MENU

खेलकूद

635x90

क्रिकेट : डिभिजन–२ को सकस

गोविन्द रेग्मी सोमवार, कार्तिक १३, २०७४

२७ असोजको पहिलो खेलमा घरेलु टिम हङकङविरुद्ध ८३ रनले नेपाली क्रिकेट टिम पराजित भयो । तेस्रो दिन हङकङसँगको दोस्रो खेल हुनुअघि सामुद्रिक आँधी (टाइफुन) र वर्षाका कारण खेल स्थगित गरियो । ३० असोजमा सारिएको खेल मैदान नओभाएको कारण हुन सकेन र त्यत्तिकै अन्त्य गरियो । र, विश्व क्रिकेट लिग (डब्लूसीएल) च्याम्पियनसिपमा नेपाल र हङकङले बराबरी (एक–एक) अंक पाए ।

च्याम्पियनसिपमा १२ खेलमा १४ अंक जोडेको हङकङ चौथो स्थानमा पुग्यो भने खेलिएको १२ खेलमा नेपालले मात्र चार खेलमा जित हात पार्न सक्यो । एक खेलमा निर्णय नआउँदा बाँकी सात खेलमा पराजय बेहो¥यो र नौ अंक जोड्दै नेपाल छैटौं स्थानमा पुगेर डिभिजन–२ मा घटुवा भयो । यसरी डब्लूसीएल च्याम्पियनसिप नेपाली क्रिकेट टिमका लागि दुर्भाग्य सावित भयो ।

विश्व क्रिकेट संघ (आईसीसी) ले नेपाल क्रिकेट संघ (क्यान) निलम्बन गरेको दुई वर्षमा नेपाली क्रिकेट कसरी खस्किँदैछ भनेर यही प्रतियोगिताकै आधारमा लेखाजोखा शुरु भएको छ । नेपालको प्रर्दशन पछिल्लो समय खस्किनु कमजोर व्यवस्थापन मुख्य कारण भएको निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए । भन्छन्, ‘दुई वर्ष अघिदेखि नेपाली क्रिकेट जिम्मेवारीविहीन छ ।’ राजनीतिक हस्तक्षेपको बहानामा क्यानलाई जब आईसीसीले प्रतिबन्ध लगायो । त्यसपछि क्रिकेटको स्तर झनै खस्किएको हो ।

‘हङकङमा नेपालको प्रदर्शन पनि त्यसैको परिणाम हो,’ प्याकुरेल भन्छन्, ‘घरेलु प्रतियोगिता ठप्प छ । जसले गर्दा राम्रा खेलाडी आउने ढोका बन्द भएको छ । क्रिकेटमा सरकार र सम्बन्धित निकायले चासो दिएका छैनन् ।’ उनी थप्छन्, ‘क्यान निलम्बनको फुकुवा नहुने, सरकारले चासो नदिने र आईसीसीको दादागिरी कायमै रहने हो भने नेपाली क्रिकेट माथि जाँदैन । जुन पछिल्ल्लो तीन वर्षमा देखिसकिएको छ ।’ डिभिजन–२ मा घटुवा हुनुमा पूर्वखेलाडी भने ब्याटिङलाई दोष दिइरहेका छन् ।

प्याकुरेलसँग मिल्दो मत छ, नेपाली क्रिकेटका पूर्वराष्ट्रिय खेलाडी दीपेन्द्र चौधरीको पनि । ‘क्यान निलम्बनमा पर्दा घरेलु प्रतियोगिता नै भएनन् । प्रतियोगिता ठप्प हुँदा खेलाडीले मिहिनेत गर्ने र क्षमता देखाउने अवसरसमेत पाएका छैनन्,’ चौधरी भन्छन्, ‘प्रतियोगिता नहुँदा नेपाली क्रिकेटमा प्रशिक्षक र कप्तानले खेलाडी छान्नुपर्ने अवस्था आयो । यसले नेपाली टोलीको प्रदर्शन खस्किएको हो ।’

डब्लूसीएल च्याम्पियनसिपको शीर्ष चारमा रहने सम्भावना रहेको नेपालले हङकङसँगको पहिलो खेल हार्दा त्यो सम्भावना टाढिएको थियो । नेपाललाई विश्वकप छनोटमा स्थान सुरक्षित गर्न र डिभिजन एकमा रहन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्धको दुवै खेल जित्नै पर्ने दबाब थियो । खराब मौसमका कारण नेपालले सन् २०१९ को विश्वकप छनोट प्रतियोगिता खेल्ने अवसरसमेत गुमायो । यद्यपि, यस प्रतियोगिता नेपालका लागि ‘सरप्राइज’ थियो । दुई वर्षअघि डिभिजन–२ मै रोकिँदा आईसीसीले नेपाललाई डब्लूसीएलमार्फत डिभिजन–१ मा तानेको हो । सन् २०१५ को जनवरीमा नामिबियामा भएको डिभिजन–२ मा शीर्ष दुईभित्र अटाउन नसकेपछि नेपालले डिभिजन–१ मा उक्लने र च्याम्पियनसिपसहित इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर गुमाएको थियो ।

दुई वर्षअघि डिभिजन–२ मा रहेको नेपाललाई विश्व लिग च्याम्पियनसिपमार्फत डिभिजन–१ मा तानिएको थियो। तर फेरि डिभिजन–२ मै घटुवा भएको छ।

आईसीसीले त्यसलगत्तै डिभिजन एकमा रहेका आयरल्यान्ड्स र अफ्गानिस्तानलाई पूर्ण सदस्य टोलीको मान्यता दिँदै केन्यासँगै च्याम्पियनसिप खेल्न दिने निर्णय गरेको थियो । इन्टरकन्टिनेन्टल कप खेल्न नपाए पनि नेपालले त्यससँगै डिभिजन–१ को मान्यता पाएको थियो । तर, तीन वर्षको अवधिमा नेपाल पुनः डिभिजन–२ मै घटुवा भएको छ ।

झिनो आशा कायमै

घटुवापछि पनि विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना भने अझै जीवितै छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा असफल भएको सन् २०१९ को विश्वकपका लागि अर्काे वर्ष हुने अन्तिम चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्न डिभिजन–२ प्रतियोगिता नेपालका लागि दोस्रो अवसर हुनेछ । अर्काे वर्ष हुने अन्तिम चरणको छनोट प्रतियोगितामा नेपालसहित च्याम्पियनसिपबाट घटुवा भएका नामिबिया र यूएईसहित डिभिजन–३ बाट आएका ओमान र क्यानडाले प्रतिस्पर्धा गर्ने छन् ।

डिभिजन–३ को शीर्ष दुईमा अटाउन सके विश्वकपको अन्तिम छनोट प्रतियोगितामा नेपालले स्थान सुरक्षित गर्नेछ । विश्वकपको अन्तिम छनोटमा डिभिजन–२ का शीर्ष दुई टोलीसहित, च्याम्पियनसिपका शीर्ष चार र एक दिवसीय वरीयताको पुछारमा रहेका चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । अन्तिम चरणको छनोट प्रतियोगितामार्फत् विजेता एक टोली सन् २०१९ मा इङ्ल्यान्डले आयोजना गर्ने विश्वकपका लागि छनोट हुनेछ ।

अबको यात्रा झनै कठिन

च्याम्पियनसिपका पुछारका चार टोलीलाई डिभिजन–२ खेलाउँदै विश्वकप छनोट खेल्ने अर्को मौका आईसीसीले दिएको छ । नामिबियामा आगामी फ्रेबु्रअरीमा हुने डिभिजन–२ मा डिभिजन –३ बाट उक्लिएका क्यानडा र ओमान तथा च्याम्पियनसिपको पुछारका नेपाल, नामिबिया र यूएई रहने छन् । ६ टोलीले खेल्ने प्रतियोगिताको अन्तिम टोली हङकङ वा केन्या हुनेछ । उनीहरूमध्येको डिभिजन–२ मा घटुवा हुन्छ । त्यसको छिनोफानो च्याम्पियनसिपको अन्तिम चरणको नतिजामा भर पर्छ । डिभिजन–२ का शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्नेछन् ।

तर, यो स्पर्धा नेपालका लागि त्यति सहज छैन । नेपालले समान हैसियतका च्याम्पियनसिपका पुछारका चार टोली र डिभिजन–३ बाट उत्कृष्ट प्रदर्शन गर्दै उक्लिएका दुई टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । नेपाली टोलीका कप्तान पारस खड्का च्याम्पियनसिपबाट छनोट हुने सजिलो मौका गुमाएको बताउँछन् । भन्छन्, ‘अवसर अझै बाँकी छ । तर हामीलाई लामो बाटो तय गरेर अघि बढ्नुपर्नेछ । हाम्रो दिमाग, परिश्रम र समयको भरपूर सदुपयोग गरेर विश्वकप छनोटमा पुग्ने सक्दो प्रयास गर्नेछांैँ,’ उनी थप्छन्, ‘खेलाडीले गर्ने मिहिनेत र प्रतिबद्धतामा कुनै कमी भएको छैन । तर हामीले राम्रो फिनिसिङ दिन सकिरहेका छैनौँ । चाहिएको वेला मेन्टल ‘टपनेस’ र ‘स्मार्टनेस’ पनि खेलाडीहरूले देखाउन सक्नुपर्छ ।’

टोलीका प्रशिक्षक जगत टमटा पनि डिभिजन–२ मार्फत् विश्वकप छनोट खेल्न सहज देख्दैनन् । ‘डिभिजन– २ बाट दुई टोली मात्रै छनोटमा जाने अन्तिम मौका पनि भएकाले कडा प्रतिस्पर्धा हुनेछ,’ उनले भने । हङकङविरुद्धको खेलमा नेपाली ब्याट्सम्यानले जिम्मेवारीपूर्ण ब्याटिङ नगरेको टमटाले टिप्पणी गरे ।

खेलाडी छनोटको बचाउ

पूर्वखेलाडी चौधरी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको खस्कँदो प्रदर्शन ‘खेलाडी छनोटमा सिन्डिकेट’लाई कारक मान्छन् । ‘सधैं एउटै खेलाडी लिएर खेल्न जाने सिन्डिकेटले गर्दा प्रदर्शन राम्रो भएन । उनी भन्छन्, ‘दुई–चार जनाबाहेक खेलाडीले खेल्न सकेका छैनन् । नयाँ क्षमतावान् खेलाडी छन् । तर, उनीहरूमाथि विश्वास गरिँदैन ।’

प्रशिक्षक टमटा र कप्तान पारस खेलाडी छनोटको बचाउ गरिरहेका छन् । ‘राष्ट्रिय टोलीमा पर्न त्यति सजिलो छैन । राष्ट्रिय प्रतियोगितामा रन हान्ने तर प्रशिक्षण क्याम्पमा आएर अपेक्षित प्रदर्शन गर्न नसकेपछि टोलीमा राखिन्न,’ टमटा भन्छन् । कप्तान पारस भने राम्रो नतिजा नआउँदा आलोचना हुनुलाई स्वाभाविक ठान्छन् । भन्छन्, ‘हामीले राम्रो खेलेर पनि हारेका हौँ । हङकङविरुद्ध हामी जित नजिक थियौँ, तर चुक्यौँ । सबैसँग माफी माग्छौँ ।’

निरन्तर खस्कँदो प्रदर्शन 

नेपाली राष्ट्रिय क्रिकेट टोलीले पछिल्लो करिब तीन वर्षयता खेल्दै आइरहेको ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप नै हो । यसै प्रतियोगितामार्फत नेपाललाई डिभिजन–१ मा रहँदै आईसीसीको थप ठूलो अन्तर्राष्ट्रिय खेल्ने अवसर प्राप्त गर्ने सक्ने बाटो थियो । यद्यपि च्याम्पियनसिपमा निरन्तरको खस्कँदो प्रदर्शनले नेपालले यो स्तरको अवसरसमेत गुमाएको छ । नियमित खेलिरहेका प्रतिद्वन्द्वीविरुद्धको खेलको यो नतिजाले नेपालको प्रदर्शन वास्तवमै खस्कँदै गएको संकेत गर्छ ।

 

 

प्रतिकृया दिनुहोस