MENU

खेलकूद

635x90

क्रिकेटरको खरिद–बिक्री

गोविन्द रेग्मी आइतवार, माघ ९, २०७३

फुटबलमा विश्व प्रख्यात इंग्लिस प्रिमियर लिग होस् वा भारतको चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट । फुटबलकै अर्को स्पेनिस ‘ला लिगा’ फुटबल र अस्ट्रेलियाको विगब्यास क्रिकेट लिग, सबैको रौनकता विश्वभर प्रख्यात छ । व्यावसायिकता र खेल विकासको दृष्टिले यस्ता लिगले थप आकर्षक बनाउने काम गर्छ । अझ रोचक पाटो त खेलाडीको अनुबन्धन र मोलमोलाइले निर्धारण गर्छ ।

नेपालमा भने क्रिकेट लिग र व्यावसायीकरण धेरै परका विषय बनेका छन् । दुई वर्षदेखि नेपाली घरेलु क्रिकेट प्रतियोगिता लथालिंग अवस्थामा छ । नेपालको चर्चित सरकारी कम्पनी नेपाल टेलिकम र निजी घरानाको चौधरी ग्रुपको वाइवाइबाट क्रिकेटमा करौडौंको प्रायोजन गरिए पनि राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता सञ्चालन हुन सकिरहेको छैन ।

नेपाली क्रिकेट पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रतिबन्धमा छ । यद्यपि, नेपाललाई अन्तर्र्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी गराउने जिम्मेवारी आईसीसी स्वयंले लिएको छ । पदको लिप्सा र राजनीतिक लडाइँले नेपाली क्रिकेट अन्तर्राष्ट्रिय जगतमा बदनाम छ । नेपाल क्रिकेट संघ (क्यान) मा मौलाएको राजनीतिक भागबण्डाले सम्भावना भएर पनि नेपाली क्रिकेट आईसीसीले दिने सीमित सुविधाको भरमा चल्न बाध्य छ । नेपाली क्रिकेटर घरभित्रको अभ्यास र प्रतियोगिताबिना नै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् ।

सम्भावनाको ढोका
खराब पाटोबीच पछिल्लो साता नेपाली क्रिकेटले ठूलो सम्भावनाको ढोका खोलेको छ । नेपालमा पहिलो पटक खुला रूपमा ठूलो रकम पारिश्रमिक पाउने गरी क्रिकेट खेलाडीको खरिद–बिक्री भएको छ । आगामी ५–१९ चैतमा धनगढीमा आयोजना हुन लागेको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा सहभागिताका लागि अक्सन (बोल–कबोल) बाट खेलाडी खरिद गरिएको थियो ।

लिगको आयोजक धनगढी क्रिकेट एकेडेमीले सहभागी टोलीलाई देशका चर्चित ६ शहरको नाम काठमाडौं, धनगढी, विराटनगर, अत्तरिया, रूपन्देही र कञ्चनपुर दिएको छ । ती टोलीका कप्तान पहिल्यै तय गरेर बाँकी खेलाडी अक्सनबाट खरिद गरिएको एकेडेमीका सञ्चालक सुवास शाही बताउँछन् । ‘नेपाली क्रिकेटलाई विकेन्द्रीकरण गर्ने प्रयासस्वरूप विभिन्न शहरलाई फ्रेन्चाइज गरी टोली बनाइएको हो,’ शाही भन्छन् । उनका अनुसार नेपाली क्रिकेटरलाई व्यावसायिक बनाउन र नयाँ खेलाडीलाई क्रिकेटमा मोह जगाउन विदेशमा जस्तै अवधारणा अगाडि सारिएको हो ।

लिगमा सहभागी टोलीसँगै त्यसका ६ कप्तान पारस खड्का, ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, शरद भेषवाकर, वसन्त रेग्मी र विनोद भण्डारी छानिए । पारसको टोली चौराहा धनगढी, ज्ञानेन्द्रको सीवाईसी अत्तरिया, शक्तिको रूपन्देही च्यालेन्जर्स, शरदको विराटनगर किङ्स, वसन्तको काठमाडौं गोल्डेन्स र विनोदको कञ्चनपुर आइकोनिक हो ।

कप्तानका लागि न्यूनतम एक लाख रुपैयाँ पारिश्रमिक तोकिएकामा सबै कप्तानको मूल्यमा अधिकतम एक लाख ५० हजार परेपछि गोलाप्रथाद्वारा नै कप्तान छनोट गरिएको थियो । विराटनगर किङ्स महालक्ष्मी केबलको स्वामित्वमा छ । यसका मालिक राष्ट्रिय टोलीका पूर्वखेलाडी पारस लुनिया हुन् । काठमाडौं गोल्डेन्स गोल्डेनगेट कलेजको स्वामित्व छ । यसका मालिक सरकारी मान्यताप्राप्त नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष रमेश सिलवाल छन् । एसआर ग्रुपको स्वामित्वमा रहेको रूपन्देही च्यालेन्जर्सका मालिक सुरज उप्रेती हुन् ।

अत्तरिया सिर्जनशील युवा क्लबको छातामुनि रहेर खेल्नेछ । नरबहादुर राई यसका मालिक हुन् । चौराहाको मालिकमा राजकुमार श्रेष्ठ र कञ्चनपुरको मालिकमा पीताम्बर जोशी छन् ।एकेडेमीले अनलाइनमार्फत् आवेदन मागिएका दुई सय १७ जनालाई अक्सनमा राखेको थियो । एउटा टोलीमा १५ जनाका दरले ९० खेलाडी डीपीएलका लागि खरिद भएका छन्, जसका लागि लगानीकर्ताले कप्तानबाहेक आफ्नो टोलीका खेलाडीका लागि सात लाख रुपैयाँ खर्चिएको छ । ६ कप्तानबाहेक अक्सनमा राष्ट्रिय टोलीमा १५ खेल खेलिसकेका खेलाडीको मूल्य ५० हजारबाट शुरु भएको थियो ।

Cricket1

राष्ट्रिय टोलीबाट १५ खेलभन्दा कम खेलेका र यु–१९ टोलीका खेलाडीको मूल्य ३० हजार रुपैयाँ कायम थियो । यु–१९ र यु–१३ खेलेका पूर्वखेलाडीको मूल्य २५ हजार रुपैयाँमाथि तय थियो । डीपीएलमा एउटा टोलीले अन्तर्राष्ट्रिय खेल नखेलेको चार खेलाडी राख्नुपर्ने प्रावधान राखी उनीहरूको मूल्य २० हजार तय गरिएको थियो । एकेडेमीबाट नेपाल क्रिकेट संघसँगको सहकार्यमा अक्सनका लागि खेलाडीको वर्गीकरण गरिएको हो ।

रंगशाला निर्माण अभियान
नेपाली क्रिकेटको विकासका लागि सबैले केही न केही हातेमालो गर्नुपर्छ भनेर लिगको शुरुवात गरिएको सञ्चालक शाही बताउँछन् । यसअघि सानो खर्चमा धनगढीमा होटल डिभोटी एसपीए कप र सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग आयोजना गर्दै आएका शाही क्रिकेटको भविष्य उज्वल देखेर यस्ताखाले लिग आयोजनामा लागेका हुन् । नेपाली क्रिकेटमा यो अहिलेसम्मकै ठूलो पुरस्कारको प्रतियोगिता हो । यस लिगबाट जम्मा भएको र दर्शक टिकटबाट प्राप्त १५ प्रतिशत रकम धनगढीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियान ‘ड्रिम फाप्ला’ परियोजनाका लागि खर्च गरिने सञ्चालक शाही बताउँछन् ।

नेपाली क्रिकेट विकासका लागि धनगढी प्रिमियिर लिग कोशेढुंगा सावित हुने नेपाली टोलीका कप्तान तथा क्रिकेट खेलाडी संघका महासचिव पारस खड्का बताउँछन् । ‘घरेलु प्रतियोगिता नभएको अवस्थामा कुनै व्यक्तिको प्रयासमा यस्तो प्रतियोगिता आयोजना गरेर खेलाडीलाई अवसर दिनु खुशीको विषय हो । नेपालमा यस्ताखाले प्रतियोगिता ४/५ वटा भए भने क्रिकेट खेलको विकाससँगै खेलाडीले व्यावसायिक फड्को मार्नेछन्,’ उनी भन्छन् । लिगलाई खेलाडीको साथ र समर्थन रहेको खड्काको भनाइ छ ।

उनका अनुसार धनगढीले लिग गरेपछि अन्य क्षेत्र र जिल्लालाई पनि यस्तो प्रतियोगिता गर्न चुनौती र अवसर हुनेछ । डीपीएलमा अहिले बीउ रोपिएको मात्र हो । केही वर्षभित्र त्यसले राम्रो फल दिनेछ । खड्काकै भनाइमा धनगढीको थालनी देशका अन्य जिल्लाले पनि अनुशरण गरेमा व्यावसायिकता अझ झाँगिने छ । नेपाली खेलाडीको अक्सन देखेर चकित परेका राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमटा डीपीएल नेपाली क्रिकेटका लागि राम्रो प्लेटफर्म बन्ने बताउँछन् ।

कसले कति पाए ?
टिम चौराहा धनगढी : पारस खड्का (कप्तान), पृथु बाँस्कोटा ९०, आरिफ शेख ८०, अनिल मण्डल ७५, राजु रिजाल र प्रेम तामाङ ७०, सुसन भारी ५०, अमरसिंह राउटेला र सौरभ खनाल ४०, रसिद खान र ललित राजवंशी ३५, रामनरेश गिरी ३०, आदिल खान २५, दीपेन्द्र थापा र प्रकाशजंग कार्की २० हजार ।

सीवाईसी अत्तारिया : ज्ञानेन्द्र मल्ल (कप्तान), करण केसी र मेहबुब आलम एक लाख, प्रदिप ऐरी ९० हजार, सन्दिप सुनार ८०, अविनाश बोहरा र दिलीप नाथ ४०, शशी केसरी र योगेन्द्रसिंह कार्की ३०, सुरेन्द्र चन्द र विनोद लामा २५, रोशन नेपाली, ज्ञानेन्द्र कुँवर, योगेश भाट र भुवन केसी २० हजार ।

काठमाडौं गोल्डेन्स : वसन्त रेग्मी (कप्तान), सोमपाल कामी एक लाख, नरेश बुढा ऐर ९५ हजार, भुवन कार्की ८०, सन्तोष भट्ट र भुवन पौडेल ५०, सुवेन्दु पाण्डे ४५, मञ्जित श्रेष्ठ र सन्दिप जोरा ४०, सुमित महर्जन ३५, जितेन्द्रसिंह ठकुरी र नन्दन यादव २५, अशु कन्धोई, हरिकृष्ण झा, दिनेश अग्री २० हजार ।

कञ्चनपुर आइकोनिक : विनोद भण्डारी (कप्तान), सागर पुन एक लाख, सुनील धमला, सिद्धान्त लोहनी र अविनाश कर्ण ८०, ललितसिंह भण्डारी र चन्द्र साउद ५०, भीम सार्की ४५, सोनु तामाङ र कुशल भुर्तेल ४०, कमलसिंह ऐरी ३५, निरज चन्द र हासिम अन्सारी ३०, रमेश भट्ट र अनिल थापा २० हजार ।

विराटनगर किङ्स : शरद भेषावाकर (कप्तान), दीपेन्द्रसिंह ऐरी ८० हजार, सन्दिप लामिछाने ६०, आशिफ शेख, प्रनीत थापामगर र जितेन्द्र मुखिया ५०, पवन सर्राफ ४५, सुशील कँडेल ४०, अनिलकुमार शाह ३५, प्रफुल्ल वैद्य ३०, प्रकाश विष्ट र अमित श्रेष्ठ २५, आकाश थापा, राकेश कर्ण र किशोर महतो २० हजार ।

रूपन्देही च्यालेन्जर्स : शक्ति गौचन (कप्तान), सुवास खकुरेल, राजेश पुलामी र विक्रम सोब ८०, प्रकाश केसी ५०, शंकर राना ४५, कृष्ण कार्की ३५, साहब आलम, पुष्प थापा र अन्तिम थापा ३०, नुरध्वज सेन र हरिशंकर शाह २५, गणेश गौडेल, विक्रमकुमार भुसाल र दुर्गेश गुप्ता २० हजार ।

cricket_3

कप्तानपछिका चार मँहगा खेलाडी
चार खेलाडीहरू सर्वाधिक महँगो सूचीमा रहे । राष्ट्रिय टोलीका सोमपाल कामी, सागर पुन, मेहबुब आलम र करण केसी डीपीएल अक्सनका सर्वाधिक रकम पाउने खेलाडी हुन् । उनीहरूलाई जनही एक लाखमा विभिन्न टिमले खरिद गरे, जुन कप्तानबाहेकको सर्वाधिक रकम हो ।

 

प्रतिकृया दिनुहोस