MENU

खेलकूद

635x90

नेपाली खेलाडीको विदेशी प्रशिक्षकप्रति  बढ्दो विश्वास

 दीपेन्द्र गुरुङ मंगलवार, श्रावण ३१, २०७४

रियल म्याड्रिड र एसी मिलान युरोपका दुई चर्चित क्लबको जुनियर प्रशिक्षण क्याम्प सञ्चालित भए, हालै काठमाडौंमा । एट्लान्टिक स्पोटर््स म्यानेजमेन्टले आयोजना गरेको इटालियन टोली एसी मिलान तथा शुभारम्भ एजुकेसन र स्पोट्स टुर्स प्रालिले आयोजना गरेको स्पेनी टोली रियलको जुनियर क्याम्पमा आफ्ना नानीहरूलाई फुटबल सिकाउन अभिभावक ठूलो रकम खर्च गर्न पनि आतुर देखिए । दुवै क्लबका क्याम्प आयोजकले नेपाली बालबालिकालाई युरोपेली फुटबल शैली सिकाउने दाबी गरे, त्यसका लागि दुवै आयोजकले उतैबाट झिकाएका थिए, प्रशिक्षक पनि ।

त्यसैले बालबालिकाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सञ्चालित एसी मिलानको क्याम्पमा फुटबल सिक्न एक साताकै ३० हजार तिरे भने मोडर्न इन्डियन स्कुलको मैदानमा सञ्चालित रियल म्याड्रिडको क्याम्पमा सहभागी हुन ३५ हजार तिरे । एक साताको प्रशिक्षणपछि क्याम्प बन्द भयो । विदेशी प्रशिक्षक आफ्नो देश फर्किए । खेलाडी पनि आ–आफ्नो घर फर्किए । युरोपेली फुटबल शैली बुझाउने र सिकाउने नारामा विश्वास गरेर एक साताकै ३०÷३५ हजार खर्च गर्न तयार भएका अभिभावकले यतिखेर बुझेको हुनुपर्छ, विदेशी प्रशिक्षकसँग कुनै जादु हुँदो रहेनछ, कम्तीमा साता दिनको प्रशिक्षणमा विदेशी प्रशिक्षकले जादुको कुनै छडी घुमाउन सक्दैन । किनभने, फुटबल संस्कार एक साता, महिना दिन वा वर्ष दिनमा सिक्न सकिने विषय होइन ।

फुटबल संस्कार केही वर्ष त्यो पनि नियमित प्रशिक्षणपछि मात्रै प्राप्त हुने कौशल हो । यद्यपि, नेपाली खेलकुदमा विदेशी प्रशिक्षकप्रति बढी नै विश्वास गर्ने चलन बढेको छ । केही खेल संघहरूको निर्णय हेर्दा यस्तो लाग्छ, विदेशी प्रशिक्षक जस्तो भए पनि उनीहरूसँग जादु हुन्छ, जसले छुनेबित्तिकै साता वा महिना दिनमै नेपाली खेलाडी युरोपेली शैली र क्षमताका हुन्छन् । यस्ता व्यवहार र उदाहरण अन्य नेपाली खेलकुदमा पनि देखिएको छ, जसले नेपाललाई अन्तर्राष्ट्रियस्तरमै लज्जाबोध गराउने घटनासमेत निम्त्याएको छ ।

सर्टिफिकेटविहीन प्रशिक्षक

नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा केही राम्रो प्रदर्शन गर्न सक्ने मार्सल आर्ट खेलमध्ये बक्सिङले अघिल्लो महिना विदेशी प्रशिक्षक झिकायो, मुख्तर बर्दिम बेतोभलाई । एसियन बक्सिङ संघले वार्षिक रूपमा आफूलाई गर्दै आइरहेको आर्थिक सहयोगको सट्टा कजाकस्तानका मुख्तरलाई प्रशिक्षक झिकाएको नेपाल बक्सिङ संघ यतिसम्म चुक्यो कि प्रशिक्षकको सर्टिफिकेट समेत हेरेन । नेपालमै वानदेखि थ्री स्टार प्रशिक्षक हुँदाहुँदै पनि बक्सिङ संघले ‘अनसर्टिफाइड’ प्रशिक्षक मुख्तरलाई भित्र्यायो, जसको नतिजा हालै फिलिपिन्समा भएको एसियन जुनियर बक्सिङ च्याम्पियनसिपमा देखियो । नेपाली टोलीको नेतृत्व गरेर एसियन च्याम्पियनसिपमा पुगेका मुख्तरलाई आवश्यक सर्टिफिकेट नभएको भन्दै आयोजकले रिङसम्म जानसमेत दिएन ।

उनकै नेतृत्वमा प्रशिक्षणमा बसेर एसियन च्याम्पियनसिप खेलेका नेपाली खेलाडी ओम परियार आफ्नो पहिलो खेलमै भुटानका खेलाडी टन्डिन वाङचुकसँग पराजित भए । यही खेलतर्फ इंगित गर्दै नेपाली बक्सिङ प्रशिक्षक प्रचण्ड शर्मा नेपाली खेल पदाधिकारीको अन्धविश्वासका कारण नेपाली खेलकुदले दुर्गति बेहोर्नुपरेको तर्क गर्छन् । ‘विदेशी प्रशिक्षक भन्नेबित्तिकै सबैले राम्रो मान्ने हाम्रो गलत परिपाटी छ । हामीसँगै थ्री स्टार गरेका प्रशिक्षक छन् । विदेशी भन्नेबित्तिकै सर्टिफिकेटसमेत नहेरी प्रशिक्षक झिकाइएको छ,’ शर्मा भन्छन्, ‘त्यसैले एसियन जुनियर च्याम्पियनसिपमा भुटानसँग पराजित हुनुप¥यो । प्रशिक्षकले रिङमा पुग्न पनि पाएनन् । यसले देशकै बेइज्जत भएको छ ।’

प्रशिक्षक परिवर्तन भएसँगै परिवर्तन हुने प्रशिक्षण शैलीले खेलाडीलाई राम्रो होइन, अझ कमजोर बनाउने छ।

उनी आवश्यक सर्टिफिकेट नै नभएको प्रशिक्षक झिकाउने बक्सिङ संघलाई राष्ट्रिय खेलकुद परिषद्ले समेत स्पष्टीकरण सोध्नुपर्नेमा जोड दिन्छन् । ‘बक्सिङ संघले एसियन बक्सिङ संघबाट नियमित आउने आर्थिक सहायता कटाएर मुख्तरलाई तीन महिनाका लागि ल्याएको हो । उनी अबको तीन सातापछि आफ्नो देश फर्किनेछन् । फिलिपिन्सको प्रतियोगितालाई आधार मान्दा उनको प्रदर्शन अहिलेसम्म शून्य नै छ । यही अवस्थाले नेपाली बक्सिङले राम्रो प्रशिक्षण त पाएन, आफ्नो आर्थिक सहायता गुमाउनुपर्दा दुःख मान्नुपर्ने अवस्था पनि छ,’ उनी तर्क गर्छन्, ‘यस्तो दोहोरो बेफाइदा हुने गरी गरिएको निर्णयबारे परिषद्ले बक्सिङ संघलाई नै स्पष्टीकरण सोध्नुपर्छ ।’

प्रशिक्षक शर्मा छोटो अवधिका लागि विदेशी प्रशिक्षक झिकाउने संस्कारकै विरोध गर्छन् । यसले दोहोरो बेफाइदा गर्ने उनको तर्क छ । ‘नजिकै कुनै अन्तर्राष्ट्रिय प्रतियोगिता छ भने राम्रो प्रशिक्षक ल्याएको अवस्थामा फलदायी हुन्छ । नभए कुनै प्रतियोगिताबिना प्रशिक्षक ल्याउँदा त्यसले कुनै प्रतिफल दिदैन,’ उनी भन्छन्, ‘विदेशी प्रशिक्षकसँग पनि जादु हुँदैन । छोटो अवधिका लागि जोकोही प्रशिक्षक ल्याए पनि खेल सुधार्न सकिँदैन ।’ बक्सिङसँगै अहिले विदेशी प्रशिक्षक भित्र्याउने नेपालको राष्ट्रिय खेल भलिबल पनि हो । भलिबलले हालै मात्र डच प्रशिक्षक माट भान बेजेललाई आगामी तीन वर्षका लागि सम्झौता गरेको छ । यद्यपि, उनी यो तीन वर्षको अवधिमा धेरैजसो समय नेपालबाहिरै हुनेछन् ।

उनी पहिलोपटक एक महिना नेपाल बसेर फर्किने छन् । भलिबल संघसँग सम्झौता भए पनि उनी फेरि फर्किने समय निश्चित छैन । प्रशिक्षक बेजेल लेबल फाइभ कोर्स गरेका विश्वस्तरका प्रशिक्षक भएको भलिबल संघले दाबी गरेको छ । यद्यपि, छोटो समयको लागि उनको उपस्थितिले नेपाली भलिबलको विकासमा योगदान पु¥याउन नसक्ने प्रशिक्षकहरू नै बताउँछन् । ‘आउनेबित्तिकै उहाँले नेपाली भलिबलको कमजोरी पत्ता लगाउनुभएको छ । हाम्रा खेलाडीहरूको डिफेन्स र रिसिभिङ अलिक कमजोर छ । उहाँले नेपाली खेलाडीलाई मानसिक रूपमा पनि परिवर्तन गर्न आवश्यक भएको औल्याउनुभएको छ,’ नेपाली टोलीका पूर्वकप्तान तथा प्रशिक्षक जगदीश भट्ट भन्छन्, ‘उहाँले केही समय नेपाली टोली हेर्न पाउनुभयो भने केही वर्षमा नेपाललाई राम्रो स्तरमा पुर्‍याउन सक्नुहोला । तर, छोटो अवधिको प्रशिक्षणले उहाँले मात्रै होइन, कुनै पनि प्रशिक्षकले परिवर्तन ल्याउन सक्दैन ।’

भट्ट खेलाडीका लागि छोटो अवधिका लागि विदेशी प्रशिक्षक झिकाउनुभन्दा प्रशिक्षक प्रशिक्षणका लागि प्रशिक्षक झिकाउनु उपयुक्त हुने सुझाव दिन्छन् । ‘अहिले हामीले परिषद्अन्तर्गत रहेका तर अवकास पाउन अझै दुई–चार वर्ष बाँकी रहेका प्रशिक्षक र इच्छुक पूर्वखेलाडीलाई पनि नयाँ प्रशिक्षकको वरिपरि रहेर सिकाएको अवलोकन गर्ने अवसर दिएका छौँ,’ भट्ट भन्छन्, ‘नेपाली प्रशिक्षकहरूलाई अहिले केही सिकाउन सकिए, उनी फर्किएपछि पनि हामी नेपाली खेलाडीलाई उनकै शैलीमा सिकाउन सक्छौँ । यदि यसो नगर्ने हो भने नेपालले विदेशी प्रशिक्षकबाट केही फाइदा लिन सक्दैन ।’

प्रशिक्षकद्वय शर्मा र भट्टले भनेजस्तै छोटो अवधिमा विदेशी प्रशिक्षक ल्याउँदैमा नेपाली खेलकुदले कुनै उपलब्धि हात पार्न सक्दैन । बरु युवा प्रशिक्षकहरूलाई वैदेशिक प्रशिक्षणमा जोड दिने वा विदेशी प्रशिक्षकलाई झिकाएर नेपालमै पनि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने हो भने त्यसले राम्रो नतिजा दिन सक्छ । किनभने, विदेशी प्रशिक्षक नभएको अवस्थामा समेत नेपाली प्रशिक्षकले विदेशी प्रशिक्षकसँग सिकेको सीप खेलाडीलाई दिन सक्छन् । प्रशिक्षक परिवर्तन भएसँगै परिवर्तन हुने प्रशिक्षण शैलीले खेलाडीलाई राम्रो होइन, अझ कमजोर बनाउने छ । त्यसैले, खेल संघहरूले आफ्ना खेलका लागि विदेशी प्रशिक्षक झिकाउँदा पनि सर्टिफाइड प्रशिक्षक तर लामो अवधिका लागि झिकाउनु आवश्यक छ ।

 

प्रतिकृया दिनुहोस