MENU

खेलकूद

635x90

खेलमा रुचि जगाउँदै कर्पोरेट

विष्णु थापा मंगलवार, आषाढ २७, २०७४

२०४२ सालमै नेपालमा अन्तर संस्थान खेलकुद प्रतियोगिता हुन्थ्यो । जतिबेला देशमा कर्पोरेट खेलकुदको विकासै भएको थिएन । सरकारी स्वामित्वमा रहेका संस्थानहरूबीच विभिन्न खेलकुद प्रतियोगिता हुन्थे । नेपाल आयल निगमको टिमबाट ब्याडमिन्टनका रेफ्री लवभक्त श्रेष्ठले ब्याडमिन्टन र नेपाल प्रहरीका एसएसपी रमेश खरेल भलिबल खेल्ने गरेको अनुभव सुनाउँछन् । विश्वका विभिन्न देशमा कर्पोरेट खेलकुदका आन्तरिकदेखि अन्तर्राष्ट्रिय तियोगितासमेत हुन्छन् । यस्ता प्रतियोगितामा पुरस्कार राशिदेखि खेलाडीको सेवा सुविधामासमेत विशेष ध्यान दिने गरिन्छ । तर, नेपालमा भने कर्पोरेट खेलकुद कहिलेदेखि शुरु भयो भन्ने यकिन छैन ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता गरेर कर्पोरेट खेलकुद संघ गठन भएपछि केही खेलको कर्पोरेट प्रतियोगिता हुने गरेको थियो । महेश राणा अध्यक्ष र किशोर भट्टराई महासचिव रहेको संघले राखेपको नीति निर्देशन नमानेको र नियमअनुसार खेलकुद गतिविधि आयोजना गर्न नसकेको भन्दै तीन महिनाअघि खारेज गरेको थियो । संघले अन्तर बैंकस्तरीय विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरेको थियो ।

मिडिया कप

सन् २००१ मा मिडिया हाउसबीच भाइचारा बढाउन गोरखापत्र संस्थानले गोरखापत्र दैनिकको १०० औं वार्षिकोत्सवको उपलक्ष्यमा मिडिया कप फुटबल प्रतियोगिता आयोजना गर्‍यो । प्रतियोगितामा काठमाडौं उपत्यकाका विभिन्न मिडिया हाउसको सहभागिता रहेको थियो । सन् २००२ मा भने मिडिया कपको बिंडो रेडियो नेपालले धान्यो । सन् २००३ देखि भने ओलम्पिक संग्रहालयले मिडिया कपको आयोजना र व्यवस्थापन गर्दै प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ । मिडिया कपको आठौं संस्करण सम्पन्न भइसकेको छ ।

संग्रहालयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठ प्रतियोगितालाई हरेक वर्ष बृहत रूपमा सञ्चालन गर्ने बताउँछन् । ‘मिडिया कप फुटबल प्रतियोगिताले मिडिया हाउसबीच भाइचारा बढाइरहेको छ । सधैँ समाचारको पछि लाग्ने सञ्चारकर्मीलाई पनि खेलको माध्यमले तनावबाट मुक्त दिलाउन महत्वपूर्ण भूमिका खेलेको छ,’ अध्यक्ष श्रेष्ठले दाबी गरे ।

भाइचारा बढाउँदै सार्वजनिक संस्थान

०६१ मा नेपाल सरकारको स्वामित्वमा रहेका संस्थान र बैंकहरू गरी २८ संस्था आबद्ध सार्वजनिक संस्थान खेलकुद विकास संघ गठन भयो । जुन राष्ट्रिय खेलकुद परिषद्मा दर्ता पनि छ । संघले अहिलेसम्म भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, दौड, चेस र हाजिरीजवाफलगायत १० वटा प्रतियोगिता आयोजना गरिसकेको छ । संघले हरेक वर्ष खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । संघमा आबद्ध संस्थानका ‘कर्मचारीबीच भाइचारा अभिवृद्धि’ गर्ने प्रतियोगिताको मुख्य उद्देश्य रहेको महासचिव रामविनय श्रेष्ठ बताउँछन् । भन्छन्, ‘स्वस्थ व्यक्तिले दिएको सेवा चुस्त रहन्छ भन्ने सन्देश प्रवाह गर्न पनि हो ।’ संघले आन्तरिक स्रोतबाटै प्रतियोगिताहरू आयोजना गर्दै आएको छ ।

सधैँ समाचारको पछि लाग्ने सञ्चार कर्मीलाई पनि खेलको माध्यमले तनावबाट मुक्‍त दिलाउन महत्तवपूर्ण भूमिका खेलेको छ। क्षितिज अरुण श्रेष्ठ अध्यक्ष, ओलम्पिक संग्रहालय

कभर्डहल निर्माणको काम शुरु गरिने उनले बताए । ‘हाम्रा खेलाडीले अन्तर्राष्ट्रिय सहभागिता जनाउन पाएका छैनन् । अबका पाँच वर्षभित्र उनीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउनेदेखि विभिन्न खेल खेल्न मिल्ने बहुउद्देशीय कभर्डहल निर्माण अभियान थालिने छ,’ श्रेष्ठले भने । कभर्डहल निर्माणका लागि राखेपसँग जग्गा माग्ने र संस्थानका हरेक कर्मचारीबाट एक सय रुपैयाँ संकलन गरिने श्रेष्ठले प्रस्ट पारे ।

विजेतालाई सुनको तक्मा

०७० सालदेखि अन्नपूर्ण मिडिया नेटवर्कले ‘अन्नपूर्ण पोष्ट कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता’ आयोजना गर्दै आएको छ । हरेक वर्ष आयोजना गरिने यो प्रतियोगिताले चौथोे संस्करणसम्म पुग्दा अन्तर्राष्ट्रिय स्वरूप ग्रहण गरेको छ । यस वर्ष नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका र भुटानका स्तरीय खेलाडीको सहभागिताले प्रतियोगितालाई रोचक र रोमाञ्चक बनाएको छ । प्रतियोगितामा भुटानबाट सात पुरुष र तीन महिला गरी १० जना खेलाडी सहभागी भएका छन् ।

पाकिस्तानबाट तीन जना राष्ट्रिय खेलाडीले सहभागिता जनाएका छन् । भारतबाट तीन पुरुष र एक जना महिला खेलाडीका साथै श्रीलंकाबाट एक÷एक जना पुरुष र महिला खेलाडीले भाग लिएका छन् । प्रतियोगितामा विदेशी र स्वदेशी गरी दुई सय २४ जना खेलाडी भिड्दैछन् । प्रतियोगिताले नेपालको ब्याडमिन्टन खेललाई माथि उठाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्छन्, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ । ‘विभिन्न देशका खेलाडी नेपालमा आएर खेल्दा हाम्रो देशको सांस्कृतिक आदानप्रदानसँगै अन्तर्राष्ट्रिय भाइचाराको सम्बन्ध पनि बढेको छ ।

नेपालका विभिन्न क्षेत्रबाट छनोट भएका खेलाडीले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता खेल्न पाउनु आफैंमा महत्वपूर्ण उपलब्धि हो,’ उनले भने । ‘संघले आगामी वर्षदेखि अन्नपूर्ण पोस्ट् इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगितालाई विश्व ब्याडमिन्टन महासंघको क्यालेन्डरमा समावेश गरेर अझ वृहत् रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको छ । प्रतियोगितामा दक्षिण एसियालगायत धेरै देशका स्तरीय खेलाडीलाई सहभागी गराउन पनि संघले गृहकार्य थालेको छ । १७ असारमा राजधानीमा ‘अन्नपूर्ण पोष्ट इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्नु अघि अन्नपूर्णले क्षेत्रस्तरीय छनोट प्रतियोगिता आयोजना गरेको थियो ।

धनगढी (वैशाख ९–११), नेपालगन्ज र बुटवलमा (वैशाख १७–१९), पोखरा (वैशाख २१–२३) र इटहरी (वैशाख २६ –२८) मा छनोट प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा पुरुष एकल खुला, महिला एकल खुला, पुरुष डबल्स खुला, कर्पोरेट डबल्स, पुरुष एक्जुकेटिभ एकल र एक्जुकेटिभ डबल्स स्पर्धामा प्रतिस्पर्धा भएको थियो । कर्पोरेट डबल्सतर्फ विभिन्न कर्पोरेट हाउसका म्यानेजर तहका खेलाडीले प्रतिस्पर्धा गरे भने एक्जुकेटिभ डबल्समा म्यानेजरभन्दा मुनिका खेलाडीले आफ्नो कौशल देखाएका थिए । प्रत्येक विधाको विजेतालाई दुई तोला, उपविजेतालाई एक तोला र तेस्रो हुने खेलाडीलाई आधा तोला सुनको पदक प्रदान गरिएको जानकारी अन्नपूर्ण मिडिया नेटवर्कका ब्रान्ड म्यानेजर श्याम मालीले दिए ।

अन्नपूर्ण कर्पाेरेट ब्याडमिन्टन प्रतियोगिताको ०७० साल असोजमा पहिलो संस्करण आयोजना गरिएको थियो । यो प्रतियोगितामा सरकारी, अर्धसरकारी, गैरसरकारी, व्यापारिक, सञ्चार र औद्योगिक प्रतिष्ठानका एक सय ७५ जनाभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । दोस्रो संस्करण ०७१ (साउन २४–३०) काठमाडौंमै सञ्चालन भएको थियो ।

प्रतियोगितामा तीन सय १४ जना खेलाडीले पाँच विधामा प्रतिस्पर्धा गरेका थिए । ०७२ फागुनमा आयोजना गरिएको तेस्रो संस्करणमा तीन सय ५० जना खेलाडीले विभिन्न ६ स्पर्धामा स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए । कर्पोरेट हाउसकै आयोजनामा खेलकुद प्रतियोगिता आयोजना गर्नुले खेलको विकासमा मद्दत पुगेको खेलकर्मीहरूको बुझाइ छ । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठको दाबी छ, ‘यस्ता कर्पोरेट खेलकुद प्रतियोगिताले खेल संस्कृतिलाई बढावा दिएका छन् ।’



प्रतिकृया दिनुहोस