MENU

खेलकूद

635x90

थाई बक्सिङका नेपाली गुरु

विष्णु थापा सोमवार, भाद्र ५, २०७४

सानै उमेरदेखि खेलकुदमा रुचि राख्ने नमराज भण्डारी (३४) को मनमा खेलको माध्यमबाट देशको नाम संसारभरि फैलाउनुपर्छ भन्ने थियो । उनले शुरुमा मार्सल आर्टका धेरै खेलका कला सिके । सेतो ‘गी’ मा सेतो बेल्ट बाँधेर क्योकोसिन कराँते खेल्न थालेका नमराजले केही समयपछि नै सिन्जिन कराँतेमा प्रवेश गरे । उनको मन सिन्जिनमा पनि धेरै समयसम्म अडिन सकेन । सिन्जिन छाडेर क्वानमुक्वानमा भविष्य खोजे । क्वानमुक्वान खेल्दाखेल्दै साथीको लहलहैमा उनी केन्सिकाई कराँतेमा प्रवेश गरे । सबै कराँते उस्तै लागेपछि उनले बक्सिङ रिङमा आफ्नो भविष्य देख्न थाले । बक्सिङमा पनि केही नहुने देखेपछि हठी र आफूले चाहेको गरेकै देखाउने स्वभावका नमराजले अर्को खेल रोजे, ‘तेक्वान्दो’ । ‘किक’ हान्न माहिर उनले धेरै समय तेक्वान्दो खेले । तेक्वान्दो खेल्दाखेल्दै उसुमा मोहित भए । र, रमाउन पुगे ।

मार्सल आर्टका विभिन्न कला सिक्दासिक्दै उनको दिमागमा एउटा कुरा घुमिरहन्थ्यो । एउटा खेलाडी भएर खेल खेलिरहने कि त्यस खेलको विकास र विस्तारमा पनि केही योगदान पु¥याउने ? उनी जुन खेल राज्थे, त्यो खेलले आफ्नो वैयक्तिक विकास भए पनि खेलको विकास र विस्तार नहुने देखेपछि अर्को खेल रोज्ने गर्थे । यसरी रोज्दारोज्दै उनले ७–८ वटा खेल खेले । अन्तिम रोजाइमा प¥यो, ‘थाई बक्सिङ’ । उनले केन्सिकाइको ‘एसियन गेम’मा स्वर्ण पदक जिते । त्यसैगरी वल्र्ड च्याम्पियनसिपमा कास्य पदक जिते । आफ्नो तौल समूहमा तीन पटकसम्म नेपाल च्याम्पियन नै बने । खेलकै क्रममा उनले थाइल्यान्ड जाने अवसर पाए । त्यहाँ थाइ बक्सिङबारे जान्न र बुझ्न पाए ।

नेपालमा धेरै खेलमा भविष्य खोजेका नमराजले थाइल्यान्डमै तालिम लिए । शुरु शुरुमा त तालिम उनलाई रमाइलै लाग्यो । दुई सातापछिको तालिम गाह्रो हुन थाल्यो । २३औं दिनको तालिम बिर्सनै नसक्ने भएको थियो । ‘तालिम गाह्रो भएर त्यस रात सुत्न सकिएन । रोएरै रात काटेँ,’ उनले ती दिन सम्झे । अन्जान र एक्लो शहरको होटलको बेडमा रुँदारुँदै उनले संकल्प गरे, ‘यो खेल नेपाल भित्र्याउँछु ।’ एक महिनाको तालिमले थाई बक्सिङ (मुवा थाइ) बारे धेरै जान्ने र बुझ्ने भए । खेल खेल्ने तौरतरिकादेखि सांगठनिक संरचनाबारे पनि जानकारी लिए । नेपाल फर्किएपछि खेलाडी खोज्ने, उनीहरूलाई तालिम दिने र संस्था दर्ताका लागि निरन्तर धाउन थाले । लगातारको प्रयासबाट सन् २००७ मा थाई बक्सिङ संघ राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भयो । एक दशकमै थाई बक्सिङ संस्थागत रूपमा अघि बढेको छ ।

जसमा आबद्ध १० हजारभन्दा बढी खेलाडी छन् । धेरै जना यही खेलमा स्वरोजगार बनेका छन् । अहिले विभिन्न क्लबहरूमा मुवा थाई खेल खेल्नेहरू थुप्रै छन् । मासिक रूपमा शुल्क तिरेर यो खेल खेल्न स्वदेशीदेखि विदेशीसम्म क्लब धाउने गर्छन् । क्लबहरूले मासिक तीन हजारदेखि १० हजारसम्म लिने गरेको उनले बताए । खेलकै लागि भनेर क्लब स्थापना नभए पनि आफ्नो शरीर ‘मेन्टेन’ गर्नेहरूले जीमका साथै थाई बक्सिङ खेल्ने गरेका छन् । राजधानीका बौद्ध, सुकेधारा, बुढानीलकण्ठ, हात्तीगौंडा, विशालनगरका क्लब र मिनार, बीएमसीलगायत स्कुलमा थाई बक्सिङको तालिम दिइन्छ । जसमा सेना, प्रहरी र विदेशीले यो खेल सिक्छन् । ‘आर्थिक रूपमा सबल भएकालाई अनिवार्य शुल्क र प्रतिभावान खेलाडीलाई निःशुल्क खेलाउँदै आएको’ नमराज जनाउँछन् ।

थाई बक्सिङका सिक्न आएका विदेशी अर्को पटक नेपाल आउँछन् । ‘राम्रोसँग प्रचारप्रसार भएमा यो खेलले पर्यटनमासमेत टेवा पु¥याउन सहयोग गर्नेछ’ नमराजले अन्नपूर्ण टुडेसँग भने ‘अरू मार्सल आर्टभन्दा यसले एकआपसमा सम्बन्ध मजबुद बनाउन सहयोग पु¥याउने भएकाले पनि धेरैको रोजाइमा थाई बक्सिङ पर्ने गरेको छ ।’ सरकारले ध्यान दिएमा नेपाल थाई बक्सिङको नयाँ ‘हब’ हुन सक्ने उनको दाबी छ ।

यसरी मोडियो बाटो

३४ वर्षअघि काठमाडौंको बुढानीलकण्ठमा जन्मिएका उनका हजुरबुवा टोपबहादुर भण्डारी र बुवा रूपबहादुर भण्डारी नेपाली सेनामा कार्यरत थिए । परिवारको चाहना उनलाई पनि सेनामै लगाउने थियो । सेनामा भर्तीका लागि पोखरा लगियो । दौड, कसरतलगायत ‘प्राक्टिकल’ जाँचमा उनले सबैलाई पछि पारे । उनी आर्मी बन्ने लगभग निश्चित भइसकेको थियो । तर, लिखित परीक्षामा उनले केही लेखेनन् । रित्तो पाना बुझाएर परीक्षा हलबाट निस्किए । पोखराबाट भागेर घर फर्के । उनले परिवारको आशा र भरोसालाई तोडे । त्यसपछि ‘यसले के गरिखान्छ’ भनेर परिवारका सदस्यले हेयको दृष्टिले हेर्न थाले । र, चिन्ता पनि गर्न थालियो । तर, उनी विचलित भएनन् । आफ्नो अभियानमा दृढताका साथ समर्पित भए ।

अहिले थाइ बक्सिङ सम्बन्धी नेपालमा धेरै संघ खुलेका छन्। नमराजले नेपालमा थाइ बक्सिङ (मुवा थाइ) खेल भिञ्याउँदा यस खेलका बारेमा कसैलाई पनि थाहा थिएन।


परिवारको अर्को चिन्ताको विषय बनेको छ, उनको विवाह । ‘सामाजिक परम्परागत अनुसार घरजम गर्ने उमेर घर्किसकेको छ । मैले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि मार्सल आर्टस्को विकासलाई सर्वोपरी ठान्दै आएको छु । यही कारण जीवनमा बिहे गरिन्छ कि गरिँदैन भन्ने म आफैलाई थाहा छैन’, उनले भने,‘भने जस्तो र मनले खाएको केटी पाए भनें बिहे हुन सक्छ ।’

लक्ष्य युएफसी

नमराज यही सेप्टेम्बरमा बेलायतमा हुन लागेको वल्र्ड च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दैछन् । त्यही खेलका लागि लक्षित गर्दै अहिले तालिम गरिरहेका छन् । त्यस प्रतियोगितामा सोचेअनुरुप नतिजा आएमा उनी युएफसी फाइट खेल्ने अभियानमा छन् । नेपालीले पनि युएफसी खेल्न सक्छ भनेर संसारलाई देखाउन युएफसी फाइट खेल्ने अभियानमा लागेको उनले बताए । बेलायतमा हुने प्रतिस्पर्धाले युएफसीको बाटो निर्धारण गर्ने उनको भनाइ छ । थाइ बक्सिङ संघको पहलमा समय समयमा नेपाली खेलाडीले विदेशमा पनि प्रतिस्पर्धा गर्दै आएका छन् । सन् २०१५ मा भएको विश्व च्याम्पियनसिपमा निकेश तामाङले स्वर्ण पदक जितेका थिए भने केही महिना अघि सम्पन्न प्रतिस्पर्धामा चार खेलाडी सहभागी भएकामध्ये सविन राईले रजत पदक जिते भने राजु राई बेस्ट फाइटर चुनिएका थिए । यस पटक भने संघका अध्यक्ष नमराज आफै वल्र्ड च्याम्पियनसिपमा सहभागी हुन लागेका छन् ।

थाइ बक्सिङका धेरै संघ

अहिले थाइ बक्सिङसम्बन्धी नेपालमा धेरै संघ खुलेका छन् । नमराजले नेपालमा थाइ बक्सिङ (मुवा थाइ) खेल भिञ्याउँदा यस खेलका बारेमा कसैलाई पनि थाहा थिएन । अहिले सबैले यस खेलका बारेमा सुनेका छन्, जानेका छन् । उनी भर्खर खेल्न थालेकाहरूले पनि आफूलाई सर्वेसर्वा ठान्ने र घमन्ड गर्दा भने दुःख लागेको बताउँछन् । ‘मैले निकै दुःख गरेर यो खेल नेपालमा भित्र्याएँ तर भर्खर यो खेलमा लागेकाहरूको चुरीफुरी र घमन्ड गरेको देख्दा आफैलाई लाज लाग्छ’ उनले दुखेसो पोखे । उनी एउटै किसिमका मार्सल आर्टस्का धेरै संघसंस्था हुँदा खेलकुद क्षेत्रको विकास हुन नसक्ने भएकाले सबै एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिन्छन् । नमराजको सुझाव छ, ‘हामी सबैको एउटै लक्ष्य भनेको देशको नाम राख्नु हो । पैसा कमाउन होइन भने सबैजना एकजुट भए मात्र त्यो लक्ष्य पूरा गर्न सकिन्छ ।’

 

प्रतिकृया दिनुहोस