MENU

खेलकूद

635x90

एसीपीएल र खेलकुद ‘टुरिज्म’

दीपेन्द्र गुरुङ मंगलवार, आषाढ १३, २०७४

भारतीय टेलिजिभन च्यानल जीटीभीले सन् १९९९ मा कीर्तिपुर मैदानमा मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरेको थियो । रेस्ट अफ दी वल्र्ड र भारत–पाकिस्ताका खेलाडी सम्मिलित टोलीबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको थियो । त्यसबेला भारतीय क्रिकेट टोलीका पूर्वकप्तान कपिल देवलगायत खेलाडीहरू नेपाल आएर टीयू क्रिकेट मैदानमा खेलेका थिए । जीटीभीले सोही मैत्रीपूर्ण खेलका लागि टीयू क्रिकेट मैदानको निर्माण गरेको थियो । फुटबल खेल्नका लागि प्रयोग गरिने मैदानलाई जीटीभीले क्रिकेट मैदानमा परिणत गरेको थियो ।

त्यस बेला पनि आन्तरिक द्वन्द्वका कारण भारत र पाकिस्तानबीच दुई पक्षीय शृंखलाहरू अवरुद्ध भएको थियो । त्यसैले भारत र पाकिस्तानबीचको खेल ‘न्युट्रल भेन्यू’को रूपमा नेपालमा गर्न सकिने योजनासहित जीटीभी नेपाल आएको थियो । यद्यपि, त्यो योजना अघि बढ्न सकेन ।जीटीभीको योजनाअनुसार भारत र पाकिस्तानले नेपाललाई ‘न्युट्रल भेन्यू’को रूपमा प्रयोग गरेको भए, नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो फड्को मात्रै मार्ने थिएन, नेपालले खेलकुद ‘टुरिज्म’मार्फत् पर्याप्त आम्दानी पनि गर्ने थियो ।

त्यसपछि पहिलो पटक अहिले टीयू मैदानमा एउटा अन्तर्राष्ट्रिय क्लब प्रतियोगिता भइरहेको छ, एसियन क्लब प्रिमियर लिग (एसीपीएल), जसले अन्तर्राष्ट्रिय क्रिकेट टोली तथा प्रतियोगिता आयोजकहरूलाई ‘न्युट्रल भेन्यू’को अवसर मात्रै दिने छैन, त्यसले नेपाली खेलकुद ‘टुरिज्म’मा पनि मद्दत पुर्‍याउने विश्वास गरिएको छ ।

भारत चण्डीगढको अल्टिट स्पोर्ट्स् म्यानेजमेन्टले यसअघि एसीपीएल दुबईमा आयोजना गर्ने योजना बनाएको थियो । यद्यपि, निर्णय परिवर्तन भई प्रतियोगिता नेपालमा आयोजना गरिने भयो, जसका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले स्वीकृति दिएको छ ।प्रतियोगितामा नेपालको नेपाल स्टोर्म, भारतको इन्डयन स्टार्स, बंगलादेशको बंगलादेश टाईगर्स, अफगानिस्ताको अफगानिस्तान बुल्स, श्रीलंकाको श्रीलंकन लायन्स र दुबईको दुबई वारियर्स गरी ६ टोली समावेश छन् । प्रतियोगितामा ६ देशको मात्रै टोली समावेश गरिए पनि खेलाडी भने क्रिकेट खेल्ने एसियाका प्रायः देशका खेलाडी समावेश छन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव

एसीपीएलले नेपाली घरेलु दर्शकलाई आफ्नो मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव दिलाएको छ । सोमबार गरिएको प्रतियोगिताको उद्घाटन समारोहका लागि आयोजकले निकै मिहिनेत गरेको देखियो । प्रतियोगितामा पाकिस्तानी राष्ट्रिय टोलीबाट टेस्ट, एक दिवसीय र टीट्वेन्टी क्रिकेट खेलिसकेका राना नभित हसनलगायत अन्तर्राष्ट्रिय अनुभवी र युवा खेलाडीको खेल हेर्ने अवसर नेपाली दर्शकले पाएका छन् ।

जीटीभीको योजनाअनुसार भारत र पाकिस्तानले नेपाललाई ‘न्युट्रल भेन्यू’को रूपमा प्रयोग गरेको भए, नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय क्रिकेटमा ठूलो फड्को मात्रै मार्ने थिएन, नेपालले खेलकुद ‘टुरिज्म’मार्फत् पर्याप्त आम्दानी पनि गर्ने थियो।

टीयू क्रिकेट मैदानमा आयोजना भएको प्रतियोगितामा पहिलो पटक थर्ड अम्पायरको प्रयोग गरिएको छ भने ‘चियर लिडर’को व्यवस्था पनि गरिएको छ । प्रतियोगितामा दर्शकको सहजतालाई ध्यानमा राखी मैदानमै टेलिभिजन स्क्रिनसमेत राखिएको छ । साथै प्रतियोगिताको भारतीय टेलिभिजन च्यानल सोनी सिक्सका साथै नेपाली एपी वान एचडी च्यानलले प्रत्यक्ष प्रसारण गरेको छ, जसले अन्तर्राष्ट्रियस्तरमा नेपाली क्रिकेट र नेपालबारे राम्रो सन्देश पुग्नेछ ।

एसीपीएलमा चार नेपाली खेलाडी

एसीपीएलमा एक आइकनिक खेलाडीसहित पाँच नेपाली खेलाडी बिकेका छन् । नेपाली खेलाडी भुपेन्द्र थापालाई नेपाल स्टोर्मले एक लाख भारतीय रुपैयाँमा किनेको छ । यस्तै राजवीर सिंह, अमरसिंह रौटेला र सिद्धान्तराज शाहीलाई समान ६०/६० हजार भारतीय रुपैयाँमा नेपाल स्टोर्मले किनेको छ । पूर्वनेपाली राष्ट्रिय खेलाडी परेश लोहनी नेपाल स्टोर्मका लागि आइकनिक खेलाडीका रूपमा छानिएका छन् । यद्यपि, आयोजकले आइकनिक खेलाडीका लागि दिइएको रकमबारे खुलाएको छैन ।

आयोजक अल्टिमेट स्पोट्स म्यानेजमेन्टले प्रतियोगिताका लागि पहिले नै आवेदन खुलाएर खेलाडी छनोट गरेको थियो । जसमा नेपालबाट आवेदन दिएका चार खेलाडी मात्रै छानिए । एसीपीएल नेपाली खेलाडीका लागि निकै महत्वपूर्ण प्रतियोगिता हुन सक्थ्यो । यद्यपि, समयमै आवेदन नदिएपछि अधिकांश नेपाली खेलाडीले प्रतियोगिता खेल्न पाएनन् ।

सिपानको विरोध

प्रतियोगिता घोषणा भएकै दिन नेपाली क्रिकेट खेलाडी संघ (सिपान) ले विज्ञप्तिमार्फत् प्रतियोगिताको कडा शब्दमा विरोध जनायो । व्यक्तिगत भ्रमणका लागि अमेरिका पुगेका सिपानका महासचिव तथा नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका पारस खड्काले त्यहीबाट विज्ञप्ति जारी गरेका थिए । उनले प्रतियोगितामा नेपाली खेलाडी तथा नेपाली अफिसियलको कम सहभागितालाई लिएर असन्तुष्टि जनाएका थिए ।उनको विज्ञप्तिमा प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को एन्टी करप्सन कोडले प्रतिबन्ध गरेको खेल भावनाविपरीत गतिविधि रोक्ने आधिकारिक निकाय नभएको र यस्तो प्रतियोगितालाई नेपालमा आयोजना गर्न दिएकोमा पनि प्रश्न उठाइएको छ ।

खाली स्टेडियम

आयोजक अल्टिमेट स्पोट्स म्यानेजमेन्टले प्रतियोगिता दुबईबाट नेपालमा सार्नुको कारण नेपाली दर्शक भएको जनाएको छ । तर, प्रतियोगितामा नेपाली दर्शकको व्यवहार त्यसको ठीकविपरीत देखिएको छ । आयोजकले सोमबारको उद्घाटन समारोह हेर्नका लागि दर्शकलाई टिकट फ्री गरेको थियो । त्यैपनि, दर्शक निकै न्यून देखिए । दोस्रो दिनबाट शुरु भएको खेलका लागि भने टिकटको व्यवस्था गरिएको छ । यद्यपि, मंगलबार खेलिएको दुवै खेलमा दर्शकको उपस्थिति निकै न्यून रहे । टीयू मैदानमा नेपाली राष्ट्रिय टोलीले प्रतिस्पर्धा गरिरहँदा दर्शकले भरिभराउ हुने गथ्र्याे । सम्भवतः प्रतियोगितामा नेपाली खेलाडीको कम सहभागिताले पनि समर्थकहरूको उपस्थिति घटेको हुनसक्छ ।

 

 

प्रतिकृया दिनुहोस