MENU

खेलकूद

635x90

राखेपको कभर्डहलको दुर्दशा

विष्णु थापा बुधवार, आषाढ २१, २०७४

२६ जेठ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल भरिभराउ थियो । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा तेस्रो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल अपराह्न दुई बजेपछि शुरु हुने भए पनि तेस्रो स्थानको खेल र समापन समारोहका कारण कभर्डहल बिहान १० बजेदेखि नै भरिन थालेको थियो । दुई बजेपछि दुई चिरप्रतिद्वन्द्वी पुरानो नैकापको न्यु डायमन्ड एकेडेमी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीचको फाइनल खेल शुरु भएसँगै वर्षा शुरु भयो ।

पहिलो दुई सेट एपीएफले जितेपछि खेल एकपक्षीय हुने अनुमान गरिरहँदा न्यु डायमन्ड खेलमा फर्कियो । तेस्रो र चौथो सेटको खेल चलिरहँदा पानी चुहिएर पटक–पटक खेल स्थगित हुन पुग्यो । स्वयमसेवक हातमा टालो लिँदै पानी चुहिएको ठाउँमा पुछ्न दौडिरहेका थिए । जतिजति खेलमा रोमाञ्चकता थपिँदै थियो, कभर्डहलमा पानी चुहिने क्रम पनि बढ्दै थियो । पानी चुहिएर म्याट भिजेपछि रेफ्री चन्दबन्दना राईले १० मिनटभन्दा बढी समय त खेल रोक्नुपरेको थियो । बाहिर झमझम पानी परिरहँदा कभर्डहलभित्र खेलको रोमाञ्चकता भिन्नै थियो ।

दुवै टोलीले दुई/दुई सेट जितेपछि खेल पाँचौं सेटमा धकेलिएको थियो । सधैं विभागीय टोलीलाई टक्कर दिँदै आएको न्यु डायमन्डले पाँचौं सेटमा स्वभाविक खेल प्रदर्शन गर्न सकेन । म्याट चिप्लो भएका कारण न्यु डायमन्डमाथि एपीएफ हाबी भयो । खेल समापनपछि दुवै टोलीका प्रशिक्षकले पानीलाई दोष दिए । विजेता एपीएफका प्रशिक्षक ज्ञानेन्द्र बिष्ट र न्यु डायमन्डका प्रशिक्षक कुमार राईले कभर्डहलमा पानी चुलिएका कारण आफ्नो टोलीले स्वभाविक खेल खेल्न नसकेको प्रतिक्रिया दिए ।

उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि राखेप सदस्यसचिव केशवकुमार बिष्ट थिए । पानी चुहिएर खेलाडी भइरहँदा उनी मञ्चमा बसेर रमिते बनिरहेका थिए । खेल सकिएलगत्तै सदस्यसचिव बिष्टले भाषण गर्दै चुहिने कभर्डहल तत्काल सम्भार थाल्ने प्रतिबद्धता जनाए । तीन साता बितिसक्दा पनि अझै कभर्डहलको सम्भारको थालनी नै भएको छैन् ।

शुल्क छ : सुविधा छैन 

कभर्डहलको दुर्दशा भनेको पानी चुहिनु मात्र होइन । धेरै कारणले कभर्डहल अस्तव्यस्त छ । फोहर र दुर्गन्ध उस्तै छ । कभर्डहलमा भएका साउन्ड सिस्टम, बत्तीलगायत उपकरण बिग्रिएका छन् । बत्ती जोडिएको छ, तर बल्दैन । परिषद्ले भाडामा दिँदा लाजै पचाएर बत्ती, साउन्ड सिस्टम र सरसफाइको शुल्क जोड्ने गरेको छ । सफाइमा परिषद्कै पाँच जना कर्मचारी छन्, तर आयोजकले पैसा नदिएसम्म डेग चल्दैनन् ।

coverdhall

कभर्डहलमा जम्‍मा भएको पानी ।

केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताका लागि सरसफाइमा मात्रै आफूले ५० हजारभन्दा बढी रकम खर्चिएको शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष रञ्जन खड्काले गुनासो गरे । चार दिनका लागि राखेपलाई १७ हजार रुपैयाँ भाडा तिरे पनि सरसफाइ, बिजुली, साउन्ड सिस्टमको अलग्गै खर्च गरेको बताए । उनले कभर्डहल सफाइका लागि खर्च दिएर हरेक दिन परिषद्का १० जना कर्मचारीलाई खटाएको बताए ।

समयमै सम्भार गर्नुपर्छ भन्ने भन्दा पनि परिषद्कै विभागहरू जिम्मेवारीबाट पन्छिन खोज्छन् । राखेपको सामान्य प्रशासन विभाग प्रमुख लवभक्त श्रेष्ठ कभर्डहल व्यवस्थित रूपमा प्रयोग गर्न दिने जिम्मा आफ्नो भएको र बिग्रे भत्केको जिम्मा पूर्वाधार निर्माण तथा सम्भार विभागको रहेको जिकिर गर्छन् । भन्छन्, ‘हाम्रो जिम्मा भनेको कभर्डहललाई व्यवस्थित रूपमा प्रयोग गर्न दिनु मात्र हो । बिग्रे, भत्केको हाम्रो जिम्मामा पदैन ।’ पूर्वाधार निर्माण तथा सम्भार विभाग प्रमुख इन्जिनियर अरुण उपाध्यायले कभर्डहलमा राखिएको पारदर्शी जस्ताबाट पानी चुहिने गरेको स्वीकार गरे । ‘पानी चुहिएर प्रतियोगिता आयोजना गर्न समस्या भएको गुनासाहरू आएका छन् ।

गुनासो आउनासाथ तत्काल मर्मत गर्न सकिने अवस्था छैन । यसका लागि विभिन्न प्रक्रियाबाट गुर्जनुपर्छ’ उपाध्यायले भने । विगतमा कर्भड हल निःशुल्क प्रयोग गर्न दिइन्थ्यो । युवराज लामा राखेप सदस्यसचिव हुँदा शुल्क लिन थालियो । अहिले पनि राखेपमा आबद्ध संघहरूलाई भने निःशुल्क नै छ । राखेपका विभागीय प्रमुख बासुदेव आचार्य कभर्डहल सम्भार गर्नुपर्ने भए पनि अन्यत्र ठाउँ नभएकाले प्रतियोगिताहरू आयोजना गर्न दिएको बताउँछन् । कभर्डहलमा शौचालय र चेन्जिङ रुमको अवस्था पनि अत्यन्त नाजुक छ ।

‘दुई वर्षअघिको भूकम्पपछि कभर्डहल परिसरमा पानी जम्ने समस्या छ । त्यो समस्या तत्काल समाधान हुन सक्दैन । त्यसका लागि कभर्डहल वरिपरिको पूरै संरचनालाई हेर्नुपर्छ । ट्वाइलेट जाम हुनुको कारण नियमति सफाइ नभएरै हो,’ उपाध्यायले भने । उनले तत्काल अर्को कभर्डहल निर्माण गर्न सम्भव नरहेको जनाउँदै अहिलेकै संरचनालाई सम्भार गरेर चालु अवस्थामा राख्ने बताए ।

यो वर्ष मर्मत नहुने

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव बिष्टले प्रक्रियागत प्रणालीका कारण आफूले चाहेको कुरा तत्काल गर्न नसकेको बताए । ‘हाम्रो कार्य प्रणाली अलि झण्झटिलो र लामो छ । भन्नासाथ कुनै पनि काम हुन सक्ने अवस्था छैन,’ सदस्यसचिव विष्टले भने, ‘कभर्डहलको पुनर्निर्माणको सम्बन्धमा पनि प्रक्रिया मिलाएर अगाडि बढ्दा ढिला भएको हो । यसको सम्भारका लागि परिपत्र भइसकेको छ, नयाँ आर्थिक वर्ष शुरु हुनासाथ सम्भारको कामले गति पाउँनेछ ।’ बजेटको अभावमा यो आर्थिक वर्षमा सम्भारको काम हुने छाँट छैन ।

कभर्डहल अस्तव्यस्त छ। फोहर र दुर्गन्ध उस्तै छ। कभर्डहलमा भएका साउन्ड सिस्टम, बत्ताीलगायत उपकरण बिग्रिएका छन्। बत्ताी जोडिएको छ, तर बल्दैन।

‘यस आवको बजेट समाप्त भइसकेको छ । अर्को आर्थिक वर्षदेखि मात्रै सम्भारका काम हुन्छ’ सदस्यसचिव विष्टले भने ‘कभर्डहलको छानामा सिलिङ गर्ने, साउन्ड सिस्टम बनाउने, चेन्जिङ रुम, ट्वाइलेट र बाथरुमलाई व्यवस्थित बनाउने काम नयाँ आर्थिक वर्षदेखि हुन्छ ।’ उनले १३ औं सागलाई लक्षित गरी कभर्डहलको स्वरूपलाई परिवर्तन गरी व्यवस्थित बनाउन लागेको पनि बताए ।त्रिपुरेश्वरस्थित यो कभर्डहल ‘बहुउद्देशीय’ हो । जहाँ बास्केटबल, भलिबल, ब्याडमिन्टनदेखि विभिन्न मार्सल आर्ट र इन्डोर खेलहरू आयोजना हुन्छन् ।

हरेक दिनजसो विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुँदै आएका छन् । कभर्डहलमा स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन हुँदै आएको छ । यसको दुर्दशा हेर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त विकल्प नहुँदा आयोजक प्रतियोगिता गर्न बाध्य छन् ।शौचालय र चेन्जिङ रुम नहुँदा सबैभन्दा सास्ती महिला खेलाडीले खेप्नुपरेको छ । चेन्जिङ रुमको अभावमा धेरै महिला खेलाडी शौचालयमा कपडा चेन्ज गर्छन् । मार्सल आर्टकी एक खेलाडीले भनिन्, ‘धेरै खेलाडी त घरबाटै ड्रेस लगाएर आउँछन् ।’

०२७/०२८ सालमा निर्माण भएको कभर्डहलको ०५६ को आठौं दक्षिण एसियाली खेलकुद (साग) का बेला चीन सरकारको सहयोगमा रंगशाला र कभर्डहल पुननिर्माण गरिएको थियो । शुरुमा सानो क्षेत्रफलमा निर्माण गरिए पनि आठौं सागमा यसको क्षेत्रफल विस्तार गरिएको थियो । एक हजार पाँच सय दर्शक क्षमताका सिट राख्ने काम भने चार वर्षअघि सदस्यसचिव लामाका पालामा भएको हो ।

 

 

प्रतिकृया दिनुहोस