प्रतिफलको मात्रै मुख ताक्नु सरकारी पक्षको ठूलो हेलचेक्र्याइँ हो । जेजति हुन सकेको छ, निजी निर्माताहरूबाटै भएको छ, तर त्यतिले मात्रै पुग्ने अवस्था छैन । अर्को कुरा, सबै सिनेमाको नियमसम्मत तथा सर्वग्राह्य रूपमा वितरण, प्रदर्शनको वैज्ञानिक पद्धति लागू गर्न अबेर भइसकेको छ ।महिला सिनेमा निर्देशकहरू पनि केही वर्षयता उल्लेख्य देखापरेका छन् । दर्शकलाई सामाजिक तथा राष्ट्रिय उत्तरदायित्वको बोध गराउन महिला निर्देशकहरूका सिर्जनाले समेत ठोस योगदान दिन सक्ने भएकाले उनीहरूलाई पनि प्रोत्साहन दिन अत्यन्त आवश्यक छ ।

अर्काेतिर केही वर्षयता निजी तवरबाट खोलिएका सिनेमा शिक्षालयले पनि सिनेमाकर्मी बन्न इच्छुक युवालाई सिनेमासम्बन्धी प्राज्ञिक ज्ञान दिलाउन सहयोग पु¥याइरहेका छन् । उनीहरूबाट पनि भोलि असल सिनेमा निर्माण गर्नमा योगदान पुग्नेछ भनी अपेक्षा गर्न सकिन्छ । त्यसैगरी आजका युवा विश्वका विकसित देशका असल सिनेमासित सजिलै परिचित हुन पाइरहेका छन् । त्यसबाट समेत असल सिनेमाबारे चेतनामा अभिवृद्धि हुँदै आएको छ । त्यस्तै, हाम्रा दर्शकमा सिनेमा हेर्ने दृष्टिकोणमा पहिलेभन्दा धेरै सुधार भइसकेको हुनाले अब जे पायो, त्यही देखाएर दर्शक झुक्याउन सकिँदैन । त्यसैले अब बन्ने सिनेमा स्तरीय हुनैपर्छ । आशा गरौं, विदेशी सिनेमाको एकोहोरो तथा डरलाग्दो भाषिक र सांस्कृतिक अतिक्रमण नियन्त्रण गर्न राज्यको मात्र मुख नताकी हाम्रा सिनेमा निर्देशकहरूले नेपाली भाषाको शुद्ध प्रयोग, बहुजातीय सांस्कृतिकताको ख्याल गरी उत्कृष्ट सांस्कृतिक प्रस्तुतितिर ध्यान दिनेछन् । मौलिक कथाहरूलाई तथ्यपरक, कलात्मक, रोचक, उद्देश्यमूलक तथा उपयोगितापूर्ण ढंगले आ–आफ्ना सिनेमा प्रस्तुत गर्नेछन् ।

समाजमा व्याप्त गरिबी, बेरोजगारी, भौगोलिक दुरुहता, भ्रष्टाचार, अन्याय, असमानता, अन्धविश्वास, व्याभिचार, कुरीति र अज्ञानताको जालो हटाउँदै विकृति र विसंगतिहरूको चिरफार गरेर रचनात्मक तरिकाले सुनौलो र उज्यालो मार्गतिर लाग्ने प्रेरणा दिँदै सामाजिक रूपान्तरणको दिशानिर्देश गर्नेछन् । यसमा एउटा–दुइटा मात्र सिनेमा बनाएर पुग्दैन । सयौं सिनेमा निरन्तर बन्दै जानुपर्छ जसले चेतना र ज्ञान अभिवृद्धि, मानवीय समानता, जातीय सद्भाव र सद्व्यवहार, देश प्रेम र राष्ट्रिय एकता, सकारात्मक सोच, विकासोन्मुख व्यवहार, सामाजिक अनुशासन आदिबारे प्रेरणा दिन सकून् । यस्ता असल सिनेमा बन्दै गए नेपाली सिनेमा समृद्ध बन्नेछ । यसले रोजगारीमा बढोत्तरी भई नेपाली सिनेमाको बजार देशबाहिर पनि विस्तृत हुनेछ, राजस्व वृद्धिसमेत हुन सक्नेछ भन्ने अड्कल काट्न सकिन्छ ।

भोलिका निर्देशकहरूले परम्परागत महाभारत, रामायण अथवा बाइबललगायत साहित्यिक कथालाई पछ्याएर तिनको दास बनी त्यस्तै सिनेमा निर्देशन गर्नुको साटो आफ्नो मौलिक दृष्टिकोण समावेश गरी निर्माण गरेमा उत्कृष्ट सिर्जना बन्न सक्छन् । त्यसका निम्ति कोरा कल्पनामात्र नभई विषयवस्तुसम्बन्धी तथ्यबारे गहन अध्ययन गर्नुका साथै तिनप्रतिको आफ्नो वैयक्तिक धारणा र दृष्टिकोण प्रकट गरेमा मात्र स्वच्छन्द, स्वतन्त्र, मौलिक कलात्मक सिर्जना हुन सक्छन् ।समाजमा भइरहेका सांस्कृतिक व्यवहारहरू समयको गतिअनुरूप सूक्ष्म रूपले परिवर्तित हुँदै गई मानिसको दैनिकीलाई नयाँ किसिमबाट प्रभावित तुल्याउँदै जान्छन् । सिनेमा निर्देशकलाई पनि परिवर्तित सांस्कृतिकताले प्रभावित तुल्याइरहेको हुन्छ । त्यस्ता सांस्कृतिक परिवर्तनका अनुभूतिहरूलाई निर्देशकको आफ्नै दृष्टिकोण र अनुभवअनुसार आफ्नो सिर्जनामा प्रकट गर्नु भोलिका सिनेमाको आवश्यकता हो । त्यसैगरी राज्यले अँगाल्ने राजनीतिक व्यवस्थाले पनि प्रभाव पारिरहेको हुन्छ ।

यसरी राजनीति, सामाजिक संस्कृतिले पारेको प्रभाव तथा उतार–चढावलाई निर्देशकले आफ्ना सिनेमामा वैयक्तिक दृष्टिकोणबाट दर्पणको रूपमा प्रतिबिम्बित गर्नु भोलिका निर्देशकहरूको दायित्व तथा इमानदारी बन्न जान्छ । अन्त्यमा हाम्रोजस्तो बहुजातीय, बहुभाषिक त्था बहुसांस्कृतिक नेपाली समाजभित्र हाँसोखुसी, व्यथा–पीडा तथा बहुरूपका करौडौं कथा लुकेर बसेका छन् । निर्देशकहरूले ती मौलिक कथाको सदुपयोग गर्नुपर्छ । सिनेमा भन्ने विषय निर्देशकहरूको सेल्फ एक्स्प्रेसन अर्थात् आत्माभिव्यक्तिको सबल माध्यम हो । त्यसैले, भोलिका दिनमा सुन्दर सिर्जनाद्वारा सिनेमाको भण्डार भर्दै जानेछन् भन्ने कुराको अपेक्षा निर्देशकहरूबाट गर्न सकिन्छ ।

साथै अभिनेत्री मनिषा काेइरालासँ‌गकाे अन्‍तरवार्ता पनि पढ्नुस् ।

सिनेमामा माैलिकता चाहियाे : मनिषा काेइराला

 

प्रतिकृया दिनुहोस