MENU

खेलकूद

Annapurna635x90

नयाँं पूर्वाधारमा खेलकुद मन्त्रीकाे चासो

विष्णु थापा बुधवार, भाद्र २८, २०७४

१२ भदौ बिहान आठौं राष्ट्रिय खेलकुद प्रतियोेगितास्थलका पूर्वाधार अवलोकन गर्न नेपालगञ्ज पुगेका युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीलाई खेलका नयाँ–नयाँ पूर्वाधार निर्माण गर्ने मागका चाँङमाथि चाँङ लागे । मन्त्री केसीले बाँके, बर्दिया र कैलालीमा खेलका पूर्वाधारको अवलोकन गरे । उनी जहाँजहाँ पुगे, स्थानीयले नयाँ पूर्वाधार निर्माणकै लागि अनुरोध गरे । कसैले क्रिकेट त कसैले फुटबल मैदानका लागि बजेट पारिदिन आग्रह गरे । कसैले पनि पुराना संरचनाको मर्मतसम्भारबारे कुरा उठाएनन् । मन्त्रीको अवलोकन पनि नयाँ पूर्वाधार बन्ने स्थलमै केन्द्रित भयो । अवलोकनका क्रममा पुराना संरचनाको संरक्षण र मर्मतसम्भारमा ध्यान नदिएर नयाँ पूर्वाधार माग भएकोमा मन्त्री केसी पनि चकित परे । ‘सबैको जोड नयाँ पूर्वाधार बनाउनुमै रहेको छ । पुराना सम्पदाको संरक्षण र मर्मतसम्भारका लागि कसैको पनि ध्यान नपुगेकोमा आश्चर्य लागेको छ,’ उनले भने ।

सरकारको मात्र मुख ताक्दा पुराना संरचना जीर्ण बनेको उनले पाए । ‘चाहे रंगशालामा होस् या कभर्डहलमा दिनहुँ सयौं खेलाडीले खेल्ने गर्छन्, तर त्यहाँ भएका फोहोर सफा गर्ने र उम्रिएका झारपात सफा गर्ने ध्यान कसैले पनि दिँदैनन्,’ मन्त्री केसीले भने, ‘जो पनि नयाँ पूर्वाधारकै पछि लागेका छन् ।’ उनले साताको एक दिन आफूले खेल्ने र काम गर्ने स्थानको सरसफाइमा खेलाडी, प्रशिक्षक र खेल पदाधिकारी लाग्नुपर्नेमा जोड दिए । ‘पहिले मन्त्रीले रंगशालाको झाडी फाडेको समाचार आएको थियो । सधैँ त्यहीँ बस्ने कर्मचारी, खेलाडी, प्रशिक्षक र खेल पदाधिकारीले चासो नदिएपछि मन्त्री आफैँ आएर सफा गर्नुपर्ने अवस्था आयो । सबै मिलेर सफासुग्घर गर्ने हो भने मन्त्रीले सफा गर्नुपर्ने अवस्था आउने थिएन,’ मन्त्री केसीको सुझाव छ । नेपालगन्जमा विमानबाट ओर्लिने बित्तिकै मन्त्री कोहलपुरमा निर्माणाधीन क्रिकेट मैदानको अवलोकनमा पुगे । त्यसपछि तेह्रबिघाको निरीक्षण गरे । बर्दिया सदरमुकाम गुलरियामा निर्माण हुन लागेको कभर्डहलको जग्गाको अवस्था अवलोकन गरे । स्थानीयले स्वागत गर्दै नयाँ पूर्वाधार निर्माणका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

chaso

आठौं राष्ट्रिय खेलकुद २०७५ मंसिरमा नेपालगन्जमा आयोजना हुँदैछ । प्रतियोगिताका लागि सरकारले राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष तथा पूर्वओलम्पियन सुरेन्द्र हमालको संयोजकत्वमा तयारी समिति गठन गरेर काम शुरु गरेको छ । समिति प्रतियोगिताको आवश्यक पूर्वाधार तयारी र आयोजनास्थलको खोजीमा लागेको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता तयारी समितिका संयोजक हमाल अहिलेकै पूर्वाधारबाट पनि प्रतियोगिता आयोजना गर्न सकिने भए पनि मध्यपश्चिममा केही पूर्वाधार निर्माण होस् भनेर विभिन्न स्थानमा काम शुरु गरिएको बताउँछन् । ‘आठौं राष्ट्रिय खेलकुदका लागि पूर्वाधारको अभाव छैन, तर राष्ट्रिय प्रतियोगिताका नाममा यस क्षेत्रमा केही पूर्वाधार निर्माण होस् भन्ने हाम्रो चाहना हो,’ हमालले भने, ‘प्रतियोगिताका नाममा केही पूर्वाधार निर्माण हुन्छ भने त्यो हाम्रा लागि मात्र नभई राष्ट्रकै लागि फाइदा पुग्छ ।’

संयोजक हमालले पौडीबाहेक अन्य सबै प्रतियोगिता गर्न मध्यपश्चिमाञ्चल अहिले पनि सक्षम रहेको बताए । गत पुसमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि पौडी, स्क्वास, फेन्सिङ काठमाडौंमा र आर्चरी पोखरामा आयोजना गरिएको थियो । त्यसैले केही खेलबाहेक प्रतियोगिता गर्न मध्यपश्चिम तयार छ । यसअघि मध्यपश्चिमाञ्चल क्षेत्रमा २०५४ मा चौथो राष्ट्रिय प्रतियोगिता आयोजना गरिएको थियो । त्यही प्रतियोगिताका क्रममा विभिन्न पूर्वाधार निर्माण भएको थियो । चौथो राष्ट्रिय प्रतियोगिताका क्रममा बनेका पूर्वाधारको मर्मतसम्भार र केही नयाँ पूर्वाधार निर्माण गरी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्ने अभियानमा मध्यपश्चिमाञ्चल रहेको छ । हमालका अनुसार बाँके, बर्दिया र दाङमा आठौं राष्ट्रिय प्रतियोगिताका खेलहरू सञ्चालन हुनेछन् ।

आठौं राष्ट्रिय खेलकुद २०७५ मंसिरमा नेपालगन्जमा हुँदैछ। प्रतियोगिताका लागि सरकारले राखेप कोषाध्यक्ष तथा पूर्वओलम्पियन सुरेन्द्र हमालको संयोजकत्वमा तयारी समिति गठन गरेर काम शुरु गरेको छ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी समितिले कोहलपुरको क्रिकेट मैदान, नेपालगन्जको पौडी पोखरी, गुलरियाको कभर्डहललगायत स्थानमा नयाँ पूर्वाधार निर्माण गर्न लागिपरेको छ । यसका साथै नेपालगन्ज रंगशाला, कभर्डहललगायत संरचना मर्मत गर्ने योजना छ ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको अवलोकनका लागि मध्यपश्चिमाञ्चल पुगेका युवा तथा खेलकुद मन्त्री केसीले भने पूर्वाधार निर्माणमा बजेट अभाव नहुने प्रतिबद्धता जनाएका थिए । ‘पूर्वाधार निर्माणका लागि बजेट अभाव हुँदैन । तर, निर्माण थालिएका पूर्वाधार तोकिएकै समयमा सम्पन्न हुनुपर्छ,’ करिब ३५ वर्षपछि नेपालगन्ज पुगेका केसीले नेपालगन्जलाई ‘स्पोर्टस हब’ बनाउनुपर्नेमा जोड दिए । आर्थिक, सांस्कृतिक, राजनीतिका साथै खेलकुदका क्षेत्रमा पनि नेपालगन्जले भिन्नै उपलब्धि हासिल गरेकाले शहरलाई स्पोर्टस हब बनाउनुपर्नेमा मन्त्री केसीले जोड दिएका हुन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टका अनुसार आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि एक अर्ब पाँच करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । उनले स्थलगत अध्ययनपछि पूर्वाधार निर्माण तथा मर्मतमा ७० करोड र प्रतियोगिता सञ्चालनका लागि ३५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको बताए । यसअघिका हरेक राष्ट्रिय प्रतियोगिता पटक–पटक सर्ने गरेकाले सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न हुनासाथ आठौंको तयारी थालिएको बताए । पूर्वाञ्चलमा गत पुसमा सम्पन्न सातौं राष्ट्रिय खेलकुद पनि पटक–पटक सरेर एक वर्ष ढिला गरी सम्पन्न भएको थियो । ‘यसअघिका कुनै पनि राष्ट्रिय प्रतियोगिता तोकिएको मितिमा हुन सकेन ।

कहिले पूर्वाधारको कमी त कहिले बजेट अभावमा प्रतियोगिता प्रभावित हुने गर्‍यो । आठौं राष्ट्रिय प्रतियोगितालाई तोकिएकै समयमा सम्पन्न गर्न सातौं राष्ट्रिय प्रतियोगिता सम्पन्न हुने बित्तिकै तयारी थालिएको हो,’ सदस्यसचिव विष्टले भने, ‘प्रतियोगिताको आवश्यक पूर्वाधार अहिलेदेखि नै निर्माण गर्दा पछि एकैपटक भार पर्दैन ।’सदस्यसचिव विष्टले आठौं राष्ट्रिय खेलकुदका लागि गत आर्थिक वर्षमा १० करोड ४१ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । उनले चालु आवमा २० करोड ४५ लाख बजेट छुट्याएको र आउँदो आवमा ४० करोड रुपैयाँ बजेट पाउनुपर्ने बताए । विष्टले सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएका ३५ खेल नै राख्ने हो भने पनि ३५ करोड रुपैयाँ लाग्ने जानकारी दिए । पहिलेजस्तै अहिले पनि त्यत्ति नै खर्च लाग्छ भन्ने हाम्रो प्रारम्भिक अनुमान हो,’ उनले भने ।

 

 

प्रतिकृया दिनुहोस