MENU

खेलकूद

635x90

लिकबाहिर लिग

गोविन्द रेग्मी बिहिवार, आषाढ ८, २०७४

हरेक मुलुकको फुटबल विकासको आधारस्तम्भ हो, घरेलु लिग । तर, नेपालमा फुटबल लिगले नियमितता नपाउँदा खेलाडीको मात्र होइन, नेपाली फुटबलको स्तरसमेत दयनीय बन्दै गएको छ । पछिल्ला दुई वर्षमा नेपालले ‘बंगबन्धु गोल्ड कप, १२ औं साग र एएफसी सोलिडारिटी कप’ को उपाधि जितेर फुटबल खेलमार्फत् देशको शान उच्च पारेको थियो । फुटबल संघमा मौलाएको भ्रष्टाचार र खेल मिलेमतोको काण्डलाई उक्त नतिजाले केही राहत दिएको थियो ।तर, अन्तर्राष्ट्रिय मैदानमा सफलताको सिँढी चढ्न शुरु गरेको नेपाली फुटबलको स्तर फेरि खस्किएको छ ।

नेपालले हालैमात्र भारतसँग खेलेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेललाई नियाल्ने हो भने पनि नेपालको पछिल्लो अवस्था थाहा पाउन सकिन्छ । डेढ वर्षअघि १२ औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा भारतलाई ४–१ गोलले हराएर उपाधि जितेको नेपाली फुटबल टोली केही दिनअघि सम्पन्न मैत्रीपूर्ण खेलमा भारतसँग निरीह देखियो । राष्ट्रिय टोलीको प्रदर्शनलाई सहयोग गर्ने भनेको घरेलु लिगले हो । तर, अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन वर्षदेखि नेपालमा घरेलु लिग सञ्चालन गर्न नसक्दा खेलको स्तर खस्किएको मात्र होइन, चर्चित खेलाडीसमेत विदेश पलायन हुन थालेका छन् । लिग नहुँदा राष्ट्रिय टोलीका स्ट्राइकर सन्तोष साहुखल डेढ वर्षअघि नै जापान गए ।

जगजित श्रेष्ठ अष्ट्रेलिया र शिव श्रेष्ठ कतार हानिए । यी तीन खेलाडी प्रतिनिधि पात्र मात्र हुन् । पछिल्ला तीन वर्षको अवधिमा ५० भन्दा बढी राष्ट्रियस्तरका आसलाग्दा खेलाडी पलायन भएका छन् । नेपाली राष्ट्रिय टोलीका जापानी प्रशिक्षक ग्योतुकी कोजीका अनुसार घरेलुु फुटबल लिग नहँुुदाको प्रत्यक्ष असर राष्ट्रिय टोलीमा देखिनेछ । भन्छन्, ‘लिग नहुँदा त्यसको प्रभाव पक्कै पर्छ । अन्य देशमा लिग हुँदा खेलाडीले ३६ देखि ३८ खेल खेल्न पाउँछन् । हाम्रा खेलाडीले वर्षमा १/२ वटा मात्र टप खेल खेल्ने मौका पाएका छन् ।’

यसैगरी राष्ट्रिय टोलीकै पूर्वसहायक प्रशिक्षक मेघराज केसी नियमनकारी निकायले फुटबल खेल र खेलाडीप्रति आवश्यक मात्रामा ध्यान दिन नसक्दा विकराल अवस्था सिर्जना भएको बताउँछन् । एन्फाले नियमित लिग सञ्चालन गर्न नसक्दा सयौं खेलाडीको रोजीरोटी गुमेको छ । क्लब फुटबलको अवस्थासमेत धराशायी बन्दै गएको छ । लिग नहुँदा खेलाडीले सामान्यस्तरका प्रतियोगितासमेत खेल्नुपरेको र विदेश पलायनको विकल्प रोज्नु परेको बाध्यता रहेको उनको भनाइ छ ।

लिग फुटबल ठप्प भएका कारण भएको खेलाडी पनि हराउने अवस्था आएको केसीले बताए । उनका अनुसार विभागीय टोलीमा बाहेक अहिले बाहिर खेलाडी पाउन मुस्किल छ । विभागबाहिर राम्रा खेलाडी नगन्य छन् । त्यसमाथि सबै खेलाडीको आर्थिक अवस्था राम्रो छैन । घर चलाउन र दैनिक खर्चको जोहो गर्न पनि अन्य पेसा अपनाउनुपर्ने अवस्था छ । भन्छन्, ‘यदि नियमित लिग भएर खेलाडी अनुबन्धनको अवस्था आयो भने यो समस्या आफंै हराएर जानेछ । खेल, खेलाडी, प्रशिक्षक र रेफ्रीको क्षमतामा वृद्धि हुन्छ ।’

अन्तर्राष्ट्रिय मैदानमा सफलताको सिँढी चढ्न शुरु गरेको नेपाली फुटबलको स्तर फेरि खस्किएको छ।

राष्ट्रिय टोलीका रक्षक रोहित चन्द पनि नेपालमा लिग फुटबलको अवस्था राम्रो नहुँदा खेलाडीका लागि गाह्रो भएको बताउँछन् । ‘एउटा खेलाडीलाई आर्थिक हिसाबले चल्न गाह्रो छ । लिग नहुने र क्लबहरूले खेलाडी अनुबन्ध नगर्दा जे भेटिन्छ, त्यो प्रतियोगिता खेल्नु र बाहिर जानुको विकल्प छैन,’ चन्द भन्छन् ।

विस्वस्त छैनन् क्लब

नेपाली फुटबलको सर्वोच्च निकाय एन्फा पछिल्लो समय विभिन्न बहानामा लिग टार्ने काम गर्दै आएको छ । उसले बर्सेनि विभिन्न बहानामा रोक्दै आएको लिग गतवर्ष मंसिरबाट सञ्चालन गर्ने जनाएको थियो । त्यतिबेला प्राविधिक कारणले रोकिएको लिग पुनः वैशाख १५ गतेदेखि गर्ने जनाएको थियो । एन्फाले स्थानीय निर्वाचनको बहानामा फेरि लिगलाई अनिश्चित बनाएको छ । चार महिनाअघि फिफा, एएफसी, एन्फा र ‘ए’ डिभिजन क्लबका पदाधिकारी सम्मिलित बैठकमा समेत वैशाखदेखि ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने सहमति गरेको थियो ।

तर, हुन सकेन । हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा एन्फाले पटक–पटक लिग सञ्चालन गर्ने कुरा गरिरहे पनि क्लबहरू भने विश्वस्त बन्न नसकेको बताउँछन् । ‘लिग हुँदैन भनेर एन्फाले कहिल्यै भनेको छैन, तर गरेको पनि छैन । लिग नहुँदा पुराना खेलाडी पलायन त भएका छन् नै, नयाँ खेलाडी आउने बाटो पनि ठप्पजस्तै भएको छ । विभिन्न जिल्लामा हुने गोल्डकप र एउटै खेलाडीको सहभागिताले फुटबलको स्तर माथि नजाने कुरालाई एन्फा नेतृत्वले बुझ्नु आवश्यक छ,’ शेर्पा भन्छन् । लिग नहुँदा खेलाडीमात्र होइन, प्रशिक्षक र रेफ्रीको रोजीरोटीसमेत गुम्दै गएको छ ।

आश्वासन मात्रै

एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठ लिग गर्न आफूहरू लागि परेको बताउँछन् । ‘भूकम्पका कारण दशरथ रंगशाला लथालिंग हुनु र प्रायोजकको पनि केही समस्याका कारण यस्तो भएको हो । विस्तारै सबै समस्याको समाधान हुँदैछ । अब हामी छिट्टै लिग सञ्चालन गछौँ,’ श्रेष्ठले भने ।फुटबल खेलको विकास र स्तरवृद्धिका लागि लिग नियमित गराउने उद्देश्यले नेपाल सरकारले मात्र एन्फालाई बर्सेनि ६० देखि ८० लाख रुपैयाँ सहयोग गर्दै आएको छ । यसअघि लिगका लागि सानमिगेल बियर, रेडबुलजस्ता कर्पोरेट हाउसले पनि प्रायोजन गरेका थिए ।

पछिल्लो समय यसले नियमितता नपाउँदा प्रायोजक पनि हराउँदै गए । हाल एन्फालाई एपी वान एचडी टेलिभिजनले वार्षिक एक करोड ७५ लाख रुपैयाँमा प्रायोजन गरेको छ । दुईबीच तीन वर्षका लागि सम्झौता भएको हो ।एन्फाका प्रवक्ता इन्द्रमान तुलाधर पनि लिग सञ्चालनका लागि एन्फाले आन्तरिक तयारी थालेको बताए । फिफा र एएफसीले सन् २०१८ सम्म क्लब लाइसनिङ सिस्टम लागु गरेको तथा लिग फुटबललाई सुचारु गर्न फिफा र एएफसीले समेत ताकेता गरिरहेकाले नेपालमा घरेलु लिग सञ्चालन गर्नुको विकल्प छैन ।

एन्फाले यस वर्ष काठमााडौंका १२ वटा क्लबलाई समेटेर सहिद स्मारक ‘ए’ डिभिजन लिग सुचारु गर्नेछ,’ तुलाधरले भने । लिग सञ्चालनका लागि आर्थिक पक्ष पनि बलियो बनाउनुपर्ने भएकाले लिगको पुरस्कार राशि र क्लबहरूलाई प्रदान गरिने आर्थिक अनुदान तथा सेवाका विषयमा छलफल गरिने पनि तुलाधरले बताए । उनका अनुसार विगतमा भन्दा लिगको पुरस्कार घटाउने र क्लबको तयारी खर्च बढाउन एन्फा लागेको छ ।तुलाधरका अनुसार यसपटक सहभागी क्लबलाई रेलिगेसनको मापदण्ड राखिने छैन । नेपालले सन् २०१८ बाट एएएफसी क्लब लाइसनिङलाई अनिवार्य रूपमा लागु गर्ने भएकाले अर्को वर्षदेखि लाइसेन्सका लागि प्रक्रिया पुर्‍याउने सबै जिल्ला, क्षेत्र र क्लबहरूलाई लिगमा समावेश गरिने र रेलिगेसनको मापदण्ड पनि त्यसैबेला राखिनेछ ।

लिगको एकरूपतामा कमी

एन्फाले विभिन्न समयमा लिगलाई आ–आफ्नै ढंगले सञ्चालन गर्दा लिगको एकरूपतामा समेत अन्योल देखिएको छ । नेपालमा विसं २०११ सालदेखि सञ्चालन हुन थालेको शहीद स्मारक लिग विभिन्न समयमा विविध कारणले रोकिँदै आएको छ । बर्सेनि हुनुपर्ने लिगले हालसम्म ४२ औं संस्करण मात्र पार गरेको छ । यसअघि ०६७ सालसम्म शहीद स्मारक ‘ए’ डिभिजन लिगको रूपमा सञ्चालन हुँदै आएकोमा ०६८ सालमा राष्ट्रिय लिगको रूपमा सञ्चालन गरिएको थियो । त्यसपछि बीचमा पुनः शहीद स्मारक ‘ए’ डिभिजनकै नाममा लिग गरेको एन्फाले पछिल्लो पटक ०७०÷७१ सालमा मोफसलको केही टोलीलाई समेटेर होम एन्ड अवे प्रणालीका आधारमा राष्ट्रिय लिग खेलाएको थियो ।

एन्फाले ०७०/७१ सालमा आएर काठमाडौंबाहिरका झापा, मोरङ, रूपन्देही र सुदूरपश्चिमको कैलालीलाई समावेश गरी राष्ट्रिय लिग सञ्चालन गरेको थियो ।
पहिलो पटक होम एन्ड अवेको आधारमा खेलाइएको राष्ट्रिय लिगमा जिल्लाका चारसहित काठमाडौंको थ्रीस्टार, मनाङ मस्र्याङ्दी, त्रिभुवन आर्मी, एपीएफ र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गरेका थिए ।

राष्ट्रिय लिगको उपाधि थ्रीस्टारले जितेको थियो । एन्फा नेतृत्वको कार्यशैलीप्रति प्रश्न उठाएका कारण ‘ए’ डिभिजन क्लब फ्रेन्ड्स, सरस्वती, मच्छिन्द्र र हिमालयन शेर्पा क्लबलाई भने कारबाही गर्दै सहभागिताबाट बञ्चित गरिएको थियो । अर्को ‘ए’ डिभिजन क्लब संकटाले आर्थिक कारण देखाउँदै राष्ट्रिय लिग नखेल्ने निर्णय लिएको थियो । एन्फा नेतृत्वको कार्यशैलीप्रति अहिले पनि प्रश्न उठाउनुपर्ने अवस्था छ ।



प्रतिकृया दिनुहोस