MENU

टिप्पणी

635x90

बाँच्‍नलाई मार्नुपर्ने मोदीमय भारत

जीवन क्षेत्री शुक्रवार, भाद्र १६, २०७४

लामो दूरीको बसमा सबै यात्रु निदाएका थिए । ब्युँझँदा उनीहरू साम्प्रदायिक दंगाग्रस्त गाउँको छेउमा थिए । अनेक किसिमका अफवाहहरू फैलिइरहेका थिए । त्यत्तिकैमा साँझ पर्‍यो र दंगा उनीहरूलाई पनि लपेट्न आइपुग्यो । बसलाई हातमा हुर्किरहेको मशाल बोकेका दंगाकारीहरूले घेरा हाले । ढोका जोडले बजारेर बसै जलाउने धम्की दिएपछि उनीहरू ढोका खोल्न बाध्य भए । हिन्दु दंगाकारीहरूको नाइके केही सहयोगीहरूसहित बसमा चढेर मुसलमानहरूको खोजी गर्न थाल्यो । यात्रुहरू आतंकले बेहोशजस्तै भए । सबै थर्थरी काँपिरहेका थिए ।

अघिल्लो सिटबाट शुरु गरेर पुरुषहरूलाई लुगा खोलेर गुप्तांग देखाउने आदेश दिइयो । लिंगको छाला छेदन नगर्नेहरू हिन्दु ठहरिँदै ज्यान बक्सिस पाउँदै गए । बसमा एक जोडी वृद्ध मुसलमानहरू थिए, जसमध्ये लोग्नेले केही क्षणअगाडि सबैले देख्ने गरी बसको भुइँमा निहुरेर नमाज पढेका थिए । सबै आफ्नै ज्यानका लागि काँपिरहेका भए पनि ती दुईमाथि चाहिँ अनिवार्य संकट आइलागेको सबैले बुझे । अगाडिबाट केहीको गुप्तांग हेरेपछि लगत्तै पालो आउने सबैले आफ्ना हिन्दु नाम र थर बताउँदै एक स्वरले ‘हम हिन्दु हैं’ भने । कसैले जनै त कसैले गणेशको लकेट देखाउन थाले । आतंकित स्वरमा कसैले भन्न थाले, यहाँ हम सब हिन्दु हैं।

त्यत्तिकैमा एउटा युवकले वृद्ध जोडीतिर चोर औंला देखाउँदै फ्याट्ट भन्यो, नहीं, सब हिन्दु नहीं हैं, वह दो लोग मुसलमान हैं । बसमा सन्नाटा छायो । दंगाकारीहरूले बाघको मुद्रामा वृद्धको छेउमा गएर नाम सोधे । उनीहरू मुसलमान भएको पक्कापक्की भयो । दुवैलाई घिसार्दै बसबाट निकालियो र अँध्यारोमा गायब बनाइयो । अर्को दिन पत्ता लाग्यो, दुवैको घाँटी रेटेर हत्या गरिएको थियो । भारतीय मूलधारको सिनेमामा यस्तो दृश्य मैले अहिलेसम्म देखेको छैन, तर भारतीय उपमहाद्वीपको जीवनका अनेक पाटालाई सुन्दर तरिकाले देखाउने अलग धारका, स्वतन्त्र वा समानान्तर भनिने सिनेमाहरूले यस्ता अनेक ‘थिम’हरूलाई जीवन्त रूपमा पर्दामा उतारेका छन् ।

माथिको दृश्य विख्यात बंगाली निर्देशक अपर्ना सेन निर्देशित सिनेमा ‘मिस्टर एन्ड मिसेस ऐयर’को हो । एक्लै (बच्चासहित) दक्षिण भारतबाट बंगालतिर जाँदै गरेकी एक ऐयर थरकी युवती बस स्टेसनमा भेटिएको एक परिचित फोटोग्राफरसित बसमा यात्रा गर्दै हुन्छिन् । नाम हिन्दुजस्तो सुनिए पनि उसको धर्मचाहिँ इस्लाम हुन्छ, जुन कुरा पत्ता लगाउँदा युवती छाँगाबाट खसेजस्तै हुन्छिन् । तर, एकै छिनमा युवकको ज्यान जोखिममा पर्दाचाहिँ निमेषभरमै युवतीले उसलाई आफ्नो बच्चा थमाइदिएर उसलाई ‘मिस्टर ऐयर, हिन्दु’ भनेर परिचय गराउँछिन् । र, त्यही परिचयले उसको ज्यान बच्छ । मानव जीवनको सबैभन्दा सुन्दर र कुरुप पाटो के हो ? ऊ किन यति हिंस्रक र निर्मम बन्न सक्छ ? खास अवस्थामा प्रेम र करुणाजस्ता भावनाहरू कहाँ जान्छन् ? मानिस मानिसबीच यति धेरै विभाजन, विद्वेष र हिंसा किन छ ? यी प्रश्नले हजारौं वर्षदेखि मानव जातिको पिछा छाडेका छैनन् ।

एकपछि अर्को युग आउँदै गर्दा मानिसहरूका आशा र अपेक्षा चुलिँदै गए पनि मानव जाति झनै हिंस्रक मात्र हुँदै गएको छैन । अत्यधुनिक औजारहरूले हिंसालाई झनै सहज र रोक्नै नसकिने बनाएका छन् । यी पंक्ति लेखिँदै गर्दा भीडमा गाडी जोतेर गरिने आतंककारी आक्रमणको पछिल्लो सिलसिलामा बार्सिलोनामा धेरै मानिस हताहत भएका छन् । जतिवेला (सन् २००२ मा) ‘मिस्टर एन्ड मिसेस ऐयर’ बनेको थियो, त्यतिखेर भारतको इतिहासमा पहिलोपल्ट गैर–कांग्रेसी सरकारले पूरा कार्यकाल काम गर्दै थियो । भाजपा नेतृत्वको सरकारको संरक्षणमा धार्मिक अतिवाद र साम्प्रदायिकता चर्केको भनेर धेरैले आलोचना गरिरहेका थिए ।

लेखक खुशवन्त सिंहले ‘दी इन्ड अफ इन्डिया’ नामक छोटो पुस्तक नै लेखेर बहुलवादी धर्मनिरपेक्ष गणतन्त्रका रूपमा भारतको अन्त हुनै लागेको घोषणा गरेका थिए । तबसम्म अतिवादी ‘फ्रिन्ज’ भनिने धार्मिक अतिवादीहरू कसरी भारतको राज्य संयन्त्रमा हाबी भए भन्ने उदाहरणसहित सिंहले भारतका लागि अँध्यारो भविष्यवाणी गरेका थिए । लगत्तै सन् २००४ मा भएको चुनावमा भाजपाको गठबन्धन पाखा लागेर कांग्रेस नेतृत्वको सरकार बनेपछि खुशवन्त सिंहको त्यस्तो भविष्यवाणी गलत भएको धेरैले ठानेका थिए । तर सो गठबन्धनले दुई पदावधि वा एक दशकको समय बिताउँदा नबिताउँदै भारतमा अतिवादी साम्प्रदायिकताको राजनीति यस्तो मुस्लो बनेर उठ्यो कि २०१४ मार्चमा सिंहको मृत्यु भएलगत्तै ऐतिहासिक जनमतसहित नरेन्द्र मोदी प्रधानमन्त्री बने ।

एउटा युवकले वृद्ध जोडीतिर चोर औंला देखाउँदै फ्याट्ट भन्यो, नहीं, सब हिन्दु नहीं हैं, वह दो लोग मुसलमान हैं। बसमा सन्नाटा छायो।

त्यसयता भारत जस्तो बन्दै गइरहेको छ, त्यसको दाँजोमा राखेर हेर्दा १९९८ देखि २००४ सम्म चलेको अटल विहारी बाजपेयीको शासन ‘रामराज्य’ प्रतीत हुन्छ । र सिंहले साम्प्रदायिक राजनीतिको मियो मानेका बाजपेयी मोदीको तुलनामा सहिष्णुताका पर्याय र राजनेता लाग्छन् । २००२ को गुजरात दंगाका लागि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जिम्मेवार ठानिएका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदी र उनका उहिल्यैदेखिका निकट सहयोगी तथा हाल भाजपाका अध्यक्ष अमित शाह अहिले भारतीय समाजको ध्रुवीकरण र रूपान्तरणको अग्रपंक्तिमा छन् । तर, जनसंख्याका हिसाबले विश्वकै ठूलो मुलुकका रूपमा छिट्टै चीनलाई उछिन्ने क्रममा रहेको भारतका लागि सम्भवतः अहिलेको सबैभन्दा ठूलो चुनौती आम नागरिकमा गहिरिँदो साम्प्रदायिक ध्रुवीकरण र साम्प्रदायिक हिंसाको समाजमा बढ्दो स्वीकार्यता हो ।

माथि उल्लेखित सिनेमामा मुसलमान वृद्धलाई बसबाट निकाल्न थालिएपछि सन्नाटाबीच पनि एक युवती त्यो काम रोक्न चिच्याउँदै उठ्छिन् र दंगाकारीहरूको निर्मम मुक्का खाएर पछारिन्छिन् । संसारभर जति पनि यस्ता दंगा भएका छन्, तिनमा फरक सम्प्रदायका मानिसलाई संरक्षण दिएर बचाउनेहरूका मर्मस्पर्शी कहानीहरू बाहिर आइरहेका हुन्छन् । यही वर्षको २६ मेमा अमेरिकास्थित एउटा रेलमा मुसलमान र अश्वेत बालिकाहरूप्रति नश्लीय दुव्र्यवहार गरिरहेको जेरेमी क्रिश्चियन नामक श्वेत अतिवादीको प्रतिकार गर्दा रिक बेस्ट र टेलिसिन मेचे नामक दुई जनाले आफैं ज्यान गुमाएका थिए भने अरू एक जना गम्भीर घाइते भएका थिए । तर, त्यसको एक महिनापछि भारतमा उस्तै घटना घट्दा आम यात्रुहरूको प्रतिक्रिया ठिक विपरीत देखियो । जुनैद खान नामक मुसलमान किशोर मारिएको सो घटना रेलको सिटलाई लिएर भएको सामान्य विवादबाट शुरु भएको थियो, तर लगत्तै खान, उनका भाइ र दुई जना साथी सिंगो डब्बाभरका मानिसको हमलाका शिकार बन्न पुगे ।

स्टेसनमा पुगेर झर्न खोज्दा ढोका थुनेरसमेत उनीहरूलाई निर्ममतापूर्वक पिटियो र खान मरणासन्न भएपछि अर्को स्टेसनमा लगेर उनीहरूलाई घचेटेर खसालियो । भारतका विख्यात राजनीतिक मनोविज्ञ तथा विचारक आशिष नन्दीका अनुसार विगतका दंगाहरूको अध्ययनले के भन्छ भने धार्मिक द्वन्द्वका वेला एकतिर धर्मका नाममा मानिसहरूको निर्मम हत्या भइरहेको हुन्छ भने अर्कोतिर फरक सम्प्रदायका मानिसहरूलाई बचाउन आफ्नै ज्यान जोखिममा पार्ने धेरैजसो आफै धार्मिक प्रवृत्तिका हुन्छन् र धर्मजन्य कर्तव्यबोधका कारण ज्यान बचाउने काममा लाग्छन् । स्वतन्त्र भारतमा जति पनि धर्मका नाममा दंगा भए, तीमध्ये धेरैमा आफ्नै हातले मान्छे मारेर बिटुलो हुनु नपर्ने, सूचना प्रविधिमा राम्रो पहुँच भएका, दंगाले आफ्नो रोजीरोटीमा खासै फरक नपर्ने, धर्मप्रति शुद्ध लगाव नभएका मध्यम वर्गका मानिसहरूको मुख्य भूमिका हुने गरेको नन्दीको विश्लेषण छ ।

जहाँसम्म आगजनी र हत्याका प्रत्यक्ष काम छन्, तिनमा चाहिँ समाजले युगौंदेखि ठगेका तर एकाएक त्यसरी जम्मा भएको आक्रोशलाई गलत रूपमा अर्को धार्मिक सम्प्रदायतिर फर्काइएका दलित र पिछडिएका समुदायका मानिसहरू अगाडि लाग्ने गरेको कुरा भारतमा भएका दंगाहरूले देखाउँछन् । खासगरी पछिल्लो समयमा भारतभर गाई रक्षाको नाममा जति मुसलमानहरू दिनदहाडै मारिएका छन् र त्यसप्रति आम नागरिक र मतदाताहरूको जुन बढ्दो स्वीकार्यता देखिएको छ, त्यो कुनै पनि सभ्य मानिसको आङमा काँडा उमार्ने खालको छ ।

नेतृत्वमा पुग्नेहरूको संकीर्णता, साम्प्रदायिकता र तानाशाही प्रवृत्ति त लोकतन्त्रमा ढिलोचाँडो परास्त होला भन्ने अपेक्षा गर्न सकिन्छ, तर जब सर्वसाधारणको ठूलो हिस्साका लागि फरक सम्प्रदायका मानिसको निर्मम हत्याले संवेदित बनाउन छाड्छ र जलवायु परिवर्तनलगायत तमाम कारणले आउने समस्या र चुनौतीहरू आफूले समाधान गर्न नसक्ने सत्ताले चलाखीपूर्वक तिनका लागि जिम्मेवार भनेर एउटा अल्पसंख्यक समुदायलाई औंल्याउँछ र मानिस त्यसमा विश्वास गर्न थाल्छन्, त्यसले ल्याउने संकटको आकार अनुमान मात्र गर्न सकिन्छ ।

उल्लेखित फिल्ममा एक युवकले किन वृद्ध मुसलमान जोडीको पहिचान खोलेर तिनको मृत्युको कारक बनेको होला ? विक्षिप्तजस्तै बनेका साथीहरूको त्यो प्रश्नमा ऊ भन्छ, म यहुदी हुँ, मेरो लिंगको पनि छाला छेदन भएको छ । मेरो पालोसम्म आएर उनीहरूले हेरेको भए अहिलेसम्म म मरिसकेको हुने थिएँ । अर्थात्, आफूलाई बचाउन उसले अरू दुई मानवको जीवनको सौदावाजी गरेको थियो । ध्रुवीकरण गहिरिँदै गरेको भारतीय समाजमा आफू (वा आफ्नो समुदाय)लाई बचाउने नाममा फरक सम्प्रदायमाथिको हिंसाप्रति मौन सहमति जनाउँदै गरेका मानिसहरूका लागि त्योभन्दा राम्रो ‘मेटाफोर’ के होला !

 

 

 

प्रतिकृया दिनुहोस