MENU

खेलकूद

635x90

खेलकुदमा झोले संघको बिगबिगी

गोविन्द रेग्मी मंगलवार, आश्विन ३, २०७४

राणा शासनको अत्यतिर छिटफुट खेलकुद गतिविधि सञ्चालन भए । राणाको चासो र पहलमा काठमाडौंबाट शुरु भएको  खेलकुदको दायरा फराकिलो बन्दै गयो । खेल संघ पनि दर्ता भए । २००४ सालमा पहिलो पटक नेपाल एमेच्योर एथलटिक्स संघ र नेपाल क्रिकेट संघ गठन भएको थियो । त्यसपछि ००७ सालमा नेपाल ब्याडमिन्टन संघ, ००८ सालमा अखिल नेपाल फुटबल संघ र अखिल नेपाल टेबलटेनिस संघ गठन भयो । ०११ सालसम्म नेपाल हक्की संघ र ०१३ सालमा अखिल नेपाल लन टेनिस संघ गठन भयो । त्यसपछि खेल संघ गठन हुन दुई दशक कुर्नुपर्‍यो । २०३३ सालमा नेपाल बक्सिङ संघ, नेपाल भलिबल संघ र नेपाल कबड्डी संघ गठन भए ।

पछिल्लो चार दशक अर्थात् ०४६ सालको परिवर्तनपछि राखेपमा खेल संघ गठन र दर्ता हुने क्रम चुलियो । यद्यपि, नेपालमा खेलिने खेलका विषयमा आममानिसलाई सोधियो भने अधिकांशले राणाशासनकै अत्यतिर गठन भएका खेल संघ र खेलिएका खेलकै नाम लिन्छन् । नेपाली जिब्रोले सहजै लिने खेलका नामहरू एथलेटिक्स, फुटबल, भलिबल, कराँते, तेक्वान्दो, आर्चरी, पौडी, कबड्डी, बक्सिङ भारोत्तोलनलगायत हुन् । तर, नेपालले चल्तीका खेलको अन्तर्राष्ट्रिय स्पर्धामा उल्लेख्य सफलता हात पार्न नसके पनि खेल संघमा भने धनी मुलुकमा
दरिन्छ । नेपालमा अहिले एक सय ९१ वटा खेलकुद संघ छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नेतृत्व र उसको राजनीतिक आस्थाका आधारमा खेल संघ दर्ता गरिनु अहिले परम्परा जस्तै बनेको छ । यसले वास्तविक खेल संघ र खेलाडी मर्कामा छन् । एउटै खेलका फरक–फरक संघ राखेपमा दर्ता भएका छन् । मार्सल आर्टअन्तर्गत कराँतेको मात्र राखेपमा दुई दर्जन संघ छन् । तेक्वान्दोको अवस्था पनि उस्तै छ । नेपालीले पत्तो नपाएका योङमुदो, च्यानवारा, हाप्किडो, ओकिनावा सुुरिकेन सोलिन कराँते, रोलबल, उडबल, परेवा उडान संघ, लाठी संघ, गोरखा खुुकुरी मार्सल आर्ट, साम्बो, आइस हक्कीलगायत एक सयभन्दा बढी संघ खेलकुदका नाममा वितण्डा मच्चाइरहेका छन् ।

७० वर्षमा खेल संघको संख्या दुई सयजति पुग्न लाग्यो। तीमध्ये अधिकांश ‘झोले संघ’ छन्।

 ‘सरकार परिवर्तनसँगै राखेपको नेतृत्वमा आउने परिवर्तनले खेलकुदलाई धराशयी बनाउँदै गएको हो,’ नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले टिप्पणी गरे, ‘खेलकुद बुझ्ने व्यक्ति नहुँदा धेरै गाह्रो हुने रहेछ । अनावश्यक खेल संघको भीडले सम्भावना बोकेका खेल र खेलाडी मर्कामा परेका छन् ।’ राखेपमा दर्ता भएका अधिकांश खेल संघ ‘झोले’ देखिन्छन् । जसको आधिकारिक कार्यालय, जिल्ला समन्वय शाखा र खेलाडीसमेत छैनन् । खेलको नियम र राष्ट्रियस्तरका प्रतियोगिताबारे कसैलाई जानकारी छैन । तर, राखेपका पदाधिकारी अन्जान खेलको नयाँ संघ दर्ता गर्दै त्यही संघमार्फत् विदेश सयरमा व्यस्त छन् । राखेपमा दर्ता भएको खेलबारे यसअन्तर्गतकै संघ संस्था शाखालाई समेत पत्तो छैन ।

नेपाल सन् १९५१ मा जर्मनीको हेल्सिन्की ओलम्पिक गेममा पर्यवेक्षकको रूपमा सहभागी भएको थियो । त्यसपछि सन् १९६४ को टोकियो ओलम्पिकदेखि ओलम्पिक खेलकुदमा औपचारिक प्रवेश गरेको हो । जसमा पहिलो पटक नेपालका दुई एथलेटिक्स र चार बक्सिङ खेलाडीले भाग लिएका थिए । यसैबीच ओलम्पिक र एसियाली खेलकुद सहभागिताको बखान खेलवृत्तमा निकै हुने गर्छ । तर, सफलताको कथा शून्य छ । आधा शताब्दी लामो नेपालको ओलम्पिक यात्रा केवल सहभागितामा सीमित छ । सन् १९८८ को सियोल ओलम्पिकमा प्रदर्शनी खेलको रूपमा समावेश गरिएको तेक्वान्दोमा नेपालका विधान लामाले कास्य जिते । ओलम्पिकमा पाएको त्यही सफलताको कथा रट्दै नेपाली खेल क्षेत्र रमाइरहेको छ ।

नेपालमा आयोजना हुने बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत अहिलेसम्म ३५ वटा खेल समावेश हुन सकेका छैनन् । अझ, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालले भाग लिने खेलको संख्या नगन्य छ । गत वर्ष ब्राजिलमा सम्पन्न ३१ औं ग्रीष्मकालीन रियो ओलम्पिक गेममा नेपालबाट पाँच खेलमा सात खेलाडीले भाग लिएका थिए । ओलम्पिकमा पौडी खेलाडी शिरीष गुरुङ र गौरीका सिंह, एथलेटिक्समा हरिकुमार रिमाल र सरस्वती भट्टराई, आर्चरीका जीतबहादुर मोक्तान, जुडोमा फुपुल्हामु खत्री र तेक्वान्दोकी निशा रावल सहभागी थिए ।नेपालले आर्चरी, जुडो र तेक्वान्दोमा ‘वाइल्ड कार्ड’मार्फत् तथा एथलेटिक्स र पौडीमा अनिवार्य कोटामार्फत् भाग लिएको थियो । ओलम्पिकमा नेपालको यो सहभागिता संख्याको हिसाबले सबैभन्दा ठूलो हो । एसियाली खेलकुद प्रतियोगिता (एसियाड) मा पनि नेपालले भाग लिने खेल संख्या एक दर्जन पनि पुगेको छैन ।

rajendrakumar सम्भावना भएका खेलको विकास र विस्तार गर्नुपर्छ। नेपालमा ५० भन्दा बढी खेल संघ हुनु हुँदैन। राजेन्द्रकुमार केसी  मन्त्री, युवा तथा खेलकुद

नेपालका लागि महत्‍वपूर्ण मानिने दक्षिण एसियाली खेलकुद (साग) मा समेत नेपालले उल्लेख्य सहभागिता र आशलाग्दो सफलता हात पार्न सकेको छैन । भारतमा डेढ वर्षअघि सम्पन्न १२ औं सागमा २३ खेल समावेश गरिएको थियो । सागमा समावेश सबै खेलमा भाग लिने नेपाल चौथो देश हो । सबै स्पर्धामा भाग लिने अन्य देशमा आयोजक भारत, पाकिस्तान र बंगलादेश थिए । अन्तर्राष्ट्रिय एरिनामा भर्खर २३ खेलमा सहभागिता जनाएको नेपालमा राखेपको सदस्यसचिव बन्नासाथ खेलसंघ दर्ता गर्न होडबाजी भने चलिरहेको छ । सदस्यसचिवको चासोमा बर्सेनि नयाँ खेल संघ थपिने क्रम बढ्दो छ । राखेप सदस्यसचिव केशवकुमार विष्ट खेल संघ धेरै दर्ता भएर कुनै फरक नपर्ने बताउँछन् । जति खेल संघ भयो खेलकुद चलायमान हुने उनले तर्क गरे । विष्टले राखेप सदस्यसचिवको बागडोर सम्हालेपछि २० वटा नयाँ खेल संघ थपेका छन् ।

तर, ती खेल कसरी खेलिन्छ, कहाँ खेलिन्छ । त्यो खेलका खेलाडी को हुन् र कहाँ छन् भन्ने जानकारी स्वयं सदस्यसचिवलाई छैन । नौला खेलका नाममा विदेश सयर गर्ने, राखेपबाट खेल संघका नाममा सहुलियत र अनुदान रकम लिने तथा रकम असुल्नेको बिगबिगी खेलकुद क्षेत्रमा बढ्दो छ ।राखेपको मनोमानीले झोले संघ बढेको युवा तथा खेलकुद मन्त्रालयलाई पनि चित्त बुझेको छैन । ‘खेल संघ आवश्यकताभन्दा बढी हुनु हुँदैन । नेपाल जस्तो सानो देशमा संघको व्यवस्थापन गर्न आर्थिक हिसाबले पनि गाह्रो छ,’ मन्त्रालयका सचिव महेशप्रसाद दहालले गुनासो गरे । दुई महिनाअघि युवा तथा खेलकुदमन्त्री बनेका राजेन्द्रकुमार केसी राजनीतिक आस्थाका आधारमा संघ दर्ता गर्नुलाई सरकारी बजेटको दुरुपयोग ठान्छन् ।

एक साताअघि मात्र उनले खेल क्षेत्रलाई अनुशासित, व्यवस्थित, मर्यादित एवं वैधानिक बनाउन राखेप सदस्यसचिव केशवकुमार विष्टलाई २६ बुँदे निर्देशन  दिएका छन् । खेलकुद संघहरूको दर्ता राखेप बोर्ड बैठकबाट स्वीकृति गर्नुपर्ने र बोर्ड बैठक नबसेको खण्डमा मन्त्रीलाई जानकारी गराउनुपर्ने कुरा निर्देशनमा उल्लेख छ । खेल वृत्तमा मन्त्री केसीको निर्देशनलाई राखेप सदस्यसचिवको एकाधिकार रोक्ने कडीको रूपमा व्याख्या गर्न थालिएको छ । ‘सम्भावना भएको खेलको विकास र विस्तार गर्नुपर्छ,’ मन्त्री केसी भन्छन्, ‘नेपालमा ५० भन्दा बढी खेल संघ हुनु हुँदैन भन्ने मन्त्रालयको ठहर छ ।’chart



 

प्रतिकृया दिनुहोस