MENU

खेलकूद

dishhomeapp

राष्ट्र राईको खेल प्रेम

गोविन्द रेग्मी बुधवार, श्रावण २५, २०७४

बाल्यकालमा ब्रुस्लीको ‘एक्सनकट’ सुनेर मोहित थिए, दमक झापाका राष्ट्र राई । ‘नानीदेखि लागेको बानी’ छुटाउन नसकिने रहेछ । ६ वर्षको उमेरमा ब्रुस्लीले उडेर किक हान्छ भनेको सुनेका थियौँ । त्यही गफको भरमा रिस उठेको मान्छे कुट्न कराँते र तेक्वान्दो खेल्न थालियो । नमरुन्जेल यसलाई त्याग्न गाह्रो छ,’ राईले कुराकानी यहीबाट शुरु गरे । उनको मार्सल आर्टस्मा रस बस्यो । बेलायती सेनाको भर्ती पनि यही खेल सहयोगी भयो । र, १० वर्षअघि मात्र उनले बेलायती सेनाबाट अवकाश पाए ।

राईको परिवार २००७ सालको प्रजातान्त्रिक आन्दोलनसँगै राजनीतिमा होमिएको थियो । उनका बुवा मुगाधन राईले राणाशासन नहटुन्जेल ओखलढुंगामा कांग्रेसको कमान्ड सम्हाले । देशमा प्रजातन्त्र आयो । तर, ०१७ सालमा राजा महेन्द्रले फेरि ‘कु’ गरे । बीपी कोइरालालाई राजाले वारेन्ट जारी गरेपछि मुगाधन फेरि भूमिगत भए । त्यसपछि खोटाङको लामाखुबाट राईको परिवार झापा बसाइँ सर्‍यो । ‘बाबा भूमिगत भएको समयमा मनमा धेरै ईख पालेको थिए । विद्रोहीलाई सिध्याउनुपर्छ भन्ने चेतना सानैदेखि थियो ।’ घरबाट उर्लाबारीस्थित श्रीराधिका माध्यामिक विद्यालयसम्म पुग्न एक घण्टा लाग्थ्यो ।

स्कुल पढ्दा बाटोमा वल्लो र पल्लो गाउँको सधैं ‘ग्याङ फाइट’ हुन्थ्यो । ‘बाटो ढुकेर फाइट गरिन्थ्यो,’ उनले विगत सम्झिए, ‘कक्षाकोठामा म प्रायः पछाडिको सिटमा बस्थे । शिक्षकले पढाइरहँदा म ब्रुस्लीको सिको गरेर किक हानेको चित्र कोरिरहेको हुन्थे । त्यसबेला कराँते र तेक्वान्दो खेल्न राज्यले छुट दिएको थिएन । लुकीछिपी गुरिल्लाको हिसाबले अभ्यास गथ्यौँ ।’

राईले नेपालमा कराँते खेलका संस्थापक थानेश्वर राईसँग मार्सल आर्टको सामान्य प्रशिक्षण लिएका थिए । एसएलसी सकेपछि ०३८ सालमा उनी बेलायती सेनामा भर्ती भए । हङकङमा पोस्टिङ भयो । बेलायती सेनामा सिपाहीलाई तेक्वान्दो खेल्ने छुट थिएन । ‘सिपाहीले तेक्वान्दो सिक्दा हाकिम कुट्छ भन्ने थियो ।’ तर, हङहङको क्लबमा उनले ६ वर्ष लुकिछिपी तेक्वान्दो सिके । र, सन् १९८४ मा हङकङ राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिने मौका पाए । प्रतियोगितामा हार खेपे । हारले उनको झनै आत्मविश्वास बढायो । त्यसैले त, सन् १९८५ देखि १९९० सम्ममा उनी लगातार पाँच वर्ष हङकङ च्याम्पियन बने ।

बेलायतमा छुट्टै पहिचान बनाएका राईले सन् २००४ मा दक्षिण कोरियामा भएको आईटीएफ विश्व च्याम्पियनसिपमा नेपाल र बेलायतका खेलाडीलाई सहभागी गराए।

विदेशमा मात्र होइन, उनी स्वदेशी प्रतियोगितामा पनि सहभागी भए । सन् १९८६ मा वीरगञ्जमा आयोजित तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा राईले हङकङबाट आएर भाग लिए । क्वार्टरफाइनलमा उनको भिडन्त आफ्नै गुरु मुकेश कायस्थसँग प¥यो । तर, रिङमा गुरुलाई ढाल्ने आँट गर्न सकेनन् । त्यसपछि उनले धेरै अन्तर्राष्ट्रिय स्पर्धामा नेपाल र हङकङबाट सहभागिता जनाए । सन् १९९० मा बेलायतमा उनको सरुवा भयो । त्यही वर्ष बेलायतको राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा उनले ‘फ्रिस्टाइल’मा स्वर्ण जिते । ‘बेस्ट फाइटर’को उपाधि हात पारेका उनलाई ‘मिसिन गन’ को टाइटल पनि दिइयो । बेलायतमा छुट्टै पहिचान बनाएका राईले सन् २००४ मा दक्षिण कोरियामा भएको आईटीएफ विश्व च्याम्पियनसिपमा नेपाल र बेलायतका खेलाडीलाई सहभागी गराए । उनी त्यतिबेला टोलीको प्रशिक्षक थिए ।

फिन र फ्लाईवेटका राम्रा खेलाडी उनले सन् २००७ मा बेलायतमा भएको अर्को विश्व च्याम्पियनसीपमा नेपाल आइटीएफको तर्फबाट कास्य पदक जिते । सन् २०१२ मा भेट्रान्स ब्रिटिस च्याम्पियनसिपमा उनले फेरि कास्य जिते । तेक्वान्दोका छैटौं डान राई विश्व तेक्वान्दो महासंघ (डब्लूटीएफ) र अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) दुवैका चर्चित खेलाडी र प्रशिक्षक हुन् ।

सगरमाथा तेक्वान्दो डोजाङ

बेलायती सेनाबाट अवकाश पाएपछि पनि राईलाई तेक्वान्दोको भूतले छोडेन । बरु खेललाई पेसाकै रूपमा लिए । सन् २००२ मा उनले लन्डनमा सगरमाथा तेक्वान्दो डोजाङ स्थापना गरे । डोजाङका बेलायतमा मात्र १४ वटा ‘ब्रान्च’ छन् । यो डोजाङ बेलायतको सात पटक राष्ट्रिय च्याम्पियन हो, बेलायतकै दोस्रो ठूलो तेक्वान्दो एकेडेमीमा पर्छ । यही एकेडेमीमा सन् २०२० को टोकियो ओलम्पिकको लागि बेलायतका च्याम्पियन खेलाडीले तयारी गरिरहेका छन् । जसमा पाँच जना नेपाली मूलका खेलाडी पनि छन् । प्राविधिक हिसाबले विश्वकै सुविधासम्पन्न यो डोजाङका मुख्य व्यवस्थापक राई नै हुन् । जहाँ मार्सल आर्ट गेम्सका ओलम्पिक र विश्व च्याम्पियनसिपका पाका र अनुभवी प्रशिक्षकले प्रशिक्षण गराउँछन् । काठमाडौंमा पनि यसको शाखा छ ।

नेपालमा ट्रेनिङ सेन्टर स्थापना

एनआरएनका खेलकुद संयोजकसमेत रहेका राईले विदेशमा रहे पनि आफ्नो देशलाई केही गर्नुपर्छ भनेर झापामा व्यक्तिगत लगानीमा ‘मल्टिप्रपोज मार्सल आर्ट कभर्डहल’को निर्माण शुरु गरेका छन् । दुई करोड लागतमा निर्माणाधीन कभर्डहलको डीपीसीको काम भइसकेको छ । प्रोफेसनलमार्सल् आर्टको तालिमसँगै आगामी दुई वर्षभित्र फुटसल, ब्याडमिन्टन, पौडी पोखरीसहित ब्रिटिस आर्मीको ट्रेनिङ सेन्टर पनि सञ्चालन गर्ने राईको योजना छ । नेपाली मार्सल आर्टलाई दुई वर्षभित्र अन्तर्राष्ट्रियस्तरमा स्थापित गराउने उनको सोच छ । जहाँ तेक्वान्दो, कराँते, उसु, किक बक्सिङ, जुडोलगायत खेलका युवा खेलाडीलाई विश्वस्तरीय दक्ष प्रशिक्षकबाट प्रशिक्षण दिइनेछ ।

rastra

राष्ट्रराईले कोरेको चित्र ।

जसबाट नेपालले एसियाड र ओलम्पिकसम्म गएर पदक जित्न सकोस् भन्ने लक्ष्य छ । ‘नेपालीले गर्न नसक्ने भन्ने हुन्न । अबको खेलकुद विज्ञानसँग आधारित हुनुपर्छ । यसमा संघ र सम्बन्धित निकायले चासो दिनुपर्छ,’ उनले भने, ‘पछिल्लो समय केही सुधार त भएको छ । तर, संघ र सरकारको लगाव कमी छ । नेपालका प्रशिक्षक राम्रा छन् । तर, उनीहरूलाई पनि प्रशिक्षण दिनुपर्छ । खेलाडी र प्रशिक्षकलाई साइकोलोजी, फिजियोथेरापी, फिजिकल फिटनेस र प्राविधिक ज्ञान भयो भने मात्र मानसिक रूपमा खेल्नका लागि तयार हुने हो ।’ नेपाली खेलाडीलाई संस्थागत रूपमा सहयोग गर्ने हिसाबले राईले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा सगरमाथा मल्टी मार्सल आर्ट संघसमेत दर्ता गरेका छन् ।

गोर्खा भर्तीमा पेन्टिङ

तेक्वान्दोका हस्ती राई पेन्टिङका पनि पारखी हुन् । उनी कलामा गोर्खा सैनिकको इतिहास र भर्ती नै उतार्न माहिर छन् । गोर्खा सैनिकको आरोह–अवरोहलाई कलाका माध्यमबाट पस्कनु उनको सोख हो । यही विषयको एउटै पेन्टिङ ३५ लाख रुपैयाँसम्म बिक्री गरेको बताउँछन् । नेपालीले गोर्खा भर्ती शुरु गरेको दुई सय वर्ष पुगेको अवसरमा राईले बेलायतका प्रिन्स चाल्र्सलाई भीसी (भिक्टोरिया क्रस) रामबहादुर लिम्बूबारे बनाएको पेन्टिङ उपहार दिँदैछन् । ‘रामबहादुर पहिलो जीवित भीसी हुन् । उनको पेन्टिङ चाल्र्सलाई उपहार दिएर नेपाली गोर्खालीको वीरता स्मरण गराउँदैछु । त्यसपछि लन्डनमै मेरो पेन्टिङको एकल प्रदर्शनी गर्नेछु,’ उनले भावी योजना बेलिविस्तार गरे ।

पेन्टिङबाट कमाएको पैसा सामाजिक कार्यमै खर्च गर्छन् । पेन्टिङ बेचेर कमाएको ७५ लाखभन्दा बढी रुपैयाँ ‘च्यारिटी’मा खर्चिसकेका छन् । उनी ब्रिटिस गोर्खाले सैनिकले प्रयोग गर्ने खुकुरीको मोडलमा फरकपन ल्याउन चाहन्छन् । मोडल परिवर्तन गर्न नेपाल सरकारले अनुमति दिनुपर्छ । केपी ओली प्रधानमन्त्री भएको बेला उनले निवेदन दिइसकेका छन् ।

मीरालाई २८ लाखको सम्मान

१२ वैशाख २०७२ मा नेपालमा भूकम्प गयो । विश्वभरका सञ्चार माध्यममा नेपालको दर्दानक समाचार पोखिए । लगत्तै संसारभरि मिडियामा धाविका मीरा राईले विश्व च्याम्पियनसिप अल्ट्रा दौड जितेको समाचार पनि छायो । दुःखका बीच मीराको समाचार टेलिभिजिनमा हेरेका राष्ट्र राई खुशीले उफ्रिए ।
‘म आफू के–के न हो भन्ने ठान्थेँ । तर, मीराले दुःखबाट पाएको सफलता देख्दा मलाई केही रहेनछु भन्ने लाग्यो,’ उनले ती दिन सम्झे, ‘आँटेजे पनि सम्भव रहेछ भन्ने कुरा मीरा बहिनीको समाचार टेलिभिजनमा देखेर बुझेँ ।

फेरि, मीरा नेसनल जियोग्राफीको एडभेन्चर अफ दी इयर घोषित भइन । यो नेपालका लागि ठूलो सफलता हो ।’ मीराको सफलतापछि अझै प्रोत्साहन थप्न उनले बेलायतमा रहेका साथीहरूसँग सल्लाह गरे । रकम जुटाए । तीन महिनाअघि मीरालाई झापामा २८ लाख र उनका प्रशिक्षक ध्रुवविक्रम मल्ललाई दुई लाख रुपैयाँ सहयोग गरियो । मीरालाई किन सहयोग गरियो त ? राईले खेलाडी र राष्ट्र प्रेमको भाव पोख्दै भने, ‘नेपालमा सफलता पाएपछि सेलिब्रेटीकै हैसियतमा जीवनयापन गर्न खेलाडीलाई धेरै गाह्रो छ । उनको जीवनयापनमा केही सजिलो होस् भनेर सहयोग गरिएको हो ।’

 

 

प्रतिकृया दिनुहोस