MENU

खेलकूद

635x90

 फुटबल : एकेडेमीको उडान

विष्णु थापा सोमवार, आश्विन ३०, २०७४

बालुवाटारको एक्सेल फुटसल ग्राउन्ड । नाम फुटसल भने पनि फुटबल सिक्न पाँच–सात वर्षका बालबालिकादेखि १५–१७ वर्षसम्मका किशोरहरूको भीड छ । कोही गोल हान्न त, कोही बल समाउने कला सिकिरहेका छन् । हरेक शनिबार, आइतबार तथा सार्वजनिक बिदाका दिनमा यो फुटसलमा यस्तै दृश्य देख्न पाइन्छ ।

फुटबलमा रुचि राख्ने बालबालिकादेखि किशोरहरूलाई लक्षित गर्दै जुनियर फुटबल एकेडेमीले सञ्चालन गरेको ट्रेनिङको दृश्य हो, यो । यहाँ हरेक सार्वजनिक बिदाका दिन दुई सयभन्दा बढी बालबालिकाले फुटबलको सैद्धान्तिक ज्ञान लिने गरेका छन् ।

पूर्वराष्ट्रिय खेलाडी प्रज्ज्वलप्रताप क्षत्री र काव्य स्कुलका डाइरेक्टर रिजन खड्का मिलेर सन् २०१० मा जुनियर फुटबल एकेडेमी शुरु गरेका हुन् । १९ जनाबाट शुरु भएको एकेडेमीमा अहिले चार सयभन्दा बढीले फुटबल सिक्ने गरेका छन् । बालुवाटारको एक्सेल फुटसल ग्राउन्डमा मात्र दुई सय २३ जनाले फुटबल सिक्दै आएका छन् ।

प्रज्ज्वलका अनुसार काठमाडौंमा फुटबल खेल्ने मैदान नभएको र विद्यालयका विभिन्न उमेर समूहका बालबालिका बिदाका दिन घरमै बसेर टीभी हेर्ने, यताउता बरालिने गरेको देखेपछि साप्ताहिक तथा सार्वजनिक बिदालाई लक्षित गर्दै फुटबल ट्रेनिङ शुरु गरिएको हो । भन्छन्, ‘बिदाका दिन बालबालिका मोबाइलमा गेम खेलेर, दिनभरि टीभी हेरेर समय बिताउँछन् भने अलि उमेर पुगेकाहरू बरालिँदै हिँड्ने गर्छन् । उनीहरू गलत संगतमा नपरून् र खेलकुदमा व्यस्त होऊन् भनेर सार्वजनिक बिदाका दिनमा ट्रेनिङ शुरु गरिएको हो ।’ विभिन्न विद्यालयको खेल हेर्दा उनीहरूको ‘बडी ब्यालेन्स’ र बलमा तालमेल नमिलेको देखेपछि जुनियर फुटबल एकेडेमीको आवधारणा बनाइएको थियो । एकेडेमी स्थापना भएको सात वर्षको अवधिमा आफ्नो अवधारणाले मूर्तरूप पाएकोमा व्यवस्थापन पक्ष दंग छ ।

एन्फा एकेडेमीका पहिलो ब्याचका खेलाडी क्षत्रीले आठ वर्ष एन्फा एकेडेमीमा बिताए । १० वर्षको उमेरमा एन्फा एकेडेमी छिरेका उनले एकेडेमीबाट निस्किएपछि करिब सात वर्ष ‘ए’ डिभिजन लिग खेले । फुटबल खेल्दाखेल्दै खुट्टामा गम्भीर चोट लागेर लिगमा सोचेअनुरूप प्रदर्शन गर्न नसकेपछि उनले खेलाडी जीवन टुंग्याउने निर्णय गरी प्रशिक्षणमा सहभागी भए । ‘सी’ वर्गको लाइसेन्स उतीर्ण भएपछि उनले जुनियर फुटबल एकेडेमीको अवधारणा ल्याए । त्यो अवधारणामा खड्का पनि सहमत भएपछि एकेडेमी शुरु गरेका हुन्, उनले ।

त्रिपुरेश्वरको कान्ति ईश्वरी विद्यालयको मैदानबाट खेलाडी उत्पादनको काम थालेका क्षत्रीले एकेडेमीलाई तीन स्थानमा विस्तार गरेका छन् । उनले बालुवाटार, शान्तिनगर र बानेश्वरको काव्य स्कुलमा चारदेखि १६ वर्ष उमेर समूहका बालबालिकालाई फुटबलको कला सिकाउँदै आएका छन् ।

फिफाको ‘बी’ र हल्यान्ड विश्वविद्यालयबाट ‘सी’ लाइसेन्स प्राप्त क्षत्री आफूले मात्र नभ्याएपछि ‘ए’ डिभिजनका विभिन्न क्लबलाई हेर्दै आएका चार जना प्रशिक्षकलाई राखेर साना बालबालिकालाई ट्रेनिङ दिइराखेका छन् । यसबाहेक छात्राका लागि पनि छुट्टै महिला प्रशिक्षकको पनि व्यवस्था गरेका छन् । हालै मात्र ‘ए’ लाइसेन्स कोचिङ पास गरेका उनलाई सघाउन रवीन्द्र शिलाकार, गोरख केसी, अजय महर्जन र छात्रालाई ट्रेनिङ दिन पूर्वराष्ट्रिय खेलाडीले तालिम दिइरहेका छन् । बालुवाटार र शान्तिनगरमा त्यहाँको फुटसलसँग मिलेर ट्रेनिङ सञ्चालन गरिएको छ भने भने काव्य स्कुलमा भने विद्यालयको मैदान प्रयोग गरिएको छ ।

१९ जनाबाट शुरु भएको एकेडेमीमा अहिले चार सयभन्दा बढीले फुटबल सिक्ने गरेका छन्।

एकेडेमीमा यू ४–८, यू–१०, यू–१२, यू–१६ उमेर समूह र गोलकिपरको ट्रेनिङ सञ्चालन हुँदै आएको छ । एकेडेमीबाट हुने आम्दानीबाट राष्ट्रियस्तरका प्रशिक्षकको पारिश्रमिक र फुटसलको भाडा तिर्न पुगेको क्षत्री बताउँछन् । उनका अनुसार एकेडेमीका खेलाडीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका छन् । जुनियर फुटबल एकेडेमीका खेलाडीले चीन, थाइल्यान्ड, नर्वे र अमेरिका गएर फुटबल खेलिसकेका छन् ।

प्रशिक्षक क्षत्री भन्छन्, ‘हाम्रा खेलाडीले जहाँ गए पनि उत्कृष्ट खेल खेलेका छन् । तिनले नेपाल र जुनियर फुटबल एकेडेमीको नाम राखेका छन् ।’ एकेडेमीका केही खेलाडीले ‘ए’ डिभिजन क्लबबाट यू–१८ प्रतियोगिता खेलिसकेका छन् । नेपालमा अहिले राष्ट्रिय लिग सञ्चालन नभएकाले आफ्ना खेलाडीले त्यति अवसर नपाए पनि लिग सञ्चालन भएपछि उनीहरूले राम्रो अवसर पाउने उनको दाबी छ ।

यसैगरी एकेडेमीकै पहिलो ब्याचका दुई खेलाडीले मनाङ मस्र्याङ्दी क्लबबाट यू–१८ फुटबल खेलिसकेका छन् । यस्तै, एक जनाले सशस्त्र प्रहरीको एपीएफको ‘बी’ टोलीबाट खेल्दै छन् । क्षत्रीले खेलाडीलाई फुटबल कला सिकाउने मात्र होइन, विभिन्न क्लबमा आबद्धताका लागि पनि पहल गर्दै आएको बताउँछन् ।‘जुनियर फुटबल एकेडेमीले फुटबल सिकाउने मात्र होइन, एकेडेमीमा खारिएका प्रतिभालाई विभिन्न क्लबमा आबद्ध गराउन पनि पहल गछौँ,’ उनले भने ।

अभिभावक पनि दंग

जुनियर फुटबल एकेडेमीले सञ्चालन गरेको ट्रेनिङ सेन्टरमा अभिभावक आफैंले आफ्ना छोराछोरीलाई पु¥याउँछन् । टे«निङ सेन्टर पुग्ने अभिभावक दुई घण्टासम्म आफ्ना छोराछोरीको खेल हेर्छन् । राम्रो खेल्न उनीहरूलाई हौसला दिन्छन् । धापासीकी रोमा घिमिरे विगत तीन वर्षदेखि आफ्ना दुई छोरालाई हरेक साता ट्रेनिङ सेन्टरमा ल्याउने गरेको बताउँछिन् । बालबच्चाले फुटबलको आधारभूत तालिम पनि सिक्ने र शारीरिक तथा मानसिक विकासमा पनि मद्दत पु¥याउने भएकाले एकेडेमीबाट आफू सन्तुष्ट रहेको उनी बताउँछिन् । उनका १२ वर्ष र नौ वर्षका दुई छोराले एकेडेमीमा फुटबल सिक्दै आएका छन् ।
‘छोराहरूले फुटबल सिक्न थालेपछि मानसिक र शारीरिक परिवर्तनमा सहयोग पुगेको छ । सबैभन्दा ठूलो कुरा उनीहरू अनुशासित भएका छन् ।’ रोमा भन्छिन्, ‘एक पटक यहाँ आइसकेपछि सबैले निरन्तरता दिँदै आएका छन् ।’ उनले आफ्ना बच्चाले अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागी हुन पाउनु ठूलो अवसरका रूपमा लिएको बताउँछिन् ।

मैदान नहुँदा समस्या

एकेडेमीको आफ्नै मैदान छैन । बालुवाटार र शान्तिनगरमा फुटसल भाडामा लिएर ट्रेनिङ सञ्चालन गरिएको छ भने नयाँबानेश्वरमा काव्य स्कुलको मैदान प्रयोग गरिएको छ । त्यसैले सकेसम्म आफ्नै फुटबल मैदान बनाउन क्षत्रीको टोली जग्गा भाडाको खोजीमा छ । ‘काठमाडौंमा खाली जग्गा पाउन मुस्किल छ । पाइहाले पनि फुटबल मैदानका लागि उपयुक्त जग्गा नै पाइँदैन । तैपनि हामीले जग्गा खोजी कार्यलाई निरन्तरता दिई नै राखेका छौँ’ क्षत्रीले भने ।
यसैगरी अहिले इन्डोरमा टे«निङ गराइरहेका उनले आउटडोर टे«ेनिङ पनि शुरु गर्ने योजना रहेको बताए । ‘जग्गा पायौँ भने आफ्नै मैदानमा सिकाउँछौँ । जग्गा नपाए पनि विभिन्न स्थानमा लगेर तालिम सञ्चालन गछौँ ।’ उनले आगामी योजना सुनाए ।

क्षत्री साप्ताहिक टे«निङका साथै ६ महिने फुटबल क्याम्प सञ्चालन गर्ने अभियानमा लागेका छन् । फुटबलको आधारभूत ज्ञान पाउन एक–दुई वर्ष लाग्ने भए पनि उनले ६ महिनामा आधारभूत ज्ञान दिनेगरी क्याम्प सञ्चालन गर्न लागेका हुन् । यसका लागि फुटबल सिक्न चाहने बालबालिकासँग ६ महिनाको सम्झौता गरेर केही समयपछि नै क्याम्प शुरु गर्ने तयारीमा छन् ।

सकर स्कुलको योजना

दशैंअघि मात्र प्रशिक्षकको ‘ए’ लाइसेन्स पाएका क्षत्रीले जीवनभर फुटबल ट्रेनिङमै लाग्ने सोच बनाएका छन् । त्यसैले विदेशमा जस्तै नेपालमा पनि एउटा राम्रो फुटबल एकेडेमी निर्माणका साथै सकर स्कुल सञ्चालन गर्ने योजनामा छन् । ‘विदेशमा ठाउँ–ठाउँमा फुटबल सिकाउने सकर स्कुलहरू छन् । तर नेपालमा टे«निङ सेन्टरसम्म छैन । त्यसैले फुटबलमा भविष्य खोज्नेहरूलाई लक्षित गरी भविष्यमा सकर स्कुल र एकेडेमी बनाउने योजना बनाएका छन् ।

 

प्रतिकृया दिनुहोस