MENU

टिप्पणी

635x90

विज्ञान र प्रविधिमा नेपाल

प्रा.रामेश्‍वर अधिकारी बुधवार, श्रावण २५, २०७४

इतिहासमा नेपालमा वैज्ञानिक र उच्चस्तरका ‘इन्जिनियर’हरू थिए । तिब्बतका राजा स्रङचङ गम्पोसँग विवाह गरेकी नेपाली राजकुमारी भृकुटीले थाङ्का बनाउन जान्ने कृतिकारहरू नेपालबाटै लिएर गएकी थिइन् । तिब्बतमा थाङ्का बनाउने प्रचलन त्यसबेलादेखि नै शुरु भएको मानिन्छ । थाङ्काको उत्पादन तिब्बतबाट थालिएको भनिन्छ । तर, शुरुवात नेपालबाटै भएको हो । त्यसबेला पनि थाङ्का बनाउन न्यानो प्रविधि प्रयोग भएको थियो  । आधुनिक न्यानो प्रविधि विश्वव्यापी रूपमा सन् १९८० को दशकपछि शुरु भएको हो तर नेपालमा यस्तो प्रविधि सयौं वर्ष पहिले रहेछ ।

बेइजिङको सेतो गुम्बा बनाउने अरनिकोले दूरविन पनि बनाएका थिए । टेलिस्कोप बनाउने श्रेय ग्यालिलियो ग्यालिलीलाई दिइन्छ, तर त्यसको सयौं वर्षपहिले अरनिकोले यस्तो यन्त्र बनाएका थिए । यो चीनको इतिहासमा नै लेखिएको छ । गेहेन्द्र शमशेरले जापानमा यन्त्र बनाउने सीप सिकेर आएका होइनन्, चित्रहरू हेरेर आएका हुन् । चित्र देखेकै आधारमा यहाँ यन्त्रहरू बनाएका हुन् । यस्ता दर्जनौं उदाहरण छन् । इतिहासमा नेपालका वैज्ञानिक, प्राविधिक र इन्जिनियरहरूले राम्रो काम गरेका छन् । हाम्रा पुर्खाहरूले गौरवशाली सांस्कृतिक मात्रै होइन वैज्ञानिक इतिहास नै बनाएका छन् । तसर्थ विज्ञान प्रविधिको क्षेत्रमा हामी हिङ बाँधेको टालो होइन, हिङ नै हो ।

तानसेनको करुवा, नेपाली थाङ्का, काठमाडौं, पाटन र भक्तपुरमा रहेको सुनको जलप लगाउने प्रविधि, काष्ठकला र मूर्तिकला जस्ता संसारका अब्बल दर्जाका प्रविधि नेपालीले विकास गरेका थिए । यी नेपालका परम्परागत प्रविधि हुन् । तर, १८ औं र १९ औं शताब्दीमा आएको औद्योगिक क्रान्तिलाई नेपालले राम्रोसँग समात्न सकेन । इतिहासमा नेपालीले अभ्यास गरेको विज्ञान र अहिलेको विज्ञान एउटै दर्शनमा आधारित हो । तर, हामीले त्यसबेला गरेको विकास जोगाउन सकेनौँ । त्यसलाई हाम्रो व्यावहारिक जीवन र समृद्धिमा ल्याउन सकेनौँ । हाम्रो अर्थतन्त्रलाई उल्लेख्य योगदान दिने किसिमले त्यो विज्ञानको विकास हुन सकेन ।

वर्तमान अवस्था

अहिले नेपाल वैज्ञानिक विकासमा मात्र होइन कि अन्य क्षेत्रमा समेत सकारात्मक परिवर्तन हुन नसकिरहेको अवस्थामा छ । देशमा उत्पन्न राजनीतिक र सामाजिक अस्थिरताको असर संस्कृति, भाषा, शिक्षा, स्वास्थ्य सेवा, अर्थतन्त्रसँगै वैज्ञानिक खोज अनुसन्धानमा पनि पर्छ । त्यसैले हामी चाहेजसरी अगाडि बढ्न सकेका छैनौँ । हामी अगाडि आउनै नसक्ने गरेर पछाडि परेका छौँ भन्नेचाहिँ होइन । कृषि, रसायनशास्त्र, न्यानो प्रविधिलगायत क्षेत्रमा हाम्रा वैज्ञानिकहरूले विश्वविद्यालयमा, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान र अन्य निजी संस्थामा रहेर खोज अनुसन्धान गरिरहेका छन् । तर, नेपाल बाहिर नै रहेर हजारौं नेपाली वैज्ञानिकले स्तरीय अनुसन्धान गरिरहेका छन् । नेपालभित्रै कम गतिविधिहरू भएको चाहिँ सत्य हो ।

गेहेन्द्र शमशेरले जापानमा यन्त्र बनाउने सीप सिकेर आएका होइनन्, चित्रहरू हेरेर आएका हुन्। चित्र देखेकै आधारमा यहाँ यन्त्रहरू बनाएका हुन्। इतिहासमा नेपालका वैज्ञानिक, प्राविधिक र इन्जिनियरहरूले राम्रो काम गरेका छन्।

विज्ञान र प्रविधिको क्षेत्रमा सरकारी तहबाट राम्रो प्रोत्साहन छैन । सरकारी प्रोत्साहनमा कमी नीतिका कारण भएको भने होइन । नीति राम्रा र चाहिने जति छन् । तर, त्यसअनुसार कार्यान्वयन भने हुन सकेको छैन । विज्ञान र प्रविधिको क्षेत्र सरकारी प्राथमिकतामा परेको छैन । किनकि, राजनीतिक र अन्य विषयहरू प्राथमिकतामा पारिएका छन् । यस्तो गरेर देशको समृद्धि र उन्नति सम्भव छैन । अहिले नेपालमा संसारलाई नै योगदान दिनसक्ने ठूलाठूला अध्ययन अनुसन्धान भइरहेका छैनन् । जर्नल र किताबहरूको प्रकाशन र ‘प्याटेन्ट’हरूमा नेपालको यस्तो अवस्था झल्किन्छ । उद्योगधन्दामा वैज्ञानिक योगदान पनि कमजोर नै देखिन्छ ।

तर, पनि केही काम भने भइरहेका छन् । नेपालमा बसेर वैज्ञानिक अनुसन्धान सम्भव छैन भन्नेचाहिँ होइन । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरूले सोलार प्यानलबाट आफैँ धुलो हटाउने प्रविधि परिमार्जन गरेका छन् । सजीवनबाट तेल निकालेर सवारी साधन चलाउने भन्ने विषयमा अनुसन्धान धेरै अगाडि बढेकोमा अहिलेलाई त्यो अवरुद्ध हुन पुगेको छ । सो अनुसन्धानलाई पुनर्जीवित गर्न वैज्ञानिकहरू लागेका छन् । सजीवन मात्र नभई अन्य वनस्पतिजन्य वस्तुहरूबाट गाडी चलाउने इन्धन उत्पादन गर्ने विषयमा अनुसन्धान भइरहेका छन् । परम्परागत प्रविधिलाई आधुनिकीकरण गर्ने कुराहरूमा पनि काम भइरहेका छन् ।

prabidhi1

म स्वयं निर्देशक रहेको त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट)मा समेत केही अनुसन्धान भइरहेका छन् । जस्तो ः रिकास्टमा पाँच जनाले विद्यावारिधि गरिरहेकाहरू न्यानो प्रविधिको क्षेत्रमा अनुसन्धानरत छन् । न्यानो मेडिसिन र तरकारी खेतीलगायत प्रयोग गर्न सकिने कीटनाशक विषादी बनाउने प्रयासहरू भइरहेका छन् । त्रिविकै भौतिकशास्त्र विभागमा पनि न्यानो प्रविधिमा काम भइरहेका छन् । प्रतिकूलताका बाबजुद पनि नेपालका वैज्ञानिकहरूले वैज्ञानिक अनुसन्धानको बीउ रोपेका छन्, त्यसलाई ठूलो रूख बनाउने जोगाउने र संरक्षण गर्नका लागि सरकारी तवरबाट सहयोग हुनु जरुरी छ । यसमा निजी क्षेत्रले पनि रुचि लिन सक्छ ।

प्रतिभा पलायन

ज्ञान र अनुसन्धानको क्षितिज फराकिलो बनाउन अध्ययनका लागि विदेश जानु राम्रै हो । विद्यार्थी र अध्येताहरूलाई विदेश जान दिनै हुँदैन भन्नु जायज होइन । तर, यहाँ स्नातकोत्तर र विद्यावारिधि गरेका वैज्ञानिकहरू विदेशमै बसे भने चाहिँ त्यो नेपालको लागि घाटा हो । विदेशमा वैज्ञानिक खोज अनुसन्धान गरेकालाई नेपालमा फर्किएर आउने वातावरण बनाउनुपर्छ । अहिलेलाई भने त्यस्तो वातावरण छैन । नेपालमा उपयुक्त वातावरण बनाइदिने हो भने उनीहरू फर्कन्छन् । फर्किएर एक दशक जति नै मात्र काम गरे भने पनि नेपालको लागि त्यो राम्रो योगदान हुन्छ । त्यसका लागि पनि सरकारी पहलकदमीकै जरुरत पर्छ । यसका लागि सरकारलाई विश्वविद्यालय, अनुसन्धान गर्ने संस्थाहरू र निजी क्षेत्रले पनि सहयोग गर्नुपर्छ । यो नेपालले व्यवस्थापन गर्न नसकेको हो, आर्थिक कारणले मात्र रोकिएको कुरा होइन ।

दूरदृष्टि भएको र विज्ञान र प्रविधिको विकासमार्फत् समृद्घि कसरी सम्भव छ भन्ने जानेको नेतृत्व हामीलाई चाहिएको छ ।

विदेशमा अध्ययन गरेर आएको मानिसलाई विश्वविद्यालय, अनुसन्धान संस्था र निजी क्षेत्रमा समेत स्वागत गर्ने संस्कृति नेपालमा छैन । बरु त्यसरी आएकाहरूलाई भाग खोस्न आएको जस्तो सोचिन्छ । विदेशमा अध्ययन र अनुसन्धान गर्न गएकाले पनि नेपालमा केही छैन भन्दै सत्तोसराप गरेर बस्नु हुँदैन । नेपालमै केही गर्न सकिन्छ र आफ्नै मुलुकलाई योगदान दिन्छु भन्ने धारणा लिएर आउनुपर्छ । मुलुक अप्ठेरोमा परेको बेला विदेशमा बसेर देशलाई गाली गर्नु वैज्ञानिकहरूलाई मात्र होइन, पढेलेखेको कसैलाई पनि सुहाउने कुरा होइन ।

समृद्धिका लागि विज्ञान

नेपालको आवश्यकताहरूलाई पूरा गर्ने किसिमको विज्ञान र प्रविधिको प्रयोग गर्ने कुरामा हामी पछाडि परेका छौँ । कतिपय यस्ता क्षेत्र छन्, जसमा हामीले लगानी गर्‍यौँ भने, हामीलाई ढिलोचाँडो प्रतिफल पनि दिन्छ । नेपाल कृषिप्रधान मुलुक भनिए पनि अहिले कृषिजन्य उत्पादनहरू आयात गर्नुपर्ने अवस्थामा पुगेको छ । यो मुलुकजस्तो विविध प्रकारको कृषि उत्पादन गर्न सकिने सायदै अन्त कतै होला । नेपाल समुद्री सतहबाट करिब ६० मिटरदेखि सगरमाथाको शिरसम्मको उचाइ भएको देश हो । धानलगायत अन्य खाद्यवस्तुहरू, वन जंगल र पैदावरको क्षेत्रमा नेपालमा विविधता छ । कृषि र वनका उत्पादनलाई प्राथमिकतामा राखेर, तिनीहरूको परिमार्जन र विकास गर्दै लैजान सक्यौँ भने हाम्रो आर्थिक क्रान्ति नै हुन्छ ।

उदाहरणको लागि, कृषि उपजको वृद्धिको लागि मलखाद चाहिन्छ । तर, अहिले प्रयोगमा भएका रासायनिक मलले जमिनको गुणस्तर बिगारेका छन् । कीटनाशक औषधि पनि धेरै हानिकारक भइरहेका छन् । त्यसैले नयाँखाले मलखाद र कीटनाशक औषधि हामीलाई चाहिएको छ । यो कुरा हामीले विकास गर्नुपर्छ । हामीले परम्परागत प्रविधि जोगाउनुपर्ने भइसकेको छ । औषधिमुलो, हस्तकला, न्यानो प्रविधि जस्ता हाम्रा परम्परागत प्रविधिलाई आधुनिकीकरण गर्दै अगाडि बढाउनुपर्छ । त्यसमा पनि हाम्रो क्षमता छ । वैज्ञानिक पर्यटन पनि सम्भव छ । मेडिकल पर्यटन, विज्ञान पर्यटन, अन्वेषणात्मक पर्यटनलाई विकास गर्न सकिन्छ । यसमा पनि हाम्रो क्षमता छ । जडीबुटीबाट औषधि बनाएर ‘हाई भ्यालु प्रोडक्ट’मा निर्यात गर्नसमेत हामी सक्षम छौँ ।

गेहेन्द्र शमशेरले जापानमा यन्त्र बनाउने सीप सिकेर आएका होइनन्, चित्रहरू हेरेर आएका हुन्। चित्र देखेकै आधारमा यहाँ यन्त्रहरू बनाएका हुन्। इतिहासमा नेपालका वैज्ञानिक, प्राविधिक र इन्जिनियरहरूले राम्रो काम गरेका छन्।

विकासका लागि पहिला हामीसँग प्रशस्त, गुणस्तरीय तथा सबैको पहुँचमा खाद्यपदार्थ र लत्ताकपडा हुनुप¥यो । हामीले मोबाइल फोनलगायत अन्य उपभोग्य वस्तु आफूलाई पुग्ने मात्र होइन कि निर्यात नै गर्नसक्ने गरी उत्पादन गर्न पनि सक्नुपर्छ । त्यसका लागि सरकारले दीर्घकालीन लक्ष्यका साथ विज्ञान र प्रविधिको क्षेत्रमा प्रशस्त लगानी गर्नुपर्छ, जुन अहिलेसम्म हुन सकेको छैन । निजी क्षेत्रले पनि यसमा सहयोग गर्न सक्नुपर्छ । सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गरेर अगाडि बढ्नुपर्छ ।

सरकारी प्राथमिकता भएमात्र निजी क्षेत्र लगानीमा उत्साहित हुन्छ । दक्षिण कोरियामा विज्ञान र प्रविधिको क्षेत्रमा निजी क्षेत्रले उल्लेख्य लगानी गरेको छ, जसले गर्दा उक्त मुलुकले प्रगति गर्न सफल भएको हो । सरकारको विज्ञान र प्रविधिको विकासमा दूरदृष्टिको अभाव छ । दूरदृष्टि भएको र विज्ञान र प्रविधिको विकासमार्फत् समृद्धि कसरी सम्भव छ भन्ने जानेको नेतृत्व हामीलाई चाहिएको छ । 

के गर्ने त ?

गहन अध्ययन अनुसन्धान गर्ने, विदेशमा भएका हजारौं वैज्ञानिकहरूलाई फिर्ता ल्याउन सक्नुपपर्छ । उनीहरूलाई उचित काम दिन सक्नुपर्छ । जसबाट राष्ट्रलाई पनि फाइदा पुगोस् । विज्ञानलाई प्रयोग गरेर समृद्ध हुनसक्ने प्रशस्त सम्भावना नेपालसँग छ । विश्वविद्यालय, अनुसन्धान संस्थामा नेतृत्व गर्नेहरूले त्यहाँका समस्या पत्ता लगाउने, समाधान खोज्ने र त्यसका लागि क–कसको सहयोग लिन सक्छन् । सरकारले गरेन भन्ने मात्र नभई घचघच्याउने काम पनि गर्नसक्नुपर्छ ।

एउटा वैज्ञानिकको रूपमा मैले नेपालमा बसेर चाहेको कुरा गर्न सकिरहेको छु । म निर्देशक रहेको रिकास्टलाई पनि समाजलाई केही योगदान गर्न सक्ने अध्ययन केन्द्र बनाउने मेरो सपना छ । यो सपना पनि साकार हुन्छ भन्ने आशा मलाई छ । आशावादी हुनुको विकल्प छैन । निराशावादी हुने हो भने त केही हुँदैन । ( त्रिविको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रका निर्देशक  अधिकारीसँग कुराकानीमा आधारित ।)

 

 

प्रतिकृया दिनुहोस