MENU

टिप्पणी

dishhomeapp

श्रुतिपरम्पराको आलोक

यमबहादुर दुरा आइतवार, श्रावण १५, २०७४

ज्ञान, बुद्धि र विवेक । मानिसलाई सर्वश्रेष्ठ तुल्याउन सघाउने अमूल्य अमूर्त बौद्धिक सम्पदा । यस्ता अमूर्त सम्पदाको ‘आदिस्रोत’ के होला ? खास गरी यिनीहरूको संरक्षण, विस्तार र भण्डारणको ‘आदिस्रोत’ वा माध्यम के होला ? आदिम कालखण्डदेखि हालसम्म यस्ता बौद्धिक सम्पदा कसरी संरक्षित र विस्तारित हुँदै आए ? प्रश्नको उत्तर खोज्न धेरैबेर घोत्लिनै पर्दैन । यसको सहज उत्तर हो, श्रुति परम्परा । दुनियाँ दिनानुदिन प्रविधिमय बन्दैछ । कम्प्युटर, मोबाइल, थरीथरीका चिप्स तथा एप्स । हाम्रो जिन्दगी प्रविधिको जालोमा जेलिएको छ ।

अहिले ‘मेमोरी चिप्स’ जस्ता डिभाइस एवं किन्डलजस्ता ई–पुस्तकको जगजग छ । यस्तो लाग्छ, प्रविधिमय बन्दै गएको वर्तमान युगमा सुन्दै आदिम लाग्ने श्रुतिपरम्पराको अब कुनै ठाउँ नै छैन । तर, कुरा त्यसो होइन । आखिर, ‘मेमोरी चिप्स’मा रहेका तमाम जानकारी पनि मानव जातिले प्रयोग नगर्दासम्म निरर्थक नै रहन्छ । अहिलेका उपकरणहरूले पहिले भएकै विषयवस्तु (ज्ञान) लाई ‘लाउडस्पिकिङ’ वा ‘म्याग्निफाइङ’ गर्नेबाहेक केही गरेका छैनन् । यिनीहरूले हिजोकै उक्ति, सुक्ति, श्लोक, मन्त्र आदिमा रहेका मौखिक सूचनाहरूलाई भण्डारण र विस्तार गर्ने काम गरेका छन् । आधुनिक प्रविधि श्रुतिपरम्पराको विकल्प नभई सहयोगीमात्र हुन् ।

श्रुतिको सीधा सम्बन्ध बोलीसँग छ । बोली मानव सञ्चारको सशक्त माध्यमको रूपमा स्थापित छ । श्रुतिको सर्वव्यापक र चिरस्थायी अस्तित्वबाट श्रुतिपरम्पराको विकास भएको छ, जुन मानव सभ्यताको विकास र विस्तारमा अपरिहार्य तत्व बनेको छ । यही कारण हुन सक्छ, लेख्यपरम्परा र सूचना प्रविधिको चरम विकास भएको वर्तमान युगमा पनि श्रुतिपरम्पराको महŒव कायमै छ । छन्द र लयको माध्यमबाट कुनै पनि विषयवस्तुलाई रमाइलोसँग सम्झन सकिन्छ । यही मान्यताअनुरूप श्लोक, गीत, उखान–टुक्का एवं सुक्ति बनेको हुनुपर्छ । श्रुतिपरम्परासँग गाँसिएका विविध आयामबाट समाजमा ज्ञानको विस्तारमात्र भएको छैन, पुरानो पुस्तामा विद्यमान ज्ञान नयाँ पुस्तामा सजिलैसँग हस्तान्तरण पनि भएको छ ।

श्रुतिपरम्परा र सिकाइ

सिकाइ र श्रुतिपरम्पराको गहिरो नाता छ । बालमनोविद्हरूको भनाइ छ, लालाबालालाई संगीतको माध्यमबाट शिक्षा दिनुपर्छ । संगीतमय परिवेशमा दिइएको शिक्षाबाट केटाकेटीका ‘स्पञ्ज’ जस्तो ग्रहणशील दिमागले यति छिटो ग्रहण गर्छन् कि उनीहरूको जादुमय सिकाइ गतिको कुनै तुलना नै छैन । यही प्रसंगमा ग्रिक दार्शनिक अरिस्टोटल (इसापूर्व ३८४–३२२) ले मननीय विचार व्यक्त गरेका छन् । उनको भनाइ छ, ‘संगीतमा चरित्र निर्माण गर्ने शक्ति हुन्छ । त्यसैले केटाकेटीलाई संगीतको माध्यमबाट शिक्षातर्फ अभिमुखीकरण गर्नुपर्छ ।’ संगीत श्रुतिपरम्पराकै निरन्तरता हो । घरमा राम्रा राम्रा श्लोक र गीत गुनगुनाउँदा बालबच्चाले रमाइलो मात्र मान्दैनन्, त्यसबाट नजानिँदो किसिमले शिक्षा पनि ग्रहण गर्छन् ।

भाषा सिकाइको प्रक्रियामा सुनाइ, बोलाइ, पढाइ र लेखाइ महतवपूर्ण पक्ष मानिन्छ । यसबाट सिकाइमा श्रुतिपरम्पराको महत्व झल्किन्छ । श्रुति–सिकाइका कारण अक्षरसँग अपरिचितहरूले ज्ञान पाउन सकेका छन् । परिणामस्वरूप निरक्षर व्यक्तिमा ‘मुखको सरस्वती’ बाँचेको छ । हाम्रो समाजले श्रुतिपरम्परा, सिकाइ र पठनसंस्कृतिसँग सम्बन्धित थुप्रै रोचक प्रसंग जन्माएको छ ।

एकपटक सुनेको कुरा सम्झनेलाई श्रुतिधर, राम्रोसँग वेद पाठ गर्न जान्नेलाई पाठक, तीनवटा वेद पाठ गर्नेलाई त्रिपाठी, चालीस अध्याय वेद पाठ गर्नेलाई चालिसे भन्ने गरिएको रमाइलो प्रसंग पाका–पुराना व्यक्तिहरूबाट सुन्न पाइन्छ, जुन आपैंmमा श्रुतिपरम्पराको निरन्तरता हो । यसैगरी, वेदको ज्ञान भएको व्यक्ति सुवेदी, दुई वेद जान्ने द्विवेदी, तीन वेद जान्ने त्रिवेदी, चारै वेद जान्ने चतुर्वेदी एवं शास्त्रार्थ गर्ने शास्त्री नामबाट कहलिएको प्रसंग पनि सामाजिक जमघटहरूमा सुनिन्छ । यसले हाम्रो ज्ञान आर्जन गर्ने पद्धति र श्रुतिपरम्परा नातालाई प्रस्ट्याउँछ ।

हिन्दु समाज र श्रुतिपरम्परा

हिन्दु समाजमा श्रुतिपरम्परालाई मायावी शक्तिको रूपमा वर्णन गरिएको पाइन्छ, जहाँ श्रुतिपरम्परा, ईश्वरतत्व र आध्यात्मिकताको त्रिवेणी भेटिन्छन् । हिन्दु धर्मशास्त्रका अनुसार श्रुति ईश्वर–रचित ग्रन्थ हो । ऋषिमुनि ध्यानमग्न भएको समयमा ईश्वरको वाणी सुनेर त्यसलाई लेख्य रूपमा उतारेपछि वेदको जन्म भएको मानिन्छ । हिन्दु धर्मको प्राचीन ग्रन्थ वेदलाई श्रुतिको मूल स्रोत मानिएको छ । प्राचीन समाजमा वेद शब्द गहिरो आस्था र श्रद्धाको द्योतक बन्न पुग्यो । हरेक शास्त्रको रचना भएपछि त्यसका रचयिताले आफ्नो कृतिमा ‘वेद’ शब्द जोड्ने चलन आयो । जस्तैः धनु विद्या सिकाउने शास्त्रलाई धनुर्वेद र चिकित्साशास्त्रलाई आयुर्वेद आदि । कतिपयले महाभारतलाई ‘पञ्चम वेद’ भनेर पुकारेको पाइन्छ ।

दुई वेद जान्ने द्विवेदी, तीन वेद जान्ने त्रिवेदी, चारै वेद जान्ने चतुर्वेदी एवं शास्त्रार्थ गर्ने शास्त्री भन्ने कथन छ।

श्रुतिको कुरा गर्दा स्मृतिलाई पनि बिर्सन मिल्दैन । श्रुति र स्मृतिको सम्बन्ध पनि कम रोचक छैन । श्रुतिलाई वैदिक परम्परा मानिन्छ भने स्मृतिलाई लौकिक परम्परा । श्रुति वाणीको आधारमा लेखिएको ग्रन्थ हो भने स्मृति मानव बुद्धि र सम्झनाको आधारमा रचित ग्रन्थ । वेद अलौकिक कृति हो भने स्मृति लौकिक कृति ।श्रुतिको तुलनामा स्मृति कमसल र कलिलो मानिन्छ । श्रुति अस्तित्वमा आएको धेरैपछि स्मृतिको रचना भएको ठानिन्छ । श्रुति जटिल र दुरुह मानिन्छ भने स्मृति सरस बोधगम्य ।

श्रुति र स्मृतिको आधिकारिकताबारे विवाद हुँदा श्रुतिलाई नै मान्यता दिने चलन रहेको छ । यद्यपि, मनुले श्रुति र स्मृतिलाई समान महत्व दिएका छन् । वृहस्पतिले श्रुति र स्मृतिलाई मानिसको दुई आँखाको रूपमा चित्रण गरेका छन् । मनुले समाज र परिवारबारे तयार पारेको संहितालाई मनुस्मृति भनिन्छ, जुन स्मृति ग्रन्थ हो । स्मृतिको आधारमा संकलित ज्ञानको पुस्तकीकृत स्वरूपलाई स्मृति भन्न थालियो । आध्यात्मिक साहित्यका अध्येताहरू गीता, महाभारत, पुराण, विष्णु सहस्रनाम, रामायण आदिलाई स्मृतिशास्त्र मान्ने गर्छन् ।

पश्चिममा श्रुति परम्परा

प्राचीन युनानी साहित्यमा होमरको नाउँ अग्रपंक्तिमा आउँछ । युनानी सभ्यता र संस्कृतिका व्याख्याता मानिएका होमर दृष्टिविहीन थिए । उनीद्वारा रचित विश्वप्रसिद्ध महाकाव्य ‘इलियड’ र ‘ओडेसी’ अलिखित थिए भनेर धेरै अध्येताहरूले निष्कर्ष निकालेका छन् । पुरानो पुस्ताबाट नयाँ पुस्तामा मुखैमुख सर्दै आएका यी महाकाव्यलाई पछिमात्र लिपिबद्ध गरिएको हो भन्ने भनाइ छ । पछिल्लो समयमा पश्चिमी विद्वानहरूले श्रुतिपरम्पराबारे विशद अध्ययन गरेका छन् । अमेरिकी दार्शनिक प्राध्यापक वल्टर ज्याक्सन अङ (सन् १९१२–२००३), बेल्जियन इतिहासकार तथा मानवशास्त्री जन भनिसा (सन् १९२९), जोन माइल्स फोले (सन् १९४७–२०१२) आदि यस विषयका केही चुनिन्दा विद्वान हुन् ।

अङको ‘ओरलिटी एन्ड लिट्रेसी’ (१९८२), भनिसाको ‘ओरल टे«डिसन एड हिस्ट्री’ (१९८५), फोलेको ‘दी थियरी अफ ओरल कम्पोजिसन’ (१९८८) जस्ता पुस्तक श्रुतिपरम्पराबारे लेखिएका शोधमूलक कृतिका दृष्टान्त हुन् । पश्चिमी दुनियाँमा लिखित इतिहासको साथसाथै मौखिक इतिहासको परिपाटी पनि बलियो छ । बूढापाकासँग कुरा गरेर तिनको बाल्यकाल, युवा अवस्था तथा प्रौढ अवस्था तथा तिनले देखेका देश र दुनियाँबारे तयार पारिएको संस्मरणात्मक इतिहास पश्चिमलगायत विश्वभरि नै रुचिपूर्वक पढिन्छ । यस्तो इतिहासलाई लिखित इतिहासकै हाराहारीमा आधिकारिक मानिन्छ । आखिर, लिखित इतिहासको स्रोत कुनै न कुनै रूपमा मौखिक परम्परामा आधारित हुन्छन् ।

बेलायतमा सन् १९७३ मा ‘ओरल हिस्ट्री सोसाइटी’ गठन भयो, यसले मौखिक इतिहासलाई बचाउने अभियानअन्तर्गत ‘ओरल हिस्ट्री’ जर्नल प्रकाशन गर्छ । लन्डनबाट प्रकाशन हुने यो जर्नल रुचिपूर्वक पढिन्छ, जसले अन्तरपुस्ता संवादमा ठूलो गुन लगाएको छ । अमेरिकास्थित ‘सेन्टर फर स्टडिज इन ओरल ट्रेडिसन’ले ‘ओरल ट्रेडिसन’ जर्नल प्रकाशन गर्छ । मौखिक परम्पराका अध्येता जोन माइल्स फोलेको अगुवाइमा सन् १९८६ देखि प्रकाशन शुरु भएको हो । यसमा लोकवाङ्मय, सांस्कृतिक मानवशास्त्र, सामाजिक मानवशास्त्र, इथ्नोग्राफ्रीजस्ता श्रुतिपरम्परासँग नाता जोडिएका खोजमूलक र गहिरा विषयवस्तु प्रकाशन हुन्छन् ।

परस्पर विरोधी धारणा

कतिपय विद्वान श्रुतिपरम्परालाई लेख्य परम्परामा ढाल्नु हुँदैन भन्ने मान्यता राख्छन् । उनीहरू श्रुतिपरम्परालाई लेख्य परम्परामा ढालेमा यसको मर्म मर्छ भन्ने मान्यता राख्छन् । यस्तो मान्यता राख्नेमध्ये ग्रिक दार्शनिक सुकरात (इसापूर्व ४७०–३९९) एक हुन् । उनी लेख्य परम्परालाई अमानवीय कार्यको संज्ञा दिन्छन् । अंग्रेज दार्शनिक हेनरी सिजविक (सन् १८३८–१९००) पनि यस्तै धारणा राख्छन् । उनको दृष्टिमा मौखिक गाथालाई लेख्न शुरु गर्‍यो भने त्यसको हत्या गरेको ठहरिन्छ । उनको ठम्याइ छ, ‘जबसम्म मौखिक छ, तबसम्म यसमा जीवन छ, अन्यथा छैन ।’ धेरैको तर्क छ, लेख्य परम्पराले श्रुतिपरम्पराको दायरालाई कमजोर र सीमित बनाइदिन्छ ।

उनीहरूका मतमा सामाजिक गाथाहरू समाजको फराकिलो घेरामा मौखिक रूपमा विस्तार भएमा एउटै गाथाको धेरै स्थानीय संस्करण जन्मन्छन्, जसले लोकगाथालाई वैभवशाली बनाउँछ । तर, लेख्य परम्पराले भएको गाथालाई पनि सीमित तुल्याइदिन्छ ।श्रुतिपरम्पराको दुनियाँ अपरिमित छ । हिन्दू, बौद्ध एवम् जैन धर्मका धेरै सिकाइहरू मौखिक नै छन् । किराँतलगायत विभिन्न जनजाति समुदायको धर्मग्रन्थमा वर्णित जीवन र जगतबारेको चर्चा मूलतः मौखिक नै छ । हाम्रो लोकवाङ्मयको अथाह भण्डार नै पूरापुर श्रुतिपरम्परामा अडिएको छ । यसको आलोकमा सिंगो मानव सभ्यता जगमगाएको छ ।



प्रतिकृया दिनुहोस