MENU

खेलकूद

635x90

कम छैनन् हिव्लचेयर खेलाडी

विष्णु थापा सोमवार, जेठ २२, २०७४

मेरुदण्ड खुस्किए जीवन नै गयो भन्ने लाग्छ, धेरैलाई । ह्विलचेयरको सहारामा बाँच्नेहरू भने त्यसैमा बसेर पनि खेलमा रमाइरहेका छन् । यस्ता खेलमा नेपालले सहभागिता जनाएको धेरै भएको छैन । सन् २०१४ मा ह्विलचेयर बास्केटबलमा पहिलो अन्तर्राष्ट्रिय सहभागिता जनायो, नेपालले । बंगलादेशको राजधानी ढाकामा सम्पन्न प्रतियोगितामा छिमेकी भारतलाई ०–७७ स्कोरले पराजित गरेर ऐतिहासिक सफलता हात पार्‍यो । नेपाली टोलीले आयोजक बंगलादेशलाई पनि पहिलो खेलमा पराजित गर्‍यो तर फाइनलमा पराजित हुँदै उपविजेता बनेर घर फर्कियो । गत मंसिरमा नेपाली बास्केटबल टोलीले वाहवाही मात्र बटुलेन, पुरानो सफलतालाई पनि दोहोर्‍यायो ।

यस्तै, काठमाडौंमा भएको ह्विलचेयर क्रिकेटमा सन् २०१५ मा पाकिस्तानविरुद्ध पहिलो पटक नेपाली टोली मैदानमा उत्रिएको थियो । गत मंसिरमा आगरामा भारतविरुद्ध दोस्रो पटक उत्रिँदा पनि नेपाली टोलीले ह्विलचेयर क्रिकेटमा नेपालले केही गर्न सक्छ भन्ने देखायो । यी प्रतिनिधि प्रतियोगिता मात्र हुन् । पछिल्लो समय नेपालले ह्विलचेयर खेलकुदमा निकै सम्भावना देखाएको छ । क्रिकेट, बास्केटबल, तेक्वान्दोलगायत खेलमा लगातार सफलता पनि हासिल गरिरहेको छ ।

भारतसँग मैत्रीपूर्ण खेल

नेपालको ह्विलचेयर बास्केटबल र क्रिकेट टोलीले भारतसँग मैत्रीपूर्ण खेल खेल्यो । १३ मंसिर ०७३ मा नयाँदिल्ली पुगेको नेपाली टोलीले तीनदिने मैत्रीपूर्ण बास्केटबल खेल्यो भने आगरामा तीनदिने ट्वान्टी–ट्वान्टी क्रिकेट खेल्यो । नयाँदिल्लीस्थित इन्दिरा गान्धी स्पोर्टस् कम्प्लेक्समा सम्पन्न फाइनलमा नेपालले भारतीय टोलीलाई १९–५ स्कोरले पराजित गर्दै उपाधि हात पार्‍यो । दिल्ली स्टेट ह्विलचेयर बास्केटबल एसोसिएसनद्वारा आयोजित प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली नयाँदिल्ली पुगेको थियो । शारीरिक अपांगता भएका र ह्विलचेयरमा हिँडडुल गर्दै आएका खेलाडीका लागि थ्री वाई थ्री, हटसटलगायत प्रतियोगिता सञ्चालन गरिएको थियो ।

आगरामा सञ्चालित ट्वान्टी–ट्वान्टी ह्विलचेयर क्रिकेटमा भने नेपाल उपविजेता बन्यो । भारतविरुद्धको पहिलो खेलमा विजयी भएको नेपाली टोली दोस्रो र तेस्रो खेलमा पराजित भएको थियो । हिमाल अर्यालले बास्केटबल र भरत कार्कीले क्रिकेट टोलीको नेतृत्व गरेका थिए । नेपाली खेलाडीलाई विभिन्न क्लबबाट छनोट गरेर प्रतियोगितामा सहभागी बनाइएको थियो, जसमा जावलाखेल, स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ, ह्विलचेयर स्पोर्टस् एसोसिएसन, बोधिसत्व इन एक्सन र त्रिभुवन आर्मी क्लबका खेलाडी सहभागी थिए ।

अपागंता भएका व्यक्ति र खेलकुद

अपागंता भएका व्यक्तिका लागि खेलकुद स्वास्थ्यका हिसाबले अत्यावश्यक मानिन्छ । खेललाई निरन्तरता दि“दा अपागंता भएको व्यक्ति शारीरिक र मानसिक रूपमा बलियो बन्न सक्ने चिकित्सकहरू बताउँछन् । त्यस्तै धारणा छ, नेपाल पारा ओलम्पिक कमिटीका सचिव छोल्टिम ग्याल्जेन शेर्पाको पनि । भन्छन्, ‘उनीहरूलाई बाहिर ल्याएर जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्नुपर्छ ।’नियमित प्रशिक्षण र प्रतियोगिता हुने हो भने अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत पदक ल्याउन सकिने ह्विलचेयर बास्केटबल टोलीका कप्तान अर्याल बताउँछन् । शेर्पाका अनुसार खेलकुद शारीरिक, मानसिक तनाब हटाउने थेरापी  पनि हो ।

wheel-chair1

 नेपाली ह्विलचेयर क्रिकेट टोलीका कप्तान भरत कार्की भारतीय समकक्षीका साथ ।

गत पुसमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदपछि राष्ट्रिय खेलकुद परिषद्ले अपागंता भएका व्यक्तिका लागि राष्ट्रिय खेलकुद आयोजना गरेको थियो । अपागंता भएका व्यक्तिलाई समाजमा पुनःस्थापित गर्ने महत्वपूर्ण माध्यम खेलकुद भएकाले उनीहरूलाई यस्ता गतिविधिमा नियमित सहभागी गराउनुपर्ने ह्विलचेयर क्रिकेट टोलीका कप्तान कार्की बताउँछन् ।

खेलाडीको समस्या

अपांगता भएका व्यक्तिहरू राम्रोसँग हिँडडुल गर्न सक्दैनन् । पोलियोका कारण खुट्टा लुला भएकाहरू केही हलचल गर्न सके पनि दुर्घटनामा परेर स्पाइनल कर्ड इन्जुरी भएकाहरू भने कम्मरभन्दा मुनि हलचल गर्नै सक्दैनन् । ‘कम्मरमुनिको अंगले केही महशुस नै गर्दैन । दिसापिसाब कुन बेला हुन्छ थाहा नै पाइँदैन,’ बास्केटबल खेलाडी तिलकराम पोखरेल भन्छन्, ‘अपागंता भएकाहरूको सहारा भनेको ह्विलचेयर नै हो । ह्विलचेयरमा लामो समय बस्दा ‘ह्विलचेयर सु’ हुन सक्छ । घाउ पाकेर क्यान्सरसम्म हुन सक्छ ।’

विदेशमा मैदान र बास्केटबल कोर्ट पनि अपागंमैत्री हुन्छन् । तर, नेपालमा अपांगका लागि कसैले चासो दिएको देखि“दैन । बास्केटबलमा सहज भए पनि क्रिकेट खेल्न निकै समस्या भोग्नुपरेको खेलाडीहरू बताउँछन् । ह्विलचेयरमा धेरै टाढा जान नसकिने भएकाले भारत जानुअघि नेपाली क्रिकेट खेलाडी सिफलको धुलाम्मे मैदानमा प्रशिक्षण गरेर भारत पुगेका थिए । नेपालमा टेनिस बलमा अभ्यास गरेका उनीहरूले भारतमा ‘ड्युज बल’ले खेल्नुपर्दा स्वाभाविक प्रस्तुती गर्न नसकेको क्रिकेट टोलीका कप्तान कार्की बताउँछन् । ‘बास्केटबलमा भने भारतीय खेलाडीभन्दा प्राविधिक रूपमा निकै उत्कृष्ट देखिएका नेपाली खेलाडीको टिम समन्वय अत्यन्त उत्कृष्ट थियो । नेपाली टोलीको डिफेन्स, बल ड्रिबिलिङ, पास र सुटिङ पक्ष निकै बलियो थियो,’ शेर्पा भन्छन् ।

अभाव प्रशिक्षकको

नेपाली ह्विलचेयर बास्केटबल र क्रिकेटले अहिलेसम्म प्रशिक्षक पाउन सकेका छैनन् । खेलाडीले नै रणनीति बनाएर खेलिरहेका छन् । नयाँ–नयाँ टेक्निक र नियमबारे पनि थाहा पाउन नसकिरहेको बास्केटबलका कप्तान अर्याल बताउँछन् । क्रिकेट टिमका कप्तान कार्की भने रोजीरोटीको ग्यारेन्टी गर्न नसक्दा खेलाडीले प्रशिक्षक पाउन नसकेको बताउँछन् । ‘अपांगलाई राज्यले हेर्ने दृष्टिकोण नै बेग्लै छ । त्यसमा परिवर्तन ल्याउन खेलकुद उपयुक्त माध्यम हो तर यो कुरा राज्यले बुझ्न सकेको छैन,’ उनी भन्छन् । तेक्वान्दो खेलले भने प्रशिक्षक पाएको छ । नेपाल तेक्वान्दो संघले ‘पारा तेक्वान्दो कमिटी’ गठन गरेर प्रशिक्षण शुरु गरेको छ । ‘टोकियो ओलम्पिकमा अपांगता भएका खेलाडीले पदक ल्याउँछन् ।

त्यसैमा अर्जुनदृष्टि दिएर खेलाडीहरूलाई तालिम दिइरहेको छु,’ प्रशिक्षक कल्याण कुँवर भन्छन् । पारा तेक्वान्दो खेलाडीले तीन वर्षयता राष्ट्रिय टोलीसँगै तालिम गरिरहेका छन् । अपागंता भएका व्यक्तिहरूलाई जम्मा पारेर तेक्वान्दोको प्रारम्भिक सीप सिकाउन थालेका कुँवरले सशस्त्र द्वन्द्वको समयमा एम्बुसमा परेर घाइते (स्पाइनल इन्जुरी) भएका नेपाली सेनाका सात खेलाडीलाई पनि नियमित प्रशिक्षण दिँदै आएका छन् । विभिन्न प्रतियोगितामा सहभागिता जनाइसकेका उनीहरूको प्रस्तुती राम्रो मानिन थालेको छ । नेपाली सेनाले पनि अपांगता भएका व्यक्तिहरूका लागि टोली निर्माण गर्न थालेको छ ।

अर्यालको उचाइ

हिमाल अर्यालले सन् २०१० देखि ह्विलचेयरमा बसेर खेल्न शुरु गरेका हुन् । ह्विलचेयरमा बसेर भारोत्तोलन खेल्ने नेपालकै पहिलो खेलाडी हुन्, उनी । भारोत्तोलनबाटै चीनको ग्वान्जाउमा एसियन पारा च्याम्पियनसिपमा सहभागी भए । त्यसपछि समाजमा उनीजस्ता व्यक्तिलाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तन आयो । अपांगता भएकाहरूप्रतिको सोच फेरियो । उनी भन्छन्, ‘अहिले पनि हाम्रो गाउँघरमा धेरै अपांग साथी अपहेलित भएर बसिराखेका छन् । उनीहरू घरपरिवार र समाजबाट अपहेलित भएर बसिरहेका छन् । उनीहरूलाई समाजबाट बाहिर निकालेर समाजमा सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गर्नु जरुरी छ ।’ सोही कारण अपांग भएका व्यक्तिलाई हौसला बढाउने काममा निरन्तर लागिरहेको बताउँछन्, उनी । अर्याल ह्विलचेयर बास्केटबल टोलीको कप्तान र क्रिकेट टोलीको उपकप्तान पनि हुन् । ह्विलचेयरमै बसेर पारा तेक्वान्दो पनि खेलिरहेका छन् ।

प्रतिकृया दिनुहोस