MENU

टिप्पणी

Annapurna635x90

दलाल पूँजीवादबाट दलाल राजनीतितर्फ

अजयभद्र खनाल शुक्रवार, भाद्र १६, २०७४

माओवादी केन्द्रले वाईसीएल ब्युँताएपछि नयाँ वादविवाद शुरु भएको छ । वाईसीएलको भनिएको उद्देश्य ‘माउ पार्टीले सञ्चालन गर्न लागेको समाजवादी क्रान्तिको तयारीमा सघाउ पुर्‍याउनु हो ।’ वक्तव्यमा वाईसीएलले सदस्यता विस्तार र निर्वाचनमुखी अभियान सञ्चालन गर्ने भनेको छ । यससँगै उसले भ्रष्टाचारविरुद्ध अभियान छेड्ने, समाजविरोधी गतिविधिको डटेर प्रतिवाद गर्ने र सत्य निरूपण आयोगलाई ‘सचेत’ गराउने काम प्राथमिकतामा राखेको छ ।वाईसीएलका नेताहरूको बुझाइमा उनीहरूको अभीष्ट भ्रष्टाचारीको मुटुमा ढ्यांग्रो ठोक्ने, कालोबजारी नामेट गर्ने र ठग्ने दलाल मेनपावरलाई कारबाहीको निसाना बनाउने हो । यसरी जनतामाझ लोकप्रिय हुन संविधान र कानुनअन्तर्गत रहेर राजनीतिक र सामाजिक अभियान सञ्चालन गर्नु कुनै पनि दलको काम नै हो । तर, वाईसीएलका नेताहरूको सार्वजनिक वक्तव्य, वाईसीएलको इतिहास र राजनीतिक सन्दर्भहरूको अन्तरविरोधको छिद्रबाट ‘युवा ब्रिगेड’को असली अभीष्ट प्रस्ट देख्न सकिन्छ । यसले नेपालको लोकतान्त्रिक रूपान्तरणमा चुनौती सिर्जना गर्ने पक्का छ ।

पुनः प्रचण्ड बन्ने माध्यम

पहिलो दुई चरणका निर्वाचनमा सोचेजस्तो परिणाम नआएपछि प्रचण्ड पार्टीलाई बलियो बनाउन ठूलो मानसिक तनावमा छन् । रोल्पा र अर्घाखाँचीजस्ता जिल्लामा पनि हार बेहोर्नुले आधार इलाका मानिएका क्षेत्रमा समेत माओवादीको पकड कमजोर हुँदै गएको आभास दिएको थियो । केही साताअघि दिक्दार मान्दै प्रचण्डले यस्तै अवस्था रहे पार्टी नै विघटन गर्ने धम्कीसमेत दिएका थिए । देवेन्द्र पौडेलहरूसँगको एकता कार्यक्रममा उनले भने, ‘प्रचण्ड आन्दोलन हो, अहिले कमजोर प्रतीत भएको छ । तर, एक वर्षभित्र पुनः प्रचण्ड बन्नेछु ।’

‘प्रचण्ड’लाई तेस्रो पुरुष मात्र नभई एउटा आन्दोलनका रूपमा देख्न र व्याख्या गर्न सक्ने स्वप्रेमले पुष्पकमल दाहालको अहम् कति ठूलो छ भनेर देखाउँछ । वाईसीएललाई पूर्वजनमुक्ति सेनाको पुनर्गठित रूप भनेर उद्घोष गरेका प्रचण्ड वाईसीएललाई ‘युवाहरूको विशाल फौज’ बनेको हेर्न चाहन्छन् । ‘मेरो अन्तिम इच्छा त्यही हो,’ उनले हालै भएको सम्मेलनमा भने, ‘युवाहरूको ब्रिगेड बनाउनुस् । तर, हिजोको जस्तो मेसिनगन चलाउने होइन, आर्थिक समृद्धिको लागि युवाहरूको फौज चाहिएको छ ।’

अरूलाई भयभीत बनाउन सक्ने पहिचानप्रति प्रचण्डको कति लगाव रहेछ भन्ने कुरा विद्यार्थी सम्मेलनमा पनि देखापर्‍यो । पहिले यथास्थितिवादीहरू माओवादी भन्नेबित्तिकै डराउँथे, बीचमा हेप्न थाले । माओवादी धुव्रीकरण र एकीकरणको दिशामा अघि बढेपछि तिनीहरूको सातो उडेको छ । यो खुशीको कुरा हो ।’यी घटनाक्रमबाट प्रस्ट हुन्छ, ‘पुनः प्रचण्ड बन्नु भनेको भय सिर्जना गर्न सक्ने पहिचान बनाउनु हो ।’ हुन पनि आजकाल माओवादीसित मान्छे डराउन छाडिसकेका छन् । केही दिनअघि लेखकसँगको भेटमा एक ठूला व्यापारीले भनेका थिए, ‘अब माओवादीसित डराउने दिन गएछ । मैलै उनीहरूलाई चन्दा नदिई फर्काइदिएँ ।’

आइडियोलोजीको अन्त्य

यो माओवादको राजनीतिक स्खलनको द्योतक पनि हो । पुँजीवादी लोकतन्त्रको भासमा फसेर हार स्वीकार गरिसकेपछि माओवादीहरूको आइडियोलोजीको औचित्य समाप्त भइसकेको छ । उनीहरूले आफूलाई न लोकतान्त्रिक विकल्पमा रूपान्तरण गर्न सकेका छन्, न समाजवादको नेतृत्व नै गर्न सकेका छन् । राजनीतिक कमजोरीका कारण माओवादीहरूले जनपक्षीय र माक्र्सवादी सिद्धान्त त्याग्दै गएका छन् । यो लक्षण एमालेमा पनि देखिन्छ । हाम्रा राजनीतिक दलहरूले वर्गीय दुश्मन खडा गरेर सामाजिक द्वन्द्व मात्र बुझेका छन् । संरचनागत संस्था र पद्धतिका कारण हुने असमानता र दोहनसँग लड्ने न ज्ञान छ, न क्षमता ।

यही कमजोरीका कारण पुँजीवादलाई बदल्न युद्धमा होमिएका योद्धालाई पुँजीवादले उल्टै ‘दलालका पनि दलाल’ बनाइदिएको छ । प्रचण्ड आजका दिनमा आत्मसुरक्षाका लागि साम्राज्यवादको मात्रै नभएर दलाल पुँजीवादीका पनि सेवक बन्न पुगेका छन् ।नैतिक मात्र नभएर बौद्धिक सचेतनाको अभावमा पनि सैद्धान्तिक स्खलन आएको हो । त्यसैले हामीले भन्नैपर्छ, सामाजिक असमता र दलाल पुँजीवादविरुद्ध जतिसुकै ठूला कुरा गरे पनि नेपालका कम्युनिस्टहरू आखिरमा नैतिक र बौद्धिक रूपमा खोक्रा छन् । माओवादी पार्टी मात्र अस्तित्वको संकटमा हैन, नेताहरू नै पनि असुरक्षित अनुभव गरिरहेका छन् । आइडियोलोजीको अभावमा उनीहरूका लागि राजनीति अब जनताको हितको लागि गरिने अभ्यास हैन, शक्ति आर्जन र स्वसुरक्षाको रणनीति मात्र हो । देवेन्द्र पौडेलहरूको फिर्ती यसको संकेत हो ।

शक्ति र पुँजीबजारमा पहुँचको माध्यम

राष्ट्रवाद, लोकतन्त्र, जनवादजस्ता अवधारणाहरू रातारात राजनीतिक दर्शनबाट शाब्दिक आडम्बरमा स्खलित हुने आधुनिक समाजमा युवा फौजको रूपमा वाईसीएलको अन्तर्य बाँचिरहनु आश्चर्यजनक नहुन सक्छ । वैध स्रोतबाट राजनीतिक शक्ति आर्जन गर्न माओवादी पार्टी असक्षम सावित भएको छ । राजनीतिक शक्तिको स्रोत धेरै हुन्छन् । माओवादीले शक्तिका यी सबै स्रोत गुमाउँदै गएको छ । अब उसँग केवल हिंसात्मक शक्ति मात्र बाँकी छ । सायद उसले जानेको पनि त्यही हो । जनताको इमानदार प्रतिनिधित्व सहभागिता र राजनीतिक कार्यक्रमका आधारमा जनसमर्थन बटुल्नुबाहेक नेपाली राजनीतिमा अहिले राजनीतिक शक्तिका तीन–चार वटा प्रमुख स्रोत देखिएका छन् ।

तीमध्ये दोहन र दलालीमार्फत् पुँजी संकलन गर्नु, दोहनकारी सञ्जाल बनाउनु र भारत वा चीनको सहयोग लिनु प्रमुख शैलीका रूपमा देखापरिरहेका छन् ।
यी शैलीले भ्रष्ट व्यापारी नेता तथा कर्मचारीको सञ्जाल झन् बलियो हुँदै गइरहेको छ भने सार्वजनिक स्रोत र सम्पत्तिको दुरुपयोग र ठूल्ठूला परियोजनाबाट आउने कमिसनको चलखेलले राज्य सञ्चालनलाई अस्थिर बनाएको छ । राजनीतिले नै यी सबै कुरामा पहुँच दिने हुनाले राजनीति महँगो हुनु त स्वाभाविक भइहाल्यो । माथि उल्लेखित सबै स्रोतहरूमा माओवादीको पहुँच केही कमै छ । यस्तो अवस्थामा प्रचण्डको छटपटी बुझ्न सकिन्छ । युवाहरूको ब्रिगेड माओवादीका लागि नेपालको पुँजी बजारमा

हस्तक्षेप गर्ने प्रभावकारी औजार हुन सक्छ । प्रचण्ड पहिलोपल्ट प्रधानमन्त्री हुँदा वाईसीएलले ६ वटा हत्या, कुटपिट, घाइते र आगजनी ९३, अपहरण १९, लुटपाट १४ र घरजग्गा कब्जाका ११ घटना गराएको थियो । त्यसैगरी भरतपुर महानगरपालिकाकाको मतगणना अन्तिम चरणमा पुगेका वेला वाईसीएलका जिल्ला नेताले मतपत्र च्यातेर निर्वाचन प्रक्रिया र नतिजालाई नै प्रभावित तुल्याएका थिए ।

दलाल राजनीतिको साधन

वाईसीएलका नेता दीपशिखाले तीन वर्षअघि भक्तपुरमा कृषि फार्म खोलेका थिए । ‘राजनीतिक कार्यकर्ता स्वयं उत्पादनशील बन्नुपर्ने र भ्रष्टाचारको आडमा राजनीति धान्न नहुने उनको असल मान्यता छ । मिडियासँग उनले भनेका थिए, ‘बेइमानहरूलाई बाँच्ने ठाउँ धेरै छन्, तर इमानदारपूर्वक बाँच्न केही न केही गर्नैपर्छ ।’ नेताहरूको वचन र व्यवहारबीचको खाडलसँग दीपशिखा परिचित छन् । नेताहरूले देशको आर्थिक संरचना ध्वस्त बनाउन कार्यकर्तालाई प्रोत्साहित गरे । कार्यकर्ताले न पढ्न पाए न आर्थिक विकासको फल नै प्राप्त गर्न सके ।

उता नेताहरू भने लुटेको पैसा र सत्तामा लिप्त हुन थाले । देश जनता र कार्यकर्ता गरिबीमा जकडिए, नेता फस्टाए । वैधानिक कमाइधमाइबिना उनीहरू भड्किलो जीवनशैली बाँच्ने र चुनावमा करोडौं खर्च गर्ने हैसियतका भए । कालो धन लुकाउन मात्र केही व्यवसाय गरेको जस्तो नाटक गर्न थाले । माओवादी कार्यकर्ताहरूको देश बदल्ने सोच राम्रो हो । आयआर्जनबिना भ्रष्टाचार र दुराचारको माध्यमबाट कालो सम्पति र शक्ति आर्जन गर्ने दलालप्रति आक्रोश पाल्नु पनि जायज नै होला । तर, देश बदल्न अपनाउने माध्यमले आखिर आफैँलाई पिरोल्छ । यो माओवादी कार्यकर्ताले बुझ्ने वेला भइसकेको छ ।वाईसीएलजस्ता गलत माध्यमले दलाल राजनीतिको राक्षस सिर्जना गर्छ । जसरी पुँजीवाद टिकाउन दलाल पुँजीवाद दोषी छ, त्यसरी नै दलाल पुँजीवाद टिकाउन दलाल राजनीति दोषी छ ।

फरक के छ भने दलाल राजनीति नेताले नभएर गलत माध्यममा लाग्ने कार्यकर्ताले अभ्यास गर्ने गर्छन् । जसरी पुँजीवादले श्रम शोषण गरेर पुँजी संकलन गर्छ त्यसैगरी नेताहरूले पनि राजनीतिक शोषण गरेर शक्ति आर्जन गर्ने गरेका छन् । त्यसबाट मुक्ति पाउनु पनि जनता र कार्यकर्ताको उद्देश्य हुनुपर्छ । आखिर दलाल पुँजीपति र दलाल कार्यकर्ताबीच के नै भिन्नता रह्यो र ? एकथरी पुँजीपति दलाल भएर चुहिएको पैसामा रमाउँछन्, अर्काथरी नेताको दलाली गरेर चुहिएको लाभ बटुल्छन् । तर, दुवैले अन्ततः देश र जनताको दोहन गर्ने पद्धतिको आयु लम्ब्याउन मद्दत गरिरहेका छन् ।

विवेकको ग्रहण

यी प्रक्रियासँग आधुनिकीकरण र सामाजिक परिवर्तनका केही सैद्धान्तिक आयाम पनि जोडिएका छन् । नेपालको सन्दर्भमा यी विषय सान्दर्भिक भएकाले जटिल भए पनि संक्षिप्त चर्चा गर्न चाहन्छु । आजको नयाँ संघर्ष वर्गीय शोषणविरुद्ध सामाजिक द्वन्द्व मात्र नभई पद्धतिगत दोहनविरुद्ध मौन क्रान्ति पनि हुनुपर्ने हैन र ? फ्रान्सेली क्रान्तिको अर्थ केलाउँदै सामाजिक चिन्तक जिमेलले दुईखाले स्वतन्त्रताको कुरा गरेका थिए (व्यक्तिगत स्वतन्त्रता र सार्वजनिक स्वतन्त्रता) । सार्वजनिक स्वतन्त्रता भनेको हामी सबैको साझा मुक्तिको चाहना हो भने व्यक्तिगत स्वतन्त्रता भनेको व्यक्ति–व्यक्तिबीच हुने भिन्न गुणको अभिव्यक्ति स्वतन्त्रता हो ।

तर, माओवादी र कम्युनिस्टहरूले सार्वजनिक स्वतन्त्रताका नाममा व्यक्तिगत स्वतन्त्रतामाथि आक्रमण गर्ने गरेका छन् । जिमेलभन्दा अघि नै जेकोविनहरूको व्यक्तिगत स्वतन्त्रताविरुद्ध सार्वजनिक आतंकबारे हेगेलले गहिरो चिन्ता व्यक्त गरेका थिए र माक्र्सलाई पनि यसबारे राम्रो हेक्का थियो । नेपालमा पनि शक्तिको सामाजिक वितरणमा विस्तारै परिवर्तन हुँदै आएको छ । तर, अझै हाम्रो देशमा असली लोकराज्य आउन धेरै संघर्षको खाँचो छ । प्रचण्डको नेतृत्वमा यो अनिश्चत मात्र हैन, असम्भव बनेको छ ।

‘दी इक्लिप्स अफ रिजन’ पुस्तकमा म्याक्स होर्खाइमरले पुँजीवादबारे भनेझैं नेपालको सन्दर्भमा माओवादले आफ्नो उद्देश्य हासिल गर्न अझै पनि हिंसाको साधन अपनाइरहेको छ र शक्तिको त्यो साधन नै साध्य बन्न पुगेको छ । होर्खाइमरले भनेझैं माओवादीको विवेकमा ग्रहण लागेपछि साधन नै मुक्तिको बाधक बन्न पुगेको छ । लोकतन्त्रको बाटो अप्ठेरो छ । आधुनिक समाजका संरचनाहरू जटिल हुन्छन् र ती संरचना र संस्थागत संस्कार परिवर्तनको लागि नयाँ खालको क्रान्ति चाहिन्छ । प्रामाणिक ज्ञान र नैतिक बलको आडमा मात्र नयाँखाले क्रान्ति सफल हुन सक्छ । यसका लागि ग्राम्चीजस्ता पुराना माक्र्सवादीले अनुमान गरेझैं नैतिक शक्ति चेतना र बहुजनको नयाँ साझेदारी चाहिएको छ ।

प्रतिकृया दिनुहोस