MENU

टिप्पणी

635x90

मधेश र मधेशवाद

फणीराज नेपाल बिहिवार, चैत्र ३, २०७३

मधेश शब्द संस्कृत भाषाको मध्यदेशको संक्षिप्त रूप हो । जसको अर्थ ‘बीचको भाग’ हुन्छ । डा.बीएन तिवारी र महेन्द्र चतुर्वेदीको हिन्दी–अंगे्रजी शब्दकोषले मध्यदेश भन्नाले ‘विन्ध्याञ्चल, कुरुक्षेत्र र आहालादबीचमा पर्ने मध्य क्षेत्रको प्राचीन नाम’ भनेको छ । नेपाली संक्षिप्त शब्दकोषमा ‘हिमालदेखि दक्षिण, विन्ध्याञ्चल पर्वतदेखि उत्तर, कुरुक्षेत्रदेखि पूर्व र प्रयागदेखि पश्चिममा रहेको प्रदेशको पुरानो नाम मध्यदेश’ भनिएको छ । इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार अम्बालादेखि प्रयागसम्मको समतल मैदानी भूभाग मधेश हो ।

भूगोलसँग भाषाको सामञ्जस्य नहुँदा वा नगर्दा पुरातन, सनातन, ऐतिहासिक मधेश शब्दको बेवास्ता हुन थालेको छ । विगतमा ती शब्दले समावेशी, सद्भाव र समेटिने हिसाबको अर्थ लाग्थ्यो । ०५२ सालको सशस्त्र द्वन्द्वपछि जातीयताको भुंग्रोले असामञ्जस्यता बढ्दै गयो । फलतः शब्दको अर्थ एउटा भए पनि भावचाँहि आफ्नैअनुकूलको व्याख्या गर्ने परिपाटी बढेर गएको छ । नेपालको क्षेत्रगत हिसाबलाई आधार मान्दा हिमाल १५, पहाड ६८ र तराई १७ प्रतिशत छ । हामीले पढिआएको र प्राचीन नेपालको भूगोलमा हिमाल, पहाड, भित्री मधेश, चुरे भावर र तराई पर्छ ।

तराईमास्तिर चुरे छ र पहाडले घेरिएको बीचका समथर भागहरू जस्तै : उदयपुर, चितवन र दाङ देउखुरी इलाकालाई भित्री मधेश भनिन्छ, जहाँ आदिवासी थारूहरूको प्रमुख बसोबाससँगै पहाडी समुदायका मानिस पनि बसोबास गर्छन् । भित्री मधेशमा मधेशीहरूको बसोबास नै होइन र छैन पनि । अहिले रोजगारी र व्यापारका लागि अल्पसंख्यामा आएका मधेशी हुनु बेग्लै कुरा हो । नेपालको पहाडबीचमा भित्री मधेश छ, यही वास्तविकता हो । तर, बाहिरी मधेश भएको कहीँकतै देख्ने, बोल्ने गरेको पाइँदैन ।

अत : तराईलाई मधेश भन्नुको कुनै तुक वा आधार छैन । ठाउँका नाउँमा वा जातका नाममा ‘वाद’ जोडेको कहीँ उदाहरण पाइँदैन । मधेशवाद भनेर मधेशी दलले भन्ने गरेका छैनन्, उठाएका पनि छैनन् । तर, मिडियाले माओवाद (सिद्धान्ततः) भनेजस्तै मधेशवाद, मधेशवादी भन्नुको आशय खुल्दैन । ‘अर्थ न व्यर्थ गोविन्द गाई’ पाराको लेखाइ र बोलाइले हाम्रो बोली, वचन, भाषा कुन दिशातर्फ डोरिने हो, मथिंगलमा खल्बल्याइ हुन्छ ।जनगणना ०६८ अनुसार तराईको जनसंख्यामा मधेशी ४०, पहाडी ३६, आदिवासी थारू र जनजाति १५ र मुसलमान नौ प्रतिशत छन् । तराईमा मधेशीबाहेक अरू समुदायको जनसंख्या ६० प्रतिशतभन्दा बढी छ ।

कुन मधेश वा कहाँको मधेशको ठाउँलाई केन्द्र मानेर संकेत गर्न खोजिएको हो ? सञ्चारमाध्यमले स्पष्ट पार्नु जरुरी छ । २०६३ सालको अन्तरिम संविधान घोषणापछि मधेशी जनअधिकार फोरमको अगुवाइमा आन्दोलन भयो । फगत् आफ्नो समुदायका लागि गरेको आन्दोलनलाई सञ्चारमाध्यमले मधेश आन्दोलन भनी प्रचार गरे । त्यो विशुद्ध मधेशीको आन्दोलनमा एकाधबाहेक अरू समुदायको सहभागिता नभएको उदाहरण आदिवासी थारू र मुसलमान समुदायले हामी मधेशी होइनौँ, मधेशी हुन्नौँ भनी छुट्टाछुट्टै आन्दोलन गरेको कुराको साक्षी सञ्चारमाध्यम स्वयं छन् ।

तराई हिजोको औल, ओसिलो, अनकन्टार जंगलमा आदिवासी थारूहरूको बसोबास थलो हो । अरू समुदायपछि आएका हुन् । कोही आफ्नै देशको अग्लो भागबाट, अरूहरू ‘देशी’का रूपमा पारि (भारत)बाट बाढी पीडित, रोजगारी गर्न, जंगल फडानीका लागि, हालावादी गर्न र मुसलमान शासकबाट जोगिन आएकाहरू पनि हुन् । मूल रूपमा थारूहरू नै तराईका आदिपात्र हुन् । समयक्रमले वारिपारिका विभिन्न समुदायको आउने क्रम वर्तमानमा पनि कमजोर छैन । यसतर्फ सरकारको चासो भने कमजोर छ ।

देशीहरूलाई पहाडकाले मधेशी भनिदिएको कारण पहिचान स्थापित भइसक्यो । यो स्थितिमा पुरातन भूगोलको आधारलाई बिर्सनु हुँदैन । तराई देशको साझा फूलबारीको रूपमा रहेको छ, जहाँ देशका सबै जातजाति, सबै धर्म, संस्कृति मान्नेहरूको बसोबास छ, देशको अन्य क्षेत्रसँग तुलना गर्दा ।त्यस्तो साझा फूलबारी रहेको क्षेत्र तराईमा रहेका अरू समुदायले पनि आफ्नो सामुदायिक नामको माग गरेमा त्यो भूगोलको नाममा खिचलो हुन जान्छ र पुच्छर तन्किन्छ अर्थात् दक्षिण भारतका मानिसले आफ्नो नाममा बाउबाजेको नाम जोडेर राखेजस्तै हुन जान्छ ।

तराई थारू, मधेशी, जनजाति, पहाडी आदि विभिन्न समुदायको बसोबासको थलो हो । यी सबै समुदायको आश्रयस्थल नेपालको तराई भूभाग हो । एकीकृत रूपमा यी सबै समुदाय तराईवासी हुन्, मधेशवासी होइनन् । तराईवासी भन्दा, बोल्दा, लेख्दा जुन सामूहिकता हुन्छ र सहजता हुन्छ, त्यो मधेश र मधेशवासीभन्दा सर्वस्वीकार्य हुँदैन र मधेशी समुदायको मात्र क्षेत्र हो भन्ने हुन्छ ।


सञ्चारमाध्यमले तराईका क्षेत्रीय दललाई मधेशवादी दलको साटो मधेशी दल वा पार्टी र मधेशकेन्द्रित दलको साटो तराईकेन्द्रित मधेशी दल भन्नु उपयुक्त हुन्छ । साथै, पत्रपत्रिकामा आउने कुरा जस्तै : मधेशका जनता, मधेश मुद्दा आदि शब्दले तराईका सम्पूर्ण समुदायको प्रतिनिधित्व नगर्ने हुनाले तराईका मधेशी जनताका माग र मधेशी समुदायको विषय भन्नु समयसापेक्ष हुन्छ ।

 

भूगोलसँग भाषाको सामञ्जस्य नहुँदा वा नगर्दा पुरातन, सनातन, ऐतिहासिक ‘मधेश’ शब्दको बेवास्ता हुन थालेको छ। विगतमा ती शब्दले समावेशी, सद्भाव र समेटिने हिसाबको अर्थ लाग्थ्यो।

प्रतिकृया दिनुहोस